उनीहरु सोध्छन्, के गर्दैछस्?
गर्वसाथ म भन्छु, विकट नेपालका भाइबहिनीहरुसित सिक्दै छु।
किशोरावस्थामा पुग्नासाथ ममा पत्रकार बन्ने सपनाको प्वाँख पलाएको थियो। जिल्लाकै अब्बल विद्यार्थी भएका कारण एसएलसी सक्नेवित्तिकै आफ्नो रुचिको विषय पढ्ने स्वतन्त्रता मलाई प्राप्त भएन। मैले भगवान कोइराला वा उपेन्द्र देवकोटाजस्तै डाक्टर बन्नुथियो। राजनीतिमा नलागिकन म बाबुराम भट्टराइजस्तै इन्जिनियर बन्नुथियो।
तर मेरो सपना फरक थियो।
मलाई त ओप्रा विन्फ्रे र ल्यारी किङ हुनुथियो। विजयकुमार बन्नुथियो। तर म फिजिक्स र केमिष्ट्रिका जर्जर सूत्र रट्न थालेँ। विज्ञानसँग जबर्जस्ती लगनगाँठो कसिए पनि पत्रकारितासँग मेरो रोमान्टिक अफेयर चल्न थाल्यो। नाउँ चलेका पत्रपत्रिकामा लेख छापिन थाल्यो। लेख लेखेकै कारण ज्ञानेन्द्र शाहको शासनकालमा एकपटक क्याम्पसबाटै पक्राउ परेपछि मेरो सपना झन् सुदृढ भएर आयो।
सुँगा भएर मैले १०+२ सकेँ। आइओएममा आंशिक छात्रवृत्तिमा नाम निस्किए पनि मेरो परिवारको कमजोर आर्थिक हैसियतले मैले एमबिबिएस पढ्न नपाउने भएँ। म भने मनमनै खुसी थिएँ। आइओईको प्रवेश परीक्षा दिने बेला म विरामी भएँ। अब ममा खुसीको सीमा थिएन।
तर जे भए पनि मैले स्नातकमा विज्ञान छाड्ने वातावरण भएन। मैले फिजिक्स, म्याथ र स्टाटिस्टिक्स पढ्न थालेँ। १०+२ को कोठे जीवनमा गुम्सिएको म त्रिचन्द्र क्याम्पसमा फुक्न थालेँ। राजनीतिमा मध्यम तवरले सक्रिय भएँ। वामपन्थी विचारप्रति विशेष रुचि थियो। तर अर्कोतिर लुइस फिस्चर को 'द लाइफ अफ गान्धी' पढेपछि गान्धीप्रति प्रेम बढ्दै गयो। त्रिचन्द्र क्याम्पसको वातावरणले देशको धरातल बुझ्न सहज बनायो।
स्नातक पढ्दै गर्दा केही राष्ट्रिय मिडियामा रिपोर्टिङ र एडिटिङ गर्न थालेँ। स्तम्भ लेख्न थालेँ। बिस्तारै आत्मनिर्भर भएँ। अनि परिवारसँग विद्रोह गर्न मन लाग्यो। आफ्नो हृदयको आवाज सुन्न मन लाग्यो। तत् पश्चात पुर्वाञ्चल विश्वविद्यालयमा पत्रकारितामा मास्टर्स गर्न सुरु गरेँ। प्रेमको संसार नै अनौठो हुन्छ। रमाइलो हुन्छ। हरेक विषयमा ए आयो। हरेक सेमेष्टरमा टपर भएँ। सिजिपिए फोर आयो।
तर सँगसँगै पत्रकारिताभित्रको कालो बजार देखेँ। अब मलाई पत्रकारिता एक स्वप्न संसार भन्दा राजनीति र गुन्डागर्दीले दूषित ठाउँ लाग्न थाल्यो। मैले पित पत्रकारिताको कालो बादल देखेँ। बाहिर देखिने संसार र भित्रको वास्तविक संसारमा कत्ति फरक हुँदोरहेछ–बल्ल थाहा पाएँ।
एकातिर कतै डेग नचल्ने फोहोर राजनीति, अर्कोतिर धुवाँले ढाकिएको मेरो स्वप्न संसार – असीमित चिन्ताको टोकसोले पिरोल्न थाल्यो मलाई। अनि चियापसलमा, अफिसमा, सडकमा र युनिभर्सिटीमा गफ चुट्न थालियो। देश बनेन भन्दै राजनीतिका टाउकाहरुलाई सराप्न थालियो।
पत्रपत्रिकामा सिंहदरबार र बालुवाटारममाथि व्यङ्ग्य गर्दै लेख छापेँ। तर आफैँप्रति उदेक लाग्यो। आफ्ना शब्दहरु शक्तिहिन भएझैँ लाग्यो।
