सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका ९ वटा जिल्लामा ३ वटा हिमाली, ४ वटा मध्यपहाडी र २ वटा तराईका जिल्ला पर्दछन् । नयाँ मुलुक भनेर पनि चिनिने ४ वटा तराईका जिल्ला मध्ये मध्यपश्चिमका बाँके, वर्दिया र सुदूर पश्चिमका कैलाली, कञ्चनपुर हुन् । कर्णाली र महाकाली नदी बीचको सम्पूर्ण उर्वर मैदानी भारत उत्तर प्रदेश लखिमपुर (खिरी)तथा पिलिभितका साथै उत्तराखण्डका उद्यमसिहनगर चम्पावत जिल्लासित सिमा जोडिएको छ ।
सन् २०११ को गणनाअनुसार कैलाली कञ्चनपुरको जनसङ्ख्या १२,२६,९५७ छ । सन १८६० मा बाँके वर्दिया प्रशासन क्षेत्रको गोश्वारा "नेपालगञ्ज" र कैलाली कञ्चनपुरको गोश्वारा "बेलौरी" कायम हुँदा नेपालगञ्ज र वेलौरी समकालिन सदरमुकाम हुन् ।
कालान्तरमा नेपालगञ्जले औद्योगिक क्षेत्र र शहरी स्वरुप प्राप्त गर्यो भने बेलौरीले १०३ वर्ष (सन् १८६०–१९६२) सम्म हिउँदे राजधानी (Winter Capital) को स्वरुप प्राप्त गर्यो तर सिकार पर्यटन केन्द्र (Humiting Tourism Center)का रुपमा ।
सन् १९४९ सम्म तत्कालीन सरकार प्रमुख श्री ३ महाराजहरु सिकार पर्यटन प्रेमी भाई–भारदार, नातेदार, स्वदेशी विदेशी पाहुना सुरक्षा निकाय सहितको ठूलो सिकारी जत्था लगभग मंसिर अन्ततिर वा पुष पहिलो हप्ता सिकार पर्यटन कार्यक्रममा वेलौरी आइपुग्थ्यो भने फागुन अन्तिम या चैत पहिलो सातातिर फिर्ता प्रस्थान हुन्थ्यो । कार्यक्रमका केही चर्चित घटनाको समय रेखाले त्यही संकेत गर्दछ ।
- सन १८७६ अप्रिलमा वेलौरीबाट राजधानी पुग्न जङ्गबहादुरलाई २४ दिन लाग्यो ।
- वि.सं. १९९० माघ २ गते मंगलबारका दिन महाभुकम्प आउँदा जुद्घशमशेर वेलौरी शुक्लाफाँटामा थिए ।
- कैलाली कञ्चनपुर वेलौरीमा २०१३ साल फागुनमा राजा महेन्द्रको पहिलो पर्यटन भ्रमण भएको हो ।
- २०१४ वैशाख जेठतिर राजा महेन्द्रबाट कैलाली कञ्चनपुर भएर डोटी, डडेल्धुरा, अछाम र वैतडीका प्रमुख स्थानमा दौडाहाकै रुपमा भ्रमण भएको हो ।
- २०१९ माघमा राजा महेन्द्रको वेलौरी इमलीया पर्यटन क्याम्पबाट नै कञ्चनपुर जिल्लाको सदरमुकाम वेलौरीबाट जोग्यौडा–घुसुडी बजार (२०२२ देखिको महेन्द्रनगर) मा सार्ने निर्णय भएको हो ।
- २०२३ पुषमा राजा महेन्द्रलाई कञ्चनपुर हरैया पर्यटन केन्द्रमा प्रथम हृदयघात (Heart Attack)भयो । र स्वास्थ्य लाभका लागि कर्णाली किनार चिसापानी टिकापुरमा क्याम्प खडा गरियो ।
- २०२८ पुषमा कञ्चनपुर सिंहपुर पर्यटन केन्द्रमा केही असकुन भएपछि राजदम्पतिको सवारी चितौन लगियो । भरतपुरमा राजा महेन्द्रलाई तेस्रो हृदयघात भयो र दियालो वङ्गलामा देहावसान भयो ।
- २०३१, २०४२ र २०४६ मा यहाँका हिउँदे पर्यटन क्याम्प पनि चर्चितै छन् ।
