को बौद्धिक?

yamaha
  • Get News Alerts

united
नेपालका बुद्धिजीवी- श्रृंखला ५
tata

समसामयिक नेपाली साक्षर जगत्‌मा यौटा शब्दको सबभन्दा बढ्ता दुरूपयोग भएको छ। त्यो अभागी शब्द हो- बुद्धिजीवी।

शब्दकोशअनुसार यस शब्दको अर्थ हो- बौद्धिक कामबाट जिविका गर्ने; बुद्धिले जिविका गर्ने। यो परिभाषा मान्ने हो भने लगत्तै प्रश्न उठ्छ- को बुद्धिजीवी होइन? नेपालका ५१हजार ३३२ राजपत्र अनांकित सरकारी कर्मचारीहरू बुद्धिले जिविका गर्छन् कि बलले? सबभन्दा तल्लो तहकालाई श्रमप्रधान मान्ने हो भने पनि अरू बाँकी, जस्तो बहिदार, खरदार र नायब सुब्बा सरहकाहरूलाई बुद्धिप्रधान कामले जीविका गर्ने होइनन् भन्न मिल्दैन। सोभन्दा माथ्ला विभिन्न तहका ५हजार ६२८ कर्मचारीहरू त झन् दर्जैले बुद्धिजीवी भैहाले। गैरसरकारी क्षेत्रका यस्तै तर यिनीहरूभन्दा कम संख्यामा केही कम कारिन्दा र हाकिमहरूलाई पनि बुद्धिजीवी नै मान्नुपर्दछ।

व्यापारी वर्गलाई पनि बुद्धिले जिविका गर्ने भन्न मिल्दैन। राजनैतिक कार्यकर्ता पनि बुद्धि कै भरमा काम गर्दछन्। किसानहरू पनि केवल मुढेबलका भरमा सफल हुन सक्दैनन्। सफल किसान हुनका लागि बिउबिजनको पहिचान, मलको, बजार व्यवस्थाको, किटाणु नाशक औषधीहरू र सरकारी नीति लगायतका सबै आवश्यक कुराहरूको पर्‍याप्त ज्ञान हुनु अनिवार्य छ। त्यति ज्ञान हुने किसानलाई बुद्धिजीवी होइन भन्न मिल्दैन।

साहित्यकार, पत्रकार, डाक्टर, वकिल, मास्टर, प्राध्यापक, पञ्च-महापञ्च, मन्त्री, न्यायाधीश, सामाजिक कार्यकर्ता, ग्रामिण जाली फटाहा वा अगुवा, विगतका वर्षहरूमा भएका बुद्धिजीवी सम्मेलनका सहभागीहरू, प्रज्ञा प्रतिष्ठानका सदस्यहरू, अञ्चलाधीशहरू, राजसभाका सदस्यहरू तथा देशका विशिष्ट नागरिकहरूको अस्तित्वको आधार नै बौद्धिक क्रियाकलाप हो, ती स्वत: बुद्धिजीवी हुन्।

यसरी सवा करोड जति नागरिक र ५० लाख जति वयस्क नागरिकहरू भएको यस देशमा पचासै लाख बुद्धिजीवी हुने भए। 'मेल शोभनिस्ट पिग' भएर भन्ने हो र नेपालको बालिग जनसंख्याबाट सबै नारीलाई बुद्धिजीवी होइनन् भनेर हटाइदिने हो भने बुद्धिजीवी पुरूषको संख्या २५ लाख हुने भयो। अथवा बुद्धिजीवीमा नारी र पुरूष दुवैलाई लिने हो र शतप्रतिशत बालिग जनसंख्या बुद्धिजीवी हुन सक्दैनन्, अत: त्यसको आधारलाई बुद्धिजीवी मान्ने हो भने पनि कमभन्दा कम २५ लाख बुद्धिजीवी त हुने नै भए। नेपालको जम्माजम्मी जनसंख्याको २० प्रतिशत बुद्धिजीवी! कस्तो चमत्कार!

