निकै मेहनती चन्द्रमान र एलिजाको जोडीले बनाएको नेपाली लोडसेडिङ एप्लिकेशन (एप्स) २० हजार डलरमा बिक्री भएछ। यो खबर कान्तिपुरमा अहिले सूचना प्रविधिको रिपोर्टिङ गर्ने लीलानाथ घिमिरेले ब्रेक गरेछन्। खबरअनुसार यो मोबाइल एप्सको स्वामित्व अब सिरान टेक्नोलोजीमा गएको छ। दुई वर्षदेखि निकै राम्रो हेरचाह गरेर श्रेष्ठ दम्पत्तीले हुर्काउँदै यो अवस्थासम्म ल्याइपुर्याएको यसलाई अब सिरानले कसरी व्यबस्थित गर्ला, भविष्यले नै देखाउला।
२० हजार अमेरिकी डलरको भाउ अहिलेको विनिमय दर अनुसार १९ लाख १७ हजार चानचुन हुन्छ। यो रकम भनेको अमेरिका अनि विकसित देशहरुसँग दाँज्दा सानै भएपनि नेपालका लागि भने गतिलै मान्नुपर्छ। भेरिस्क कम्पनीको सफ्टवयरका जागिरे यी दम्पतीले ख्यालख्यालैमा बनाएको यो एप्स यतिविघ्न हिट भएपछि सानो सोचाइको परिणामले पनि कहिलेकाहिँ जिन्दगीमा ठूलै फेरबदल ल्याउन सक्दो रहेछ भन्ने उदाहरण बनेको छ।
यो घटनाले मलाई फेरि दुई वर्षपछि फर्काएको छ।
२०६९ भदौको महिना हुनुपर्छ। भरखरै एन्ड्रोइड फोन प्रयोग गर्न थालेको थिएँ। हुनत आइफोन फोरएस पनि चलाउँथे। आइफोनमा नेपाल टेलिकमको पोष्टपेडको सीमकार्ड थियो भने एन्ड्रोइडमा एनसेलको प्रिपेड।
एक दिन गुगलप्ले स्टोरमा नेपाली एप्सहरु के के रहेछन् भने खोजी गर्ने क्रममा नेपाली लोडसेडिङ भन्ने एप्लिकेसन देखियो। कस्तो रहेछ त यो भन्दै डाउनलोड पनि गरे। विद्युत प्राधिकरणले गर्ने बिजुलीको कटौती (लोडसेडिङ) को तालिकाको निकै विकसित रुप रहेछ त्यो एप्स।
एप्सलाई आफ्नो डेरा रहेको ठाउँ बालुवाटारको ७ नम्बर ग्रुपसँग मिलाए पनि। अनि यसका डेभलपरका बारेमा त्यहीँबाट सोधीखोजी गर्न थालेँ। त्यहाँ यसका डेभलपर चन्द्र र एलिजा श्रेष्ठ उल्लेख थियो। अनि चन्द्रको इमेल आइडी पनि रहेछ।
यो एप्सका बारेमा एउटा समाचार बनाउनुपर्यो भन्ने उत्तिखेरै लाग्यो। तर बनाउने पो कसरी? कोसँग कुरा गर्नु? बडो समस्या पर्यो। नबनाउँ मिडियामा चर्को प्रतिस्पर्धा छ भोलि यही विषयमा अरुले लेखिदेलान् र आफू पछि परिएला भन्ने डर। बनाउँ के आधारमा बनाउने? चन्द्रलाई इमेल पनि गरेँ। तर रातको ८ बजिसकेको थियो। तैपनि आइटीमा काम गर्ने मान्छे हुँदा पक्कै खबर आउँछ भन्नेमा ढुक्क थिएँ।
राति साढे नौ बजेसम्म पनि उताबाट केही खबर आएन। आ... जे पर्लापर्ला नकरात्मक समाचार हैन। सकारात्मक कुरालाई के को धेरै खोजीनीति चाहियो र? अरु समाचार नभएपछि त्यसैले मात्र भए पनि जागिर धान्ने अवस्थालाई पत्रकारितामा छाक टार्ने भनिन्थ्यो। मैले पनि पूर्ण सूचना नभएपछि जे जति उपलव्ध छ, त्यसैलाई तानतुन पारेर छाक टार्ने समाचारको रुप दिएँ। भोलिपल्ट (१७ भदौ, २०६९) को नागरिक दैनिकको आर्थिक पेजमा समाचार छापियो।
समाचार छापिएपछिमात्र चन्द्रको फोन आयो। उनी आफ्नो कामको थाहै नपाइ प्रचार भएकोमा खुशी थिए। समाचार छापिनुभन्दा अघिसम्म १० हजारको हाराहारीमा डाउनलोड भएको यो एप्स समाचार प्रकाशित भएपछि एकैदिन १५ हजार पटक डाउनलोड भएछ। त्यसो हुँदा उनी निकै उत्साहित थिए।
त्यसपछि पनि पटक पटक उनीसँग कुराकानी भैरहन्थ्यो। सारै भद्र अनि लजालु स्वभावका थिए। उनी भन्थे– ‘प्रोफेसनल रुपमा भन्दा पनि यसो गर्दा कस्तो होला भनेर ख्यालख्यालैमा यो एप्स बनाएका हौं। तर यस्तो रेस्पोन्सले गर्दा हामीलाई निकै उत्साहित बनाएको छ। थपमा लोडसेडिङका सूचना बारेमा अपडेट पनि हुनुपर्ने वाध्य पनि बनायो।’