सन्दर्भ "वेलौरी" नाँका भन्सारमा परिणत हुँदै । सुदूर पश्चिम विकासमा पछि पर्नुको कारण राज्यबाट यस क्षेत्रको प्राकृतिक र जैविक संसाधनको अत्यधिक दोहन गरिए तापनि विकासमा लगानी सुन्य हुनु हो जसको उदाहरण कैलाली कञ्चनपुरले शताब्दी बढी समयसम्मको अधिकांस हिउँदमा सिकारी जत्थाको पर्यटन भ्रमण सम्पन्न गर्नमा सेवा पुर्यायो तर क्षेत्रले केही प्राप्त गरेन ।
पछिल्लो समय २००७ र २०४६ को परिवर्तन पछिबाट पनि राज्यबाट न्यायोचित लगानी भएन । समय सापेक्ष नयाँ आयामले तिव्र गतिमा विकास गरिरहेको भारतसित सु.प. क्षेत्र तराईका २ प्रमुख नाँका भन्सार महेन्द्रनगर (गड्डाचौकी) वनवसा र धनगढी ग्वारीफाँटाको असहज अवस्थाका कारणले आयात निर्यात मात्रै होइन आवतजावत समेत निर्वाध र निर्भय हुन सकेन । दुवै नाँका भन्सारको अवस्थाको मनन विश्लेषण गर्न आवश्यक छ, उपयुक्त निष्कर्षको लागि ।
१) गड्डाचौकी वनवसा भन्सारको असहजताः
(क) महाकाली (शारदा) नदी माथिको पुल यातायातका लागि निर्माण गरिएको होइन यो शारदा नहरको व्यारेज हो ।
(ख) यातायातको कुनै विकल्प नहुँदा वाध्यतावस व्यारेजलाई नै यातायातको रुपमा प्रयोग भईरहेको हो ।
(ग) पुल (व्यारेज) मा गेट सिस्टम छ । गेट वन्द गर्ने खुला गर्ने, रेखदेख र नियन्त्रण सञ्चालन गर्ने जिम्मेवारी उत्तर प्रदेश सिचाईं विभागको छ ।
(घ) रिक्सा, ताङा र हल्का चारपाँग्रे साधन जीप, कारका लागि पनि दैनिक ६ घण्टा मात्र (विहान, दिउँसो वेलुका गरी) गेट खुला गर्ने, आलोपालो साधन ओहोर दोहोर गर्न लगाउने व्यवस्था छ ।
(ङ) ६ घण्टाको दैनिक समयलाई पुरा समयसित हिसाव गर्दा यो पुल ६ घण्टा खुल्छ १८ घण्टा वन्दर रहन्छ अर्थात २५% समयका लागि खुला रहन्छ भने ७५% समय वन्द रहन्छ । वर्ष भरिको समयमा ९ महिना समय बरावर बन्द र ३ महिना समय बराबर मात्र खुला रहन्छ । वर्षायाममा पानीको मात्रा बढेमा अनिश्चितकालसम्म गरेर बन्दै राखिन्छ । औसत १ महिना बन्द रहला । यसरी १० महिना अवधि बन्द र २ महिना अवधि मात्र खुला रहन्छ । पुल साँघुरो भएका कारण पालैपालो साधन ओहोर दोहोर गरिन्छ । हिसाव गर्ने हो भने पुल ११ महिना अवधि बन्द रहन्छ र १ महिना समय अवधि मात्र खुला रहन्छ ।
(च) सन् १९२०–२८ तिर बनेको पुलको समय अवधी ८० वर्ष हो तर ९४ वर्ष भैसक्यो । तसर्थ पुलको अवस्था जिर्ण छ ।
(छ) जिर्णावस्था, साँघुरो आकार र भार वहन क्षमता नै कम भएकाले मालवाहक सानो आकारका साधन (ट्रक, ट्रली) समेत चल्न पाउँदैन ।
आयात निर्यातको प्रमुख नाँका नेपालको पश्चिमी प्रवेशद्वार (Entrance Gate) को यो कमजोर अवस्थाले कञ्चनपुर, सु.प. र पुरै नेपालको उद्योग व्यापारमा सघाव पुग्न सकेको छैन ।
२) धनगढी ग्वारीफाँटा भन्सारको असहजताः
