‘नाममा के छ? गुलाफलाई जे भने पनि सुगन्ध त उही हो नि!’ यस्ता उक्तिहरू हामी सबैले सुनेकै हो। तर वास्तविकता के हो भने नाममा केही कुरा अवश्य छ। नामले जसलाई परिचय दिएको हो, उसको र सुन्ने मानिसको मनोविज्ञानमा तत्कालै असर पार्छ। उदाहरणहरूबाट सुरु गरौं।
विकसित मुलुकका केही राजनीतिज्ञले कम विकसित मुलुक, विशेषगरी एशिया तथा अफ्रिकाका राष्ट्रहरूलाई थर्ड वर्ल्ड भन्न थाले। थर्ड वर्ल्ड भन्नाले अशिक्षा, फोहोर, भौतिक पूर्वाधारको अभाव, गरिबी तथा असभ्य समाजको अर्थ लाग्न थाल्यो । हुँदाहुँदा नेपाल जस्ता देशका मानिसले समेत आफैले आफैलाई थर्ड वर्ल्ड भन्न थाले। व्याकरणकै कुरा गर्दा पनि आफूलाई फस्ट पर्सन र अर्को व्यक्तिलाई थर्ड पर्सन भनिन्छ। यसमा राम्रो नराम्रो भन्ने हुँदैन र सम्भवत आफूलाई फस्ट वर्ल्ड भन्नेले त्यही सन्दर्भमा अरूलाई थर्ड वर्ल्ड भनेको पनि मान्न सकिएला। तर सबैले आफैँले आफैँलाई थर्ड वर्ल्ड भन्नु, चाहे ऊ जहाँ जस्तो देशको बासिन्दा किन नहोस, आफैँलाई ऊ भनेको जस्तो होइन र?
यसको सोझो मानसिकतामा पर्ने असर भनेको अर्को व्यक्ति या राष्ट्रलाई आफूभन्दा ठूलो मान्नु हो। उसका विचार तथा तौर तरिकालाई आफ्नो भन्दा उत्तम ठान्नु हो। र, अरूले होच्याएर प्रयोग गरेको थर्ड वर्ल्डलाई आत्मसात गर्नु, अरुलाई प्रथम (पुरुष)को श्रेणीमा राख्नु दमित मानसिकतालाई निरन्तरता दिनु हो। जुन थर्ड वर्ल्डको संज्ञा पाएका देशहरू छन्, तिनले जति विकास गरेपनि फस्ट वर्ल्डले आफ्नो अंहकारी मानसिकता त्याग्न सकेको छैन। जुन फस्ट र थर्ड वर्ल्डको नाम या परिचय छ, त्यसले दुबैतर्फ एक अर्काको बारेमा फरक फरक मनोविज्ञानको निर्माणमा भूमिका खेलेको छ। त्यसैले त जब धारामा पानी पाँच मिनेट पनि बन्द भयो भने मेलवर्नको अस्पतालमा एउटा नर्सले भन्छ– यो त थर्ड वर्ल्डको जस्तो भयो। त्यसले सुन्ने मानिसको मश्तिष्कमा तुरुन्त केही विचारहरू तरंगित हुन्छ। त्यसैले नाममा केही न केही पक्कै छ।
म जहाँ बस्छु, त्यस ठाउँलाई फस्ट वर्ल्ड भन्छु। त्यसले मलाई आफू र आफ्नो स्थानलाई प्राथमिकतामा राख्न मनोवैज्ञानिक बल दिन्छ। त्यसैले मेरो परिचय पनि ‘नन्’ जस्तो नकारात्मक शब्दबाट सुरु होस् भन्ने म चाहन्न। तर मेरो विचारमा यो केवल शब्दको मात्र कुरा होइन।
यहाँ माथिको फस्ट र थर्ड पर्सनको उदाहरण किन उपयुक्त हुन्छ भने हामीले आफूलाई एनआरएन भन्नु थर्ड पर्सन हुनु हो। हाम्रो परिचय या भिक्टोरियामा (अस्ट्रेलियामा) अस्थायी वा स्थायी बसोबास गर्ने नेपाली नागरिक या नेपाली मूलको अस्ट्रेलियाई नागरिक हुनसक्छ। हाम्रो परिचय यस राष्ट्रको नागरिक, स्थायी बासिन्दा या अस्थायी बासिन्दा हो। हामी नेपाली एसोसिएसन अफ भिक्टोरियाले प्रतिनिधित्व गर्ने समुदाय हो। यहाँको सरकारले हामीलाई भिक्टोरियामा बस्ने नेपाली भनेर सम्बोधन गर्छ। न कि ‘नबस्ने’ नेपाली भनेर।
हामी नेपाल फेष्टिबल मनाउँछौ । धन्न नेपाली एसोसिएन अफ भिक्टोरियाको नाम पनि त्यही हुनाले अन्य समुदायको सामु इज्जत जोगिएको जस्तो मलाई लाग्छ। नत्र सोच्नुस त, एनआरएन मात्रले नेपाल फेष्टिभल गर्दा तपाई कतिलाई मात्र एनआरएनको अर्थ लगाउँदै जानुहुन्छ? किन तिमीहरूले अष्ट्रेलियामा समाहित नहुने खालको नाम राखेको, के यो नामले तिमीहरूको यो राष्ट्रप्रतिको उत्तरदायित्व कम देखाउँदैन र? यस्तो प्रश्न आएमा के भन्ने? प्रष्ट छ नेपाल फेष्टिबल गर्न हामीलाई नेपाली एसोसिएन अफ भिक्टोरिया चाहिन्छ। हुन त गर्नेले जे गरे पनि हुन्छ। तर बाँकी अष्ट्रेलियन समुदायले कुन नामधारी संस्थाले गर्दा कस्तो सोच्लान् आफैँ सोच्नुस्।
एनआरएनको उद्गम
एनआरआईबाट एनआरएनको अवधारणा कपी र अल्टर गरिएको बुझ्न गाह्रो छैन। चाहे सिनेमाको कुरा गर्नुहोस, या नेपाल पर्यटन बोर्डले Incridible India को नारा आउनासाथ Naturally Nepal भनेर अवधारणा चोरेको होस्, या जमानामा नेपाली कांग्रेसको नामकरणकै कुरा किन नहोस्, नेपालले दक्षिणबाट विचार तथा अवधारणा सापटी लिनु कुनै नौलो कुरा होइन। एनआरएनको सन्दर्भमा पनि त्यही भयो। तर यहाँ विचार गर्नुपर्ने कुरा के छ भने एनआरएनको सन्दर्भमा अलि उल्टो भयो।
मेरो अध्ययन तथा बुझाइ के हो भने भारतको सन्दर्भमा भारतमा नबस्ने भारतीयहरुलाई भारतको सरकारले एनआरआई भनिदियो। अर्थात्, तिमीहरू भारतमा नबस्ने भारतीय हौ भनिदियो। भारतको दृष्टिकोणबाट हेर्दा या उसले सबैलाई एकै थान्कोमा राखिदिदा एनआरआई भन्नु स्वभाविक नै जस्तो लाग्ला। तर जो अमेरिकामा बस्ने भारतीय छ उसको प्राथमिक परिचय त एनआरआई होइन। उसले आफूलाई भारतीय मूलको अमेरिकी भन्छ। अमेरिकाको लुसियानाको गर्भनर बबी जिन्दल हुन् या अमेरिकाका प्रसिद्ध डा. सञ्जय गुप्ता हुन्, यिनीहरु आफूलाई भारतीय मूलको अमेरिकी भने पनि मुख्य परिचय एनआरआई भनेको पाइँदैन, भलै भारतले उनीहरूलाई एनआरआई भनोस्। उनीहरू आफूलाई एनआरआई भनेर चिनाउँछन जस्तो मलाई लाग्दैन।
हो नेपाल सरकारसँग विश्वभरि छरिएर बसेका नेपालीहरुको प्रतिनिधित्व गर्ने कुनै समिति हुनु नराम्रो होइन र त्यसको मात्र नाम एनआरएन हुनु ठिकै होला, किनकि त्यसको सोझो अन्तर्क्रिया नेपाल सरकारसँग मात्र हुने भयो। एउटा देशबाट एक दुईजना यस्तो प्रतिनिधिहरू पठाए मुख्य समस्या तथा मुद्दा पनि सम्बोधन हुने नै भए। तर एउटा समानान्तर राष्ट्रकै रुपमा विकसित भएको यो सञ्जालले ती देशका सरकारसँग राख्ने हैसियत कस्तो होला? नन रेजिडेन्ट भन्ने नामले त्यो समुदायको हालको राष्ट्रको मूलधारलाई कस्तो सन्देश देला, नन रेजिडेन्ट भनिनेहरूको बफादारी र जिम्मेवारी बोधबारे अन्यले के सोच्लान्? भिक्टोरियाको हकमा नन रेजिडेन्ट नेपाली संस्था र नेपाली एसोसिएसन अफ भिक्टोरिया मध्ये सरकारसँग सामुदायिक भवन बनाउन ग्रान्ट मागेमा कस्ले पाउला? अझ भनौ नन रेजिडेन्ट नेपाली समूह र सुडानी एसोसिएसन अफ भिक्टोरियाले ग्रान्ट माग्दा कसले पाउने सम्भावना बढी होला? तपाईँ भन्नुहोला– दुवै संगठन भए भइहाल्यो नि! दुबैको सदस्यता लिनुहोस– के को किचकिच गरिराको। सरी, मलाई समुदायको दोहोरो स्रोत सोस्ने संगठनहरु चाहिएको छैन। त्यस्तै मैले आफैँले आफूलाई थर्ड पर्सन पार्नु पनि छैन। म अस्ट्रेलिया बासी नेपाली हुँ। मेरो उत्तरदायित्व जन्म र कर्मभूमि दुबै पट्टि छ। मेरो नेपाली परिचय म जहाँ गए पनि परिवर्तन हुँदैन। तर म कतैको नन रेजिडेन्ट चाहिँ होइन।
(लेखक अस्ट्रेलियाको भिक्टोरियामा स्थायी बसोबास गर्छन्। उनको यो लेख मेलबर्नबाट प्रकाशित हुने स्थानीय पत्रिका पिपलबोटमा समेत प्रकाशित छ।)