अहिले देशमा जनताको छोरो राष्ट्रपति, जनताकै छोरा प्रधानमन्त्री छन् । राजा हुँदा जनतालाई हेपे भन्थे, जनताले स्वतन्त्रता पाएनन् भन्थे । आज जनताको छोरा भनाउँदाले नै जनतालाई पाखा लगाउँदै छन् । पूरै सुदूरपश्चिम बाढीग्रस्त छ, सयौं मानिस घरबारविहीन भए, लाखौंको क्षति भयो । सिंगो सुदूरपश्चिमको पीडा राष्ट्रपतिको आन्द्राको घाउभन्दा सानो भयो । राष्ट्रपतिलाई ६० लाख र सुदुरपश्चिमका बाढी पीडितलाई ५० लाख! अनि ५ सय थान कम्बल अरे! ५० लाखभन्दा बढी त एउटै मानिसको धनजन क्षति भएको छ । यो रकम बाढीपीडितलाई ललिपप खुवाउन पनि पुग्दैन ।
प्राकृतिक प्रकोपमा कसैको नियन्त्रण हुदैन । दार्चुलामा आएको बाढीको दोष भारतलाई थुपारिँदै छ । यो सरासर गलत हो, लगातार वर्षाका कारण भारतको धारचुला क्षेत्रको धौलीगंगा हाइड्रो पावरमा पानीको भार बढेर बाँध फुट्ने स्थिति सिर्जना हुँदामात्र ड्यामको पानी महाकाली नदीमा छाडिएको भन्ने जानकारी स्थानीय स्रोतबाट प्राप्त भएको छ, ड्याम नखोलेको भए पूरै बाँध फुटेर झन् ठूलो क्षति हुने आशंका थियो । जे कुरामा पनि अरुलाई दोष देखाउनु आफू पानीमाथिको ओभानो बन्नु हो ।
नेपाल सरकारको लापरबाही नै दार्चुलामा विध्वंशको प्रमुख कारण हो । भारतले ठाउँठाउँमा नदीमा तटबन्ध निर्माण गर्दा कहाँ थियो नेपाल सरकार ? किन अन्धो बन्यो त्यतिखेर ? नेपालपट्टि पनि तटबन्ध बाँधेको भए क्षति कम गर्न सकिन्थ्यो । बाढीले दिएको पीडाभन्दा बढी सरकारको बेवास्ताले दुःखी छन् दार्चुलाबासी । वर्षौंदेखि हामीले भन्दै आएका थियौं, राज्यले सुदुरपश्चिमलाई सौतेनी व्यवहार गरिरहेछ, यो आरोप प्रतिआरोप मात्र होइन, यो घटनाले यसलाई पुष्टि गरेको छ ।
विदेशमा यस्तो घटना हुँदा सहानूभुति प्रकट गर्न प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरू आफ्नै देशका नागरिक विचल्लीमा पर्दा मुकदर्शक बनेका छन् । नागरिकबिना नेताहरूको राजनीतिक भविष्य के हुन्छ ? यस्ता नेतालाई सूदुरपश्चिमबासीले बहिष्कार गर्ने बेला आएन ?
सिंहदरबारमा बस्नेलाई थाहा नहोला एउटा झुप्रो भत्किँदाको पीडा, भोकभोकै मर्नुको पीडा, ज्यान गुमाउनुको पीडा । मानवताको एक चिम्टी पनि नेताहरूको मनमा बाँकी छ भने यो सरकार र सरोकारवालाहरूको ध्यान छिट्टै दार्चुलाका बाढी पीडिततिर जाओस् र जनताले उचित राहत पाउन् ।
(दार्चुला धापकी रश्मिकी ठूलीआमा सरस्वती रैखोलाको महाकालीको बाढीमा परी सोमबार निधन भएको थियो। रश्मि काठमाडौंमा नर्सिङ पढ्छिन् । )