(क) ग्वारीफाँटा दुदुवा नेशनल पार्क भित्र पर्दछ । शताब्दीयौं पुरानो रेलवे लाइन वन्यजन्तुमा प्रतिकुल असर पर्दछ भनि डिसमेण्टल गरिएको छ ।
(ख) नजिकको शहर पलियाँकलासम्मका लागि प्रयोग हुने पार्क भित्रको सडकको अवस्था ठिक छैन तर पनि स्तरोन्नतिको कार्यक्रम छैन ।
(ग) यातायातका साधन विहानदेखि सुर्यास्तसम्म मात्र चल्दछन् । यात्रु वस सेवा पनि पुलिस स्कटिङबाट चलाइन्छ ।
(घ) खुला साधनमा यात्रा गर्नु हिंसक पशुको जोखिममा पर्नु हो ।
(ङ) भन्सार कारोबारका लागि ४० कि. मि टाढा पलियाकला बजारमा सम्पर्क गर्नुपर्ने हुन्छ ।
सु.प. तराईका उक्त दुवै नाकाको असहज अवस्थाले कैलाली कञ्चनपुर सु.प. विकास क्षेत्र र सिङ्गो नेपालको वाणिज्य, व्यापार तथा सहज निर्वाध र निर्भय आवतजावतमा परेको अवरोध छर्लङ्गै छ । व्रह्मदेव टनकपुर नाका भन्सार चर्चा टनकपुर पुलको प्राविधिक कारणले चर्चामा नै सीमित रहन गयो ।
गड्डाचौकी वनवसा भन्सार नयाँ रुपमा सञ्चालनका लागि महाकाली नदीमा आत्याधुनिक पर्याप्त चौडाइ भएको पुलको अवाश्यकता हो । जसको निर्माण हुन केही दिन महिना होइन केही वर्ष लाग्न सक्छ । धनगढी ग्वारी भन्सारको मौजुदा अवस्थामा दुदुवा नेशनल पार्कका कारणले सुधार हुने सम्भावना अत्यन्त न्यून छ ।
तत्कालै समस्या समाधानका लागि नेपाल भारत दुवै तर्फ भौगोलिक, प्रशासनिक, यातायातका दृष्टिले सुगम र नेपालतर्फ सु.प.का स्थापित (चल्तिमा आएका) भौगोलिक, सांस्कृतिक, आर्थिक, प्रशासनिक, राजनैतिक केन्द्रका रुपमा विकसित भैसकेका धनगढी र महेन्द्र शहरको पहुँचलाई समेत मध्यनजर राखी उपयुक्त स्थानलाई छनौट गर्नुपर्ने हुन्छ । यसका लागि कैलाली कञ्चनपुरको दक्षिणी खुला सिमानास्थित सम्भाव्य र सेवा पुर्याई रहेका स्थानहरु मध्ये वेलौरी नगरपालिकाको "वेलौरी" उपयुक्त र उत्तम विकल्प देखिन्छ ।
३) प्रस्तावित वेलौरी खजुरीया नाँका भन्सार
(क) सुदूर पश्चिम तराई कैलाली कञ्चनपुरको दक्षिण सिमा नजिक स्थित "वेलौरी" १५५ वर्ष पहिले वि.सं. १९१६ मा उल्लिखित क्षेत्रको उपयुक्त स्थान भएकोले सदरमुकाम कायम गरिएको हो ।
(ख) कञ्चनपुर जिल्ला नवघोषित वेलौरी न.पा. धनगढीबाट २५ कि.मि. पश्चिम, महेन्द्रनगरबाट ३५ कि.मि. दक्षिण पूर्व पर्दछ भने सु.प.कै नवोदित अत्तरिया वजारबाट ४० कि.मि. दक्षिण पश्चिम पर्दछ । यसरी वेलौरी उल्लिखित ३ वटै शहरको लगभग समदुरीमा छ ।
(ग) २०१९ सालसम्म कञ्चनपुर जिल्लाको मुख्य भन्सार रही आएको वेलौरीमा सदरमुकाम विस्थापित भएपछि पनि भन्सार सेवा चालु छ । यसरी १५५ वर्ष देखि वेलौरीबाट भन्सार सेवा सुलभ छ ।
