मधेसमा चुनावी गठबन्धनको प्रखर विरोधी नेता हुन् राजेन्द्र महतो। उनले गठबन्धन निर्माण अस्वीकार मात्र गरेका छैनन्, मधेसी नेताहरूलाई सार्वजनिक रूपमा मधेसविरोधीको आरोप पनि लगाएका छन्। उनी स्वयं सदस्य रहेको मधेसीमोर्चाका दुई प्रमुख नेताहरू महन्त ठाकुर र विजय गच्छदारलाई उनले विरोधको तारो बनाएका छन्।
महतोले सम्भावित गठबन्धनको विरोध गर्नका कारण छन् ।
पहिलो, उनको पार्टी सानो छ। अनिल झा चार सभासद लिएर फुटेपछि उनीसँग तीन पूर्वसभासद मात्र छन् । गठबन्धनमा जाने हो भने उनको पार्टीको भागमा थोरै मात्र सिट पर्ने छ। दोस्रो, ठूला पार्टीहरूसँग गठबन्धन गर्दा ती पार्टीका समर्थकहरूले सानो पार्टीका उम्मेदवारहरूलाई कमै मात्र भोट दिन्छन् भन्ने उनको व्यवहारिक ठम्याइ छ।
तेस्रो र मूल कारण भने मधेसको जातीय संरचना हो ।
मधेसमा मूलतः पाँचवटा ‘भोटिङ ब्लक’ छन्, जसको कुनै न कुनै पार्टीसँग एक प्रकारको सामुहिक लगाव देखिन्छ।
उपेन्द्र यादवले यादवको, विजय गच्छदारले थारूको, महन्त ठाकुरले कथित उच्च जातिको र माओवादीले दलितको ‘भोटिङ ब्लक' लाई आफ्नो महत्वपूर्ण ‘कन्स्टिच्युयन्सी’ ठान्छन् । महतोले तराईका कथित मध्यम जाति (तेली,सुडी, कलबार, हलवाई, बनियाँ) को पाँचौं ‘भोटिङ ब्लक’ बाट केही न केही सहयोग पाउने आंकलन गरेका छन् ।
आगामी निर्वाचनमा प्रत्यक्षतर्फ यो ‘भोटिङ ब्लक’ ले धेरै सिट नजिताउला, तर महतोले थोरेमात्र पनि यो समूहको साथ पाए समानुपातिकतर्फ संविधानसभामा केही सिट हात लगाउन सक्नेछन्। ‘महतोजीसँग मधेस मात्र हैन, पहाडबाट पनि केही उम्मेदवार उठाउनसक्ने आर्थिक स्रोत छँदैछ,’ एक मधेसी नेताले भने, ‘त्यसैको बलमा समानुपातिकतर्फ केही सिट हात लगाउने रणनीति छ उहाँको।’
महतोको यो एक्लै चुनाव लड्ने रणनीतिमा बाधक बनेको छ ठूलै शक्ति — भारत।
लैनचौर सकेसम्म मधेसमा एउटै चुनावी गठबन्धन बनाउने प्रयासमा जोडबलका साथ लागेको छ। मधेसमा पार्टी एकीकरण वा कम्तीमा चुनावी गठबन्धन सबै पार्टीहरूले चाहेका छन्, महतोबाहेक। आफ्नो लोकप्रियता घट्दै जाँदा मधेसी पार्टीहरू आगामी चुनावलाई लिएर चिन्तित छन्।
त्योभन्दा बढी चिन्तित छ भारत।
मधेसी पार्टीहरूको चिन्ता चुनावपछि आफू सत्तामा पुगिन्छ कि पुगिन्न भन्ने मात्र हो। भारतको चिन्ता भने अलि ठूलै छ — चुनावपछि पनि काठमाडौंको सत्तामा आफ्नो पकड रहन्छ कि रहन्न भन्ने।
गत संविधानसभा चुनावपछि नेपालमा एउटा मात्र सत्ता गठबन्धन भारतको चाहानाविपरीत बनेको छ । त्यो हो झलनाथ खनाल प्रधानमन्त्री बन्दाको एमाले र माओवादीको सत्ता गठबन्धन। खनालबाहेक पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई र अहिलेका खिलराज रेग्मी सबै भारतले चाहेर, सघाएर वा बनाएर मात्र प्रधानमन्त्री बनेका हुन्।
