नेपाली समाजमा बुद्धिजीवी- भाग १

चुनाव
  • Get News Alerts

नेपालका बुद्धिजीवी- शृंखला २
tata

यो लेखको उद्देश्य नेपाली बौद्धिक वर्गको समस्या अध्ययन गर्नु हो। यस्तो अध्ययन अत्यन्तै आवश्यक छ, किनभने आजकल नेपाली लेखनमा यो शब्द धेरै प्रयोग हुने गरेको छ।

धमिलो एवं अस्पष्ट अर्थ भएको यो शब्दको वास्तविक अर्थ खोजी गर्ने मेरो लक्ष्य हो।

त्यसअघि समकालीन नेपाली बुद्धिजीवी वर्गलाई जन्म दिने तथा हुर्काउने नेपाली समाजबारे सर्सर्ती चर्चा गर्न चाहन्छु।

नेपाल अधिराज्यको वर्तमान स्वरूप बनेको केही शताब्दी मात्र भएको छ। यो देशले पृथ्वीको धरातलमा सबभन्दा आश्चर्यकारी एवं विषम नक्सा प्रस्तुत गरेको छ। देशको तीनचौथाइ खण्ड भौगोलिक रुपमा जटिल पर्वतहरूद्वारा ढाकिएको छ। यसमा विभिन्न उपत्यका फाटफुट छरिएका छन्। यहाँ तेर्सिएर बग्ने नदीहरूको जाल छ। यही दुर्गम तथा अनौठो पाराको अनियन्त्रित नक्साले लाखौँ वर्षदेखि यहाँको जीवन, विचारधारा र रहनसहनलाई प्रभावित पारेको छ।

पृथ्वीनारायण शाहको उदय तथा उनको सैनिक आन्दोलनअघि देशको रूप ग्राफपेपरझैँ राजनीतिक टुक्राहरूमा टुक्रिएको थियो। च्याउ उम्रेसरह बाइसे एवं चौबीसे राज्यहरूमा छरिएको थियो। भूगोलको कठिनाइले एकीकरणको झन्डै दुई सय वर्षपछि पनि नेपालका जनता प्राग्-ऐतिहासिक कालसरह भौतिक, सामाजिक तथा सांस्कृतिक आदानप्रदानमा भयावह रूपमा पिछडिएका छन्।

सन् १८५० ताका आधुनिकीकरणको हलुका प्रयास नेपालमा आयो। सन् १९५० देखि यो प्रयास अझ स्पष्ट हुँदैछ। आधुनिकीकरणको यो प्रयास पनि नेपालका सहरी जनसमुदायमा मात्र सीमित छ। पहाड र नदी किनारका बस्ती, उपत्यका वा ग्रामीण नेपालको तराईतिर यो परिवर्तन अझै पुग्न सकेको छैन।

सन् १९६१ को जनसंख्या प्रतिवेदनअनुसार नेपालको सम्पूर्ण जनसंख्या ९४ लाख १२ हजार ९ सय ९६ छ। यसको ३.६ प्रतिशत मात्र नगरवासी छन्। बाँकी ९६.४ प्रतिशत व्यक्ति गाउँमा बसोबास गर्छन्। त्यही प्रतिवेदनअनुसार ५ हजार वा त्योभन्दा धेरै जनसंख्या हुने सहरहरू नेपालमा १६ मात्रै छन्। यी १६ सहरमध्ये तीन काठमाडौं उपत्यकामा छन्, जसमध्ये राजधानी काठमाडौंमा १ लाख २५ हजार जनसंख्या बसोबास गर्छन्। आठ सहर भारतीय सीमानानजिक तराईको मैदानमा छन्। पहाडी क्षेत्रमा त पोखरा तथा पाल्पा मात्रै छन्।

गाउँमा बस्ने ९६.४ प्रतिशत जनताको सामाजिक अवस्था अझै आदिमकालीन कृषि पद्धतिमा निर्भर छ। उनीहरूले आत्मीयताको परम्परा, धर्म तथा घरप्रतिको मोहको एउटा छुट्टै सिद्धान्त नै बनाएका छन्, जसलाई बदल्न सकिँदैन।

एकअर्कासँग एकदमै नमिल्ने खालका ३६ विभिन्न भाषा बोलिने र विभिन्न जातीय समुदाय बसोबास गर्ने हुँदा देश विविधतायुक्त छ। नेपाली समाज बहुजातीय मात्र नभई बहुभाषीय पनि हो। राष्ट्रिय भाषा तथा अनेपाली वक्ताले समेत प्रयोग गर्ने नेपाली नेपालको प्रमुख भाषा हो। यो भाषा जनसंख्याको झन्डै ५१ प्रतिशतले बोल्छन्। बाँकी जनसंख्या नेपालका १० प्रमुख भाषा बोल्छन्। त्यसमध्ये मैथिली १२ प्रतिशत, भोजपुरी ६, तामाङ ५.५, अवधी ४.७, थारू ४.३, नेवारी ४, मगर २.७, राई किरात २.६, गुरुङ १.७ र लिम्बू १.५ प्रतिशत।

भाषालाई सांस्कृतिक पृष्ठभूमि मानेर, भौतिक तथा अभौतिक दुवै पद्धतिद्वारा समेत निरोपण गर्ने हो भने यी तथ्यांकले मात्र पनि नेपाली समाजमा अवस्थित विविधता स्पष्ट पार्नेछन्।

बुद्धिजीवी वर्गको उदय तथा उत्थानका लागि नगरहरूको विकास र भाषाको सहजता भएको शिक्षित जनसंख्याजस्तो महत्त्वपूर्ण अरू केही छैन। नेपालको इतिहासमा यसो पछिल्तिर हेर्दा काठमाडौं उपत्यकाबाहेक तीन क्षेत्रीय मेखलामा बुद्धिजीवी वर्गका लागि अनुकूल वातावरण बनेको पाइन्छ। ती हुन्, मैथिली संस्कृतिको परम्परागत भूमि जनकपुर; लुम्बिनी अञ्चलको कपिलवस्तु तथा पर्वतीया मल्लहरूको मध्यकालीन राज्यहरू भएको कर्णाली नदी क्षेत्र। वर्तमानसम्मै अटुट रूपमा जोड्नसक्ने इतिहास भने यी संस्कृति-मेखलामध्ये कसैको छैन।