उनले त्यतिखेर भने अनुसार यो एप्स नेपालमै बस्नेले भन्दा पनि विदेशमा बस्नेका निम्ति निकै उपयोगी बनेको रहेछ। नेपालमा कतिखेर बत्ति आउँछ र स्काइपमा परिवारका सदस्यहरुसँग कुराकानी गर्न सकिन्छ भनेर एप्सले सजिलो बनाएको थियो। एन्ड्रोइड सिस्टमको सेटमा यो एप्स डाउनलोड गरेपछि नेपालकै स्थानीय समय अनुसार लोडसेडिङको एलर्ट आउथ्यो मोबाइलमा। उदाहरणको लागि एप्स डाउनलोड भएको सेट अमेरिकाको क्यालिफोर्नियामा छ। काठमाडौंमा बिहानको ६ बजे बत्ती जाँदैछ। नेपालमा ६ बज्दा क्यालिफोर्नियामा साँझको ५ः१५ बजेको हुन्छ। मोबाइलमा १० मिनेट पहिले नोटिफिकेसन आउनेगरी सेटिङ्स मिलाएको अवस्थामा नेपालमा बिहान ६ बज्नुभन्दा १० मिनेट पहिले अर्थात क्यालिफोर्नियामा रहेको मोबाइल सेटमा साँझको ५ः०५ मा नोटिफिकेसन आउँछ।
जबकी आइफोनको आइओएस सिस्टममा उपलव्ध ‘बत्ती गयो’ नामक एप्सले भने नेपालको समयभन्दा पनि जुन ठाउँमा रहेको आइफोन, आइप्याडमा डाउनलोड भएको हुन्छ, त्यहीँको समय अनुसार एलर्ट दिन्छ। अर्थात नेपालमा बिहानको ६ बजे बत्ती जान्छ भने क्यालिफोर्नियामा रहेको त्यो आइफोन सेटमा पनि अमेरिकामा बिहानको ६ बज्नुभन्दा १० मिनेट पहिलेमात्र नोटिफिकेसन आउँछ। त्यसले गर्दा ‘बत्ती गयो’ एप्स त्यति उपयोगी थिएन।
विदेशमा बस्नेका लागि यो एप्स नेपालमा स्काइप, भाइबर प्रयोग गर्नेका लागि निकै उपयोगीमात्र नभई वरदान जस्तै भयो। थपमा नेपालमै बस्नेलाई पनि लोडसेडिङ सुरु हुँदैछ भनेर एलर्ट गराउने माध्यम पनि भयो। विद्युत प्राधिकरणले गोरखापत्रमा छाप्ने लोडसेडिङ तालिकालाई पैसा तिर्दै फोटोकपी गरेर घरमा टाँसिरहनु परेन। लोडसेडिङ तालिकामा फेरवदल हुनासाथ एप्सले आफै अपडेट माग्थ्यो।
मैले लोडसेडिङ सुरु हुनुभन्दा र बत्ती आउनुभन्दा १० मिनेट पहिले नै एलर्ट दिने गरी सेटिङ मिलाएको थिए। जसबाट कोठाको कम्प्युटरमा काम गर्दागर्दै झ्याप्प बत्ती गएर कम्प्युटरनै बिग्रने समस्याबाट छुटकारा मिलेको थियो।
म अमेरिका आइसकेपछि सामसङको सेटमा त्यो एप्सलाई डाउनलोड गरेको छु। घरमा कतिबेला बत्ति आउँछ? कति बेला जान्छ? भनेर त्यसबाट मलाई निकै फाइदा पुगेको छ। परिवारका सदस्यहरुसँग स्काइप, भाइबरमा कतिखेर कुराकानी गर्न सकिन्छ भनेर त्यसले सजिलो बनाइदिएको छ।
चन्द्रका अनुसार दुई बर्षको बीचमा यो एप्सका लागि उनीहरुले मुस्किलले पाँचसय डलर जति खर्च गरेका छन्। अफिसको काम गर्दागर्दै बँचेको समयलाई उपभोग गर्दै बनाएको यो एप्सले सानो अनि ख्यालख्यालैमा अघि बढाएको कामले पनि कहिलेकाहिँ ठूलो मूल्य र महत्व राख्दो रहेछ भन्ने देखाएको छ। सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवाहरुले बनाएका यस्ता एप्सको पनि राम्रो मूल्य रहेछ भन्ने पुष्टि गरेको छ। स्थानीय परिवेश अनि माग अनुसार एप्सहरु बनाउन सक्ने हो भने लोडसेडिङ एप्स जस्तैगरी व्यापारीहरुले आँखा लगाएर गतिलै मूल्य समेत तिर्न तयार हुँदारहेछन्।
‘नेपाली लोडसेडिङ’ एप्सलाई अर्काको जिम्मामा लगाएपछि चन्द्र दम्पत्तीको योजना के छ त? हिजोमात्र भाइबरमा कुराकानी हुँदा उत्साहित हुँदै उनी भन्दैथिए– ‘अहिले अनलाइन सेल्ससँग सम्बन्धित नयाँ एप्सतिर लागिरहेका छौं।’ सूचना प्रविधिमा काम गर्ने यस्ता प्रोफेसनलहरुको सिलिकन भ्यालीमा निकै राम्रो माग छ। शीप अनि गर्ने जाँगर हुने हो भने अमेरिकाका कम्पनीका लागि नेपालबाट आउटसोर्सिङको काम गर्दै यस्ता एप्स बनाउने हो भने पैसा कमाउन कठिन रहेनछ। अर्थात बुद्धि पु¥याउन सक्दा लोडसेडिङले उनीहरुलाई लखपति बनायो। समयलाई चिन्न सक्ने हो भने यो क्षेत्रबाट अब नेपालमै विस्तारै करोडपछि र अर्बपति बन्ने अवसर पनि नआउला भन्न सकिन्छ र?
नोट: यो सामाग्री प्रयोग गर्दा अनिवार्य रुपमा श्रोत www.setopati.com खुलाइदिनु होला।