हाम्रो जिरेल जाति नेपालका अत्यन्त पिछडिएका अल्पसङ्ख्यक जातिहरूमध्ये एक हो । विभिन्न जिल्लामा छरिएको भए पनि यो जातिको मुख्य थलो भने जिरी हो । पाँच हजारदेखि छ हजारको बीचमा जनसङ्ख्या रहेको यो जातिको सङ्ख्या समयानुकूल बढे पनि तथ्याङ्कमा भने घट्दो रूपमा रहेको पाइन्छ । बसाइँ सरेर गएपछि ठाउँविशेषकै आधारमा जिरेलहरूले राई, लिम्बू, सुनुवार, सुब्बा जस्ता थर राख्ने गरेकोले जिरेल जाति दिनदिनै लोपोन्मुख हुँदै छ । त्यसबाट प्रायः बेखबर जिरेलहरू आफैँमा रमाएर बस्ने गर्छन्।
हाम्रो परिवार पनि अपवाद थिएन।
बाबा–आमासहित सात जनाको परिवार खुशियालीपूर्ण थियो । हामी दाजुभाइ–दिदीबहिनी एकअर्कालाई असाध्यै माया गथ्र्यौं । गुराँसको फूल टिप्न जङ्गलतिर जान्थ्यौँ; भाँडाकुटी खेल्थ्यौँ । ससाना कुराहरूमा रमाउँथ्यौँ; ससानै कुराहरूमा झगडा गर्थ्यौं। बाबा–आमाले बजारबाट फर्कंदा प्रायः चकलेट, बिस्कुट ल्याइदिनुहुन्थ्यो । हामी आफ्नो भाग लुकाएर अरूको भाग खोसाखोस गर्ने गर्थ्यौं। अन्यायमा परेका भाइ वा बहिनी बाबा–आमालाई नदेखुन्जेल चुप लाग्थे । उहाँहरूलाई देख्नासाथ क्वाँक्वाँ रुन थालिहाल्थे, भलै आँखामा आँसु देखिएको हुन्नथ्यो । एक जना रुन थालेपछि बाँकी सबैले बाबा वा आमाको हातबाट लाइनै कुटाइ खान्थ्यौँ । बढी चुटाइ खानेमा प्रायः दिदी र म पथ्र्यौं । तर त्यो कुटाइमा आक्रोश कम, स्नेह बढी हुन्थ्यो।
हामी सानो छँदा बाबा घरनजिककै सरकारी भेटनरीमा काम गर्नुहुन्थ्यो । त्यहाँको तलबले परिवारको खरखाँचो टर्ने गरेको थियो । उहाँको तलबबाहेक घरको अर्को आयस्रोत खासै थिएन।
तर करार अवधि सकिएपछि उहाँलाई अफिसबाट निकालियो । उहाँ जागीर खोज्न भौँतारिँदै काठमाडौँ पुग्नुभयो । गल्ली–गल्ली चहार्दै गर्दा एक दिन उहाँले दोलखाकै एमाले सांसदलाई भेट्नुभएछ । तिनलाई जागीरको लागि अनुनय विनय गर्नुभएछ।
त्यति बेला हाम्रो पूरै गाउँ नेकपा एमाले समर्थक थियो । बाबाको आस्था पनि त्यतै थियो । तर ती सांसदले “तपाईंको राजनीतिक क्रियाशीलताबारे जिल्लामा बुझछु” भन्दै धेरै दिनसम्म कुरा टार्दै गएछन्।
बाबाको राजधानी बसाइ झन्झन् दुःखदायी बन्न थाल्यो । पछि नेपाली काङ्ग्रेसका एक जना नेताको सिफारिशमा उहाँले राष्ट्रिय खेलकूद परिषदमा जागिर पाउनुभयो।
बाबा काठमाडौँमा छँदा आमाले खेतीपाती र घरका सारा काम सम्हाल्नुहुन्थ्यो । हामी आफूले सक्ने घरायसी काममा सघाउँथ्यौँ । स्कुल जानुअघि र स्कुलबाट फर्केपछि घरभित्र र बाहिरका सामान्य कामहरूमा हात लगाउँथ्यौँ । घरनजिकैको धाराबाट खानेपानी ल्याउँथ्यौँ; घाँस–दाउरा जुटाउँथ्यौँ।