अटुट ऐतिहासिक क्रमबद्धता हुने काठमाडौं उपत्यका नै हो जहाँ अस्थिपञ्जर रूपमा पुगिसकेको भए पनि संस्कृति-सूत्रका लक्षण देख्न सकिन्छ। काठमाडौँ उपत्यका मात्र हो जहाँ वर्तमानसम्म जोडिने सांस्कृतिक क्रम देखापर्छ। अधिराज्यका अन्य स्थानहरूभन्दा यहाँ मात्रै विकसित शिक्षित जनसंख्यासँग तादात्म्य पाइन्छ। 

 

नेपालको इतिहासमा यसो पछिल्तिर हेर्दा काठमाडौं उपत्यकाबाहेक तीन क्षेत्रीय मेखलामा बुद्धिजीवी वर्गका लागि अनुकूल वातावरण बनेको पाइन्छ। ती हुन्, मैथिली संस्कृतिको परम्परागत भूमि जनकपुर; लुम्बिनी अञ्चलको कपिलवस्तु तथा पर्वतीया मल्लहरूको मध्यकालीन राज्यहरू भएको कर्णाली नदी क्षेत्र। वर्तमानसम्मै अटुट रूपमा जोड्नसक्ने इतिहास भने यी संस्कृति-मेखलामध्ये कसैको छैन।

 

काठमाडौं उपत्यकाको संस्कृति सूत्र वा शक्ति-विन्यासमा जातका माध्यमद्वारा बनेको धर्महरूको पासो र तिनको पुरोहितवाद यहाँको बसोबास पद्धति वा भाषाजन्य विविधताभन्दा बढी महत्त्वपूर्ण छ। हिन्दु तथा बौद्ध, दुवै मार्गका पुरोहितवादमा ईश्वर-त्रसित नेपालीहरूका लागि पालन गर्नुपर्ने अनेक नियम बनाइयो। ती नियम इहलोकमा मात्र सीमित नभई परलोकका लागि समेत थिए।

विगत हजार वर्षमा नेपालमा निश्चय पनि कैयन नरनारीले सांसारिक सम्पन्नताका क्षणहरूमा ईश्वरको त्रास बिर्से होलान्। तर, पुरोहितको त्रास बिर्सने व्यक्ति कोही भएन होला। जयस्थिति मल्लले प्रभावकारी रूपमा संहिताबद्ध गरेको तथा जंगबहादुर राणाले कानुनी शक्ति प्रदान गरेको कठोर जाति-पद्धतिको माध्यमबाट पुरोहितवाद संस्कृतभाषी नेपाली जनसमुदायको सामाजिक तथा सांस्कृतिक जीवनमा सबैभन्दा हस्तक्षेपकारी तत्त्व बनेर रहेको छ। यसको प्रभाव सम्पूर्ण नेपालीभाषी समाज, हिन्दु तथा बौद्धमार्गी नेवारहरू तथा अन्य संस्कृतजन्य आदिवासी तथा मूल निवासीमा समेत छ।

बौद्धधर्म, बोंपो वा शमनवाद जस्ता सह-धर्महरूप्रति सहिष्णु भावना अपनाए पनि नेपालको शक्तिधारी समुदाय सधैं हिन्दु नै रहेको छ। संस्कृत भाषा अपनाउने जन-समुदायको त्यही अंश मात्र (अर्थात्, नेपाली बोल्ने ब्राह्मणहरू, नेवारी बोल्ने ब्राह्मणहरू वा मल्लकालको दरबारमा बोलवाला भएका भोजपुरी बोल्ने ब्राह्मणहरू मात्र) नेपालका परम्परागत बुद्धिजीवी वर्ग बनेको देखिन्छ। जंगबहादुरको आगमनअघि काठमाडौं उपत्यकाका सारा सांस्कृतिक तथा बौद्धिक कारबाही चलाउन उपयोग गरिने भाषाहरू मुख्यतया संस्कृत, मैथिली तथा नेवारी नै थिए।

संस्कृतभाषी हिन्दु वा बौद्ध पुरोहितहरूको जातीय संरचनाले आफ्नै पाराको बुद्धिजीवी वर्ग बनाउन पुग्यो। यो वर्ग झन्डै लिच्छवीहरूकै समयदेखि नेपालका राजदरबारमा देखा पर्छ। संस्कृतजन्य हुनुको अतिरिक्त त्यस वर्गका तीन विशेषता देखिन्छन्न्: १) राजदरबारमा तिनले ओगटेको स्थान; २) जनजीवनका दैनिक संस्कार (जन्म, अन्नप्रासन, विवाह, गोदान, मृत्युजस्ता सामान्य पूजा) माथिको अधिकारबाट समाजमा ओगटेको दीर्घकालीन पुरातनवाद ३) बौद्धिकपन।

नेपालको पुरोहितवादको उद्देश्य जेजस्तो राजशक्ति आउँछ त्यससँगै हातेमालो गरी टिक्ने मात्रै थियो भनी विचार गर्नुचाहिँ गल्ती हुनेछ। तत्कालीन नेपाली पुरोहितवाद निकै प्रभावशाली थियो। यसले आफ्नो छायाँ भारत, तिब्बत तथा चीनमा समेत पारेको थियो।

दसौं-एघारौँ शताब्दीको उत्तर भारतको मगधकालमा रत्नकीर्ति, विरोचन र कनकश्री जस्ता नेपाली विद्वानहरूको विक्रमशील महाविहारमा समेत ठूलो इज्जत गरिन्थ्यो। एघारौँ शताब्दीको नेपालमा विद्वताको स्तर निकै माथि पुगेको हुनुपर्छ किनभने बागेश्वर कीर्ति जस्ता व्यक्तिले विक्रमशील महाविहारको द्वारपण्डित (विभागीय प्रमुख) बन्नु साधारण कुरा होइन। उनका शिष्यमध्ये बंगालका निरोपाली सेन तथा तिब्बतमा काग्या सम्प्रदाय स्थापित गर्ने मार्पा पनि थिए।