संविधानसभा चुनावपछि काठमाडौंको सत्ताको चाबी देशबाट बाहिरिनुको प्रमुख कारण हो, मधेसी पार्टीहरूको संसदमा जबरजस्त उपस्थिति। दिल्लीको प्रभाव अरू पार्टीहरूमा नभएको भने होइन। पछिल्लो समय दिल्ली लबिङ नै प्रमुख पार्टीहरूमा हाबी भएको छ । खिलराज रेग्मी र लोकमानसिंह कार्की प्रकरण यसैको ज्वलन्त उदाहरण हो।
दिल्लीले पूर्ण रूपमा आश्वस्त हुनसक्ने शक्ति भने फेरि पनि मधेसी पार्टीहरू र तिनले निर्माण गर्ने मोर्चा नै हो। मधेसी मोर्चा र अरू पार्टीका नेताहरूबीच भारतलाई हेर्ने दृष्टिकोणमा एउटा आधारभूत भिन्नता छ। अन्यपार्टीहरू भारतको सवालमा विभाजित छन् । तर मधेसी मोर्चाको भारतलाई हेर्ने दृष्टिकोण एक छ। आफ्नो स्वार्थको रक्षा काठमाडौंले हैन, दिल्लीले गर्छ भन्ने विश्वास छ उसलाई। काठमाडौंबारे मोर्चा विवादित बन्न सक्ला, तर दिल्लीका बारेमा त्यो असम्भव छ।
सबै मौसममा आफ्नो साथ दिने मधेसी नेताहरु भरसक एक ठाउँमा रहून् भन्ने चाहन्छ दिल्ली, ताकि काठमाडौंको सत्तामा आफ्नो पकड कायम रहोस्। त्यसैले, लैनचौरले मधेसका पार्टीहरूबीच एकीकरण र त्यो सम्भव नभए कम्तीमा चुनावी गठबन्धनको नयाँ प्रस्ताव जोडतोडका साथ अघि बढाएको छ।
र, यो प्रस्तावको केन्द्रमा छन् महन्त ठाकुर।
केही महिनाअघि पनि लैनचौरले महन्त ठाकुर र उपेन्द्र यादवबीच एकताको प्रयास गरेको थियो। आफूले पूर्ण रूपले अझै विश्वास गर्न नसकेका यादवले एकीकृत पार्टीको नेतृत्व दाबी गरेपछि पछि वार्ता टुंगिएको थियो।
लैनचौर अहिले नयाँ रणनीतिका साथ मैदानमा उत्रेको छ।
यो रणनीतिको पहिलो अंश हो, महन्त ठाकुरको नेतृत्वमा जेपी गुप्ता, शरदसिंह भण्डारी र अनिल झाको समूहलाई मिलाएर एकीकृत पार्टी बनाउने। यस दिशामा धेरै प्रगति भैसकेको बताउँछन् एक मधेसी नेता। जेपी, शरदसिंह र अनिल झाले ठाकुरको नेतृत्व स्वीकार गरिसकेको र एकै पार्टी निर्माणमा सैद्धान्तिक सहमति जनाइसकेको उनले बताए।
ठाकुरको नेतृत्वमा एकीकृत पार्टी निर्माणपछि लैनचौरका तीन कार्ड छन्। पहिलो, राजेन्द्र महतोलाई नयाँ पार्टीमा विलय हुन वा कम्तीमा गठबन्धनमा आउन दबाब दिने। बाहिर जतिसुकै चर्को बोले पनि महतोले लैनचौरसँग गर्न सक्ने भनेको अनुनयविनय मात्र हो। अहिले पनि लैनचौरसँग उनले गठबन्धनको विरोध गरेका छैनन्। उनले गरिराखेको आग्रह के हो भने ‘म अन्ततः मधेसी मोर्चामा आइहाल्छु। मैले अहिले गठबन्धन गरे भने मलाई घाटा हुन्छ। मेरा धेरै कार्यकर्ता, समर्थकले कांग्रेस, एमालेलाई भोट दिन्छन्।’
लैनचौर भने महतोको अनुरोध सुन्ने मुडमा देखिन्न। ठाकुरको नेतृत्वमा एकीकृत पार्टी बनेपछि महतो आएनन् भने नयाँ पार्टीमा उनका सहयोगी र कार्यकर्ता तान्ने रणनीति छ, ताकि महतो बाध्य बनून्।
महतोपछि दोस्रो ‘टार्गेट’ हुन् विजय गच्छ्दार।
गच्छदार स्वयं पनि मधेसमा असुरक्षित महसुस गर्दैछन् यसपालि। त्यसमाथि ‘मधेसी हार्टल्यान्ड’ (सप्तरीदेखि पर्सासम्म) मा उनको पार्टीको खासै संगठन देखिन्न। थारूबाहेक अन्य ‘भोटिङ ब्लक’ले उनलाई आफ्नो नेता मान्दैनन्।
