नेपालीहरु विदेशबाट तात्नुभन्दा स्वदेशमा रहेका नेपालीले तताए भने चाहिँ दुवैतिरकाले सोचेजस्तो हुन्छ होला। स्वदेश छँदा काम र माम दुवै मुस्किल भएपछि विदेशिनुको विकल्प नपाउनु वा परिवार, साथीभाई, समाजबाट विदेशिन प्रोत्साहन पाउनु बढी प्रतिशत हुन्छ, सोचीबुझि विदेशिनेभन्दा ।
विदेशिइसकेपछि स्वदेशको चिन्तन, सम्झना र सपना एउटा दीर्घरोग नै हुन्छ । एक त उक्साहटमा वा रहरमा नबुझिकन विदेशियो अनि बुझेपछि थाहा हुन्छ, परिवार, छिमेक, समाज र देशको महत्व। विदेशमा जतिबढी बानीपर्दै जान्छ नेपाल सरकारसँग त्यति धेरै गनगन सुरु हुन्छ । त्यसैले विशेष गरी विदेशिएर नफर्किने सम्भावना भएका युरोप, अमेरीका र अष्ट्रेलियाका नेपालीहरुले दुवैतिरका कुराहरुलाई विना कानूनी झण्झट साझारुपले उपभोग गर्न पाउनुपर्छ, दोहोरो नागरीकता हुनुपर्छ, दुवैतिर नझण्झटिलो पाराले सम्पत्ति राख्न पाउनुपर्छ आदि ईत्यादि कुरा उठाउनु स्वाभाविक छ ।
विदेशमा पैसा छ, सुविधा छ, स्वास्थ्यको बिमा छ, नानीहरुका लागि निःशुल्क विद्यालय छन् र ती विश्वमा उत्कृष्ठ विद्यालयमा पर्छन् । उता नेपालमा राम्रा विद्यालयमा पढाउनलाई कि त एनजिओ, आइएनजीओमा काम गर्नुपर्यो, कि गतिला बैंकमा, की घुस खान पाइने सरकारी सरकारी जागिर, कि त ठूलै पदमा जागिर खाने ल्याकत राख्नसक्नुपर्यो । त्यसका लागि कार्यकर्तादेखि नेतासम्मलाई, खर्दारदेखि सचिवसम्मलाई रिझाउने कुरा पहिलो नम्बरमा पर्छ।
विदेशी विद्यालयका कोटाहरु त नेताका छोराछोरीको पेवाजस्तै नै हो । अनि परेन त लिनु विदेशको सेवा। नेताहरु निरन्तर विदेश घुमाईमा उडिरहेका हुन्छन्। विदेशमा आएर न्यानो आतिथ्य पाउँछन्। विदेशका नेपालीहरुले नेपालमैजस्तो कार्यक्रम गर्छन। कहिलेकाँही ३ घण्टा कुराएर नै। अर्थ संकलन गर्छन्, झन् चुनावको बेलामा त यहाँ विभिन्न कमिटी उप कमिटी गठन हुन्छ, अर्थ संकलन गर्न। त्यो सबै नेपाल पठाउँछन्।
नेपालमा चुनाव हुन्छ, हिजोका यताका हातले सहयोग गरेका नेताले जित्छन्। हिजो भाषण गर्दा यता सुनिन्छ, तपाईहरुको दोहोरो नागरिकताको कुरालाई म समर्थन गर्छु, नेपाल तपाईँहरुको आफ्नै देश हो किन सम्पत्ति राख्न नपाउने ? आफ्नो देश जाँदा के को भिसा चाहिन्छ? एउटा परिचय पत्र देखाए पुग्छ, आदि ईत्यादि।
उता नेताले जितेर संसदमा पुग्छन् अनि कोही नाटक गर्छन, कोही सहयोग गरेजस्तो गर्छन, कोही भित्रिरुपमा आफ्ना परिवार र नातागोता यता भएकाले सहयोग गर्न चाहिरहेका हुन्छन् तर आफ्नो राजनीति दाऊमा पर्ने डरले बोल्न सक्दैनन्।
यता विदेशमा भएका नेपालीको गनगन झन् चरमसीमामा पुग्छ, ए बाबा हामीले त्यत्रो सहयोग गरिसक्यौं, अब त यी कुराहरुका लागि मुख खोल।
उता एकदुई मुख आँ आँ आँ गरेजस्तो मात्र हुन्छ, कुरा सामसुम। साँच्चै भन्नुपर्दा यो दोहोरो नागरिकता, सम्पत्ति राख्न पाउने कुरा, परिचयपत्र, एक नेपाली सधैँको नेपाली सबै माग पूरा गरिदिएपनि नेपाल सरकारलाई घाटा हुने केही छैन। यो खासमा विदेशका नेपालीहरुलाई साँच्चै चाहिने कुरा चाहिँ होइन है। यो नेपाल सरकारलाई साँच्चै चाहिने कुरा चाहिँ पक्का हो। नेपालका नेतालाई चाहिने कुरा हो। आफन्तलाई चाहिने हो। त्यसैले यताकाले गनगन गर्नुभन्दा उताकाले समयमै कुरा बुझिदिए चाँडै र प्रशस्त फाईदा लिने ठाउँ देखिन्छ।