जे होस्, काठमाडौँ उपत्यकाका सहरहरू (खासगरी काठमाडौँ तथा पाटन) मा अद्यावधिक यस्ता कैयन् बहाल (विहार) छन् जहाँका बस्तीमा एकताक बुद्धधर्म, दर्शन, अलंकारशास्त्र, व्याकरण, औषधी विज्ञान, जादु टोना, संस्कृत, पाली साहित्यजस्ता परम्परागत शिक्षा दिइन्थ्यो। चित्रकला, मूर्तिकला, गहना निर्माणजस्ता वंश-परम्पराका कलाको समेत तालिम दिइन्थ्यो।

उत्तर भारतमा मुसलमानी आक्रमण भएपछि विक्रमशील महाविहारका महासांघिक संघका प्रमुख, विशिष्ट नेपाली पण्डित बुद्धश्री आफ्ना शिष्य एवं पुस्तकको ठेली लिई नेपाल फर्के। यो दृष्टान्त इतिहासमा एक्लो नभए पनि यसले नेपाली इतिहासमा युरोपको रेनासां सम्झाउँछ। यस्ता विहारमा बज्राचार्य तथा शाक्य (नेवारी तथा बौद्ध पुरोहितहरू) शिक्षक थिए। हिन्दु शिक्षण प्रणालीको वर्णाश्रम पद्धतिमा भने ब्राह्मण नै शिक्षक थिए, नेवार ब्राह्मण जोशीहरू।

संस्कृतभाषी नेपाली समाजका बाँकी सदस्यहरू नैतिक एवं बौद्धिक स्तरमा यिनकै पञ्जामा थिए। यो परम्परा निकै कालसम्म कायम रह्यो। पश्चिमी प्रेरणाको आधुनिक शिक्षा प्रणाली आउनुअघि उनीहरू नै समाजमा सबभन्दा सजग तथा प्रभावशाली थिए।

नेपालको सामाजिक-सांस्कृतिक जीवनमा ब्राह्मण वर्गको प्रभुत्व ऐतिहासिक आवश्यकता बनेको थियो। यहाँ मैले 'ब्राह्मण' शब्दको प्रयोग परम्परागत बुद्धिजीवी वर्गको पर्यायका रूपमा मात्र गरेको हुँ। नेपालका लागि ब्राह्मणहरूको पाण्डित्य सम्झाउने स्मारक त सन् १८८५ मा वीरशमशेरले संग्रह गरेको २४ हजार ग्रन्थको विशाल पुस्तकालय हो। यो पुस्तकालय परम्परागत नेपाली विद्वताको स्तम्भ मात्र नभई परम्परामा रहेका सीमा दर्शाउने सजीव उदाहरण पनि हो।

यो पनि पढ्नुहोस:

कमलप्रकाश मल्ल: पञ्चायतका आलोचक, दरबारका शिक्षक

के गर्छन् नेपालका बौद्धिकहरु?


मूल रूपमा परम्परागत नेपाली विद्वताको चरित्र मिश्रित छ। यसमा मुख्य त टीका, भाष्य र विधि-विधानकै आधिकारिक सूत्र पाइन्छ। नेपाली विद्वताको परम्परा सिर्जनात्मक, अनास्थापूर्ण, शंका गर्ने र समालोचनात्मक प्रवृत्तिको सट्टा चिरन्तनकै प्रथा र विधान कायम राख्ने र संरक्षण गर्ने चरित्रको छ। यो परम्पराको चारित्रिक विशिष्टता हो– आलोचनात्मक प्रवृत्तिको सट्टा सूत्रीय पूर्व-चिन्तन, भौतिकको बदला आध्यात्मिक, साकारको सट्टा उपदेशात्मक प्रवृत्ति अपनाउनु।

गोर्खाली सत्ताको उदय भएपछि भने यो परम्परासँगको जीवित सम्पर्कसमेत चुँडियो। जे जति कायम रह्यो त्यो शास्त्रविधिमा मात्रै सीमित भयो। सन् १७६९ पछि जनजीवनमा आएको बदलिँदो परिस्थितिअनुरूप सिर्जनात्मक परिवर्तनमार्फत् नवीकरण गर्नुपर्थ्यो तर त्यसो भएन।

काठमाडौं उपत्यकाका युद्धरत मल्ल राजामाथि विजय गरी सन् १७६९ मा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तृत पारे। राजनीतिक दूरदर्शिता अपनाएर काठमाडौंलाई नै उनले आफ्नो नवीन राजधानी बनाए। छ वर्षपछि सन् १७७५ मा उनको स्वर्गारोहण हुँदा गद्दीका उत्तराधिकारीहरूमा धेरैजसो नाबालक नै भए। रिजेन्ट बनेका उनका आमाहरूमा शक्ति सञ्चिन पुग्यो।

राजनीति तथा राज्यव्यवस्थाको अनुभवको अभाव भएका यी राजमाताहरूलाई सहजै प्रभाव पार्न सकिन्थ्यो। परिणामस्वरूप रिजेन्सी कालभरि नै (सन् १७७५ देखि १८४५ सम्म) गद्दीका लागि परस्पर विनाशकारी होड चली नै रह्यो। फेरि चीनसँग सन् १७९० को तथा ब्रिटिस भारतसँग भएको सन् १८१४ को युद्ध पनि थियो। अन्य भारदारका परिवारलाई उल्लेख नगरे पनि थापा एवं पाँडेका परस्पर विरोधी परिवारले मात्रै शक्ति हात पार्ने प्रयासको परिणामस्वरूप सन् १८३७ देखि १८४६ बीच झन्डै नौ सरकार गठन भए। यही पृष्ठभूमिमा १५ सेप्टेम्बर १८४६ को मध्यरात्रि कोतपर्वद्वारा जंगबहादुर तथा उनका भाइहरूले शाही-खूनको खोला नै बगाए र शक्ति-तृषित नेपालको दरबार रूप नै बदलिदिए।

भारतमा भएको १९० वर्षको ब्रिटिस शासनले सांस्कृतिक ढंगबाट नेपाललाई खास प्रभाव पारेन। तैपनि नेपाल प्रभावमुक्त भने रहन सकेन। सन् १९२३ सम्म पनि प्रशासनको झञ्झट नबोकी ब्रिटिसले नेपालबाट उपनिवेशको सारा सुविधा पाइरहेको थियो।

