'ट्राई मार्ने कि क्या हो फिल्ममा...', शान्तिप्रियको लहलहैमा लागेर हामी श्रीकृष्णलाई यसरी जिस्क्याउँथ्यौं। उनी हिरोमात्र हैन, चलेकै हिरोमा गनिन थालेका थिए। शायद, यो ०५५–०५६ तिरको कुरा हुनुपर्छ। डिल्लीबजारमा (हालः ट्रिनिटी कलेज छिर्ने बाटोको मुखैमा) चलचित्र कलाकार संघको अफिस थियो। सँगैको डिपी साह चक्रवर्तीको अफिसमा चलचित्र पत्रकार संघको अफिस। हामी त्यहीँ बरालिन्थ्यौं। र, चलचित्र कलाकार संघ फुट्दा नीर शाह र बसुन्धरा पक्षधर भयो। श्रीकृष्ण बसुन्धरा पक्षधर थिए। त्यसैले त्यहाँ उनी भेटिनु स्वाभाविक थियो।
०००
भेटैपिच्छे श्रीकृष्ण जिस्कन्थे, 'दाइ, तिमीलाई हिरो बनाउन खोज्या, प्रोड्युसरले मानेन। भिलेन पनि सुहाएन, पत्रकारलाई कमेडी खेलाउँनै हुँदैन भन्छ।' हामी जवाफ लाउँथ्यौं, 'फोटो सेसन गरेर आऊ, हामी तिमीलाई फूल हिरो बनाइदिन्छौं।' (उनी त्यसबेलासम्म कुनै फिल्ममा सोलो हिरो भइसकेका थिएनन्।) यसो भन्दा उनको मनलाई घोच्थ्यो क्यार, अनि भन्थे, 'भो, भो कुरा नगर। मैले जस्तो तिमीले नाच्न जान्या छैनौंं।' म भन्थे, 'हामीले जस्तो तिमीले लेख्न जान्या छौं त?' अनि, स्वीकार्थे, 'क्या बात, त्यो त छैन यार।'
०००
उनीसँगको चिनजान शायद ०५३ तिरैबाट हो। तर, तैयव साह, फहिम साहहरुको फिल्म 'बेइमानी' बनाउने क्रममा बढी हिमचिम भयो। बानी उही जिस्कने। विपना थापा उनको कोस्टार थिइन्। विपना पनि उत्तिकै फरासिली, जिस्किनुपर्ने बानीकी। एकदिन टोखामा सुटिङ चलिरहँदा मैले जिस्क्याएँ, 'विपना मन परेजस्तो छ, कुरा चलाइदिउँ?' श्रीले 'क्या बात यार' भन्दै किचेन मास्टरलाई अर्डर गरे, 'पत्रकारजीलाई दूधैदूधको चिया ल्याइदेऊ...।' विपना रिसाइन्, 'चियासिया हैन, दूधिया पाउच (निम्न कोटीको रक्सी) ल्याइदेऊ।' मैले भने, 'हो, हो। विपनालाई दूधिया पाउच खानुपर्यो रे, ल्याइदेऊ...।'
०००
अहिले भन्दा पनि गम्भीर अवस्थामा उनी थलिएका थिए। यो कुरा ०५७–०५८ तिरको हुनुपर्छ। उपचारका लागि दिल्ली गए। फर्किएर आउँदैनन् भन्ने हल्लाले काठमाडौं पिटेको थियो। तर, केही महिनापछि फर्किए। त्यसबेला उनी रोगले थलिएर बाँसजस्तो भएका थिए। हामी राति ११ बजेसम्म एयरपोर्टमा श्रीको प्रतीक्षामा थियौं। आगमन कक्षबाट उनी ह्वील चेयरमा देखिए। आफ्ना सयौं सहकर्मी र प्रशंसक देखेर श्री रोए। अशोक शर्माले भने, 'श्री तिमीलाई केही भएको छैन। तिमी बाँच्छौं। तिमीसँग हामी सबै छौं।' श्रीले रुँदै भने, 'हो दाइ, म बाँच्छु। मलाई बाँँच्न मन छ।'
०००
