‘भाइ, तपाईको रेष्टुराँ जलेको दु:खमा म पनि सामेल छु, कृपया धैर्य गर्नुहोला,” शुक्रबार बिहान मुस्ताङ भुर्जुङ्गकोट डाँडासम्मको सानो हाइकिङ गरेर लज थसाङ भिलेज फर्कदा मकैका फूलझैं पुट्ट मोबाइलको पर्दामा लेखिएको ‘टेक्स्ट’ ले एकछिन म शिताङ्ग भएँ। तर, आफ्नो कुनै रेष्टुराँ नभएकाले यो विपत सोझै आफूमाथि आइनपरेको अनुमान गर्दै परिचितझैं लाग्ने सन्देशकर्तालाई जवाफ फर्काए, ‘माफ गर्नुहोला, मेरो कुनै रेष्टुराँ छैन, तर तपाई जुन भावनाले विपतमा परेका प्रियजनलाई सन्देश दिंदै हुनुहुन्छ, त्यसको म कदर गर्दछु र मेरो समेत सहानुभूति थप्दछु।‘
सन्देशकर्ता अरू कोही नभएर पर्यटन उद्यमी उमेश रिमाल रहेछन्। उनले ठमेलको फेसेस रेष्टुराँका संचालक शेखर कार्कीलाई प्रेषित गरेको ‘टेक्स्ट’ मकहाँ आइपुगेको रहेछ। शेखर कार्की मेरो पनि अभिन्न मित्र भएकाले उनलाई तत्क्षण सन्देश पठाउन मन लाग्यो। तर, भर्खरै मोबइल सेट बदलेकाले उनको नम्बर सेभ रहेनछ। मनमा एक प्रकारको छटपटी चल्दै थियो, मोबाइलमा ‘थ्री जी’ को संकेत देखिएपछि सर्रर खबरहरू माथि आँखा दौडाउन लागे र पिल्ग्रिम्स जलेको खबरले झनै आहत भएँ। काँप्दै गरेका औलाहरूले मित्र अनि पिल्ग्रिम्सका मालिक रामानन्द तिवारीका ज्वाइँ बिमल सुबेदीलाई ‘टेक्स्ट’ गरे। बिमलले तुरून्तै जवाफ फर्काए, ‘क्षणभरको आगाले इतिहासको एउटा खण्डलाई खरानी बनायो दाइ, सन्देशका लागि धन्यवाद।“
चिसो मुस्ताङमा आगोको रापमा पिल्सिएको अनुभूति गरिरहे। पिल्ग्रिम्ससँग मेरा धेरै सम्झनाहरू जोडिएका भए पनि पछिल्लो समय दिल्लीको नेसनल स्कूल अफ ड्रामा (एनएसडी) दीक्षित नाट्यकर्मी मेरा अनुज एवं मित्र बिमल सुबेदीले ससुरा रामानन्द तिवारीलाई सघाउँदै यस पुस्तक पसलको देखभाल गरेपछि मेरो पिल्ग्रिम्ससँगको साइनो हार्दिकतासाथ नवीकरण भएको थियो। केही समयअघि बिमलले पिल्ग्रिम्सको रेष्टुराँमा भलाकुसारी गर्न निम्तो गरेपछि म शाकाहारी परिकारहरू मात्र उपलब्ध हुने उनको रेष्टुराँमा सात्विक डिनर गरेर फर्केको थिएँ।
पुस्तक पसल सधै मेरो गन्तब्य हुदै आएको छ। सक्रिय पत्रकारिता छाडेर स्वरोजगार छानेपछि अहिले मेरो हुलाकी ठेगाना कान्तिपथको मण्डला बुक प्वाइन्ट हो। बगलैको एजुकेसन बुक हाउस भलाकुसारीको मेरो अर्को थलो हो। दुई दशकअघि जसो मेरो दैनिक ‘ह्याङ आउट’ ठमेल हुने गर्थ्यो। साँझमा म केही पबहरू चहार्दथे लाइभ म्युजिक सुन्न । तर पनि मेरो अक्सर रोजाइको थलो पिल्ग्रिम्स नै हुने गर्थ्यो। म त्यहाँ पुस्तक किन्न मात्र नभएर बिदेशी मित्रहरूलाई उपहार दिनका लागि ‘युनिक सुभनियर’ किन्न