जंगबहादुर तथा उनका उत्तराधिकारीलाई प्रदान गरिएको ब्रिटिस संरक्षण तथा युरोप भ्रमणको सिलसिलामा जंगबहादुरले बेलायतमा पाएको गौरवपूर्ण सत्कार निश्चय पनि नेपाल-ब्रिटेन मैत्रीका उज्ज्वल काल थिए। तर, भारत भू-खण्डमा रहेको ब्रिटिस उपस्थितिद्वारा नेपाल उनीहरूप्रति अनुगृहित हुनुपर्ने कुनै कारण छैन।

भारतले अपनाएको आधुनिकीकरणको आधार स्थापित गर्ने ब्रिटिस नै हुन्। एसियामा सर्वोत्तम प्रकारको सरकारी सेवा –इण्डियन सिविल सर्भिस–उनकै देन हो। आधुनिक शिक्षण शैलीको आकांक्षा गर्ने साधनस्वरूप कलकत्ता, बम्बई तथा मद्रासस्थित विश्वविद्यालय पनि उनकै देन हो। जापान छाडी एसिया र अफ्रिकाका सारा देशहरूमध्ये सबभन्दा बढी शिक्षित जनसंख्या भएको भारत पनि उनकै देन हो। पश्चिमका मुलुकहरूबाहेक पत्रकारिताबारे दीर्घकालीन अनुभव भएको भारत बन्नु पनि उनकै देन हो। र, जापान छाडी एसियामा सबभन्दा विस्तृत रेलमार्ग भारतमा छाड्ने श्रेय पनि उनकै हो।

भारतको आफ्नो महानताबारे शैक्षिक, सामाजिक तथा सांस्कृतिक चेतना जगाइदिएर मात्र ब्रिटिस भारतबाट गएका हुन् (उदाहरणका लागि, बंगालको जागरण मात्र हेरे पुग्छ)। भाषाविज्ञान, समाज विज्ञान वा मानवविज्ञानको कुरा नगरे पनि, इन्डोलोजी (भारतीय पुरातत्वको अध्ययन गर्ने विषय) नै पनि ब्रिटिसको ठूलो उपहार हो। भारतका मातृभाषा साहित्यको आधुनिकीकरणमा समेत अंग्रेजी भाषाको ठूलो हात छ।

तर, भारतमा यस्ता सांस्कृतिक प्रभाव ब्रिटिसद्वारा उत्पन्न भइरहेको बेला नेपालमा त्यसको कुनै प्रभाव थिएन। ऊ यस्ता सबै कुराबाट वञ्चित रह्यो।

यसको वास्तविक कारण ब्रिटिसहरूको बेवास्ता मात्र होइन। खासमा भारतका ब्रिटिसहरूको प्रोत्साहन पाएर जंगबहादुर तथा उनका उत्तराधिकारीले जानीजानी अपनाएको संकुचित नीति हो। शक्तिको पूर्ण केन्द्रीकरण आफ्नै परिवारमा गर्ने तथा विश्वका अन्य भागसँग राजनीतिक-सांस्कृतिक सम्पर्क पटक्कै नगर्ने उनीहरुको नीति थियो। तथापि, सांस्कृतिक फलामे पर्दाभित्र यस्तो नीति अक्षरशः कार्यान्वयन गर्नु सत्तारुढ परिवारकै लागि सजिलो कुरा थिएन।

काठमाडौंको सत्तामय-राजनीतिमा आफ्नो स्थान दरिलो हुनासाथ जंगबहादुर सन् १८५० को जुन महिनामा युरोपतर्फ हिँडे। आफ्नो युरोप तथा बेलायत भ्रमणबाट उनी निकै प्रभावित भए। तत्कालीन कैयन् सन्की प्रचलन उनले नेपालमा आयात गरे (राष्ट्रिय धूनसम्बन्धी प्रसिद्ध कथन नै सम्झनोस् न!)। नेपालको आदिकालीन फौज पुनर्गठन गर्ने विचार पनि उनले उतैबाट ल्याए। दैनिक जीवनमा प्रयोग हुने वस्तुको सौन्दर्य-परिभाषामा पश्चिमीपन आयो। दरबारहरूसमेत पश्चिमी शैलीका बने। थापाथली दरबारको निर्माण नै परम्परागत नेपाली कला र संस्कृतिको अन्त्यको प्रारम्भ थियो।

जंगबहादुर कुनै ज्यादै शिक्षित व्यक्ति थिएनन्। तथापि ब्रिटिस सत्ताको गुप्त उद्गम स्रोत पहिल्याउने चलाखी उनमा निश्चय थियो। विश्व साम्राज्यको त्यस स्रोतको बढी र गहिरो स्वाद लिने मनसायबाट अंग्रेजी भाषा जान्नुपर्ने आवश्यकता उनले देखे।

स्वदेश फर्कनासाथ सन् १८५३ मा थापाथली दरबारको भुइँतलामा कोही मि. क्यानिङ नामक व्यक्तिको रेखदेखमा सानो क्लास स्थापना गरियो। मि. क्यानिङ जंगबहादुरका भाइभतिजालाई अंग्रेजी, गणित तथा इतिहासमा अष्टम् श्रेणीसम्मको शिक्षा दिने गर्थे। यसप्रकार पश्चिमको आधुनिक शिक्षा बीजारोपण एउटा राणा दरबारको भुइँतलामा हुन गयो।

यी निजी पाठनले झन्डै ३० वर्षसम्म फिरन्ते र शरणार्थी पाराको जीवन अपनाउनु पर्यो। सन् १८८९ तिर मात्र यसले बास पायो दरबार स्कुलमा (दरबारमा जन्मेकाले यसको नामाकरण पनि त्यस्तै भएको हुनुपर्छ)। तथापि उच्चतम् शिक्षाको द्वार – दरबार स्कुलको द्वार, जनसाधरणका संतति निमित्त सन् १८९६ अघि खुलेन।