हाम्रो औपचारिक शिक्षाको शुरूआत घरनजिकैको प्राथमिक विद्यालयबाट भयो । दिदी र मलाई एकै साल भर्ना गरिएको थियो । त्यहाँबाट पाँच कक्षा पास गरेपछि आमाले दिदी र मलाई जिरी उच्च मावि मा भर्ना गरिदिनुभयो।उच्च मावि रातमाटेबाट टाढा पर्छ । त्यहाँ पुग्ने दुइटा बाटा छन् । लिङ्कन बजार हुँदै आउँदा–जाँदा समय केही बढी लाग्छ । अर्कोे बाटो जङ्गलको बीचैबीच छ, तर छोटो छ।
हामी जङ्गलकै बाटो आउजाउ गर्थ्यौं। स्कुल जीवनको मेरो सबैभन्दा नजिकको साथी पिते थियो । हामी सँगै स्कुल जान्थ्यौँ, पढ्थ्यौँ र सँगसँगै फर्कन्थ्यौँ पनि । हामी प्रायः बिहान खाना खाएर निस्केपछि खाजा खान घरै आइपुग्थ्यौँ।
एक दिनको कुरा हो । खाना पाक्न ढिलो भएकोले म भोकै स्कुल गएको थिएँ । दिदी घरमै काम भएकोले गएकी थिइनन् । छुट्टी भएपछि पिते र म जङ्गलको बाटो हुँदै फर्किंदै थियौँ, मलाई सारै भोक लाग्यो । हिँड्नै नसक्ने भएँ । म बाटोनजिकैको चौरमा पल्टिएँ र पितेलाई “तँ जाँदै गर्; म एक छिनमा आउँछु” भनेँ । तर मेरो गाँसले साथ छोडे पनि पितेको हृदयले मलाई बाटोमा एक्लै छोडेर जान सकेन।
म पल्टेको छेउछाउ काफल लटरम्मै फलेको थियो । पिते रूखमा चढ्यो । काफल टिपेर झर्यो र मेरो मुखमा एक मुठी कोच्याइदियो । मैले अलिकति खाइसकेपछि उसले हात समातेर डोर्याउन थाल्यो । काफल खाँदै म साथीको पछिपछि हिँडिरहेँ।
यस्तै अनुभवसाथ हाम्रो स्कुले जीवन तन्किँदै गयो।
तर जीवनको चक्र सधैँ समान गतिमा सहज रूपमा कहाँ चल्छ र ! जिरी उच्च मावि मा सात कक्षा पास गर्न पाउँदा–नपाउँदै हामीले परिवारको सबैभन्दा प्यारो काखबाट सधैँको लागि बिछोड हुनुपर्यो । छोराछोरीलाई आमाको वियोगजति ठूलो दुःख के हुन्छ र!
सानो, व्यवस्थित, सुन्दर र सुखी परिवार आमाको देहावसानपछि एकाएक भत्किन गयो । हामी बेसहारा भयौँ । दिदीपछिको जेठो छोरो म, मपछिका दुई भाइ र बहिनी सबै टुहुरा भयौँ । जिन्दगीका कटु यथार्थहरूसँग हाम्रो साक्षात्कार हुन थाल्यो।
बाबाका छ–सात जना दाजुभाइ थिए । बहिनी भने एउटी मात्र हुनुहुन्थ्यो । फुपू हामीलाई थाहा भएदेखि नै काठमाडौँतिरै बस्नुहुन्थ्यो । अविवाहित फुपू त्यति बेला एउटा अनाथालयमा काम गर्नुहुन्थ्यो । हाम्रो परिवार भत्किएको र हामी बेसहारा भएको देख्न नसकेर उहाँले भाइ र बहिनीलार्ई ललितपुरको अनाथालयमा राख्न लैजानुभयो।
भाइबहिनीलाई अनाथालय लगेको देख्दा मभित्र पीडाको ज्वार उर्लिरहेको थियो । तर नसम्हालिँदा पनि गर्न सक्ने केही थिएन । बाबा पनि ठूलो शोकमा पर्नुभयो । घर र कार्यालय दुवैतिरको काम सम्हाल्नुपर्ने बाध्यात्मक परिस्थितिले उहाँलाई गलाउँदै लग्यो।
बाबा काठमाडौँबाट काज सरुवा लिएर जिल्ला खेलकूद कार्यालय, चरिकोटमा आउनुभयो । घरको हेरचाह अलि राम्रो गर्न सक्ने उद्देश्यले काठमाडौँ छोड्नुभएको थियो होला, तर घरमा दिदी र भाइ मात्र हुने भए । समस्याको क्षणिक समाधानस्वरूप मलाई काकासँग बसेर पढ्न सिन्धुपाल्चोकको लामोसाँघु पठाइयो । म बिलकुलै नयाँ परिवेशमा पुगेँ।