विजयकुमार घरिघरि भन्थे, कर्म मिसिएका शब्दहरु शक्तिशाली हुन्छन्। तर मेरो शब्दमा कर्म मिसिएको थिएन। मैले लेख्ने कथा, कविता र लेखहरुमा मैले पढेका लेखकहरुको रिफ्लेक्सन हुन्थ्यो। मैले देखेको समाजको प्रतिबिम्ब हुन्थ्यो। मेरा शब्दहरुमा कर्मको कुनै छनक थिएन।
अब म कर्मयोगको खोजीमा थिएँ। मलाई बहुसंख्यक मान्छेहरुको जीवन बाँच्ने इच्छा थिएन। जन्म, हुर्क, बढ, पढ, जागिर खाउ, विहे गर, सन्तान जन्माउ, सन्तान हुर्काउ, नातिनातिना हुर्काउ, अनि मर।
हो, भात खाएर र सम्भोग गरेर कोही अघाएको छैन। तर मलाई भोक र सम्भोगसँगै अलिक माथिको जीवन बाँच्ने रहर थियो। अतः एउटा राष्ट्रिय दैनिकमा डेस्कमा काम गर्ने अफर छाडेर टिच फर नेपालको शैक्षिक अभियानमा सामेल भएँ।
कामको सिलसिलामा ललितपुरको एउटा गाउँमा पुगेँ। प्युटार गाविसको सिम्ले गाउँ। सातदोबाटोबाट लगभग ४० किलोमिटर दक्षिणतिरको गाउँ। चापागाउँबाट लगभग ३ घण्टाको बस यात्रा गरेर १ घण्टा उकालो चढेँ।
तर यो मेरो कल्पनाको गाउँ थिएन। यो मेरो लागि राजधानी छेउको र पुल्चोककै जिल्लामा पर्ने गाउँ थिएन। यहाँ मैले कर्णालीको डरलाग्दो तस्बिर देखेँ।
दोस्रो जनआन्दोलन लगत्तै आरोहण गुरुकुलका कुलगुरु सुनील पोखरेलको निर्देशनमा एउटा नाटक हेरेको थिएँ–कर्नाली दक्खिन बग्दो छ। उक्त नाटक हेर्नेक्रममा कर्णालीको वास्तविकता देखेर धेरै दर्शकहरु रोएका थिए। मलाई झल्झली नाटकका दृश्यहरु याद आयो।
पहिलो आमनिर्वाचन अगाडि नै राजा महेन्द्रको पालामा निर्मित बाटो वर्षमान पुन सांसद भइसक्दा पनि अझै राम्रोसँग बनेको थिएन। बाटो सुरक्षित थिएन। स्थानीयवासीका अनुसार वर्षेनी सडक दुर्घटनामा धेरै मानिसहरुको ज्यान जान्छ।
झन् वर्षायाममा त बाटोको बेहाल हुन्छ। बाटो बिग्रेको दशौँ दिनसम्म पनि बाटो बन्दैन। अनि १ घण्टाको बस यात्रा गरेर ४ घण्टा जति हिँड्नुपर्छ। झन् सुदुर दक्षिण गाउँ गिम्दीको कुरै नगरौँ। वर्षायाममा १० घण्टा पैदल यात्रा गरेर जानुपर्छ। स्मरण रहोस्, यो ललितपुर नै हो।
प्रकृतिले सम्पन्न भए पनि विकासको सूचकांकका आधारमा सिम्ले निकै पछि परेको छ। महेन्द्रमालाकै जुगमा (वि.सं. २०१९) लगभग ५०० मिटर तलको गाउँमा विद्यालय बने पनि सिम्लेमा १६ वर्षपछि स्थानीयवासीले ठूलो संघर्ष गरेर बल्लतल्ल जाँतोको पुजा गर्दै प्राथमिक विद्यालय खोले।
र, मैले काम गर्ने विद्यालय यही नै हो। सिम्ले पुगेकै पहिलो दिन मलाई कैयौँ चुनौतिहरुले घेरे। शत् प्रतिशत तामाङ वस्तीमा मलाई साना साना बालबालिका र वृद्दवृद्दाहरुसँग सञ्चार गर्न कठिन भयो। उनीहरु राम्रोसँग नेपाली भाषा नबुझ्ने र म तामाङ भाषा नबुझ्ने। पर्नुको फसाद पर्यो।
अनि पानीको हाहाकार। घाम उदाएपछि नअस्ताएसम्म हिँडेर पनि नपुगिने ठाउँमा रहेछ पानीको मुहान। कहिलेकाहिँ लेकको एउटा गाउँका मानिसको कृपाले सिम्लेको ट्यांकीमा तपतप पानी झर्छ। यही तपतप पानीको थोपाले टिकेको छ यहाँको गाउँले जीवन। यहाँका मानिसहरु विहानदेखि रातिसम्म ट्यांकीबाट पानी ओसार्न व्यस्त हुन्छन्। असी वर्षका वृद्दवृद्दादेखि ६ वर्षका बालबालिकासम्म डोको बोकेर पानी ओसार्न निस्कन्छन्।