त्यसबेला श्रीलाई तंग्रिन निक्कै समय लाग्यो। घरमा आराम गरिरहेको बेला एकदिन मैले फोन गरेँ। त्यसबेला म चलचित्र संघको बुलेटिन सम्पादन गर्थें। नेपाल मोशन पिक्चर अवार्डको बेला। मलाई उनको बायोडाटा चाहिएको थियो। मैले भनेँ, 'म विश्वमणि बोलेको।' नपत्याउँदो उत्तर आयो, 'को विश्वमणि?' मैले रिसले फोन ढ्याप्पै राखे। राजन घिमिरेलाई सुनाएँ। उसलाई पनि केही दिनअघि श्रीले यस्तै भनेका रहेछन्। रोगबाट पूरै नतंग्रिएको र पुराना कुरा बेलाबेला बिर्सने समस्या रहेको कुरा झन्डै एक दर्जनले सुनाए।
मान्छे अगाडि देख्दा चिन्ने, नाममात्रै भन्दा अलिक झुक्किने भएका रहेछन्। फेरि एक हप्तापछि फोन गरेँ। 'म चलचित्र संघबाट हो। बायोडाटा चाहियो। दिने भए म म्हेपी (उनको घरमा) मै लिन आउँछु', उनले सोधे, 'को बोल्नुभयो।' मैले नाम भनेँ। 'ओहो सरजी, मलाई पनि अवार्ड दिने हो र?' मैले भनेँ, 'पाउलाजस्तो छ।' उनले भने, 'अरुले मेरो बायोडाटा माग्यो भने तपाईंहरुलाई देखाउँछु, तपाईंहरुलाई चाहियो भने मैले कसलाई देखाउने?' उनकै लोकेशनमा बस्ने शान्तिप्रियलाई दिएमा पाइने बताएको थिएँ। तर, खोजखाज गर्दै जाँदा मसँगै रहेछ, उनको एउटा बायोडाटा। त्यसमा नरदेवीमा मिठाई पसल चलाएदेखिकै विवरण थियो।
०००
श्रीकृष्णको चलचित्रमा पुनरागमन मात्रै भएन, उनी एकल नायकका रुपमा देखिन थाले। त्यसबेलासम्म म फिल्मी दुनियाँबाट टाढा भइसकेको थिएँ। उनले खेलेको गोर्खाली फिल्म लेख्दै गर्दा नयाँ बानेश्वरस्थित सुनीलकुमार श्रेष्ठको घरमा डाइरेक्टर शिव रेग्मी भेटेँ। उनैले सुनाए, 'श्रीकृष्ण पहिलोचोटि सोलो हिरो हुने स्त्रि्कप्ट लेख्दैछु।' खुशी लाग्यो। श्रीलाई फोनमा बधाइ दिएँ। 'ल, ल, तिमीलाई पनि पासिङ सटहरुमा (आक्कल–झुक्कल देखिने) भनिदिउँला', जिस्किएर उनले जवाफ दिए।
०००
भेट नभएको लामो समयपछि २०६६ सालको चैतमा उनीसँग भेट भयो, नेपालगञ्जमा। प्रेस चौतारीको राष्ट्रिय अधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक थियो त्यहाँ। संयोगले हामी बसेकै होटलमा शिव श्रेष्ठ, श्रीकृष्णहरु बसेका रहेछन्। त्यहाँ श्रीकृष्णसँग भेट भएन। शिव दाइसँग एकछिन मजाक गरेँ। भोलिपल्ट हाम्रो बैठक शुरु भयो। बैठक सकिँदा उनीहरु हिँडिसकेका रहेछन्। म पनि त्यही दिन काठमाडौं फर्किनुपर्ने। मेरो टिकट बुद्ध एयरको थियो। राँझा एयरपोर्ट पुग्दा श्रीकृष्णहरु यति एयरलाइन्सको प्रतीक्षामा थिए। पाँच मीनेटभित्रै यतिको जहाज आयो। उनीहरु जहाज चढ्न लम्किए। 'काठमाडौंमै भेटौंला', मैले भनेँ। तर, स्वेतासहितका अन्य कलाकार मसँगैको बुद्ध एयरमा परे। स्वेताले मलाई चिन्दिनन्। जहाजभित्रै परिचय दिएँ र आफूलाई श्रीकृष्णको मिलनसारमध्येको साथी भनेँ। काठमाडौं ओर्लिएपछि श्रीकृष्ण स्वेताको प्रतीक्षामा बसेका रहेछन्। म पनि सँगै थिएँ। स्वेतालाई देखाउँदै श्रीसँग म जिस्किए, 'उहाँलाई हिरोइन खेलाउने भए खेलाए हुन्छ, मैले कुरा गरिद्या छु।' श्री र स्वेता दुबै हाँसे। 'ल–ल विचार गरौंला' भन्दै दुबैजना आफ्नो गन्तव्यतिर लागे।
