नेपाल विद्यार्थी संघका सभापति तथा सभासद रञ्जीत कर्णले सभासदको मर्यादा भूल्दै बिना मोलाहिजा आफ्नो जिम्मेवारी निभाउँदै आएका एक कावील प्रहरी अधिकृतमाथि कारबाहीको माग गरेका छन्।
आफ्नै पार्टी सभापति प्रधानमन्त्री भएको बखत सार्वजनिक कार्यक्रम मार्फत ब्यक्त कर्णको अभिव्याक्ति माग नभएर सार्वजनिक धम्की हो।
जुन विषयलाई लिएर कर्णले काठमाडौं जिल्ला प्रहरी प्रमुख रमेश खरेललाई कारबाहीको माग गरेका छन् त्यो झनै गम्भीर छ।
शंकरदेव क्याम्पस स्ववियु सभापति शुभराम बस्नेत उनका चारजना सहयोगीसहित गत सोमबार बिहान तीन बजे काठमाडौको सीतापाइलाबाट पक्राउ परेका थिए। बिहान झिसमिस नहुँदै तीन थान हतियारसहित ट्याक्सीमा सवार उनीहरुलाई प्रहरीले नियमित चेकजाँचका क्रममा पक्राउ गरेको थियो। तीन थान हतियार मध्ये पेस्तोलको नविकरण म्याद सकिएको प्रहरीले जनाएको छ।
कर्णले भने जरिवाना तिरेर नविकरण गर्न पाउने कानुनी व्यवस्था हुँदाहुँदै आफ्ना कार्यकर्तालाई पूर्वाग्रही ढंगले पक्रिएको र मुद्दा चलाउन लागिएको भन्दै आपत्ति जनाएका छन्। एसएसपी खरेलले 'कानुन हातमा लिएर' आफ्ना कार्यकर्ता पक्राउ गरेकोले खरेललाई नै कानुनको कठघरामा उभ्याउनु पर्ने जिकिर उनले गरेका छन्।
सभासद कर्णलाई थाहा हुनुपर्छ, बन्दुकको कुरा परै जाओस् नविकरण फेल भएको लाइसेन्स लिएर गाडी चलाउनु पनि गैरकानुनी हो।
म्याद गुज्रिएको लाइसेन्स बोकेर सवारी चलाउने चालकलाई पनि कानुनतः प्रहरीले नियन्त्रणमा लिन सक्छ। तर ब्यवहारतः प्रहरीले त्यसो गर्दैन। लाइसेन्स नियन्त्रणमा लिन्छ र सवारी चालाकलाई छोडिदिन्छ किनभने त्यो सवारी चालकबाट अरुको जीवनमाथि कानुनको नजरमा तत्कालको लागि खतरा छैन भन्ने हो।
सीतापाइलामा बिहान तीन बजे हतियारसहित पक्राउ परेका नेविसंघका कार्यकर्ताको विषय धेरै गम्भीर प्रकृतिको हो। घडिको सुईको हिसाबले बिहान तीन बजे भनिए पनि त्यो ब्यवहारतः राति नै हो, जतिबेला काठमाडौ मस्त निन्द्रामा हुन्छ।
तीन बजे उनीहरु हतियार बोकेर कहाँ जाँदै थिए वा कहाँबाट आउँदै थिए ? उनीहरु पक्कै पनि हतियार नविकरण गर्न जाँदै थिएनन्। उनीहरु के उद्धेश्य ले हतियार बोकेर हिडेका थिए? कसैलाई हानी पुर्याउन जाँदै थिए वा हानी पुर्याएर आएका थिए? यो गम्भीर अनुसन्धानको विषय हो।
नविकरण म्याद गुज्रिएकको हतियार दोस्रो महत्वपूर्ण मुद्दा हो। बन्दुक राख्ने स्वीकृति व्यक्तिगत हुन्छ। एउटा व्यक्तिले पाएको स्वीकृति परिवारका अन्य सदस्यका हकमा लागू हुँदैन। पक्राउ परेको पेस्तोल शुभरामका बाबुको नाममा दर्ता रहेको जानकारी आएको छ। बाबुले दर्ता नविकरण नगरेको हतियार छोराले बोकेर किन हिँडे ?