जम्मा जनसंख्याको २० प्रतिशत बुद्धिजीवीहरू यस देशमा भैदिए यो देशको हालत यस्तै हुने थियो?

 

               श्रृंखलाका अन्य लेखहरू:

नेपाली बुद्धिवादीः एउटा उपाख्यान

नेपाली समाजमा बुद्धिजीवी- भाग १

नेपाली समाजमा बुद्धिजीवी- भाग २

के गर्छन् नेपालका बौद्धिकहरु?

 

हामीकहाँ त्यति बुद्धिजीवी छैनन्। कुनै पनि समाजमा त्यस अनुपातमा बुद्धिजीवी हुन सक्तैनन्। अत:बुद्धिजीवी शब्द र यसको अर्थलाई फेरि केलाउनु आवश्यक छ।

 अंग्रेजी शब्द 'इन्टेलेक्चुअल'को सोझो अनुवाद गरिन्छ- बुद्धिजीवी, र 'इन्टेलिजेन्सिया' को बुद्धिजीवी वर्ग। संस्कृतमा बुद्धिजीवी कसलाई भनिन्छ, सायद त्यसमा ध्यान दिइँदैन। मनुस्मृतिअनुसार पशु पनि बुद्धिजीवी हुन्:

भूतनां प्राणिना: श्रेष्ठा प्राणिनां बुद्धिजीवित:

बुद्धिमत्सु नरा श्रेष्ठा नरेषु ब्राह्मणा: स्मृता ।।९६।।

के उसोभए पशु पनि बुद्धिजीवी हुन्? अवश्य हुन्। ती पनि बुद्धिकै प्रधानताले बाँच्दछन्। अनि के हाम्रो समाजमा बुद्धिजीवी भनिने मान्छेहरू पनि पशु हुन् त? अवश्य हुन्। ती पशुता भन्दा कति माथि पो उक्लेका छन् र ? नभए यस समाजको, यस देशको यही गति हुने थियो?

वास्तवमा बुद्धिजीवी शब्द नै भ्रामक छ जस्तो लाग्छ मलाई। त्यसकारण अंग्रेजीको 'इन्टेलेक्चुअल' जनाउन 'बौद्धिक' शब्द र 'इन्टेलिजेन्सिया' जनाउन 'बौद्धिक समुदाय', 'बौद्धिक वर्ग'  वा 'बौद्धिक अगुवा'को प्रयोग हुनुपर्दछ भन्ने ठान्दछु। यस लेखमा त्यसै गरेको छु अब उप्रान्त।

बौद्धिक त्यो हो जसलाई अरू बौद्धिकहरू बौद्धिक मान्दछन्, जस्तो महसूर गँजडी त्यो हो जसलाई अरू महसूर गँजडीहरूले गँजडी मान्दछन् अथवा सक्कली जँड्याहा त्यो हो जसलाई अरू सक्कली जँड्याहाहरूले जँड्याहा मान्दछन्। आफूले आफैलाई मान्ने त धेरै होलान्- त्यसको केही अर्थ हुँदैन।

उसोभए नेपाली बौद्धिकले कसलाई बौद्धिक मान्दछन्?