पुग्थेँ। पिल्ग्रिम्समा जस्तो पुस्तक र सुभनियर समाग्रीको विविधता शायदै अन्त पाइन्थ्यो। पुस्तक पसलको बगलकै रेष्टुराँ बिदेशी साथीहरूसँग कफी पिउँदै भलाकुसारी गर्ने मेरो ठेगाना रहन्थ्यो। पछिल्लो दशकसम्म पनि पुस्तक पसलको पहिलो तल्लामा रहेको पुस्तकहरूले घेरिएको एउटा सानो कोठामा साँझपख सरोद, तबला आदिको सांगितिक सन्ध्या हुन्थ्यो। मैले किरातेश्वरको पूर्णीमाको शास्त्रीय सन्ध्या जानुअघि नै पिल्ग्रिम्सलाई आफ्नो गन्तब्य बनाइसकेको थिएँ। पुस्तक, संगीत, सात्विक भोजन, सुभनियरको अनुपम संगम थियो पिल्ग्रिम्स, जो अहिले खरानी भएको छ।
मुस्ताङबाट शनिबार राति घर फर्किएपछि, आइतबार अपराह्न म सिधै पिल्ग्रिम्सतिर हान्निएँ। सडकछेउ ढोकैमा मास्कले मुख ढाकेर बिमल उभिएका रहेछन्। उनले मलाई सँगै पसल भित्र लगे। खरानी बनेका पुस्तका रासमाथि टेक्दै म भित्र छिरे। त्यहाँ जे देखियो, त्यो हेर्न सकिने खालको थिएन। स्वर्गजस्तो पिल्ग्रिम्स अफगानिस्तानमा देखिने जस्तो खण्डहर बनेको थियो। दलिन खर्लप्पै झरेको थियो। भित्री कोठावाट अझै पनि धुँवा पुत्पुताइरहेको थियो। जल्न बाँकी केही पुस्तक कामदारहरू माथिल्लो तलाबाट झार्दै थिए। दलाई लामाले प्रार्थना गरिरहेका पुस्तक ‘जर्नी फर पिस’, प्याट्रिक फेन्चले चुरोट सल्काइरहेको आवरणसहितको पुस्तक ‘दी वर्ल्ड इज ह्वाट इट इज’ निकै प्रतिकात्मक देखिन्थे। भित्र भुइँमा कामसूत्रका आसनहरूसहितका तासका केही पत्तीहरू छरपस्ट थिए। पसलमा सजाइएका ढलोटका मूर्तीहरू समेत पग्लिएबाट आगोको प्रकोप सजिलै अनुमान गर्न सकिन्थ्यो। आफ्नै आँखा अगाडि पुस्तकका अस्तु देख्दा मन विह्वल भयो। म बिमललाई कुनै सान्त्वना दिन सकिरहेको थिइनँ।
अहिले म घोत्लिन्छु, पिल्ग्रिम्सको आगोको अर्थ के हो भनेर? सन् २००३ मा मेरा गुरू अभि सुबेदी विभागीय प्रमुख हुँदा त्रिवि अंग्रेजी विभागमा आगो लगाइएको थियो। बिमलजस्तै त्यो बेला म सरको साथ रहन्थे। म सरलाई आफ्नो मारूती ८०० मोडलको उडन खटोलामा राखेर गुम्बा र डाडाँहरूमा पुर्याउँथे। मैले पछि मात्र सरले ‘अग्निको कथा’ नाटक लेख्नु भएको भेउ पाए। त्यो नाटक कालजयी बन्यो नै, त्यस आगोको घटनापछि सर अर्कै अवतारमा प्रकट हुनु भयो। यो कथा मैले भर्खर सर र बिमल दुबैलाई सुनाएँ । तर पिल्ग्रिम्सको आगो सेलाए पनि पिल्ग्रिम्सका संचालक तिवारी परिवार र बिमलका मन भित्र कस्तो आगो सल्किएको हुनसक्छ, त्यो महसुस गर्न सकिन्छ। ब्यक्तिगत तवरमा कुरा गर्दा मेरा निम्ति एउटा साँझ घटेको कुनै पनि घटनाहरूमध्ये यो राजदरबार हत्याकाण्डपछिको दोस्रो ठूलो पीडादायी घटना हो।