(घ) सिमापारी जोडिएको वजार खजुरीयासम्म पुरानो सडक मार्गका साथै निकट बजारहरु सम्पूर्ण नगर, सिघाई, पुरनपुर पलियाकला आदि क्षेत्रमा खजुरीयाबाट सडक सञ्जाल जोडिएका छन् जसको पहुँच भारतीय नेशनल हाइवे (GT Road) सित छ । भएका सडक सञ्जालको स्तरोन्नति भैरहेछ । खजुरीया बजारको पूर्व र पश्चिम दुवै तर्फ साविक सडकलाई ४ लेन आरसीसी सडकमा परिणत गर्ने कार्य गतवर्ष देखि नै चालु छ ।
(ङ) भारत उत्तर प्रदेश लखिमपुर (खिरी) सित जोडिएको प्रस्तावित वेलौरी खजुरीया नाँका भन्सारबाट सीतापुर, लखनौ, कानपुर, वरेली, रुद्रपुर, हल्द्वानी, नैनीताल, पिथौरागढ, अल्मोडा, गाजीयावाद, दिल्ली, हरयाणा, चण्ढीगढ र मुम्वई आदि शहर सम्मको वाणिज्य व्यापारमा सहजता आउनेछ ।
(च) महाकाली (शारदा) नदीको वनवसा व्यारेज, वनवसा नहर, सिचाई योजना एवं हाइड्रो प्रोजेक्टका लागि तत्कालीन भारत सरकारबाट योजना स्थल(वनवसा फेरी जो नेपालकै भूमि थियो) र आसपासको जमिन एवं सो मा भएको वनस्पति समेतका क्षतिपूर्ति र सट्टाभर्ना सम्बन्धी ३ मई सन् १९१६ को मस्यौदा प्रस्ताव पत्र प्राप्त हुँदा २३ अगस्त १९२० मा तत्कालीन नेपाल सरकारबाट स्वीकृती प्रदान पत्राचार सन्धीमा नेपाल पक्षबाट गर्ने सम्पूर्ण कार्य सम्पादन कैलाली, कञ्चनपुर साविक सदरमुकाम वेलौरी गोश्वारा र मातहतका अड्डाद्वारा भएको ऐतिहासिक तथ्य मनन गर्दा वेलौरीको ऐतिहासिक, कुटनीतिक प्रशासनिक महत्व उजागर हुन्छ ।
(छ) वेलौरी क्षेत्रमा २ वटा चिनी मिल, ७० भन्दा बढी गुड बनाउने कोलु, निर्माणाधिन तेस्रो चिनी मिल कृषि जन्य उद्योग हुन भने १२ वटा ईटा कारखाना छन् । नाँका भन्सारको सुविधा प्राप्त भएपछि बेलौरी बजार वृहत औद्योगिक, व्यापारिक एवम् पर्यटकीय शहरमा परिणत हुनेछ ।
(ज) दुदुवा नेशनलपार्क (भारत) बाट १८ कि.मि. पश्चिम, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र कालीकीच सिमसार क्षेत्रबाट १५ कि.मि. पूर्व रहेको बेलौरी क्षेत्र र यहाँ स्थित प्राचिन सिद्घवावा मन्दिर भकुण्ड स्थित नक्टावावा मन्दिर, मिश्रित सामाजिक संरचनाका विविध मठमन्दिर, गुम्वा तथा चर्च, वन्दा, ताल, प्यारा ताल, पुरैना ताल, वन्तरीया ताल जस्ता ताल तलैया र नेपालको आदिवासी जनजाति राना थारुको सांस्कृतिक केन्द्र रहेको वेलौरी राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रुपमा विकसित हुने प्रचुर सम्भावना छन् ।
वेलौरीको सर्व पक्षीय उपयोगिताको पारस्परिक लाभ प्राप्त गर्न भारतीय प्र.म. श्री नरेन्द्र मोदीको सन्निकट नेपाल भ्रमणका अवसरमा सु.प.का सम्भाव्य पारस्परिक हितका आयोजनाहरुको समूहमा प्रस्तावित वेलौरी खजुरीया नाँका भन्सारको एजेण्डा पनि समसामयिक भएको आमजनताको सोच रही आएको छ । सम्बन्धित निकायबाट उपयुक्त निर्णय लिइने आम विश्वास छ ।