यस सन्दर्भमा कमल पी. मल्लको केही वर्षअघिको लेख प्रासङ्गिक हुन आउँछ।४ हुन त उहाँ बौद्धिक हुन उच्च शैक्षिक प्रमाणपत्र हुनु जरूरी छैन, तथा प्रत्येक उच्च शैक्षिक प्रमाणपत्रधारी अनिवार्यत: बौद्धिक हुँदैन भन्नुहुन्छ, तापनि उहाँले (सन्) १९७३मा नेपाली बौद्धिकहरूको सूचीमा राख्नुभएका व्यक्तिहरू यी हुन्- नरेन्द्रमणि आचार्य दीक्षित, रामप्रसाद मानन्धर, नारायणबहादुर मानन्धर, वाई.पी. पन्त, ध्रुवमान अमात्य, बलराम जोशी र श्रीमती त्रैलोक्यमान श्रेष्ठ, उपेन्द्रमान मल्ल, यदुनाथ खनाल, त्रैलोक्यनाथ उप्रेती, पन्नालाल प्रधान, कृष्णप्रसाद शर्मा, शंकरप्रसाद प्रधान, दिव्यदेव भट्ट, पशुपति शमशेर, भेषबहादुर थापा, बी.पी.श्रेष्ठ, हर्कबहादुर गुरूङ, एम.मोहसिन, जगदीशप्रसाद शर्मा, कुलशेखर शर्मा, बालचन्द्र शर्मा, के.बी. मल्ल,  रामचन्द्र मलहोत्रा, शम्भूप्रसाद ज्ञवाली, केशरबहादुर के.सी.,  महेशचन्द्र रेग्मी, डी.आ. रेग्मी, सुर्यप्रसाद उपाध्याय, ऋषिकेश शाह आदि।

उपयुर्क्त नाउँहरूका अगाडि बौद्धिक शब्दका विभिन्न पर्यायवाची र समानार्थक विशेषण परेका छन्।

यी सबैमा एउटा समानता छ, त्यो के भने यिनीहरूसँग पीएच.डी.को उपाधि वा लगभग सो सरहको प्रमाणपत्र छ। सोझै नभने पनि कमल पी. मल्लको विचारमा पिएच. डी. को उपाधि वा लगभग सो सरहको प्रमाणपत्र पनि बौद्धिक हुनुको प्रमाणपत्र हो। कति हास्यास्पद विचार!

एउटा सानो प्रश्न- 'हू इज हू' मा समावेश भएका कति जनालाई समसामयिक नेपाली होइनन् भन्न सकिन्छ?

कमल पी. मल्लका अनुसार लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम नेपाली साहित्यकारहरू हुन् अर्थात् बौद्धिक होइनन्। म दाबा गर्छु- यिनीहरू यसमा समाजमा बौद्धिक कहलाउन योग्य मानिदैनन् भने नेपालमा कोही पनि बौद्धिक छैन। मलाई लाग्छ यिनीहरू नेपाली समाजका मात्र होइन, विश्व बौद्धिक समुदायका सदस्य हुन्।

बौद्धिक हुन पीएच.डी. गर्नु पर्दैन।

सबभन्दा ठूलो नेपाली बौद्धिक को भनेर सोधे म अलिकति पनि नहिच्किचाईकन भन्छु- गौतम बुद्ध, जससँग कुनै पनि प्रमाणपत्र थिएन।

कमल पी.मल्लले त्यस लेखमा नेपाली समाजमा रसेल, सार्त्र, हर्बट मारक्युस, नोम चोम्स्की, ग्याल ब्रेथ, मार्शल म्याक्लु हान्स खोज्नु व्यर्थ हो, त्यस्ता कोही पनि छैनन् भन्नुभएको छ। यो साँचो हो। यो त्यस्तै साँचो हो जस्तो नेपालमा अफ्रिकी दुईसिँगे गैँडा खोज्नु व्यर्थ हो भन्नु अथवा नेपालमा आइन्स्टाइन खोज्नु व्यर्थ हो भन्नु।

अमेरिकी स्वाधीनता र पश्चिमी पुनर्जागरण र औद्योगिक क्रान्तिको कति शताब्दीपछि जन्मिए ती माथिका मान्छेहरू? मानव समाजको विकास क्रममा कहाँ छ नेपाली समाज?

प्रत्येक क्षेत्रमा हामीले आफूलाई पश्चिमको औद्योगिक क्षेत्रमा अत्यन्त अगाडि पुगेको समाजको तुलोमा जोख्न खोज्नु हामीहरूको मानसिक दासता भन्दा बाहेक के हो?