दुई दिन बसेर हिँड्नेलाई यो ठाउँ स्वर्ग छ। दिनभर ५ / ६ किसिमको मौसम देखिन्छ। यहाँ कविले कविता पाउँछ। दार्शनिकले दर्शनको महासागर भेट्छ। फोटोग्राफरले यहाँको जस्तो अनण्य दृश्य सायद विरलै ठाउँमा पाउला।
तर यहाँका मानिसको जीवन अत्यन्त कठिन छ। विद्यालय र विद्यार्थीहरुको स्थिति अझै असोचनीय छ।
मनिषा र उसका साथीहरु मकवानपुरबाट ३ घण्टा हिँडेर आउँछन्। बीचमा खानीखोला छ। वर्षाको बेला तर्न सकिँदैन। घरको ऋण तिर्न भनेर १० कक्षामा पढ्दै गरेको जयराम र ८ कक्षाको श्याम मलेसिया उडे। जिल्लास्तरीय परीक्षामा फेल भएपछि फुलमान र कमलले विद्यालय छाडे। पारिवारिक दबाबका कारण ९ कक्षा पढ्दापढ्दै सुन्तलीको विहे भयो। दुईपटक फेल भइसकेको देवान शिक्षकहरु र साथीहरुले जिस्क्याउँछन् भन्दै विद्यालय आउँदैन। कक्षा ६ मा पढ्दापढ्दै निरमायालाई परिवारले पोइल पठाइदियो।
होइसल विहानभरि हलो जोतेर विद्यालय आउँछ। निर्मला र उसका साथीहरु विहानै गोबर सोहोरेर घाँस काट्न जान्छन्। अनि पसिनैपसिना भएर विद्यालय आउँछन्। खेतालालाई पैसा तिर्न सकिँदैन, बरु आफैँ काम गर्ने भन्दै बाली लाउने बेला सुनील र उसका साथीहरु विद्यालय आउँदैनन्। जाँड खाएर बाउ आमाले घरमा झगडा गरेर पढ्न दिएनन् भन्दै हरि (नाम परिवर्तन) रुन्छ। द्वन्द्वकालमा पढाइ छाडेका रवि र सुदिप १० वर्षपछि फेरि पढ्न आउँछन्।
शिक्षाप्रति विद्यार्थी यति प्रतिबद्ध हुँदाहुँदै पनि यसपालिको एसएलसीमा विद्यालयले निल खायो। जिल्ला शिक्षा अधिकारीले प्रधानाध्यापकसँग स्पष्टिकरण मागे। प्रधानाध्यापकले सम्बन्धित शिक्षकसँग स्पष्टिकरण मागे। तर विद्यार्थीले कोसँग स्पष्टिकरण माग्ने ?
प्रशासनिक काम र विद्यालयको लागि आर्थिक स्रोत जुटाउने क्रममा प्रधानाध्यापक वर्षमा ७० दिन पनि विद्यालय उपस्थित हुन सक्दैनन्। विद्यालयमा शिक्षकको अभाव छ। प्रधानाध्यापकसमेत ३ जना स्थायी प्रावि दरबन्दीका शिक्षक छन्। २ जना निमावि राहत, २ जना प्रावि राहत, २ जना निजी स्रोत र २ जना शिशु सहायकको भरमा चलेको छ विद्यालय।
मैले काम गर्न थालेको १५ महिनामा स्रोत व्यक्ति जम्मा २ पटक विद्यालय आएका छन्। त्यो पनि एकपटक नयाँ वर्षको विद्यार्थी तथ्यांक लिन र एकपटक विद्यालयको जिपिएस नाप्न। विद्यालय निरिक्षकबारे केही अत्तोपत्तो छैन।
कक्षा १० मा पुग्दा सम्म विद्यार्थीहरु नेपाली शब्द पनि राम्रोसँग लेख्न जान्दैनन्। कक्षा १० का विद्यार्थीहरु जोड्ने घटाउनेजस्तो साधारण गणितीय प्रक्रिया जान्दैनन्।
यस्तो अवस्थामा टिच फर नेपालको एक अभियानकर्ता भएर यस विद्यालयमा आउनु साँच्चै चुनौतिपूर्ण थियो। यहाँ मेरो सपनाको संसार थिएन। तर मसँग चुनौतिहरुसँग लड्नुको विकल्प थिएन।
आधारभूत आवश्यकताहरुसँग लड्दै विद्यालयमा काम गर्नु थियो। यथार्थलाई स्विकार्दै परिवर्तनको पाइला चाल्नुमा नै मेरो, समाजको र विद्यालयको भलो थियो।
