करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
त्यतिखेर म जागिरको सिलसिलामा कालिकोट पुगेको थिएँ र कार्यालय प्रयोजनको लागि फर्निचर लगायत अन्य सामग्री खरिदको लागि सुर्खेत आउनुपर्ने बाध्यता थियो। त्यसो त हिँडाइ कति हुन्छन् कति, सबै सम्झनायोग्य हुँदैनन् र विस्मृतिमा जान्छन्। तर कुनेै यात्रा भने अविस्मरणीय हुन जान्छन् र बिर्सन नसकिने हुँदा रहेछन्।
हाउडी लेकको यतिखेर सम्झना आउनुको पनि त्यही कारण छ। यो एउटा अविस्मरणीय घटना हो। नेपाली राजनीतिका शिखरपुरुष स्व. विश्वेश्वर प्रसाद कोइरालाको शतवार्षिकी मनाइरहेको सन्दर्भमा यो हाउडी लेक पनि टाँस्सिएर आएको हो ।
२०३९ साल साउन ६ गतेको दिन रानीमत्ताबाट बिहान हिँड्दा साँझ हाउडीमा बास बस्ने निधो गरी हिंडाइलाई त्यसै बमोजिम चलाएको थिएँ। चार बजेतिर नै हाउडी पुगे पनि लेक काटेर अर्को बास नभेट्ने हुँदा त्यही बस्नपर्ने बाध्यता पनि थियो। दिनभरिको हिँडाइले थकित थिएँ भने खाना खान केहीबेर कुर्नपर्ने थियो। त्यहीँ सुस्ताएर निदाएछु। छाप्रोको अर्को कुनामा चार जना अपरिचित बटुवा आएर बसिरहेका रहेछन्, पछि ब्युझिएपछि देखेँ।
साँझको रेडियो समाचारमा जननेता बिपी कोईरालाको निधन भएको खवर आएछ। समाचारले आहत भएका छाप्रे होटेलका मालिक भावविह्वल हुँदै अश्रुधारा बगाउँदै मलाई उठाउन आए।
सोधें, ‘किन रोएको, के भयो?’
‘हाम्रा जनप्रिय नेता बितेछन् साब्, भर्खरै रेडियोले भनेको, तिमी पनि समाचार सुन।’
नभन्दै एउटा तारा नेपाली आकाशबाट अस्त भएको दिन थियो त्यो।
हाउडीको लेकमा एउटा सानो व्यवसाय गरी वस्ने सम्भवतः अशिक्षित एउटा गरिब नेपालीले कसरी चिन्यो बिपीलाई? बिपीको अन्त्य हुँदा किन उसको आँखामा आंसु? थुप्रै प्रश्नहरु मेरा सामु उपस्थित भए। निरुत्तर मसँग बिपीलाई चिन्ने र बुझ्ने क्षमता थिएन। यद्यपि त्यो हाउडी लेकको अशिक्षित वा अर्धशिक्षित गरिब नेपालीभन्दा म शिक्षित थिएँ मात्र होइन, लोक सेवा पास गरेर नेपाल सरकारको जागिरे पनि भएको थिएँ। सम्भवतः बिपी गरिब र निसहायहरुका आशाका केन्द्र थिए, त्यसैले होला यिनको देहावसानमा एउटा गरिबको आँखा श्रद्धाले भिजेका थिए।
यस्ता जननेताको शतवार्षिकीमा मेरो पनि श्रद्धा सुमन।