अघिल्लो संविधानसभाको पहिलो बैठकले देशलाई संघीय गणराज्य घोषणा गर्दाकै दिनदेखि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेका थिए, मुलुकमा संघीयता आवश्यक छैन भनेर। देशमा हुँदै गरेको यति ठूलो परिवर्तनका बाबजुद पनि उनले निर्धक्क बोलेका थिए– मुलुकमा गणतन्त्र आवश्यक थियो, छ र रहने छ तर नेपालजस्तो सानो मुलुकका लागि संघीयता कुनै पनि दृष्ट्रिकोणले सही हुन सक्दैन भनेर। जब संघीयताका विषयमा संविधानसभाभित्र छलफल सुरु भयो, उनी त्यतिबेला पनि संघीयताका विपक्षमा उभिइरहे र आजको मितिसम्म पनि उनी संघीयताकै विपक्षमा छन्।
देशको सम्पूर्ण शक्ति संघीयताका पक्षमा रहेका बेला संघीयताको विपक्षमा एक्लै आवाज उठाउँदै आएका चित्रबहादुर केसी एउटा सरल नेता हुन्। उनको जीवनशैली हेर्दा मलाई लाग्छ, उनले कम्युनिष्ट आन्दोनलमा लागेर धेरै कुरा भुलिसकेका छन्, विलाशिता भनेको उनलाई थाहा छैन, संधै सार्वजनिक यातायातमा यात्रा गर्छन् र धनको पनि कुनै लोभ छैन। म काठमाडौँ अनामनगर बस्दा उनको र मेरो जम्काभेट प्राय नेपाल यातायातको भीडभाडमा मात्रै हुन्थ्यो। उनीसँग कुरा त गर्दिनथेँ तर उनलाई नियालेर धेरै कुराहरु कल्पना गर्थे।
संयोगवश एकदिन पुतलीसडक चोकबाट डिल्लीबजारसम्म उनीसँगै पैदलयात्रा गर्ने मौका मिल्यो। मैले मेरो परिचय दिएँ। म बागलुङको भनेपछि उनी निकै खुसी हुँदै मसँग कुरा गर्न तम्सिए। मैले उनलाई सोधँे– मुलुक संघीयतामा जाने निश्चित भइसक्यो, तपाईँ अझै पनि यसको विरोध गरिरहनु भएको छ, के अब मुलुकलाई तपाईँले संघीयतामा जानबाट रोक्न सक्नुहुन्छ? उनले बढो शालीनतापूर्वक जवाफ दिए, बाबु हामीले संघीयताको विरोध गरेको होइन, संघीयताका फाइदा र बेफाइदाका विषयमा हामी अझै पनि छलफल गर्न तयार छौँ तर जातीय राज्य निर्माण गर्ने विषयमा हाम्रोे विमति छ।
उनले थपे– बाबु हेर्दै जाऊ, यदि मुलुकमा जातीय राज्यको निर्माण भयो भने रक्तपातको सुरुवात त्यहीँबाट हुनेछ।
उनले औपचारिक भाषण गर्दा र अन्तरवार्ता दिँदा होस्, वा अनौपचारिक कुराकानीका क्रममा नै किन नहोस्, जातीय राज्यको निर्माण गर्दा यसले दीर्घकालमा पार्ने असरबारे यस्तै तर्कहरु गर्दै आइरहेका छन्। उनले जातीय राज्यको निर्माण गरिए मुलकमा रक्तपात हुन्छ भनेर पटकपटक जे भनिरहेका छन्, पछिल्ला केही घटनाक्रमहरुले त्यसलाई गम्भीरतापूर्वक लिन बाध्य पारेको छ। पशुपति शर्माको गीतको एउटा शब्दलाई लिएर नेपालीहरुबीच सामाजिक सञ्जालहरुमा विवाद भइरहेको छ।
