काठमाडौं, चैत १९ (सेतोपाटी)– प्रजातान्त्रिक आन्दोलन र कांग्रेसभित्रको चिन्तन, बहस र विमतिको संस्कृतिभित्र स्थापित नेता चक्रप्रसाद बास्तोलाका आफन्त ‘चमत्कार’को आशामा उनको सेवामा लागिपरेका छन् ।
‘अनुकूल पारिवारिक र सामाजिक वातावरण’ अबको उपचारमा प्रभावकारी हुन सक्ने मेदान्तका डाक्टरहरूको सुझावअनुसार उनलाई दिल्लीबाट तीन दिनअघि काठमाडौं ल्याइएको हो ।
मेदान्तमा तीन महिनाको उपचारमा पनि आशातीत सुधार नभएपछि वास्तोलालाई काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उपचारमा संलग्न भारतका ख्यातिप्राप्त स्नायु रोग विशेषज्ञ आदित्य गुप्ता र केएन झाकै सुझावअनुसार बास्तोलालाई काठमाडौं ल्याइएको हो ।
नर्भिक अस्पतालमा एक साता राखेर बास्तोलालाई ललितपुर हात्तिवनस्थित निवासमा सार्ने तयारी भइरहेको छ । ‘मेडिकल साइन्सले हुनेजति उपचार मेदान्तमै भइसकेको छ,’ अस्पताल स्रोतले भन्यो, ‘अब पारिवारिक वातावरणमा हुने स्याहारले चमत्कार हुन सक्ने आशा हामीले गरेका छौं ।’
मेदान्तका चिकित्सकहरूको जस्तै सुझाव नर्भिकका डाक्टरद्वय मधु घिमिरे र वसन्त पन्तले पनि बास्तोला परिवारलाई दिएका छन् । ‘आवश्यक परे मष्तिस्कमा जम्मा भएको तरल पदार्थ सफा गरेर अनि डिस्चार्ज हुन्छ,’ स्रोतले जानकारी दिएको छ ।
तीन महिना पा“च दिनअघि मोरङ इन्द्रपुर गाविसको एक कार्यक्रममा सरिक हुने क्रममा मष्तिस्कघातको शिकार भएका बास्तोला अझै अचेत छन् । सुरुमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको उनलाई सिलिगुढी लगेर अप्रेसन गरियो । त्यसको तीन दिनमा मेदान्त लगेर पुनः अर्को शल्यक्रिया भयो ।
बास्तोला अचेत भए पनि बीचबीचमा आ“खा खोल्ने, हाई गर्ने र चिमोट्दा त्यसको प्रतिक्रिया जनाउने गर्छन् । ‘यो कोमा भन्दा राम्रो अवस्था हो,’ स्रोतले भन्यो ।
उनलाई नर्भिक अस्पतालको भिआइपी कक्ष–८०२ मा भर्ना गरिएको छ । अस्पताल हेर्न आउनेहरूको घुइँचो छ । तर आगन्तुकहरूलाई बास्तोला राखेको कोठामा प्रवेश दिइएको छैन । कक्ष बाहिरै उभिएर शिशाबाट हेर्ने व्यवस्था मिलाइएको छ ।
आफन्तका अनुसार उपचारमा संलग्न मधु घिमिर र वसन्त पन्त लगायत डाक्टरहरूले ‘निराशाको समग्र परिस्थितिमा पनि आशाका साथ’ उपचार जारी राख्ने बताएका छन् ।
बास्तोलाका भाञ्जी सरिता प्रसाईंका अनुसार पेटमा प्वाल पारेर पाइपबाट खाना खुवाइएको छ । एकपटकमा दुई सय ग्राम तरल खानेकुरा दिइएको छ । ‘किड्नी, हार्ट, लिभर लगायत सबै अंग ठिकै छ भनिएको छ,’ प्रसाईंले भिनन्, ‘होस नफर्किएर नै समस्या भएको हो ।’
चिकित्सकहरूले मस्तिष्कमा जमेको रगतमध्ये ६० प्रतिशत सफा भएको र ४० प्रतिशत अझै बा“की रहेको जानकारी दिएको उनले बताइन् । बास्तोलाको उपचारका क्रममा प्रसाईं दिल्लीमा पनि स“गै थिइन् ।
प्रकाशित मिति: 2013-04-01 15:01:30