कलकत्ता गएर इन्ट्रान्स परीक्षामा उत्तीर्ण हुने प्रथम नेपाली थिए चन्द्रशम्शेर जबरा। त्यो पनि सन् १८८४ को कुरा। कैयन दशकसम्मै स्कुलका विद्यार्थी सात भाइ र सत्र भाइ खलक र तिनका भित्रिया सन्ततिमै सीमित रह्यो। पटना एसएलसी परीक्षाको केन्द्र नेपाल सन् १९२४ मा बन्यो। सन् १९३३ मा गएर यसले आफ्नो स्वतन्त्र एसएलसी बोर्ड स्थापित गर्यो।

आफूसँग स्वदेश ल्याएका अनौठा वस्तुहरूमध्ये जंगबहादुरले हातबाट चल्ने एउटा छापाखानाको मेसिन पनि ल्याएका थिए– तथाकथित गिद्घे प्रेस (जसका निर्माता भीएण्डजे जनिसी मेकर्सको ट्रेडमार्कका रूपमा त्यसमा गिद्घको पखेटाको चिह्न थियो)। सन् १८५१ को त्यस गिद्धे प्रेसपछि बिस्तारै नेपालको हस्तलिखित युगको अन्त्य भयो।

 

पृथ्वीनारायण शाहको आगमन अघिसम्म बौद्धिक अभिव्यक्तिको माध्यमभन्दा पनि नेपाली भाषालाई जनभाषाका रूपमा अपनाइएको थियो। मुद्रालेख तथा हस्तलिखित पुस्तिका दुवैमा नेपालीभन्दा बढी प्रयोग संस्कृत, मैथिली र नेवारीकै गरिन्थ्यो। स्थानीय विद्वानहरू प्रचलित सारा भाषाहरू सट्टा संस्कृत नै रुचाउँथे र नेपाली अवहेलित भइरहेको थियो।


सन् १८७० सम्म हातले चल्ने छापाखाना दुईवटा भए। तिनको उपयोग ऐन, कानुन, आदेश, डाँक टिकट तथा सरकारी विज्ञप्ति छाप्न मात्र गरिन्थ्यो। प्रारम्भिक कालको पहिलो अंशतिर नेपालमा झन्डै आधा दर्जन छापाखाना थिए। ती कि सत्ताधारी परिवार कि राजगुरुको परिवारमा मात्र सीमित थिए।

सन् १९१२ मा बिजुलीद्वारा चल्ने पहिलो छापाखानाको स्थापना नेपालमा भयो। सन् १८९३ तिर मात्र नेपालको पहिलो निजी प्रेस पशुपति छापाखानाको सञ्चालन प्रारम्भ भयो। सन् १९५० को अन्त्यतिर स-साना प्रकारका भए पनि, जनताका स्वामित्व भएका केही प्रेसहरू थपिए। आधुनिक बुद्घिजीवी वर्गको अभ्युत्थान निमित्त मूलभूत आवश्यकता नै छापाखानाको छ। यसका माध्यमद्वारा छाप्ने शब्दहरू विशाल संख्यामा उत्पादन तथा उपभोग हुन सकोस्।

छापाखानाबाट मुद्रित भएको नेपालको प्रथम पुस्तक कदाचित् पण्डित नरदेव तथा मोतिकृष्ण शर्माद्वारा लिखित तथा सन् १९०२ मा प्रकाशित संस्कृत प्रवेशिनी थियो। प्रथम मुद्रित पत्रिका सुधा सागर सन् १८९८ मा निकालियो। प्रथम अखबार गोरखापत्र सन् १९०१ तिर मात्र निस्क्यो, ३ जेठ १९५८ सोमबारका दिन। नेपाली भाषाको इतिहासमा यसप्रकार मुद्रित वाक्यको सांस्कृतिक परम्परा छोटो नै छ।

यो लेखको प्रारम्भतिर नै मैले वर्तमान नेपालको भाषाको अवस्थाबारे चर्चा गरिसकेको छु। जनसंख्या प्रतिवेदनअनुसार (सन् १९३४ सम्म पनि गोर्खाली भनिने) नेपाली प्रमुख भाषा हो। यसलाई अधिराज्यका सम्पूर्ण जनसंख्याको ५१ प्रतिशतले उपयोग गर्छन्।

अहिलेसम्म प्राप्त सबभन्दा पुरानो नेपाली मुद्रालेख हो ताम्रपत्रमा अंकित पुण्यमल्ल कालको– सन् १३३७ को। काठमाडौं उपत्यकामा समेत उत्तर मल्लकालमा नेपालीलाई मुख्यतया मातृभाषाको रूपमा प्रशस्त प्रयोग गरिएको पाइन्छ। पृथ्वीनारायण शाहको आगमन अघिसम्म बौद्धिक अभिव्यक्तिको माध्यमभन्दा पनि नेपाली भाषालाई जनभाषाका रूपमा अपनाइएको थियो। मुद्रालेख तथा हस्तलिखित पुस्तिका दुवैमा नेपालीभन्दा बढी प्रयोग संस्कृत, मैथिली र नेवारीकै गरिन्थ्यो। स्थानीय विद्वानहरू प्रचलित सारा भाषाहरू सट्टा संस्कृत नै रुचाउँथे र नेपाली अवहेलित भइरहेको थियो। भानुभक्त आचार्य (सन् १८१४–१८६८) तथा मोतिराम भट्ट (सन् १८६६–१८९६) अघि नेपाली भाषाले विभेदको सामना गर्नुपरेको थियो।

किताबहरूको रचनात्मक प्रयोगका सन्दर्भमा भानुभक्तअघि तथा पछिका दुवै काल महत्त्वपूर्ण छन्। तथापि सन् १९१३ मा गोरखा भाषा प्रकाशिनी समितिको स्थापनापछि मात्र नेपालीलाई पूर्णतया भाषाको रूप प्रदान गर्न सक्रिय तथा क्रमबद्ध प्रयासहरू भए। पहिलो साहित्यिक पत्रिका शारदाको प्रकाशन सन् १९३३ मा भयो। आधुनिक नेपाली साहित्यको शिलान्यास गर्ने देवकोटा, सम, भिक्षु तथा सिद्धिचरण जस्ता व्यक्तिलाई यही साहित्यिक पत्रिकाले फस्टाउने अवसर दियो।