गायक पशुपति शर्माले आफ्नो नयाँ गीतमा जुन शब्दको प्रयोग गरेका थिए, त्यसका विषयमा नेपाली नेपालीबीच जेजस्ता छलफल र बहसहरु भइरहेका छन्, यसले देखाउँछ– चित्रबहादुर केसीले भनेको रक्तपातसम्म पुग्नका लागि यस्तै विषयले गोरेटो निर्माण गर्छ। गायक पशुपति शर्माले जुन सन्देश प्रवाहका लागि गीत सिर्जना गरेका थिए, त्यसको ठिक विपरीत नतिजा आएपछि समाजमा जातीय वाकयुद्ध चलिरहेको छ अहिले। पशुपतिले बहुत बुद्धिमतापूर्वक आफ्नो गीतलाई पूर्ण रुपमा बन्द गरेको घोषणा त गरे तर त्यसको असर नेपाली समाजमा अहिले पनि छ। उनको त्यो विवादित गीतको बिक्रीवितरण र प्रचारप्रसार समेत बन्द भइसकेको अवस्थामा पनि नेपाली समाज यसरी विभाजित भइरहेको छ, मानौ अब मुलुकमा कि जातीय विभेदको अन्त्य हुन्छ, कि सामाजिक सद्भाव खलबलिन्छ।
उनको गीतले जातिजातिबीच युद्ध गराउने उद्देश्य बोकेको थिएन। गीतले त सिर्फ सबैलाई एकताको आव्हान गरेको थियो, जातीय विभेद अन्त्यका लागि एउटा सकारात्मक पहलकदमी मात्रै लिएको थियो। तर यही गीतले यस्तो शक्तिशाली बहसको सुरुवात गरायो, जुन बहसले मुलुकलाई जातीय विभेदमुक्त गराउला।
हिजो अन्तरजातीय विवाह गरेको जोडीलाई गाउँनिकाला गर्दा यस्तो बहस भएको थियो जस्तो मलाई लाग्दैन, न त पानी छोएको निहुँमा दलितमाथि पेट्रोल छर्केर आगो लगाउँदा फेसबुक र ट्विटरहरु यसरी विभाजित भएका थिए। पशुपति शर्माको गीतमा उल्लेख गरिएको शब्दको विषयमा दुईथरि तर्क गर्नेहरु भेटिएका छन्। एकथरीले त्यो गीतलाई ठिक भनेका छन् भने एकथरीले बेठिक भनिरहेका छन्। अझै यही गीतको सन्दर्भमा दलित समुदायका व्यक्ति र गैरदलित समुदायका व्यक्तिहरुबीच फेसबुक र अनलाइनहरुमा धेरै विवाद भइरहेको छ।
मैले यो सन्दर्भ किन जोडेको हो भने एक मुठी घाँस काटेको निहुँमा छिमेकी कुटेर दुनिया हँसाउने हामी संघीयतामा गएपछि कसरी शान्तपूर्वक बस्न सक्छौँ? अब मुलुकमा जातीय राज्य ठिक कि बेठिक बनेर बहस गर्न आवश्यक छैन, यसको उत्तर पशुपति शर्माको गीत सार्वजनिक भएपछि त्यसप्रति आएका टिकाटिप्पणीले दिइसकेका छन्। धन्न सामाजिक सञ्जालहरुमा त्यस्ता विवाद भएका छन् र कुनै अप्रिय घटना हुन पाएको छैन। सामाजिक सञ्जालहरुमा एक जातिले अर्को जातिलाई गालीगलौज गर्नेदेखि होच्याउने र तुच्छ्याउनेसम्मका कामहरु भइरहेका छन्, यसले मुलुक जातीय विभाजनको संघारमा छ भन्ने प्रष्ट देखाएको छ। अझै मुलुक जातीय संघीयतामा गयो भने त्यसको असर र प्रभाव कस्तो पर्ला?