०००
करिब १० महिनाअघि हुनुपर्छ, प्रज्ञा प्रतिष्ठानमा श्रीकृष्ण भेट भयो। पहिला हामी त्यहाँ चिया पिउँदा धेरै पटक भेटिन्थ्यौं। 'वाह, वाह, फिल्म पाउन छाडेपछि श्रीकृष्ण फेरि एकेडेमीमा...', मैले जिस्किएर भनेँ। उनी फिस्स हाँसे। 'चिया खाने?' उनले सोधे। नखाने बताएपछि उनले कारण सोधे। बताएँ, 'आफू नखाने, अरुलाई मात्र खुवाउने?' त्यसपछि उनले मसहित त्यहाँ रहेका अरुलाई पनि चिया त मगाए। शायद, उनले त्यो चिया पिएनन्। मलाई थाहा थियो, उनी जथाभावी केही खाँदैनन्। कारण रोग नै हो। यो बानी एक दशकभन्दा पुरानो हो। खान्कीमा उनी विशेष ध्यान दिने भएका थिए। उसो त पहिला पनि उनी हामीजस्तो रात–बिरात खाएर हिँड्ने आदतका थिएनन्।
०००
त्यही मुस्कान, त्यही ठ्ट्यौली, अनि तिनै संघर्षका स्वर्णीम दिनहरु, मेरा लागि श्रीकृष्ण सम्भि्कने मेलो बनेको छ।
जिस्किँदा 'तँ', 'तिमी' जे भने पनि वास्तवमा म उनलाई 'श्रीजी' र उनी मलाई 'विश्व सर' नै भन्थे।
०००
आइतबार विहान ६ बजेर ३० मीनेटको आसपासमा रजतपटका दाइ प्रकाश सुवेदीको फोन आयो। 'श्रीकृष्णको पार्थिव शरीर काठमाडौं ल्याउनुपर्ने भयो। त्यसका लागि गृहमन्त्रीज्यूलाई हामी भेट्न चाहन्छौं। टाइम मिलाइदिनुपर्यो', उहाँले नबिसाइकन भन्नुभयो। मचाहिँ स्तब्ध भएँ। 'पार्थिव शरीर' ल्याउने भनेपछि उनको निधन भएको कुरा सोध्नै परेन। उपप्रधान तथा गृहमन्त्रीलाई फोन गरेँ। उहाँ पनि समाचार सुनेर दुःखी हुनुभयो। कलाकारहरुको मागअनुसार संस्कृति मन्त्री र परराष्ट्र मन्त्रीमार्फत पार्थिव शरीर ल्याउने पहलका लागि निर्देशन दिनुभयो। कूटनीतिक पहलका कारण सहजतासाथ श्रीकृष्णको पार्थिव शरीर देशमा ल्याइयो। कलाकारहरुले राजकीय सम्मानको माग गरे। राज्य सञ्चालनमा रहेका व्यक्तिलाई मात्र राजकीय सम्मान दिइने प्रचलन रहेछ। सम्भव भएन। त्यसैले गृहमन्त्रीले घोषित रुपमा मात्रै हैन, वास्तवमै 'राष्ट्रिय सम्मान' दिने र त्यो सम्मानमा कतैबाट कमी नआउने गरी व्यवस्था मिलाउन गृह प्रशासन र प्रहरी संगठनलाई निर्देशन दिनुभयो।
०००
अन्तिम श्रद्धाञ्जली अर्पणमा मानव सागर उर्लियो। अघिपछि हामी एक्ला–दुक्ला हुन्थ्यौं। हाँसिमजाक र ठट्यौंली चल्थ्यो। तर, उनै साथी श्रीकृष्णलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मानवसागर उर्लिएको थियो। आमनेसामने भएर श्रद्धाञ्जली अर्पण गर्न सम्भव भएन। उनका आमप्रशंसकझैं मैले पनि टाढैबाट फूलको गुच्छाले श्रद्धाञ्जली अर्पण गरेँ।
अलबिदा, प्रिय मित्र श्रीकृष्ण श्रेष्ठ।