आफूले जम्मा गरेको विशाल आर्थिक स्रोत प्रयोग गरेर मधेसी हार्टल्यान्डबाट नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा तान्ने प्रयास भने गरेका छन् गच्छदारले। उनको यो प्रयासमा फेरि पनि ठाकुरको नेतृत्वमा एकीकृत पार्टी बनाउने लैनचौरको लाइन बाधक बनेको छ।
मधेसमा धेरै नेता तथा कार्यकर्ता 'पर्ख र हेर' को स्थितिमा बसेपछि महेन्द्र यादवको पार्टीबाट केही पूर्वसभासद तान्नबाहेक खासै प्रगति गर्न सकेका छैनन् गच्छदारले।
ठाकुर र गच्छदार दुवै भारतको नजिकका नेता हुन्। अझ गच्छदारको भारतसँगको सम्बन्ध ठाकुरभन्दा पहिले स्थापित भएको मानिन्छ। भारत गच्छदारलाई पनि चिढाउन चाहँदैन। त्यसैले लैनचौरको ‘नेगोसिएसन’ गच्छदारसँग पनि अघि बढेको छ, समानान्तर रूपमा।
ठाकुर 'इमेज' भएको र आफूभन्दा सिनियर पनि भएको तर उनीसँग पार्टी हाक्न सक्ने ल्याकत नभएको तर्क गर्दै आएका छन् गच्छदारले। ठाकुरलाई पार्टीमा वरिष्ठ नेता मान्न तयार छु, तर पार्टी सञ्चालनको जिम्मा आफूले पाउनुपर्छ भन्ने माग छ उनको।
लैनचौर ठाकुरको बफादारीमाथि विश्वासघात गर्न चाहँदैन र उनको आर्थिक रूपले निश्कलंक छवि चुनावमा सहायक हुन्छ भन्ने ठम्याइ छ उसको।
लैनचौरले गच्छदारलाई फकाउन उनलाई भविष्यमा एकीकृत पार्टीको नेतृत्वको आश्वासन र ‘रोडम्याप’ पनि दिएको छ। उसको ‘रोडम्याप’ अनुसार चुनावको लागि ठाकुरलाई नेता बनाउने, चुनावपछि उनी राष्ट्रपतिको उम्मेदवार बन्ने र माओवादी–मधेसी मोर्चाको गठबन्धनमार्फत राष्ट्रपति निर्वाचित हुने। ठाकुर शीतल निवास छिरेपछि गच्छदारले पार्टीको नेतृत्व सम्हाल्ने।
गच्छदारलाई ल्याएपछि अन्तिम तारो हुनेछन्, उपेन्द्र यादव।
ठाकुरलाई नेता मानेर गच्छदारसँग एउटै पार्टी वा गठबन्धनमा बस्न यादवलाई सजिलो नहुने लैनचोरले पनि राम्ररी बुझेको छ। यादवले मानेनन् भने पनि उनका नेता तथा कार्यकर्ता चोरेर यादवलाई एक्ल्याउने र अत्याउने रणनीति छ लैनचौरको।
एनेकपा माओवादीका नेताहरूले मधेसतिर आँखा डुलाउन थालेपछि लैनचौरले मधेसी पार्टीहरूबीचको एकताका लागि थप जोडबल गर्न थालेको हो। माओवादीले आफ्ना शीर्ष नेताहरू मधेसबाट लड्ने उद्घोष मात्र गरेको छैन, मधेसी पार्टीमा रहेका कैयन नेताहरूलाई आफूतिर तान्न ‘नेगोसिएसन’ अघि बढाएको छ।
पूर्वमधेसी सभासदहरू, राजकिशोर यादव, महेन्द्र यादव, अभिसेक प्रताप साह, मोहम्मद इस्तियाक राईले आफ्नो चुनाव क्षेत्र सुरक्षित गर्न माओवादीसँग सम्पर्क बढाएका छन्।
उनीहरूले अरू मधेसी दलसँग बार्गेनिङ गरिरहेको भए पनि माओवादीतिर विशेष आकर्षित भएको एक मधेसी नेता बताउँछन्।
माओवादीले मधेसमा दलितसँगै गैरदलितमा पनि आफ्नो प्रभाव विस्तार गर्यो भने मधेसी शक्ति थप कमजोर हुने डर छ लैनचौरलाई। उसको पछिल्लो सक्रियताको कारण पनि त्यहीँ हो।