कतिपय दलित समुदायका साथीहरुले बाहुनहरुलाई दलित समुदायको व्यक्तिसँग विहे गरेर मात्रै विभेद अन्त्यको बहसमा सामेल हुन सुझाव दिनुभएको छ। तर मलाई यो टिप्पणी अलि अराजक र पूर्वाग्रहीजस्तो लागेको छ। त्यसोभए हामी बाहुन दलित समुदायका व्यक्तिहरुसँग बिहे नगरेसम्म जातीय विभेद अन्त्यको अभियानमा लाग्नै नहुने हो? त्यसो हो भने के दलित समुदायका व्यक्तिहरुको सक्रियतामा मात्रै जातीय विभेदको अन्त्य सम्भव छ? कम्तिमा जिम्मेवार व्यक्तिहरुले लेख्दा र बोल्दा अलि संयमित हुनु आवश्यक छ। किनकि बाहुनको नाक काटेर खुन पिउनुपर्छ भन्ने आङकाजी शेर्पाको भाषणले दलित तथा जनजातिहरुलाई बाहुनविरुद्ध बोल्ने र टिका टिप्पणी गर्ने ऊर्जा मिल्छ भने क्षेत्री, बाहुन वा खसहरुका लागि आफ्ना समुदायका व्यक्तिहरुलाई लक्षित गरेर गरिएका यस्ता टिकाटिप्पणीहरुको प्रतिकार र प्रतिरक्षा गर्ने ऊर्जा मिल्छ। ठिक दुई समुहमा दुई विपरीत ऊर्जा मिलेपछि यसले समाजमा अशान्ति मच्चाउँछ।
हिजो हामी दलित आन्दोलनमा सधैँ लागेका साथीहरुबीच आज एकखालको मनमुटाव सिर्जना भएको छ अनि एक खालको वैमनस्यता। साथीहरुका लेखहरु पढ्दा मलाई लाग्छ दलित आन्दोलनलाई उचाइमा पुर्याउन अन्य समुदायको कुनै पनि भूमिकै छैन जस्तो।
हिजो बागलुङमा एक दलित युवाले जनजाति युवतीलाई बिहे गरेको विषयमा विवाद हुँदा दलित समुदायले बागलुङ बन्दको आव्हान गरेका थिए, त्यो बन्दका बेला सबैभन्दा पहिला पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष रामबहादुर जिसी र म प्रहरीको नियन्त्रणमा परेका थियौँ। मैले यो सन्दर्भलाई किन उल्लेख गरेको हुँ भने जिम्मेवार साथीहरुले कसैप्रति टिकाटिप्पणी गर्दा कम्तीमा हामीले खेलेका भूमिकाहरुलाई अवमूल्यन नगर्नुहोस् भन्नका खातिर हो। किनकि मैले यसअघि पनि भनिसकेको छु सबैको एकताले मात्रै हाम्रा उद्देश्यहरु पूरा हुन्छन् र हामी गन्तव्यमा पुग्न सफल हुन्छौँ। हामीले लेख्ने लेखहरुले कुनैपनि जातिहरुबीच तिक्तता बढाउनु हुँदैन र उनीहरुबीचको सद्भाव खलबलिन दिनुहुँदैन भन्ने मेरो मान्यता हो। क्षेत्री, बाहुन समुदायमा दलितहरुलाई विभेद गर्नुपर्छ भन्ने भावना भएकाहरु थुप्रै छन् र दलित तथा जनजाति समुदायमा पनि क्षेत्री बाहुनहरुसँग लडेर बदला लिनुपर्छ भन्ने भावना भएका व्यक्तिहरु छन्। हो अहिले हाम्रा कतिपय जिम्मेवार साथीहरुले लेखेका र गरेका टिका टिप्पणीहरुले यी दुई विपरीत मान्यता भएका समूहरुको दूरी बढाउने र तिक्तता बढाउने काम गरेका छन्, यसप्रति हामी सबै जिम्मेवार व्यक्तिहरु थप गम्भीर हुनु अत्यन्त आवश्यक छ।
पशुपति शर्माको गीतले समाजमा जुन बहसको आरम्भ गराएको छ, यसलाई सदुपयोग गर्दै गन्तव्य पच्छ्याउँदा राम्रो हुन्छ। तर्क वितर्कहरु जे जस्ता भएपनि अन्तमा मूलधारमा आउनु नै छ। हाम्रो एकताबिना विभेद अन्त्य सम्भव छँदै छैन। त्यसैले हामी हिन्दु र मुसलमान मिलेर भारत र पाकिस्तानलाई देखाउनु छ, काला र गोरा मिलेर अमेरिकालाई अनि क्षेत्री, बाहुन, दलित र जनजाति मिलेर अरु विश्वलाई देखाउनु छ। त्यसैले फेरि पनि आउनुहोस्, सामाजिक सद्भाव कायम राख्दै एकताका लागि हातेमालो गरौँ। अनि बल्ल चिन्ने छ, विश्वले हाम्रो नेपाल र हामी नेपालीलाई।
यस्तो छ शर्माको गीत
चिवा, जापान
सुझावका लागि: reshalideepak@gmail.com