आफ्ना कार्यकर्ताहरु अवैध हतियारसहित पक्राउ परेपछि नेविसंघ अध्यक्ष कर्णले गर्नुपर्ने पहिलो काम उनीहरुलाई नेविसंघबाट निलम्बन हो। त्यसको विपरीत जग हँसाउँदै र आम नागरिकको कन्सिरी तताउँदै कर्णले नेतृत्व गरेको नेविसंघले पक्राउ परेका अभियुक्त छुटाउन अवैधानिक दबाब दिएको छ।
गत एक सातामा नेविसंघका कार्यकर्ताहरुले कैयन पटक शंकरदेव क्याम्पस अगाडि सार्वजनिक यातायात अवरुद्ध पारेका छन्। ढुंगामुढा गरेका छन्। नेविसंघ कार्यकर्ता अवैध हतियार लिएर घुम्दा पक्राउ पर्ने अनि आम नागरिकले सास्ती खानुपर्ने? यो गम्भीर घटनाको अनुसन्धान गरिरहेको प्रहरी अधिकृतले धम्की खप्नु पर्ने ? किन?
सभासद कर्णको निर्देशनमा वा उक्साहटमा नेविसंघले आम नागरिकलाई दुःख दिने हर्कत जारी राख्यो भने, र अब एउटा पनि ईटा पुतलीसडकमा हिर्काइयो भने त्यसको जिम्मेवार ठानेर कर्णलाई पक्रनु पर्छ। र उनीमाथि पनि अनुसन्धान हुनुपर्छ।गैर कानुनी हात हतियार लिएर हिड्दा पक्राउ परेका र अनुसन्धान भइरहेको गम्भीर घटनामा कानुनी प्रकृया अवरुद्ध पार्ने अनुमति कसैलाई हुनुहुन्न । त्यसबाट सभासद कर्णले पनि उन्मुक्ति पाउँदैनन्।
आफ्नो पार्टीको भातृ संगठनका जिम्मेवार पदमा रहेका कार्यकर्ता गैरकानुनी हतियारसहित पक्राउ पर्दा र आफ्नै सभासदले उनीहरुलाई छुटाउन जोर जबरजस्ती गर्दा माउ पार्टी आफ्नो नैतिक जिम्मेवारीबाट मुक्त हुँदैन। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस यो घटनाबारे सार्वजनिक रुपमा बोलेको छैन। कानुनी प्रकृया अवरुद्ध नपार्न उसले आफ्ना कार्यकर्तालाई सचेत नगराएको सभासद कर्णका अभिव्यक्ति र व्यवहारबाट प्रष्ट भएको छ।
कानुनी शासनको पालना निमुखा नागरिकबाट मात्र अपेक्षा गर्ने सरकार र राजनीतिक पार्टीले शासनको नैतिक अधिकार गुमाउँछन्।
भोलिदेखि आफ्ना गुन्डा- कार्यकर्तालाई यो विषयमा सडकमा उभिएर वितण्डा मच्चाउन नेपाली कांग्रेसले रोकेन भने यसका नेता वा मन्त्रीसँग कानुनी शासनको सार्वजनिक चर्चा गर्ने नैतिक हक मात्र पनि बाँकी रहन्न।
क्याम्पस पढ्ने विद्यार्थी नेता तीन बजे राति अवैध हतियारसहित पक्राउ पर्नुले विद्यार्थी संगठनहरुको आपराधिकरणको फेरि एकपटक पुष्टी भएको छ। यो पहिले कहिल्यै नघटेको एउटा मात्र घटना होइन। फरक विद्यार्थी संगठनका फरक नेता/कार्यकर्ताहरु गुन्डागर्दीका घटनामा निरन्तर मुछिने गरेका छन्।
यिनले शिक्षा, शिक्षण संस्था तथा राजनीति र राजनीतिक पार्टीलाई विटुल्याउन थालेका छन्। शिक्षा र राजनीति दुबैलाई गुन्डागर्दी र आपराधिकरणबाट बचाउन र भोलिको राजनीतिमा आउने नेताहरुको मुहानलाई सङ्लो राख्न शिक्षण संस्थामा विद्यार्थी संगठनहरु प्रतिवन्धित गर्नु आवश्यक भइसकेको छ। राजनीतिक पार्टीहरुले त्यसतर्फ कदम चाल्न ढिलो नगरुन्।