एक त बिरानो ठाउँ, अर्को काकाकाकीसँगको स्वतन्त्रताविहीन बसाइ ! त्यसमाथि दिदी र भाइको सम्झ्ना ! म सारै पिरोलिन थालेँ । आमाको याद अरू बढ्दै गयो । आफ्नै घर फर्किने इच्छा तीव्र हुँदै गयो।
कहिलेकाहीँ साथीभाइसँग खेल्ने क्रममा घर फर्किन ढिला हुँदा काकाकाकीको गाली खाने पक्का हुन्थ्यो । एक पटक भाइ (काकाको छोरा) र म सुनकोशीमा पौडी खेलेर अलि अबेला घर फर्कियौँ, काकाकाकीले त्यो साँझ् हामीलाई घरभित्र छिर्न दिनुभएन । हामीले लगभग एक घण्टा आँगनमा उभिनुपर्यो।
काकाको घरमा कुनै क्षण दुःखपीडामा बिते पनि कुनैकुनै क्षण रमाइलो र पारिवारिक ठट्टामा पनि बित्ने गर्थे । एक चोटि परीक्षाको समय म पढ्दापढ्दै कुर्सीमा निदाएछु । बिउँझ्ँिदा खुट्टा चलाउन खोजेँ, तर मेरो खुट्टा तन्किएको जस्तो अनुभूति भयो । खुट्टा कुर्सीमा बाँधिएको रहेछ ! सबै जना मतिर हेर्दै हाँसिरहेका थिए । म जबरजस्ती फुत्कने प्रयास गर्दै थिएँ, अरू भने खित्का छोडिरहेका थिए । म पढ्दापढ्दै निदाएपछि काकी, दुइटी बहिनी मिलेर मेरो खुट्टा कुर्सीमा बाँधिदिएका रहेछन्।
तर त्यो दिन चाहिँ ठट्टाले मलाई अलि दुःखी बनाएको थियो।
आमा नभएकोले होला, मलाई घरीघरी कसैको जिस्क्याइ पनि अपहेलना जस्तो लाग्थ्यो । साँच्चैको हेला त झ्न् सहनै सक्दिनथेँ । सानैदेखि यस्तो स्वभाव विकसित हुँदै गयो । जिरीमा हुँदा मलाई कसैको थिचोमिचो मन पर्दैनथ्यो । अनाहकमा कसैले दबाउन खोज्यो कि कन्सिरी तातिहाल्ने ! स्कुलमा कुनै सहपाठीले अरूलाई हेपेको पनि म सहन सक्दिनथेँ । झ्गडा गर्न अघि सरिहाल्थेँ।
जिरेश्वरी प्राथमिक विद्यालयमा पढ्दाताका एक चोटि घण्टी लाग्दा पनि शिक्षक आएनन् । हामी कक्षाकोठाबाहिर निक्लियौँ । केही समयपछि शिक्षक कुद्दैकुद्दै आए । हामीले “सर, किन ढिलो आउनुभएको ?” भनेर सोध्यौँ । केही समयसम्म सवालजवाफमा लागिरह्यौँ । यो हर्कतले हामीलाई सजाय खुवायो । केही साथीसहित मैले स्कुलको कार्यालयमा थुनिनुपर्यो।
जिरी उच्च माविमा साथीभाइसँग झ्गडा परिरहन्थ्यो । म सात कक्षा पढ्दाको कुरा हो । हाम्रो कक्षाकोठामा चक्रे सबैभन्दा अग्लो र मोटोघाटो थियो। कक्षामा सबैलाई काबूमा राखेको थियो । बिनाकारण जसलाई पनि पिटिहिँड्थ्यो । मलाई भने उसको हैकम मनै पर्दैनथ्यो । एक दिन म ऊभन्दा अगाडिको बेन्चमा बसेको थिएँ । पढाइ चलिरहेको थियो । ऊ भने पछाडिबाट घरी मेरो टाउकोमा डट्पेन घोच्दै थियो त घरी सर्टको कलर तान्दै थियो । मलाई असह्य भइरहेको थियो । रिसले आँखा देखिरहेको थिइनँ।