बौद्धिक विकासका लागि आधुनिक स्कुल, कलेज र विश्वविद्यालयको विकास अनिवार्य हुनेभए, त्यस्ता आधुनिक शिक्षण संस्थाहरूको प्रादुर्भाव भन्दाअघि संसारको सारा बौद्धिक, दार्शनिक र  साहित्यिक उपलब्धि शुन्य हुनुपर्ने थियो, जुन भएको छैन। के बाह्रौं शताब्दीमा अक्सफोर्ड र केम्ब्रिज विश्वविद्यालयहरूको स्थापना हुनुअघि बेलायतमा बौद्धिक हुँदैनथे?

कुनै पनि समाजको कुनै पनि पक्षको अध्ययन गर्दा सो समाजमा मानव इतिहासको विकास क्रममा कहाँनिर छ र त्यस समाजको बनावट, त्यसका विभिन्न अवयवहरू र तिनका पारस्पारिक सम्बन्धहरू, त्यस समाज व्यवस्था र अन्य समाजको व्यवस्थाको मूलभूत भिन्नता आदि के कस्ता छन् भन्ने कुरामा सर्वाधिक ध्यान दिनु अनिवार्य छ।

प्रत्येक कुरा परिवर्तनशील छ- समाज पनि जड हुँदैन। यो बदलिन्छ। यसलाई बदल्न सघाउने अथवा छेक्ने दुवै तत्वहरूको भूमिका बेग्लै समाजहरूमा बेग्लाबेग्लै हुन्छ। हामी कुनै खास पक्षको- जुन पक्षको अध्ययन गर्दछौं- त्यस सन्दर्भमा ती बदल्न सघाउने वा अवरोध पुर्‍याउने तत्वहरूको भूमिकाको प्रत्यक्ष वा परोक्ष के कस्तो प्रभाव परेको हुन्छ- त्यतापट्टी पनि गहिरिएर विचार गर्नुपर्दछ।

उपरोक्त कुराहरूमा यथेष्ट दृष्टि नपुर्याउने हो भने कुनै पनि समाज अध्ययन अल्लारे केटाको ठाउँ न कुठाउँको कुरकुरे बैंसको अभिव्यक्ति हुन जान्छ; समाजशास्त्री सी राइट मिल्स यसै भन्दछन्।

हाम्रो समाज कहाँनिर छ? हामीले मध्ययुगबाट मुक्तिका लागि संघर्ष थालेको भर्खर २७ वर्ष भयो। हाम्रो औद्योगिक विकास गर्भावस्थामा छ। हाम्रा इन्फ्रास्टक्चर अत्यन्त अविकसित  अवस्थामा छन्। हामीले साक्षरतामा द्रुत गतिले प्रगति गर्‍यौं र विगत दुई तीन दशकमा बल्लतल्ल २० प्रतिशत साक्षर भयौं। गएको चौथाई शताब्दीमा यहाँ भएको सबभन्दा ठूलो सामाजिक परिवर्तन- जातपातका पर्खालहरू जगै समेत ढल्दैछन्। यसै कालमा हाम्रो समाजले बौद्धिक समुदायको अस्तित्वको आभास पायो- चाहे जस्ता हुन्। यस कालमा बौद्धिक समुदाय अन्तराष्ट्रिय बौद्धिक पृष्ठभूमिमा यस माटोका उपज हुन्। विभिन्न वाद आए, विवाद आए। विश्व बौद्धिक समुदायलाई सर्वाधिक प्रभाव पार्ने मार्क्सवाद, फ्रायडवाद र अराज्यवाद(एनार्किज्म) र तिनका विभिन्न रूपान्तरण र परिष्करणहरूबाट नेपाली बौद्धिकहरू अप्रभावित रहेनन्। राजनैतिक पौरूषता, शिखण्डीपना, अवसरवादिता र चाटुकारिता पनि आए। विभिन्न राजनैतिक प्रयोग भए। यस संक्रमण स्थितिमा हाम्रा समस्त सामाजिक सम्बन्धहरू परिवर्तनमूखी भए।

