हामीलाई बाटो हिँड्न समस्या छैन। अग्लाअग्ला भवन चढ्न समस्या छैन। धरहरा सजिलै चढिदिन्छौँ। मन लागेको पहाड चढ्छौँ। खोला तर्छौँ। जहाँ जान मन लाग्छ त्यहाँ पुगिदिन्छौँ। किनकि हामीसँग सग्ला दुई खुट्टा छन्। सग्ला हात छन्। सग्ला आँखा छन्। हाम्रो शरीर सबल छ।
केही बेर कल्पना गरौँ, कुनै दुर्घटनामा हामीले यी सग्ला हात खुट्टाहरु गुमायौँ। आँखा गुमायौँ। हाम्रो शरीर नचल्ने भयो। त्यसपछिको रहर? रहर कुण्ठामा परिणत हुन्छ। किनकि ती रहर पूरा गर्न हामीसँग न भौतिक संरचना हुन्छ, न सोचेजस्तो परिवारको र समाजको साथ। यस्तो कुण्ठित अवस्थामा गर्ने के?
सदियौँदेखि यही कुण्ठा भोग्दै आएका व्यक्तिहरु तपाईँ हामीले आफ्नै घर समाजमा देख्दै आइरहेका छौँ। मानसिक क्षमता र भावनात्मक शक्ति भइकन पनि समाजले दुर्बलताको ट्याग भिराएर तिनको स्वाभिमान र क्षमतामाथि खेलाँची गर्दै आइरहेको छ। समाज आखिर तपाईँहामी नै हौँ। हामीले कुनै पनि बेला आफू अपाङ्ग हुन सक्छौँ भन्ने बिर्सँदै अपाङ्गता भएका तमाम व्यक्तिको समस्यालाई पाखा लगाइरह्यौँ। उही मान्छेले अरु मान्छे अपाङ्ग देख्ने बित्तिकै उसलाई मान्छे कम र अपाङ्ग बढी देख्ने गर्यौँ। अपाङ्ग हुनु भनेको दुर्बल र असक्षम हुनु हो भन्ने धारणा पाल्दै आयौँ।
हामीले बुझ्नुपर्ने के हो भने अपाङ्गता असक्षमता होइन। हाम्रो सोच र सोही सोच अनुरुप निर्मित भौतिक संरचना प्रमुख समस्या हुन् जसले अपाङ्गता भएका व्यक्तिलाई असक्षम बनाउन भूमिका खेलेको हुन्छ। शारीरिक र मानसिक अपाङ्गता भएका धेरै व्यक्तिले विश्वमा सफलताको इतिहास रचिसकेका छन्। जस्तै फ्र्याङ्कलिन रुजवेल्ट शक्तिशाली राष्ट्र अमेरिकाका ३२ औँ राष्ट्रपति थिए। लेखिका हेलेन केलर, बैज्ञानिक स्टेफन हकिङ्ग र हलिउडका चर्चित नायक क्रिष्टोफर रिव्स् अपाङ्गता भएका व्यक्तिहरु हुन्।
हाम्रो देशमा पनि अपाङ्गता भएका धेरै व्यक्तिहरु छन् जो आफ्नो क्षमता र प्रतिभाका कारण अगाडि छन्। जो अगाडि छन्, तिननका पछाडि दर्दनाक संघर्षका कथाहरु छन्। अपाङ्गताकै कारण स्कुल छाड्न विवश, जागिर खान बञ्चित, ब्यापार व्यवसाय गरेर आर्थिक रुपले सक्षम हुने अबसरबाट विमुख, परिवारको मायाबाट अलग, साथीसंगीहरु टाढा, मनोरञ्जन जस्तो जीवनको अर्को पाटोबाट त झनै टाढा। यस्तो अवस्थामा आम मान्छे कसरी मान्छे हुनुको बोध गरेर जिउन सक्छ? आफ्नै घरको भर्याङ् बाधक बनिदिन्छ बाहिर पुग्नलाई। आफ्नै समाज बिरानो बनिदिन्छ समाजमा रम्नलाई। आफ्नै देश बेग्लै बनिदिन्छ अधिकार प्राप्त गर्नलाई। यही अवस्था भोगिरहेका छन् अपाङ्गता भएका लाखौ व्यक्तिहरु जसको अधिकारको सम्बोधन हुन सकेको छैन। नीति नियम तथा ऐन कानुनमा सीमित