एक छिनमा शिक्षक यसो बाहिर लागे, तत्काल उठेर मैले उसको मुखमा एक बक्सिङ हानिदिएँ । उसको आँखामा लागेछ । ठाउँको ठाउँ सुन्नियो । मेरो प्रतिकार नगरी उसले खल्तीबाट रुमाल झिक्यो र हा ... हा ... गरेर मुखको सासले रुमाल तताउँदै चोट लागेको ठाउँमा सेक्न थाल्यो । उसले टाउकै उठाएन । घोप्टो परेर बसिरह्यो । उसलाई कुटेपछि मैले अरू पीडित साथीभाइको स्याबासी पाएँ । तर त्यो हाईहाई क्षणिक भयो । एक छिनपछि कक्षामा छिरेका शिक्षकले मलाई नराम्रोसँग चड्काए।
त्यो झापडको रन्को छुट्न पाएको थिएन, शिक्षक कक्षा सकेर निस्केको केही समयपछि आएको चक्रेको दाइ विमलले भक्कुर्नु भक्कुर्यो । दश कक्षा पढ्ने विमललाई कसले पोल लगाउन भ्याइसकेको रहेछ!
अन्याय नखप्दा आफूले झन् कुटाइ खाइने जान्दाजान्दै पनि मेरो स्वभावमा परिवर्तन आएन । गलत विषयले कुनै पनि रूपमा प्रश्रय पाएको मलाई पटक्कै मन पर्न छाड्यो । सानै भए पनि, समाजका गलत तत्वहरूका विरुद्ध म खुलेर पेश हुन थालेँ । स्कुलका कतिपय साथी बदमासी पनि गर्ने अनि सजाय पाउँदा अभिभावक बोलाएर थप गाली पनि गराउने गर्थे । ससाना कुरामा अविभावकहरू नै आएर हस्तक्षेप गरेको म सहन सक्दिनथेँ ।
जति बेला साथीभाइका आमाबाबा आएर अरू साथीलाई वा म आफैँलाई गाली गर्थे, त्यस बखत मलाई आफ्ना बाबाआमाको खूब याद आउँथ्यो । मेरो बाबाले राम्रोसँग हेरेको भए वा मेरी आमाको मृत्यु नभएको भए मैले यस्तो भोग्नुपर्दैनथ्यो भन्ने लाग्थ्यो । पछिल्ला दिनहरूमा म समाजबाट जति अपहेलित हुँदै गएँ, त्यति नै समाजप्रति वितृष्णा जाग्दै गयो।
म एक वर्ष काकाको परिवारमा बसेँ । काकाको परिवारमा सबै थिए, तर पनि म एक्लिएको महसूस गर्थें । उहाँहरूको हिसाबले राम्रै व्यवहार गरे पनि मलाई नमीठो पीडा हुन्थ्यो । भाइबहिनीलाई गरिएको गालीले मैलाई दुखाउँथ्यो।
श्रीमती, दुइटी छोरी र एउटा छोरासँगै मेरो भार पनि काकामा थियो । काका टुकी सङ्घमा काम गर्नुहुन्थ्यो । तर कमाइले त्यति राम्रो थिएन । परिवार व्यवस्थापनलाई लिएर बेलाबेलाको घरायसी झ्गडा भइरहन्थ्यो । शायद यही कारण, मलाई आठ कक्षा पास हुनेबित्तिकै र स्कुलको प्रमाणपत्र पनि लिन नपाउँदै हेडमास्टरको सहीछाप भएको चिठी थमाएर घर फर्काइयो।
शुरूशुरूमा लामोसाँघुबाट चाँडै घर फर्कन पाए हुन्थ्यो जस्तो लागे पनि यतिखेरको बाध्यताले मलाई भित्रभित्रै चोट पु¥यायो । म वास्तवमै हेपिन मात्रै जन्मेको रहेछु भन्ने लाग्दै गयो।
योपल्ट म जिरी फर्कन पाउँदा पनि खुशी थिइनँ । उदास मन लिएर लामोसाँघु एक किलोमा बस चढेँ । विभिन्न घुम्ती र मोडहरू हुँदै बस जिरीतर्फ बढ्दै गयो।
घर पुगेको केही दिनपछि म जिरी उच्च मावि गएँ, नौ कक्षामा भर्ना हुन । कार्यालयको ढोकैबाट देखेँ— धन सर त्यहीँ हुनुहुँदो रहेछ । डर लाग्यो । पहिले पनि केही वर्ष जिरी उच्च माविमा पढिसकेकोले मलाई धन सर अरू शिक्षकहरूको तुलनामा अलि कडा र रिसाहा स्वभावको हुनुहुन्छ भन्ने थाहा थियो । त्यसैले आफूलाई सहज बनाउँदै ढोका ढकढक्याएँ।
“सर, म भित्र आउन सक्छु?”