आज यहाँ बसेको १५ महिना बित्यो। आज यहाँ मैले मुस्कुराउने बहाना पाएको छु। अरुसँग २ शब्द बोल्न डराउने अस्मिता आज विद्यालय सभाअगाडि आएर ३ मिनेट बोल्न सक्छे। कक्षामा प्रश्न सोध्न डराउने विद्यार्थीहरु आज बाल क्लब गठन गरेर विद्यालय प्रशासनसमक्ष आफ्ना अधिकारको माग गर्न सक्ने भएका छन्।
आफ्नो विद्यालय आफैँले बनाउँ भन्दै निर्वाचित बाल संसदले विद्यालयको लागि आचारसंहिता बनाएको छ। आफ्नै देशको प्रधानमन्त्रीको नाम नजान्ने विद्यार्थीहरु आज विभिन्न देशका प्रतिनिधि बन्दै संयुक्त राष्ट्र संघको नमूना सम्मेलन गर्न सक्ने भएका छन्।
आज यहाँका विद्यार्थीहरु ब्रम्हाण्डका विभिन्न विषयहरुमा तार्किक र दार्शनिक बहस गर्न सक्ने भएका छन्।
हो, उनीहरुसँग क्षमता छ। उनीहरुसँगै अथाह ज्ञान छ।
र, म उनीहरुसँग सिक्दै छु। म हरेक भाइबहिनीहरुमा कुनै न कुनै व्यक्तित्व देख्छु। डण्डीवियो खेल्दा बियोलाई आँखाले नभ्याउने ठाउँमा पुर्याउने प्रकाशमा म पारस खड्काको रुप देख्छु। सानो चौरमा पनि फुटबलमा चातुर्य देखाउन सक्ने अशोकमा म सागर थापालाई देख्छु। आशामायामा म तारादेवी पाउँछु। जुनमायामा म कोमल वली देख्छु। सन्तोषमा म विपी कोइराला देख्छु।
हो, म विकट नेपालका भाइबहिनीहरुसित सिक्दै छु।
सहरको हावा लागेको म 'व्यक्तिवादी' छु। तर मेरा भाइबहिनीहरु समाजमा बाँच्छन्। वल्लो टोलको पीडामा पल्लो टोललाई दुख्छ। तल्लो टोलको खुसीमा माख्लो टोल रमाउँछ। वामपन्थी र प्रजातान्त्रिकहरुको पुँजीवादपछिको समाजवाद कस्तो होला, मलाई थाहा छैन। तर मलाई समाजवादको अर्थ यी भाइबहिनीहरुले सिकाएका छन्।
आज म समाज बुझ्दै छु। भूगोल, मानिस, पैसा, श्रम र न्यायको सम्बन्ध बुझ्दै छु। भगवद्गीतामा कृष्णले अर्जुनलाई भनेको कर्मयोगको अर्थ आज बुझ्दै छु।
सबैभन्दा ठूलो कुरा, शिक्षाको महत्व बुझ्दै छु। हाम्रो शिक्षाले हामीलाई असल होइन ठूलो बन्न सिकायो। त्यसैले आज हाम्रो राजनीति र कर्मचारीतन्त्र फोहोर भयो। समाज हिंस्रक भयो। जनताले गनगन गर्न मात्र जान्यौँ। विद्यालयमै भ्रष्टाचारको बीउ रोपियो।
अब समाज बदल्ने हो भने कक्षाकोठा सुधार्नुको विकल्प छैन। समतामुलक समाजको परिकल्पना गर्ने हो भने हरेक विद्यालयमा गुणस्तरीय शिक्षा दिनुको विकल्प छैन।
र, संघर्षलाई स्वीकार्दै शिक्षाको लागि प्रतिबद्द भाइबहिनीहरुबाट असल बन्ने तरिकाहरु सिक्दै शैक्षिक अभियानमा हिँड्ने क्रम जारी छ।
यहाँ म एक्लो छैन। कक्षाकोठामा ५० जना साथीहरु खटिएका छन्। नैतिक समर्थन जनाउनेहरु हजारौँ छन्।
हामीजस्ता युवाले आफ्नै देशमा पसिना बगाउने हो भने सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउने दिन टाढा छैन। अनि न्यायमूलक समाजको निर्माण सम्भव छ।
*****
लेखक टिच फर नेपालको फेलोको रूपमा ललिलपुरको सिम्लेमा अवस्थित चन्डेश्वरी माविमा विज्ञान पढाउँछन्। www.teachfornepal.org
फोटो: बिक्रमप्रताप सिंह