यसस्थितिमा अहिले नै हामीले नेपाली समाजमा सार्त्र र रसेल खोज्नु गाईको गर्भबाट ऊँट जन्माउन खोज्नुजस्तो हो। अथवा कुनै पनि नेपालीले नोबल पुरस्कार पाएका छैनन्, त्यसकारण नेपालमा बौद्धिक छैन भन्नु हो। अथवा नेपाली समाजले अझसम्म किन भ्यालेन्टिना तेरेस्कोवा वा नील आर्मस्ट्रङजस्ता अन्तरिक्ष यात्री जन्माएन भन्नु अथवा  किन अणुबम परिक्षण गरेन वा किन काठमाडौंदेखि मुस्ताङसम्म बीजुलीले चल्ने रेलगाडी चलाएन भन्नु हो।

हाम्रो समाजमा बौद्धिक कसलाई भन्ने?

कनै पनि समाज स्तरिकृत हुन्छ-स्तरमा नबाँडिएको समाज अहिलेसम्म मानव इतिहासमा भएको छैन। समाजमा विभिन्न थररीका अगुवाहरू हुन्छन्- कोही धनका अगुवा, कोही बलका अगुवा, कोही बुद्धिका अगुवा, कोही राजनीतिका अगुवा। यस्ता प्रत्येक वर्गका अगुवाको आ-आफ्नो पहिचान वा विशेषता हुन्छ। यिनीहरू कामले चिनिन्छन्।

जुन कुरो औद्योगिक एउटा बौद्धिकले गर्छ त्यही कुरो एउटा तथाकथित आदिम समाजमा एउटा धामीले गर्छ, अथवा धर्मोपदेशकले गर्छ अथावा एउटा बुढोपाकोले गर्छ अथवा एउटा राजनैतिक विजेताले गर्छ। सञ्चार माध्यम बेग्लाबेग्लै हुन्छ तर कार्य मोटामोटी रूपमा उही हुन्छ। एउटाले आफ्नो विचार पत्रिकामा छपाउँछ। अर्कोले धुनी ताप्दाखेरी गफ गर्छ। एउटाले इटोभिक रेडिएटर बनाउने ठाउँको बारेमा मन्तव्य जनाउला अर्कोले गाउँको हाट लाग्ने ठाउँको निधो गर्ला। काम दुईटा हुन्छन् तर समाजमा त्यस बौद्धिक अगुवाले पार्ने प्रभाव उही हो।

नेपालकै उदाहरण लिउँ- दिव्य उपदेश दिने पृथ्वीनारायण शाह के बौद्धिक होइनन्? एशियामा उपनिवेशवादी शासन खत्तम पार्नुपर्छ भनेर एशियाली एकता संगठित गर्न खोज्ने भीमसेन थापा अबौद्धिक हुन्? जङ्गबहादुर मुर्ख हुन्? नेपालको यति लामो इतिहासमा जजसले यो बनाउने, चलाउने, जोगाउने सन्दर्भमा  जे जति बौद्धिक योगदान दिए, अनेक थिति-रिति बनाए- के ती सबै मुर्ख थिए। के तिनीहरूलाई बौद्धिक होइन्न भन्न सुहाउँछ? किनभने तिनीहरूसँग पीएच.डी.को प्रमाणपत्र थिएन। अथवा तिनीहरूलाई घटिया दर्जाको भृ पनि अंग्रेजीमा लेख्न र एक नेपालीमा बोले तीन शब्द अंग्रेजी मिसाएर टाँइफाँइ गर्न जानेका थिएनन?

