राजतन्त्र छउञ्जेल जनतालाई पोल्ने कानुनले राजा, रानी, युवराजधिराज र राजपरिवारलाई पोल्दैनथ्यो। कागजमा गणतन्त्र आएर सबै नेपाली 'समान भएको' यही जेठ १५ मा पाँच वर्ष पुगिसकेको छ।
तैपनि कानुनका नजरमा सबै समान छैनन्, हाम्रो नेपालमा।
राजतन्त्रकालका युवराज जस्तै फुक्काफाल हुन पाउने भाग्यमानी हुन् प्रकाश दाहाल। आफूलाई गणतन्त्रको पिता दाबी गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको एकमात्र सुपुत्र भएकाले उनले यो हैसियत प्राप्त गरेका हुन्।
घरमा श्रीमती र छोरो हुँदाहुँदै कान्छी भित्र्याउँदा उनलाई कानुन लागेन। सरस्वती क्याम्पसकी स्वतन्त्र विद्यार्थी यूनियन सभापति बिना मगरलाई तेस्री बनाए।
छ महिनाजति उनी गुप्तवासमा विदेशतिर बरालिए। घरमा पत्नी सिर्जना त्रिपाठी हुँदाहुँदै कान्छी भित्र्याउँदा पनि मुलुकी ऐन लागेन।
मुलुकको गणतन्त्रभन्दा ४४ वर्ष जेठो कानुनले नै बहुबिबाहलाई दण्डित मानेको छ। यस अवधिमा कान्छी भित्र्याएका कारण हजारौं पुरुष झ्यालखानको चिसो छिँडीमा बसे। प्रकाशलाई कानुनको त्यो पञ्जाले समाउन सकेन। मुलुकका सर्वशक्तिमान नेताको छोरा भएकाले नै राजतन्त्रकालका युवराजले झैं उनले त्यो उन्मुक्ति पाएको भनी आलोचना भयो।
लोकलाजको लागि माओवादी पार्टीले भने उनलाई कारबाही गर्यो, राज्यसमिति सदस्यबाट निलम्वन गर्यो । पार्टी अध्यक्ष दाहालको प्रस्तावमा उनको कारबाहीको निर्णय भएको थियो।
त्यहिँ मौकामा भारतवर्ष सहित विदेशमा लामो हनिमुन सकेर फागुनमा प्रकाश काठमाडौं फर्के । पार्टी अध्यक्ष केही दिन उनीसँग कठोर भएजस्तो गरे। बाऊको मन पार्टी अध्यक्षको जति निष्ठुरी हुन सकेन ।
दाहाल पग्लिए ।
वैशाखको पहिलो साता पदाधिकारी बैठक डाके। उपाध्यक्षद्वय बावुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटीलगायत समयमै अध्यक्ष निवास लाजिम्पाट पुगे ।
'कमरेड प्रकाशले आफ्नो गल्ती महशुस गरेर आत्मोलाचना गरिसक्नुभएको छ,' गम्भीर भएर दाहालले बैठक सुरु गरे ।
भट्टराई र श्रेष्ठले मुन्टो हल्लाए । केही बोलेनन् ।
महासचिव बोगटीले चलमल गरेनन् । टाउको पनि हल्लाएनन् । उनको छोरी प्रभालाई प्रकाशले छोडपत्र गर्दिएदेखि उनी अध्यक्षपुत्रको विषयमा मौन नै रहन रुचाउने गरेका छन्, स्रोत भन्छ ।
दाहालले आफ्नो एजेण्डा राखे, 'आत्मालोचना गरिसकेको अवस्थामा कमरेड प्रकाशलाई पुरानै जिम्मेवारीमा बहाल गर्नुपर्ला ।'
पुत्रको हकमा पिताले जे निर्णय गराउन चाहेका थिए त्यही भयो ।
प्रकाश राज्य समिति सदस्यमा पुनर्बहाली भए ।
यो निर्णयपछि आम सर्वसाधारणले फेरि दाहाल र प्रकाशको आलोचना गरे । माथापच्ची गरे । तर्क गरे ।
'जनयुद्वकालमा कान्छी ल्याए भनेर दुनियाँका छोराको छाला काढे, आफूले तेस्री बुहारी भित्र्याउने प्रपञ्च मिलाए,' फेसबुक र टि्वटरमा पनि आलोचनाको फोहरा छ्ट्यो।
मुलुक फर्किसकेपछि पनि प्रकाशलाई मुलुकी ऐन किन लागेन ? सबैले जान्न खोजे । तर कसले जवाफ दिनु ?
