आदणीय कमरेड, मोहन वैद्य किरण
नेकपा माओवादी, काठमाडौं, नेपालl
तपाईँको मन पगाल्न त सक्दिँन होलाl आजकल नौनी घिउ पनि ढुंगा-माटो जस्तै बनेका छन्l यो चिठीको सारांश तपाईँसम्म पनि पुग्छ कि पुग्दैन त्यो पनि मलाई राम्रोसँग थाहा छैनl तर, तपाईँको सहयोगीको इमेल ठेगाना पत्ता लगाएर असन्तोषका कुण्ठालाई पठाउने काम गरेको छुl
आशा यो छ कि तिनले छोटकरीमा भए पनि तपाईलाई जानकारी गराउने छन्l साथमा बिभिन्न सञ्चार माध्यमले पनि सहयोग गर्लान भन्ने सोचेको छुl
कमरेड;
घरी-घरी रून मन लाग्छl काठमाडौंमा घर बनाउन नसकेर रून मन लागेको होइनl घारे दर्जीका दुई सग्ला छोराले रगतको बलिदानी पूरा गरेर पनि तीनीहरू बाउआमा घरबारबिहिन हुन परेकोमा मलाई रुन मन लागेको होl कमरेड खै, किन-किन मलाई घरी-घरी रून मन लाग्छl
हाम्रा इमान्दार कार्यकर्ताको सम्पत्तिको नाममा त्यहिँ एउटा पार्टी सदस्यता कार्ड थियोl टुकी बुलाकी र औठी त पार्टीकरण भएकै थियोl तर, तपाईहरुको आव्हान गरेको शहिदको कोटा पूरा गर्ने महान योद्धाको परिवारलाई तपाईहरूले दाल, भात, तरकारी पनि जुटाई दिन सक्नु भएनl अरु त पर जाओसl
रगतको नाता भन्दा विचारको नाता बलियो हुन्छ भन्ने मान्यताका साथ आफ्ना बुढेसकालका बाबु आमाको लौरो भाँचेर वर्गसंघर्षमा होमिएका लाखौ युवाहरुको सपनालाई तपाईहरुले खेलवाड गर्नुभएको छl पाखुराको गोली पाकेर क्यान्सर हुन लाग्दा पनि तपाईहरुले उपचारको कुनै प्रयास गरिदिनुभएनl गायत्री कमरेडलाई त पेट दुख्दा पनि उपचार गर्न विदेश पुर्याउनु भयोl
छबिलाल दाहाललाई नव लेन्डुपको अनौपचारिक आरोप फ्याँकेर पार्टी फुटेको दिन आम मुक्तिगामी समुदायलाई खुसियाली मिलेको थियोl त्यो खुसलाई साटासाट गर्न नपाउँदै फेरि तपाई छबिलालसँग कुममा कुम जोडेर हिड्न थाल्नु भएको छl मैले त यस्तो राजनीतिक बेइमानी गर्नुहोला भनेर कल्पनासम्म पनि गरेको थिएनl चोरलाई साधु बनाउँदै फेरि जनतालाई उल्लु बनाउने कामको निरन्तरता भईरह्यो भने मोहन बिक्रम सिङ र मोहन वैद्य किरणमा कुनै भिन्नता देखिनेछैनl
गत चैत महिनाको अन्ततिर म गाँउ गएको थिएँl जो थियो आधार इलाकाl चिहानहरु जागेर त आएननl तर, आफ्ना प्यारा सन्तान गुमाउनुको पीडामा चिहान जस्तै उराठ मुहार बोकेका आमाहरु मलाई देखेर आँशुका ढिका खसालेl म तीनको प्वाल परेको झुत्रो मजेत्रो देखेर तपाईहरुको दरिद्रता र जनताप्रतिको अपहेलनालाई केवल कल्पना गर्न सकुँलाl
अहिले काठमाडौंमा किरण कमरेड तपाई ल्याङ्ग-ल्याङ्ग गरेर बसीरहनु भएको छl शहर छाड्न सक्ने मनस्थिति थिएन भने जंगल पस्छु भन्न हुन्थेँन l छबिलालसँग खुकुरीको हात मिलाउन जानु पर्नेमा तपाईँ त गुलाबको फूल उचालेर जानु भयोl यो राजनीतिक इमान्दारिता हुँदै होइनl चोरलाई साधु बनाउने तपाइको योजना खतरनाक छl दुई लाइन संघर्ष यसरी हुँदैन l पार्टी जासुसीको जालो होइन कमरेडl
छबिलाल दाहाललाई तथानाम गाली गरेर अलग्गिएको मान्छे तपाईँ अहिले विप्लब जीलाई पनि एक्लो बनाउने खेल खेलेको देख्दा तपाईँको मास्कवादी अध्यन कतै भ्रमको खेति त होइन जस्तो लाग्न थालेको छl नत्र भने तपाईं जस्तो अध्यन गरेको मान्छेलाई विचारको विकास र बहस गर्न किन लम्बेतान गरी रहनु परेको छ ? मलाई त अनौठो लाग्छl
गोलमेच सम्मेलनको एक थान संबिधान भनेको बच्चालाई फकाएको जस्तो मात्र होl बहुलवाद नमान्ने हो भने संसद भवनबाट मोह त्याग्न पर्दछl जनयुद्धको स्प्रिड भनेको केवल बल प्रयोग गरेर राज्य सत्ता कब्जा गर्नु थियोl अहिले टेलिभिजनमा तपाईहरुको रमिता देख्दा रत्तौली नाचको झल्को आउँछl
किरण जी,
गरिबलाई सपना देखाउँन हुँदैन भन्छन् l अनि भोकालाई खान दिन्छु भन्नु हुँदैन पनि भन्छन् l तपाईहरुले देखाएको सपनामा एउटा युवा बुढो बनेको छl एउटा बालक युवा बनेको छl तर, चिज फेरिएन l बाह्र वर्ष क्रान्तिको झोला बोकेर पनि खाली पैताला विदेश आउने हाम्रा लाखौ लाख कार्यकर्ताको मन छिया-छिया छ कमरेड l छिया-छिया छl
अन्तमा,
सक्नु हुन्छ भने तत्काल क्रान्तिको उद्घोस गर्नु होस्l सक्नु हुँदैन भने हात खडा गरेर आरामसँग बाँकि जीवन बिताउनुहोस् l जनताको आँखामा छारो हालेर राजनीति त केबल कायरले मात्र गर्छl
उही तपाइको सदस्य- दीलनिसानी मगर
हाल-अबुधाबी, युएई