बौद्धितकताको सिङ पुच्छर हुँदैन। (पीएच.डी.को पुच्छर हुन आवश्यक छैन, न छ कुनै पनि तहको प्रमाणपत्र हुनु।) बौद्धिक हुनका लागि प्राध्यापक, सेक्सन अफिसर वा पत्रकार हुनुपर्दैन। न त महाजन, महापंडित, महासन्त, महन्त नै हुनु आवश्यक छ।

बौद्धिक जगत्‌कको प्रत्येक सहभागी बौद्धिक हुन्छ।

कुनै भाग्यमानी यदी बाबुको सम्पत्तिको बलले एम.ए. पास गरी ससुराको सोर्सले प्राध्यापक हुन्छ, मामाको सूत्रले फुलब्राइट स्कलरशिप पड्काउँछ र 'कमिलाको उर्ध्वभागी चाल' भन्नेजस्तो खालको विषयमा (अधिकांश पीएच.डी. यस्तै खालका विषयमा भएको सुनिन्छ।) अमेरिकाको सबभन्दा घटिया मार्काको विश्वविद्यालयबाट पीएच.डी.को प्रमाणपत्र लिएर आउँछ भने के त्यो महान् बुद्धिजीवी हुन्छ? यस्तै जागिर खाएकाहरूलाई जागिरकै सन्दर्भमा विदेश गएर पीएच.डी. गर्ने अवसर आउँछ। तिनीहरू काममा खटिएर जान्छन्। तलबभत्ता पकाउँदै डिग्री पनि पाइहाल्छन्। यस्ता डिग्री कमाउनेहरूले जागिर खाएको मान्ने कि बौद्धिक प्रतिभा देखाएको? आजसम्म कति जना नेपालीले साँच्चै नै बौद्धिक तिर्खाका लागि रिसर्च गरेर पीएच.डी. लिएका छन्।

न योगी नरहरी नाथले पीएच.डी.को प्रमाणपत्र पाएका छन्,न महेशचन्द्र रेग्मीले।

के यिनीहरू यस समाजका मुर्खहरू हुन् ?

बौद्धिकका पश्चिमी विशेषज्ञले दिएका केही परिभाषा हेरौं-

कोशकार बेब्सटरका अनुसार बौद्धिक त्यो हो जो-बुद्धीको सिर्जनात्मक प्रयोग आवश्यक हुने काममा आबद्ध* हुन्छ।

समाजशास्त्री टी.बी. बोटोमोरका अनुसार– बौद्धिकहरू समाजका ती अल्पसंख्यक हुन्, जसले विचारको सिर्जना, रूपान्तरण र आलोचना गर्छन्। यसमा लेखक, कलाकार, वैज्ञानिक, दार्शनिक, धार्मिक चिन्तक, सामाजविज्ञानका सिद्धान्तकार र राजनीतिक विश्लेषक पर्दछन्।*

यी आधिकारीक विद्वानहरूका उक्ति हुन्। कुनैले पनि बौद्धिक हुनका लागि कुनै प्रमाणपत्र चाहिन्छ भन्दैनन्।

प्रमाणपत्रधारी जन्तुहरू को हुन्?

प्रमाणपत्रले व्यक्तिलाई बढीभन्दा बढी विशेषज्ञ बनाउँछ। र जति जति माथ्लो तहका प्रमाणपत्र बटुल्दै गयो व्यक्ति उतिउति संकिर्ण विशेषज्ञ हुँदै जान्छ। उसको ज्ञानको घेरा उति सीमित हुँदै जान्छ।

अत: एउटा विशेषज्ञ र बौद्धिकमा फरक हुन्छ। जतिसुकै ठूलो विशेषज्ञ होस्,  ऊ केवल विशेषज्ञ हो भने उसलाई बौद्धिक भन्न मिल्दैन। त्यसैगरी जतिसुकै ठूलो बौद्धिक होस् ऊ विशेषज्ञ हुन सक्दैन। तर, अधिकांश के देखा पर्दछ भने विशेषज्ञहरूमा बौद्धिकमा हुने गुणहरू पनि हुन्छन्  र बौद्धिकहरूमा विशेषज्ञ पनि पाइन्छन्। यसो हुन्छ भन्दैमा विशेषज्ञ र बौद्धिकलाई उही भन्न मिल्दैन।

आँखाको विशेषज्ञ डाक्टर के हो? अथवा दिसा पिसाब जाँच्ने विशेषज्ञ डाक्टर के हो? अथवा फौजदारी मुद्धा विशेषज्ञ वकिल के हो? अथवा एउटा पीएच.डी. जागिरे के हो? अथवा दोस्तोवस्कीका उपन्यासहरूको मर्मज्ञ के हो?