धन सरले अनुमतिमा टाउको हल्लाउनुभयो।
“सर, मेरो नौ कक्षामा भर्ना गर्नु थियो ।” मैले विनम्र भावले भनेँ।
“खै प्रमाणपत्र देखाऊ ।” उहाँले मेरो अनुहार एक छिनसम्म नियाल्नुभयो।
“सर, म सिन्धुपाल्चोकबाट छिट्टै आउनुपरेकोले अहिले स्कुलले पठाएको चिठी मात्र छ । प्रमाणपत्र केही दिनपछि आउँछ । पछि बुझउँछु ।” मैले लामोसाँघुको चिठी धन सरको टेबलमा राखिदिएँ । उहाँ त्यसलाई नदेखे झ्ैँ एक छिन भित्तातिर हेर्दै टोलाउनुभयो । अनि त्यो चिठी मैतिर सार्दै भन्नुभयो, ““चिठीले हुँदैन, प्रमाणपत्र नै चाहिन्छ।”
“सर, मलाई पढ्ने रहर छ । प्रमाणपत्र आउने बेलासम्म मेरो धेरै पढाइ छुटिसक्छ । अहिले पढ्न दिनुहोस् । मेरो प्रमाणपत्र हात पर्नासाथ बुझइहाल्छु।”
धन सर कुर्सीमा अचल नै भइरहनुभयो । मैले पुनः बिन्ती बिसाएँ, हारगुहार गरेँ; अहँ, उहाँ पग्लिनुभएन।
“प्रमाणपत्र नभई भर्ना गर्न मिल्दैमिल्दैन । पहिले सिन्धुपाल्चोक गएर प्रमाणपत्र लिएर आऊ।”
आमाको मृत्युपछि पढ्नकै निम्ति कहिले कहाँ त कहिले कहाँ भौँतारिनुपर्दा मलाई यसै पनि पिरलो परेकै थियो । त्यसमाथि अगाडि पढ्न नपाउने स्थितिले मलाई आलो घाउमा नूनचूक छरे झैं पीडा भयो । एक वर्ष त्यत्तिकै घरमा बसेर दिन काट्न सक्ने धैर्य ममा थिएन । धन सरको ढिपीले मेरो सारा जीवन समाप्त भए झैं लाग्यो । मेरो बालमस्तिष्कले सोच्न सक्नेजति कुरा क्षण भरमा सोचेँ । आँखामा आँसु टिलपिलायो, तर थुकको घुट्को निलेर आँसुलाई भित्रै दबाएँ र बाहिर निस्केँ । मैले सिन्धुपाल्चोकको स्कुलबाट ल्याएको चिठीको कुनै काम नभएपछि अफिसबाट निस्कनेबित्तिकै त्यसलाई च्यातचुत पारेर फालिदिएँ । सोचेँ— अब मेरो औपचारिक शिक्षा सदाको लागि अन्त्य भयो।
यो अनुभवले आफ्नो समाजप्रति मलाई झ्न् आक्रोशित बनायो । जीवन कसरी अगाडि बढाउने होला भनेर म सोचमगन हुन थालेँ । बूढापाकाहरू भन्थे— जीवनमा केही गर्नु छ भने लाहुरे हुनुपर्छ । लाहुरे भएपछि देशको लागि पनि केही गरिन्छ भन्थे उनीहरू । जिरीमा हाम्रो घरनजिक सेनाको ब्यारेक छ । त्यहाँका सैनिकहरूको रवाफ देख्दा र बूढापाकाका कुरा सुन्दा हामीलाई काम लाग्ने ठाउँ त त्यही हो जस्तो पनि लाग्थ्यो । तर फेरि, सैनिकहरूले ब्यारेकमा बसेर खानेभन्दा अरू काम नगरेको र कोही भने जङ्गलमा सुँगुर चराउँदै घाँसदाउरा गरिरहेका गाउँले केटीहरूसँग इत्रिने गरेको देख्दा लाहुरे हुने रहर पनि सेलाउँदै गयो।
