आज साउन १५, खिर खाने दिन। बिहानैदेखि फेसबुक र ट्वीटरभरी खिरकै चर्चा छ। कतै आज चिया पसलेहरुको चिया त्यस्तै खेर त गएन? दुख खेरै जाने भयो। एकाविहानैदेखि खिरको चर्चा सुनेपछि मनमा उब्जिएको शङ्का। चर्चा देख्दा लाग्छ, आज सबैले बिहानै उठेर चिया होइन, खिर खाए!
खिरै त के भन्नु चामल र पानीमा दुधको थोरै रङ मिसाएको 'भात' खाए होलान् सबैले! किन दुधको रङ मिसाएको भात भनियो खिरलाई भन्ने प्रश्न उब्जिएला। असली खिर त त्यो हो जो दुधमा पानी नमिसाई चामल मात्र राखेर पकाइन्छ। तीन भाग पानी, एक भाग दुध मिसाएर बनाएको खिरलाई भात नभनेर के भन्नु? चिनी हालेर गुलियो बनाउँदैमा खिर हुन्छ र?
मलाई मेरो हजुरआमाले बनाएको जत्ति मिठो खिर अहँ, अन्यत्र कतैको लाग्दैन। उहाँ न चिनी हाल्नुहुन्थ्यो, न ल्वाङ, सुकमेल र नरिवल नै राख्नुहुन्थ्यो। दुध र चामल भए पुग्यो, खिर पाकिहाल्थ्यो। त्यो पनि निकै स्वादिष्ट, आहा!
हजुरवुवा र हजुरआमा गाईभैसी पाल्ने सिलसिलामै दैलेखबाट सुर्खेत झर्नुभएको हो। उहाँहरुले थुप्रै गाई र भैसी पाल्नुभएको थियो। एकैपल्ट गोठमा ८/१० वटा गाई र ४/५ वटा भैसी दुहुना हुन्थे। 'गोरस'को चिन्तै थिएन। झन हजुरआमाले बनाउने खिरको त कुरै छोडौ। प्राय हप्तामा एकपल्ट उहाँ खिर पकाउनुहुन्थ्यो। सबैभन्दा पहिला सानो भाइ र मलाइ खान दिनुहुन्थ्यो अनि परिवारका सबैलाइ भाग छुट्याएर वरपरका छरछिमेकसम्मलाई पुर्याउनुहुन्थ्यो। छरछिमेकीहरु पनि उहाँले बनाएको खिर खान पाएपछि मख्ख पर्थे। कहिलेकाही घाँस काट्न गएका बेला आफ्नो भारीमा थप एक/दुई मुठा घास हजुरआमाका लागि छुट्याएर ल्याइ पनि दिन्थे। कोही त 'नाइ बज्यै के हालेर बनाउनुहुन्छ हजुरले यति मिठो खिर जत्ति गरे पनि हामीले बनाउँदा त यति मिठो हुँदैन त' भन्दै उहाँसग सिक्न समेत आउँथे।
कसैले त कुनै पर्वको बेला पाहुनालाई खिर खुवाउनुपर्ने भयो भने मेरो हजुरआमासँग बनाइमागेर लैजान्थे। हो, हजुरआमाका तिनै हातले बनाएको खिर थुप्रै पटक खाएर हुर्केको हुँ म पनि।
म प्राय उहाँसँगै हुन्थेँ। उहाँसँगै गोठालो जान्थेँ। उहाँसँगै सुत्थे। उहाँलाई सकेजति काममा सघाउँथे। उहाँ पनि मलाइ निकै माया गर्नुहुथ्यो। अरुसँग लुकाएरै भएपनि दही, दुध राखिदिनुहुन्थ्यो। मलाइ खिर खान मन लागेको दिन म उहाँलाई बेस्सरी काममा सघाउथेँ। सकी नसकी रुखमा चढेर डाले घाँस काट्थेँ। आफै सिमल्थेँ। जानीनजानी भारी बान्थेँ र सकीनसकी आफै बोकेर गोठसम्म पुर्याउथेँ। मेरो कामदेखि उहाँ निकै प्रशन्न हुनुहुन्थ्यो। सायद भगवान शिव पनि सत्यदेवी र पार्वतीको ब्रतबाट यस्तै प्रशन्न हुन्थे होला!