यी सबै विशेषज्ञ हुन्। तर यिनीहरूमा विशेषज्ञका अतिरिक्त बौद्धिकमा हुनुपर्ने गुणहरू पनि छन् भने बौद्धिक हुनसक्छन्।

त्यसैगरी एउटा वेदको प्रकाण्ड पण्डित के हो? अथवा आधुनिक साहित्यको ठूलो जानकार के हो? अथवा नेपाली समाजमा जुन बराबर सुनिन्छ- फलानो त धुरन्तर अध्येता; उहाँलाई यस ब्रम्हाण्डको सारा ज्ञेयको ज्ञान छ-उहाँ महान् 'बुद्धिजीवी' हुनुहुन्छ।

त्यसो होइन। यिनीहरू आ-आफ्ना क्षेत्रका जानकार हुनसक्छन्। तर बौद्धिक हुन समाजलाई केही दिएको हुनुपर्छ। केवल समाजसँग लिएर आफूसँग थुपारेको ज्ञान जुन मर्दाखेरी सँगै जान्छ-त्यस्ता पण्डितलाई बौद्धिक भन्न मिल्दैन।

एउटा बौद्धिकमा हुनुपर्ने सर्वप्रमुख पूर्वापेक्षा हो- दृष्टिकोणको सार्वजनिक सञ्चार।

यसका लागि कुनै प्रमाणपत्रको अनिवार्यता हुँदैन। र कस्तै कुनै प्रमाणपत्रधारी भए पनि दृष्टिकोणको सार्वजनिक सञ्चार नगर्ने व्यक्ति हो भने बौद्धिक कहलाउन योग्य हुँदैन।

कुनै पनि समाजका बौद्धिक त अल्पसंख्यक हुन्छन्, जो जीवन र जगत्‌ सम्बन्धि मान्यता, मूल्य र समस्याहरू प्रति औसत व्यक्तिभन्दा बढी संवेदनशील र सचेत हुनुका साथै आफ्नो दृष्टिकोण व्यापक रूपमा (समाजमा उपलब्ध माध्यमहरूद्वारा) जनसाधारणसम्म सञ्चारित गर्दछन्।

जागिर खाने प्रमुख कार्यका सिलसिलमा फोसमा पीएच.डी. वा कुनै उच्च शैक्षिक प्रमाणपत्र पाउने अथवा संसारैभरिको बौद्धिकता हुने कुनै पनि व्यक्तिलाई बौद्धिक भन्न मिल्दैन जो आफ्ना विचारहरू सार्वजनिक रूपमा अरूहरू समक्ष पुर्‍याउँदैनन्।

विचारको सार्वनिक सञ्चार नै आजको बौद्धिकताको कसी हो, कुनै पनि शैक्षिक प्रमाणपत्र होइन।

डिल्लीबजार, काठमाडौं।

* यी वाक्यांश मूल लेखमा अंग्रेजीमा राखिएको थियो जसलाई हामीले अनुवाद गरेका हौं। 

(साहित्यकार स्वर्गीय जगदीश घिमिरेको यो लेख हामीले रूपरेखा साहित्यिक पत्रिकाको २००औं पूर्णांक, २०३४ बाट साभार गरेका हौं। नेपालका बुद्धिजीवी श्रृ्खलामा अब हामी समसामयिक बुद्धिजीवीको भूमिकाबारे केही लेखहरू प्रकाशित गर्ने छौं।)

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट