के खाने, के नखाने भन्ने खानेकुराको गुण अवगुणका आधारमा निर्धारण हुनुपर्ने हो, तर कतिपय मानिस ढिँडो, रोटो खानुलाई विपन्नताको परिचय मान्छन्। हुने खानेहरु मिठोमसिनो रोज्छन्। ढिँडो खानुभन्दा सधैँ धानको भात खान पाए हुन्थ्यो भन्ने आमधारणा हाम्रो समाजमा छ। तर, आफूलाई भने बाल्यकालदेखि नै आमाले बेसारको पातमा पकाएको फापरको रोटी वा कसौँडीमा पाकेको ढिँडो खान औधी मन पर्दछ।
सहरिया कलेज जीवन सुरू भएपछि यी खानेकुराहरु खाने अवसर कमै प्राप्त हुन थाल्यो। विद्यावारिधि गर्न जापान गएपछि फापरको पिठो मिसाएर बनेको 'सोबा' नाम गरेको लोकप्रिय नुडल खान थालियो। जापानका भोजनालयहरुमा साकाहारीहरुका लागि उपलब्ध हुने थोरै खानेकुरामध्ये सोबा एक सस्तो र स्वादिलो खानेकुरा हो। पानीमा उमालेर पकाएको सोबा भटमासको ससमा चोपेर खान औधी मिठो हुन्छ। तर पनि बेसारको पातमा पकाएको फापरको रोटीको तिर्सना अझै मेटिएको छैन। वास्तवमा फापरको पिठो र बेसार दुवैमा गुणकारी तत्वहरु हुन्छन्, यसरी पकाउँदा बेसारको स्वाद, सुगन्ध फापरमा मिसिएर एक विशिष्ट आनन्दको अनुभूति दिने खानेकुरा बन्छ। पातमा पकाएर खानेकुरा खाने हाम्रो प्रविधिको वैज्ञानिक अनुसन्धान हुन जरुरी छ। आफनो पारम्परिक प्रविधिको बारेमा हुनुपर्ने चर्चा, अध्ययन, र अनुसन्धान नभइरहेका अहिलेको अवस्थामा पनि नेपाली बजारमा फापर, कोदोजस्ता खानेकुराको लोकप्रियता बढ्दो छ। गाउँघरमा पाक्ने फापरको ढिँडो नेपाली भोजनालयहरुको लोकप्रिय मेनु बन्दैछ। यो सुखद कुरा हो। फापरको पिठोमा यस्तो के कुरा छ, जसले यसलाई मिठोमात्र होइन, गुणकारी भोजन बनाउँछ?
फापरलाई अंग्रेजीमा 'बक हुईट' भनिए पनि यो 'हुइट' (गहुँ) परिवारको अन्न होइन। फापरको उत्पत्ति हजारौं वर्ष पहिले एसियामा भएको र पछि युरोप, अमेरिकालगायत पश्चिमी मुलुकमा यसको लोकप्रियता बढेको बताइन्छ। फापरको उत्पादन रुखो डाँडापाखा, पानी, मलको अभावमा पनि सजिलै गर्न सकिन्छ तर पनि यसको हुनुपर्ने उत्पादन नभएको देखिन्छ। वास्तवमा फापरको उत्पादन र भन्डार रासायनिक मल र विषादिको प्रयोगबिना पनि राम्ररी गर्न सकिने भएकाले यो सापेक्षित रुपमा अर्गानिक खानेकुरा हो।
फापरमा पाइने गुणकारी तत्वहरु
फापरमा प्रसस्त मात्रामा रेशादार तत्व, भिटामिन बि१, बि२ र बि६,प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ। मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो जसमा करिब १०–१२.५ प्रतिशत प्रोटिन पाइन्छ। फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरुप्राप्त हुन्छ। जनावरको मासु खाँदा कोलेस्टेरोल अनि अन्य अस्वस्थ्यकर चिल्लो पदार्थहरु पनि खान सकिने भएकाले हृदयसम्बन्धी रोगहरुको जोखिम बढ्न सक्छ। तर फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो। फापरमा प्रसस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन्। यसका अलावा “रुटिन” भनिने लाभदायक एन्टिअक्सिडेन्ट पोलिफेनोल फापरमा प्रसस्त पाइन्छ। तर रुटिनको मात्रा फापरको नुडलमा पिठोमाभन्दा कम हुने विज्ञहरुको भनाइ छ। फापरमा पाइने तत्वहरुको उपयोगिताको बारेमा धेरै अनुसन्धानपत्रहरु प्रकाशित छन्। फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन। त्यसैले फापरको सेवन ग्लुटेन इनटोलेरेन्स अर्थात 'सेलियाक डिजिज' हुनेहरुका लागि लाभदायक मानिन्छ। अर्थात यो ग्लुटेनमुक्त खानेकुरा हो।
फापर एक रोगनिरोधक
वास्तवमा मिलमा मिहिन गरी पिँधेर तयार गरेको मसिनो सेतो चामल नरम, मिठो भएपनि यस्को अधिक सेवन स्वास्थ्यका लागि अहितकर मानिन्छ। त्यसमा पनि शारिरिक परिश्रम कम गर्ने तर फाइबर कम भएका मिठो, मसिनो खानेकुरा (नरम, गुलियो,चिल्लो पदार्थले भरपुर) बढी खानेहरुलाई मधुमेह रोग लाग्ने बढी सम्भावना हुनसक्छ। यस्को विपरीत फाइबरयुक्त फापर कम ग्लाइसेमिक इन्डेक्स भएको खाद्यपदार्थमद्ये एक हो, जुन मधुमेहका लागि लाभदायक हुन्छ। कुन खानेकुरा कति छिटो शरीरभित्र प्रवेश गरेर रगतमा ग्लुकोजको मात्रा बढाउँछ भन्ने कुरा तिनीहरुको ग्लैसेमिक इन्डेक्सबाट बुझ्न सकिन्छ। एक रिपोर्टका अनुसार फापरको ग्लैसेमिक इन्डेक्स ३५ हो भने गहुँको ब्रेडको ६८ मानिन्छ। एक्सपेरिमेन्टल डायबटिक रीसर्चमा प्रकाशित एक लेखअनुसार टाइप २ मधुमेहका उपचारका लागि ताइवानमा फापर प्रयोग गरिन्छ। यसरी फापर मधुमेह रोग नियन्त्रणका लागी लाभदायक खानेकुरा हो।
शरीरमा ग्लुकोज तह लगाउने मात्र होइन, फापरको सेवन रगतको कोलेस्टेरोल घटाउन पनि सहयोगी हुने एक वैज्ञानिक रिपोर्टले बताउँछ। जापानी अनुसन्धानकर्ताहरुले मुसामा गरेको अध्ययनअनुसार प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ, साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरुको राय छ। फापरमा पाइने फाइबर ग्लुकोज मेटाबोलिजममा प्रभावकारी हुन सक्छ । भनिन्छ, स्वस्थ्यकर जीवन जिउन वयस्क मानिसले २५–३८ ग्राम फाइबरको सेवन दिनहुँ गर्नुपर्छ। एक रिपोर्टका अनुसार एक कप फापरमा ४.५ ग्राम फाइबर पाइन्छ। यसरी फापरको सेवनबाट शरीरले प्रसस्त फाइबर प्राप्त गर्नसक्छ। फापरको सेवनबाट उमेरसँग हुने मानसिक चेतनाको कमी (कग्नेटिभ लस) लाई रोक्नसक्ने वैज्ञानिकहरुले अनुमान छ। यसरी मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुन सक्छ।
फापरको यति धेरै गुण भए पनि यसको सेवन सहरिया समाजमा यदाकदा मात्र गरिन्छ। हाम्रो समाजमा रोटी प्राय उपवास बस्दा खाइन्छ। मिलमा पिसेको धानको भात हाम्रो मुख्य खाना हो। भात नखाई कसरी बाँच्ने भन्ने आम धारणा छ र हामीले खाने चामल हाम्रो उत्पादनले नपुगेर आयात गर्नु परिरहेको अवस्था छ। फाइबर, र फाइटोकेमिकलहरु कम, तर नुन, चिल्लो बढी भएका अस्वस्थ्यकर खानेकुरा (तयारी खानेकुरा, जस्तै चाउचाउ) खाएर समाजमा रोगीहरुको समस्या बढ्दो छ। यो अवस्थामा आफ्नै देशमा उत्पादन हुने अनि घरमै पकाएर खानसक्ने फापर, कोदोको ढिँडो, रोटो खानु स्वस्थ्यका लागि हितकर हुन्छ। धेरैजसो हामी ढिँडो, रोटो खाँएरै हुर्किएका हौ। ढिडो,रोटो, खान हिचकिचाउनेले फापरको उम्रिएको टुसा (अंकुर) सलादको रुपमा खान सकिन्छ। यो एन्टिअक्सिडेन्टको धनी भएकाले अझै स्वस्थ्यकर खानेकुरा मानिन्छ। यस्को अलावा फापरको पिठोबाट बनेको नुडल, कुकिज वा मफिन खान सकिन्छ। जापान जस्तो औद्योगिक मुलुकमा सोवाको उत्पादन गरेर विदेशमा समेत निर्यात गरेको देखिन्छ भने हामीले पनि प्रसस्त फापरको उत्पादन गरी नेपाललाई विश्वको प्रमुख फापर उत्पादक मुलुकको रुपमा चिनाउन सकिन्छ। फाइबर र एन्टिअक्सिडेन्टले भरपुर फापर जस्ता खानेकुराहरुको लोकप्रियता फंग्सनल फुडको रुपमा पश्चिमी मुलुकहरुमा बढेकाले नेपालको फापरले अन्तर्राष्ट्रिय बजारमा नाम र दाम कमाउनसक्छ।