यसरी अहिले नेपालमा झन्डै ६० वटा प्रिन्टिङ प्रेसहरू (जसमध्ये ४० त काठमाडौँ उपत्यकामै छन्) तथा सयकडौँ पत्रिका एवं अखबारहरू भए। तैपनि यो हालसालैको उपलब्धि हो जसलाई २०–३० वर्षको संकुचित इतिहास भने हुन्छ। नेपाली सरकारी भाषाका रूपमा चलेको केही शताब्दी भए पनि यसको प्रस्फुटन भने हालैको उपलब्धि हो।

अनेक किसिमबाट प्रधानमन्त्री चन्द्रशम्शेर राणाको शासनकाल नेपालका लागि घटनाप्रधान छ। नेपालमा दासप्रथा अमलेख गर्ने उनै हुन् – र त्यो पनि हालैको, सन् १९२५ को कुरा हो। उनको राजनीतिलाई अलग्ग पारी, अहिले विचार गर्दा नेपाललाई आधुनिक बनाउने उनको प्रयास निन्दनीय भन्न सकिँदैन।

नेपालमा बिजुली बत्तीको प्रवेश गराउने तथा सन् १९१७ मा जनसाधारणको प्रयोग निमित्त सुलभ तुल्याउने उनी नै हुन्। उनले पब्लिक रिजर्भ्वायर निर्माण गराई फिल्टर भएको खानेपानी सप्लाई गर्न लगाए। सानो गेजको रेल नेपालमा चलाउने उनै हुन्। यो अझैसम्म नेपालको एक मात्र रेल मार्गका रूपमा चालू नै छ। हुनसक्छ, आउँदा प्रबुद्ध सन्ततिहरूले यी सारा अनुदानका भावनाहरूप्रति त्यत्तिको आदर व्यक्त नगरोस् जति गरिने सम्भावना छ नेपालको प्रथम आधुनिक कलेजप्रति।

सन् १९१८ मा त्रि-चन्द्र कलेजको उद्‌घाटन गरिसकेपछि प्रधानमन्त्री चन्द्रशम्शेरले भनेका थिए रे, 'हाम्रो विनाशको श्रीगणेश हो यो।'

सारा पश्चिमी युरोपमा बोल्सेविक क्रान्ति दन्किरहेको बेला नेपालमा भने स्कुलपछिको आधुनिक शैलीको खस्रो प्रसाधन भर्खर भर्खर जोरिएको थियो। प्रारम्भिक रूपमा कलकत्ता विश्वविद्यालय सम्पर्क रहेको त्रि-चन्द्र कलेज शुरूमा आर्ट कलेज मात्र थियो। साइन्स सम्बन्धित शिक्षा धेरैपछि सन् १९३० पछि मात्र गाभिए। यस कलेजबाट स्नातक भएका पहिला विद्यार्थीहरू भैरवबहादुर प्रधान तथा प्रसन्नमान सिंह प्रधान दुवै प्राचार्यका रूपमा हामीबीच अझै छन्।

यस कलेजको ५० वर्षको इतिहास नै समकालीन नेपाली बुद्धिजीवी वर्गको शैक्षिक उत्तराधिकारको इतिहास हो। किनभने सन् १९५१ अघि अधिराज्यमा उच्चशिक्षा हासिल गर्न सकिने यही एउटै मात्र संस्था थियो।

आज सरकारी सेवा, शिक्षण, सेना, पत्रकारिता, साहित्यिक व्यवसाय वा सञ्चालन व्यवस्थामा प्रभाव पार्न सक्ने प्रायः सबै व्यक्तिले कि त यही त्रि-चन्द्र कलेजमा कि पटना, बनारस, लखनऊ, इलाहाबाद र कलकत्ता जस्ता उत्तरी भारतका सहरमा शिक्षा पाएका हुन्। कलेजका तिनताकाका शैक्षिक समुदायको गगनमा सरदार नरेन्द्रमणि आचार्य दीक्षित वा प्रोफेसर रामप्रसाद मानन्धर जस्ता उज्ज्वल सिताराहरूको अभाव भने निश्चय पनि थिएन। तथापि त्रि-चन्द्र कलेज अन्डर-ग्राजुएट कलेज मात्र थियो। त्यस बेलाको राजनीतिक वातावरणमा क्लास-रूमका सामान्य दैनिक शिक्षाका अतिरिक्त अन्य प्रसाधन उपलब्ध थिएन। नेपालका अन्य कुरा सरह नै नेपाली शैक्षिक कुञ्जमा समेत बुद्धिजीवीको स्वतन्त्र विकासको लागि हावापानी मिल्दो बनिसकेको थिएन।

सन् १९५० अघि भारतबाहेक विदेशका अन्य मुलुकमा शिक्षा लिन यदाकदा नै नेपाली जान सम्भव थियो। भारत गई पिएचडी प्राप्त गर्ने प्रथम नेपाली हुनुहुन्छ प्रोफेसर नारायणबहादुर मानन्धर, जो अघिका प्रथम स्नातकहरू सरह नै रिटायर्ड भइसके पनि हामीबीच हुनुहुन्छ। समकालीन नेपाली बुद्धिजीवी वर्गको सांस्कृतिक रचनाको चर्चाको सिलसिलामा नेपालको पहिलो र एक मात्र विश्वविद्यालय सन् १९५९ मात्र गठन भएको हो भन्ने सम्झिनु मनासिबै होला। त्यस कालतिर भारतका विश्वविद्यालयहरूको शतवार्षिक समारोह पनि मनाइसकिएको थियो। त्रिभुवन विश्वविद्यालयको संस्थापनाअघि एमए वा एमएस्सी, एमकम वा एमएडको डिग्री चाहना गर्ने प्रत्येक नेपालीलाई भारततिर लाग्नै पर्ने तथा बनारस, पटना वा कलकत्ताको चर्को गर्मीमा दुई वा तीन वर्षको तपस्या गर्नै पर्थ्यो। अझै पनि डाक्टरी, कृषि वा इञ्जिनियरिङ जस्ता प्राविधिक तालिम हासिल गर्न हाम्रा युवक युवतीहरू प्रायः उतै जान्छन्।

