काठमाडौं, चैत १९ (सेतोपाटी)– निशा अधिकारीलाई सम्भावना बोकेको अभिनेत्रीका रूपमा हेरिएको थियो । ‘मिसन पैसा’मा उनको एक्सन र ‘फष्ट लभ’मा गम्भीर अभिनय देखाएपछि उनी एकएक फिल्मकर्मीको रोजाइमा परेकी थिइन् । ‘नैना रेशम’मा विराज भट्टसँग नाचेपछि मूलधारमा उनको ठाउँ फराकिलो बन्यो ।
फिल्मबाट छोटो छुट्टी लिएर अमेरिकाको न्युयोर्कमा फिल्म निर्देशनको तालिम लिएर फर्केपछि ‘जान्ने भएको’ ठानिइन् उनी । तालिमपछि निशाले निर्देशकलाई ‘सिकाउन थालेको’ भन्दै आलोचना सुरु भयो । ‘मायाज बार’मा अभिनयमा छानिएकी निशा निर्देशनमा जान्ने बनेको दिनेश डिसीलाई मन परेन । निर्देशक र हिरोइनको मनमुटाव फिल्म युनिटभित्र मात्र सीमित रहेन । तर, निर्माता सुनील मानन्धरलाई निशा ‘खुबी’ले प्रभावित बनायो । उनले त्यतिबेलै उनलाई निर्देशक बनाउने बचन दिए । छिट्टै स्क्रिप्ट, निर्देशक र अन्य प्राविधिक पक्षमा निशाको ‘हस्तक्षेप’ले चर्चा पायो । जतिबेला उनको ‘ज्ञान बढ्यो’, त्यतिबेलै फिल्मको व्यापार घट्यो । उनले खेलेका ‘बिग बजेट’ फिल्म व्यापार र स्तर दुवैले कमजोर देखिए । उद्योगमा स्थान गुमाउँदै गएपछि उनी सगरमाथा चढेर चर्चा कमाउने धुनमा छिन् ।
केही दिनअघि अभिनयमा असफल भएर सगरमाथा आरोहणको धोको सहित यात्रामा निस्किएका अर्जुन कार्कीलाई सघाएको चलचित्र कलाकार संघले निशालाई पनि शुभकामना दिने कार्यक्रम ग¥यो । बिहीबार पत्रकारमाझ निशाले चैत २४ मा यात्रा सुरु गर्ने र यसका लागि विभिन्न तालिम लिएको जानकारी दिइन् । मनास्लु हिमालमा ४५ दिन तालिम लिएको, रक क्लाइम्बिङ र अल्टिच्युटको सावधानी समेत जानेको उनले सगर्व सुनाइन् ।
फिल्म क्षेत्रमा राम्रो कलाकार र फिल्मको खडेरी परिरहेको बेला निशाको सगरमाथा अभियानलाई कलाकारिताको पलायन मान्ने पनि छन् । तर, उनी कोषाध्यक्ष रहेको चलचित्र कलाकार संघ र उनका सहकर्मी भने यसमा निकै खुशी छ, ‘निशाले सगरमाथा शिखरमा कलाकार संघको झन्डा गाड्ने भइन् ।’ करिश्मा मानन्धरले त निशालाई भेटेर उनको साहसको खुलेर प्रशंसा गरिन्, ‘यो सम्पूर्ण अभिनेत्रीका लागि गर्वको कुरा हो ।’
प्रकाशित मिति: 2013-04-01 14:34:48