म सिन्धुपाल्चोकबाट फर्केताका जिरीमा राजनीतिक क्रियाशीलता बढ्दै थियो । जान्नेसुन्नेहरू भन्थे— जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले ठोस परिवर्तन दिन सकेको छैन । विकासको नाममा केही सीमित राजनीतिक र बौद्धिक भनाउँदा ठालुहरूले फाइदा लिइरहेका छन् । जिरेलको उत्थानको नाममा धेरै सङ्घसंस्था खुलेका भए पनि यो समुदायको जीवनस्तरमा न कुनै सुधार आएको थियो, न त उनीहरूले सामाजिक स्तरमा कुनै राम्रो भूमिका नै पाएका छन् । राज्यको निर्णायक तहमा कहिल्यै उनीहरूको सुनुवाइ हुँदैन । जिरेल जातिको जीवनस्तर दिन प्रतिदिन खस्कँदै छ।
उनीहरूको तर्कमा विमति जनाउने ठाउँ थिएन।
मलाई कहिलेकाहीँ राजनीतिक बहसमा सहभागी हुन मन लाग्थ्यो । तर मेरो कुरा सुन्ने कसले ! म पनि राजनीति गरेर ठूलो नेता बन्न चाहन्थेँ । म जस्तै पढ्ने रहर भएकालाई विद्यालय छोड्न विवश बनाउने परिस्थितिको अन्त्य गर्न चाहन्थेँ।
जति बेला विद्यालय भर्ना हुने अवस्था रहेन र म कुनै अर्को बाटोको खोजीमा थिएँ, त्यति बेला, २०५२ सालदेखि सशस्त्र विद्रोह गर्दै आएको पार्टी माओवादीले पहिलो पटक युद्धविराम घोषणा गरेको थियो।
म सहाराविहीन भएकै बेला, गरीब गाउँले र असहायहरूको हित गर्न माओवादी आउँदै छ रे, यसले गरीबीका जाँतोमा पिल्सिएकाहरूलाई सहायता गर्छ रे, धनी र सामन्तहरूको सम्पत्ति खोसेर गरीबलाई बाँड्छ रे भन्ने कुरा गर्थे, लुकीछिपी।
गन्तव्य पत्तो लगाउन नसकेर भौँतारिरहेको मलाई आफ्नो जीवनको सहारा माओवादी पार्टीबाहेक अरू हुनै सक्दैन भन्ने लाग्दै गयो । मेरो किशोर मस्तिष्कमा जुन उथलपुथल मच्चिन थालेको थियो, त्यसले मलाई एउटा न एउटा गन्तव्य रोज्न बाध्य पारिरहेको थियो । तत्कालीन राज्य व्यवस्थाविरुद्ध जातीय, वर्गीय, लैङ्गिक, क्षेत्रीय लगायतका मुद्दालाई लिएर समानान्तर सरकारका रूपमा जनसत्ताको विकास गर्दै विद्रोहमा अगाडि बढिरहेको माओवादी पार्टीको सशस्त्र क्रान्ति नै मेरो रोजाइको निर्विकल्प आधार बन्दै गयो।
मैले यसै विश्वासका साथ तेह्र वर्षको कलिलो उमेरमा स्वेच्छापूर्वक सशस्त्र विद्रोहमा समाहित हुने दृढ निश्चय गरेँ । त्यो उमेरमा म न राजनीतिक सिद्धान्तहरूबाट प्रभावित थिएँ, न कुनै बाध्यताबाटै, मैले त केवल समाज रूपान्तरणको जिम्मेवारी बोधबाट यो निर्णय लिएको थिएँ।
(चौध वर्षको कलिलो उमेरमा माओवादी लडाकु बनेका नवीन जिरेल हाल स्वैच्छिक अवकाश लिएर पार्टी राजनीतिमै सक्रिय छन्। उनको लडाइँ-संस्मरण ‘भीषण दिनहरू’ हालै पब्लिकेसन्स नेपालयले प्रकाशित गरेको छ।)