अब मैले यहाँ दुईवटा विषयमा चर्चा गर्न खोजेको छु- सन् १९५० अघिको प्रचलित परम्परागत शैक्षिक पद्धतिहरू र सन् १९५० अघिको सरकारी सेवाको प्रकृति। वर्तमान अवस्थाका जुन प्रशासकीय-न्यायिक, प्राविधिक-परराष्ट्र सेवाहरू छन् तिनलाई जन्माउने व्यवस्थाको आन्तरिक स्वभावको जानकारी हामीलाई यसबाट हुन जानेछ।

स्वच्छन्द रूपका साहित्यिक, शिक्षण, पत्रकारिता तथा व्यवस्थापनजस्ता व्यवसायबाहेक श्री ५ को सरकारले नियमित बजेटअन्तर्गत नै झन्डै एक हजार पाँच सय राजपत्रांकित अफिसरहरू तथा करिब नौ सय अरू व्यक्ति सेवामा लगाएको छ। नेपाली बुद्धिजीवी वर्गको अवस्था बुझ्न र मूल्यांकन गर्न, नेपालको साक्षर जनसंख्याको उत्पादनको प्रमुख अंश रहेको यो विशाल संगठन, त्यसको प्रवृत्ति तथा महत्त्व-पद्धतिको जानकारी गरेर मात्र पुग्दैन। हामीले यस संगठनको पूर्व-प्रकृति पनि बुझ्नुपर्दछ। त्यो वंश-परम्परागत चरित्रबाट यो उम्किन सकेको छैन।

नेपालको परम्परागत शिक्षण पद्धतिबारे अब एक दुई कुरा भन्नेछु। सर्वप्रथम धर्म शास्त्रहरूको व्याख्या एवं श्रुतिमा आधारित व्याकरण, दर्शन, तर्कशास्त्र, साहित्य, ज्योतिष-विद्या, गणित तथा पुराणजस्ता विषयमा नेपालको अतीतकालीन परम्परा गौरवपूर्ण नै थियो। यो कट्टरपन्थी शिक्षण-पद्धतिलाई संस्कृत विद्वत् वर्गले अटुट किसिमबाट एक धार्मिक अनुष्ठानका रूपमा कायमै राखेका थिए। यो पद्धति ब्राह्मणहरूको जन्मसिद्ध अधिकारका रूपमा उनकै लागि सञ्चित छ। यो प्राचीन हिन्दु आदर्शप्रति पूर्ण रूपमा धर्मनिष्ठ पनि छ।

कर्मकाण्ड गर्ने ब्राह्मण मात्र होइन, त्यो पेसा नअपनाउनेका जीवनमा समेत मिसिँदै यो क्रम चली नै रह्यो। यो शिक्षा प्रणालीद्वारा उत्पादित समुदाय सत्ताधारी शक्ति हृदयदेखि नै बफादार रहे। यो परम्परा अन्तर्गतका विद्वानहरू यी कालहीन परम्पराबाट हटेको अवसर सायद एउटै मात्र छ – त्यो हो सन् १९४८ को तथाकथित जयतु संस्कृतम् आन्दोलन। हाल उदार नीति अपनाएर सरकारले यस शिक्षा पद्धतिलाई निःशुल्क शिक्षा तथा छात्रवृत्तिसमेत दिने व्यवस्था गरी संरक्षण प्रदान गरेको छ। यसका शिक्षकहरू एकोहोरे विद्वान् छन् जो भाषा पाठशाला, संस्कृत महाविद्यालय तथा विश्वविद्यालयको आचार्य विभागमा काम गर्छन्।

गुरु वाक्य नै ज्ञानको चरमोत्कर्ष रूप हो भन्ने विचारधारा अपनाउने गुरुकुल परम्पराकै प्राचीन तथा कट्टरपन्थी पद्धति यो शिक्षा-प्रणालीमा छ। यो लेखमा परम्परागत यस प्रणालीको प्रसंग ल्याइनु आवश्यक परेको कारण के हो भने यसले नेपालको समकालीन बुद्धिजीवी वर्गको सक्रिय ठूलो अंशमा आफ्नो प्रभाव जमाएको छ।

भाषा, धर्म, इतिहास, संस्कृति तथा नेपाली प्राचीनताजस्ता विशिष्ट क्षेत्रमा यसको योगदान प्रशस्त छ। उनीहरू नेपाली संस्कृतिको हिन्दु आधार, नेपाली जनजीवनमा राजवंशको कर्तव्यजस्ता आदर्श प्रकाशन गर्दछन्। अथवा, सादा जीवन उच्च विचार मान्ने प्राचीन वैदिक आदर्शलाई भौतिकवादी नेपाली युवावर्गसमक्ष प्रस्तुत गरेर पञ्चायती आदर्श-भवनको जगमा प्रशस्त बलिया स्तम्भ खडा गरेका छन्। शिक्षाको यो पद्धति, जीवनप्रतिको यो दृष्टिकोणले कैयन् शताब्दीदेखि नै आफ्नै माटो सुहाउँदो एक बौद्धिक संस्कृतिको द्वीप निर्माण गर्ने गरेको छ जसबाट नेपाली मस्तिष्क परिवर्तनको सारा आकांक्षाहरूबाट प्रभाव-मुक्त रहन्छ।

संस्कृत शिक्षण पद्धतिका उत्पादनमध्ये, प्रशासन वा अन्य संस्थानमा के कति व्यक्तिको अनुपात सन् १९५० अघि थियो वा पछि छ भन्ने मलाई थाहा छैन। तर, सन् १९५० अघिको निजामती सेवाको तहमा प्रशस्त संख्यामा काजी, सरदार, मिर सुब्बा, सुब्बा, नायब सुब्बा, खरदार, डिट्ठा, मुखिया, नायब डिठ्ठा, बहिदार, रायटर, नायब रायटर नामक भारदार तथा रकमीहरू थिए। र यी प्राय: सारा स्रेस्ता पाठशालाका उपज थिए।

 

जुन देशमा सांस्कृतिक, शैक्षिक वा साहित्यिक सबै किसिमका संगठनात्मक नागरिक प्रयासलाई दमन गरिन्थ्यो, त्यस ठाउँमा सामाजिक चेतनाको पहिलो लक्षण देखापर्ने वित्तिकै सत्तारुढ प्रधानमन्त्री स्वयं त्यति कम्पित भएनन् जति समयको ज्ञान नभएका पुरोहितवर्ग।