तैपनि आलोचकहरुले मुख बन्द गरेनन्– 'एउटै मुलुकका नागरिकलाई अलग अलग इन्साफ।'
'लाजिम्पाटमा खटिएका जनपद, सशस्त्र प्रहरीले प्रकाशलाई किन पाता फर्काएर अदालत नलगेको?' कानुनी व्यवस्था र थितिमा चल्ने यूरोप, अमेरिकाका नेपालीले लेखे।
हुन पनि दाहालको सुरक्षार्थ लाजिम्पाटमा जनपद र सशस्त्रको अलग अलग दुई टोली तैनाथ छ। क्रमश डिएसपी र इन्स्पेक्टरको नेतृत्वमा।
केही दिन हल्लीखल्ली भयो। अर्कै नयाँ विषय आयो। आलोचकहरु त्यतैतिर लागे। प्रकाश–बिना प्रणय प्रकरण सामसुम भयो।
प्रचण्ड नागरिक दबाब परेको भए लोकलाजकै लागि भए पनि प्रहरीले सोधेजस्तो गर्नुपर्थ्यो होला। त्यो अवस्था आएन। प्रहरी भनौं वा राज्यलाई हाइसञ्चो भयो।
लगभग दुई महिनापछि प्रकाशले फेरि कानुनको खिल्ली उडाए। यसपाला मुलुकी ऐनको हैन। भ्रष्टाचार निवारण ऐनको पालो।
त्यो पनि एक्लैले हैन। कानुन कार्यान्वयन लिनुपर्ने प्रहरीलाई मतियार बनाएर ।
प्रकाशले अघिल्लो साता फेसबुकमा एउटा फोटो लोड गरेर त्यो हर्कत देखाए। डिएसपीको ड्रेस र फुली लगाएको तस्बिर।
दाहाल परिवारको निवास लाजिम्पाटमा खिचिएको तस्बिरमा प्रकाशको काँधमा खुकरी क्रस र एकताराको फुली पनि छ।
लाजिम्पाट स्रोतका अनुसार त्यो ड्रेस त्यहाँका सुरक्षा प्रमुख दानबहादुर मल्लको हो। फेसुबकमा प्रकाशले डिएसपीको ड्रेस लगाएको र मल्ल सिभिल ड्रेसमा भएका फोटाहरु पनि छन्।
'डिएसपीले प्रकाशलाई रिझाउन आज ड्रेस र फूली दिए,' स्रोतले भन्यो, 'भोलि पेस्तोल पनि दिन सक्छन्।'
अग्रगामी विचारधाराको प्रतिनिधित्व गरेको दाबी गर्ने प्रकाशले यसपाला मुलुकी ऐन भन्दा पनि अझ पुरातन कानून कुल्चेका हन्। त्यसको धज्जी उडाएका हुन् भनेर माओवादीमा उनको जयजयकार पनि हुन सक्छ।
'नपाएको पगरी पाएजसरी पोशाक, निस्सा, फुली लगाउँदा दण्ड भोग्नुपर्ने कानून रणाकालदेखिकै हो,' कानुन सुधार आयोगका पूर्व सचिव मोहन बञ्जाडेले भने, 'प्रजातन्त्र, पंचायत, बहुदल र लोकतन्त्रकालमा त्यो व्यवस्थालाई निरन्तरता दिइएको छ।'
उनको बुझाइमा अनाधिकृत व्यक्तिले डिएसपीको भेष धारण गर्नु र नागरिकता, पासपोर्ट बाँड्दै हिँड्नु उती नै दण्डनीय हो।
'दुवै अधिकार नभएको काम गरेको न हो,' बञ्जाडेले प्रष्ट पार्न खोजे।
मानिससँग जे छैन त्यसको चाहना हुन्छ। पोशाक प्रकरणले पनि त्यही देखाएको छ। प्रकाशको पाउमा आफ्नो फुली र पोशाक चढाउने डिएसपीले दाहाललाई सर्वेसर्वा देखे। अर्पिए।
जन्मेहुर्केको तुलनामा पुरै हस्तिनापुरको राज भइसक्दा पनि प्रकाशलाई डिएसपी हुने धित रहेछ । तर मानिसले आफ्नो इन्द्रियहरुलाई नियन्त्रण नगरेर जे मन लाग्यो त्यही गर्ला भनेर नै आधुनिक राज्यमा कानुनको तगारेा हालिन्छ। बिधिको शासन भनेको त्यही हो।
प्रकाशले डिएसपीको पगरी गुथेर अर्को दण्डनीय कार्य गरेका छन्। उनले यस विषयमा कुनै निकायलाई जवाफ दिनुपर्ला भन्ने द्विविधा पनि हाम्रो राज्यसत्ता बुझेकाहरुलाई छैन।
सानालाई पो ऐन ठूलालाई सधैं चैन नै चैन।
डिएसपी हुन यत्रो रहर बोकेका प्रकाशसँग सायद त्यसका लागि चाहिने कुनै पनि योग्यता भने छैन। इन्स्पेक्टरबाट जागिरमा छिरेर बढुवा पाएपछि मात्र डिएसपी हुन पाइन्छ। त्यसका लागि न्यूनतम बिए पास गरेकै हुनुपर्छ। उमेर पनि २५ वर्ष नाघेको हुनुहुँदैन।
राज्य/प्रशासनले प्रकाशलाई कारबाही गर्ला कि बरै डिएसपीको फूलीमा ठिड्के भएर ठाँटिने रहर मेट्न फोटो खिचाएको न हो भनेर नवयुवराजको बचाऊ !