छन् अपाङ्गता भएका व्यक्तिहरुको अधिकार। ती नीतिहरुको प्रभावकारी कार्यान्वयन जरुरी छ जसको लागि निरन्तर वकालत हुन जरुरी छ। र, अपाङ्गता भएका व्यक्तिहरु मात्र होइन साङ्गको नामले परिचित अपाङ्गता नभएका व्यक्तिहरुले समेत अपाङ्गता भएका व्यक्तिको अधिकारको विषयमा बोल्न, लेख्न र चित्राङ्कन गर्न जरुरी छ। किनकि जुनै पनि बेला जो पनि अपाङ्गताको सिकार हुन सक्छ।
यस्तै विषयलाई समेटेर बनाइएको नेपाली चलचित्र हो 'मोक्ष'। मेरुदण्ड पक्षघात भएका व्यक्ति प्रबिन श्रेष्ठले आफू अपाङ्ग भइसके पछिका भोगाइलाई चलचित्रमा उतार्दै अपाङ्गता भएका व्यक्तिको मुद्दाप्रति सबैको ध्यानाकार्षित गर्ने प्रयास गरेका छन्। प्रबिन ह्विलचियर प्रयोगकर्ता हुन्। ह्विलचियरमै बसी बसी उनी म्युजिक भिडियो, डकुमेन्ट्री तथा फिल्मको निर्देशन गर्छन्। यसरी तयार गरिएको चलचित्र मोक्षले धेरै दर्शकको मनमा छाप छोड्न सफल भएको छ । यस्ता चलचित्रले अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण बदल्न महत्वपूर्ण भूमिका खेल्छ। साथै चलचित्र मार्फत प्रबिनको क्षमताको पनि प्रत्यक्ष अवलोकन गर्न सकिने हुँदा यसले अपाङ्गता भएका व्यक्तिलाई उत्प्रेरणा दिनुका साथै ती व्यक्तिप्रति परिवार तथा समाजको विश्वास बढाउन मदत पुगेको छ। हालै हुन गइरहेको ८७ औँ ओस्कार अवार्ड मा प्रतिस्पर्धाका लागि नेपालको तर्फबाट 'मोक्ष' ले पनि स्थान पाएको छ। अपाङ्गता भएका व्यक्ति र तिनको समुदायमा समर्पित व्यक्ति तथा संघ संस्थाका लागि यो सुखद खबर हो। चलचित्र तथा साहित्यको क्षेत्रमा अपाङ्गताको विषयलाई समेटेर प्रभावकारी कार्य नभइरहेको अवस्थामा चलचित्र 'मोक्ष'ले एउटा गतिलो प्रभाव पार्न सफल भएको छ। प्रबिनको यस कार्यलाई प्रोत्साहन गर्नु भनेको आम अपाङ्गता भएका व्यक्तिमा भएको क्षमताको कदर गर्नु हो। सामाजिक परिवर्तनका लागि ह्विलचियर प्रयोगकर्ता प्रबिनले प्रसंसनीय भूमिका खेले जस्तै अपाङ्गता भएका अन्य व्यक्ति पनि आफ्नो क्षमता अनुसार समाजमा योगदान दिन सक्षम छन्। यसका लागि हाम्रो सामाजिक वातावरण अपाङ्गतामैत्री हुन आवश्यक छ।
अपाङ्गतामैत्री वातावरण निर्माण गर्नका लागि प्रभावकारी ढंगमा जनचेतनामूलक गतिविधिहरुको प्रचार प्रसार हुनुपर्दछ। 'मोक्ष' जस्ता चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा स्थान पाउनु भनेको अपाङ्गताको मुद्दामाथि थप बहस हुनु हो। यसले अपाङ्गता भएका व्यक्तिलाई अधिकार सम्पन्न बनाउँन थप सघाउ पुर्याउँदछ। होइन भने कहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरु सामान्य भन्दा सामान्य अधिकारबाट बञ्चित भइरहने?
gauchan.manisha@gmail.com