उहाँ खुसी हुँदै मेरो टाउको, गाला, कान र चिउँडो मुसार्नुहुन्थ्यो आफ्ना हातले। तब म यत्रोविधि दुख गर्नुको रहस्य खोल्थेँ, 'हजुरआमा, आज खिर खाने है?' उहाँ पनि सहर्ष स्वीकार्नुहुन्थ्यो। बिहानै दुहेर राखेको केही दुध भोडोमा जम्मा गर्नुहुन्थ्यो भने केहीको खिर पकाउनुहुन्थ्यो। मेरो कारण घर र वरपरका सबैले खिर खान पाउँथे। दशै, तिहार, तीज, माघे संक्रान्ति जस्ता सबै चाडपर्वहरुमा पनि उहाँ खिर पकाउनुहुन्थ्यो। दशैको खिरको महत्व अझ बेग्लै हुन्थ्यो। दशैमा टिका लगाएर पहिला आर्शिवाद दिनुहुन्थ्यो। अनि दिनुहुन्थ्यो, आफ्नै हातले पकाएको मिठो खिर! त्यो मलाई मात्रै होइन, परिवारका साथै छरछिमेकलाई पनि औधि मन पर्थ्यो।
हरेक वर्षको साउन १५ मा उहाँ नियमित खिर पकाउनुहुन्थ्यो। खिर पकाएसकेपछि सबैभन्दा पहिला सालको पातमा राखेर देउतालाई चढाउनुहुन्थ्यो अनि हामीलाई खान दिनुहुन्थ्यो। बाहिर हुँदा पनि म साउन १५ गते प्राय घर पुग्थेँ। मलाई त्यो दिन पनि दशै र तिहार जत्तिकै उल्लासपूर्ण लाग्थ्यो।
आज पनि फेरि आयो रिङ्दैघुम्दै उही साउन १५। तर म घर गइनँ। मनमा अघिल्ला वर्षहरुमा जस्तो उल्लास पनि छैन। खिरको चर्चा विहानैदेखि नसुनेको भए सायद मैल आज साउन १५ हो भनेर समेत सम्भि्कन्नँथिएँ होला। र, सम्भि्कनुपर्दैनथियो होला बिर्सन चाहेको अतित पनि! तर विहानै खोलेको फेसबुक र ट्वीटरले बिर्सन चाहेको त्यही विगतमा पुर्याइदियो। नचाहँदा नचाहँदै पनि सम्झनुपर्ने भयो। एक्कासी मनमा हुँण्डरी चलेजस्तो भयो। घरी सुख्खा खडेरी परेजस्तो भयो। घरी एक्कासी दर्के झरी परेजस्तो भयो। घरी शून्यता छायो। मन र मस्तिष्क फेरि बेचैन भयो। त्यसलाई नियन्त्रण गर्ने बहाना खोज्दाखोज्दै लेख्न बसेछु।
हो विगतका वर्षहरुमा दशै र तिहारजत्तिकै उल्लासपूर्ण हुने साउन १५ ले यसपटक त्यस्तो खुसी ल्याउन सकेन। त्यसको एउटै कारण हो, आज मसँग मेरो हजुरआमा हुनुहुन्न। र, अबका कुनै पनि साउन १५ हरुमा उहाँ मसँग हुनुहुनेछैन। गत पुसको १५ ले नै उहाँलाई यो धर्तीबाट विदा गरिदियो। फेरी यही साउन महिना हो जसले म ६ वर्षकै हुँदा मेरी आमालाई पनि सधैका लागि यो धर्तीबाट उठाएर नफर्कने गरी लगेर गएको थियो। हो त्यसैकारण पनि मलाई लाग्छ, अरुहरुले भन्ने गरेजस्तै यो साउन साच्चिकै कालो साउन हो जसले मेरो जीवनको एउटा पाटो पुरै कालो पर्दाले छोपिदिएको छ।
मलाई आज खिर खान मन पनि छैन। सम्भि्करहेछु, अघिल्लो साउन र त्यसअघिका थुप्रै साउन १५ मा हजजुरआमाले बनाएर दिनुभएको त्यो मिठो खिर, जसमा खिरकै स्वाद थियो।
Twitter: @Dada_ghare