यसबारे नेपालको सरकारी सेवाका विशेषज्ञ प्रचण्ड प्रधानलाई नै उद्धृत गर्नु आवश्यक हुन्छ। उनले लेखेका छन्:

'राणा कालको सरकारमा जागिर खान आवेदनपत्र दिनसम्म पनि (निजामती परीक्षाको) जाँच पास गर्नुपर्दथ्यो, स्वतन्त्र स्पर्धा भन्ने कुरै थिएन। कार्यअनुरूप व्यक्ति छ छैन भन्ने पनि केही महत्त्व राख्दैन थियो। सरकारी सेवामा नियुक्ति पाउन निमित्त सरकारी ओहोदाका मुख्य ठाउँमा रहेका व्यक्तिलाई रिझाउन सक्ने क्षमता नै एक मात्र योग्यता ठानिन्थ्यो। … दोस्रो सतहको,निजामती प्रशासन शिक्षा पास भएको व्यक्ति चाहिँ भर्ना भएर पदोन्नति गर्दै काजीको ओहोदासम्म पुग्न सक्दथ्यो, सत्ताधारी परिवारका अतिरिक्त देशका जनताले प्रशासनको माथिल्लो खुड्‌किलामा पुग्न सक्ने ओहोदा त्यही थियो।'

निजामती परीक्षाबाट छानिएर उक्लेका आज्ञाकारी तथा नौसिन्दे मिजास भएका व्यक्तिहरूको ठूलो जमातबाहेक सन् १९५० अघिको नेपाल निजामती सेवामा छिर्काजस्तै मैट्रिकुलेटहरू, बीएहरू तथा केही एमएहरू माथिसम्म फाटफुट पुगेका थिए। यसप्रकार शक्ति तथा नैतिक अधिकार भएका राजगुरुको अर्को बलियो अंशसँग मिसिएर बनेको यी बुद्धिजीवीहरूको खिचडी संगठन नै राणातन्त्र नामक शासनको जाँतो बनेको थियो। त्यसैले, बुद्धिजीवी वर्गको उत्थान र विकास एकलकाँटे प्रयासबाट समाजको अंश बन्ने सम्भावना त परै जाओस्, यो प्रशासन समुदाय सिर्जनात्मक प्रेरणा एवं स्वतन्त्र बौद्धिकताको कुनै झिल्कोप्रति समेत विध्वंशकारी भावना राख्दथ्यो।

त्यसकारण, नेपालको सांस्कृतिक इतिहासमा नपत्याइसक्ने ढंगको एक कलंक हो यो नेपाली आत्माको अन्धकारपूर्ण रात्री– पारिवारिक शासनको एक यस्तो शताब्दी जब साधारण जनतालाई उसका मौलिक नागरिक अधिकारबाट समेत बञ्चित गरिएको थियो।

यहाँ रमाइलो एउटा कुरा के देखिन्छ भने जुन देशमा सांस्कृतिक, शैक्षिक वा साहित्यिक सबै किसिमका संगठनात्मक नागरिक प्रयासलाई दमन गरिन्थ्यो, त्यस ठाउँमा सामाजिक चेतनाको पहिलो लक्षण देखापर्ने वित्तिकै सत्तारुढ प्रधानमन्त्री स्वयं त्यति कम्पित भएनन् जति समयको ज्ञान नभएका पुरोहितवर्ग। सनातनवादी एवं सनातन विरोधीबीच भएको झडपको सबभन्दा पहिलो दृष्टान्त नै एउटा मौलिक अवस्थाको आदर्श हुन गएको छ। आर्यसमाजी स्वामी दयानन्दबाट प्रभावित भएर तरुण माधवराज जोशी (स्वर्गीय शुक्रराज जोशी शास्त्रीका पिता) आर्य समाजको एक कार्यालय खोल्न सन् १८९६ मा काठमाडौँ फर्के।

माधवराजको लिंडेढिपीको विरोध काठमाडौँका कट्टरपन्थी ब्राह्मणहरूले नगरेका होइनन्, तथापि तात्कालीन प्रधानमन्त्री वीरशमशेर जबराले चासो नदेखाएबाट केही गम्भीर परिणाम निस्कन सकेन। तर केही समयपछि, राणाकालको मध्याह्न वा मध्यरात्रि जे भने पनि, सन् १९०५ मा प्रधानमन्त्री चन्द्रशमशेर जबराले गुरुघरानाका ब्राह्मण पण्डितहरू तथा तरुण माधवराज जोशीबीच एक शास्त्रार्थ सम्मेलन आयोजना गरे, जसमा राजगुरु प्रयागराज शर्माले समेत भाग लिएका थिए।

तर्क तथा युक्तिसंगत विवाद प्रस्तुत गर्नमा युवक माधवराजले पण्डितहरूको कोलाहललाई उछिने। केही कालसम्म त प्रधानमन्त्रीसमेत अवाक् भए। उनले नवयुवकको प्रशंसा गर्न थाले। तथापि, भगवान् पशुपतिनाथ ढुंगाका मूर्ति मात्र हुन् भन्ने माधवराजको उक्तिलाई पक्डेर त्यस्तो आर्यसमाजी मत यहाँ फैलिएमा जनसाधरण व्यक्तिगत वादबाट बहुलाएर राजनीतिक स्वतन्त्रताको माग गर्न थाल्ने छ भनी राजगुरुले भन्नासाथ प्रधानमन्त्रीको राय बदलिहाल्यो। तुरुन्तै उपस्थित सारा विपक्षीसमक्ष विचरा माधवराजलाई कोर्रा ठोकियो, पछि बेइज्जती गर्ने उद्देश्यले सहर घुमाएर उनलाई दुई वर्षसम्म जेलमा बन्दी बनाइयो। उनका दुई समर्थकमध्ये एक बुद्ध मतावलम्बी थिए, उनलाई दिनदिनै पशुपतिनाथको दर्शन गरी प्रायश्चित गर्ने सजायँ दिइयो। तीस वर्ष बित्दासम्म पनि यस अवस्थामा केही सुधार हुन सकेको थिएन।

अर्को यस्तै सर्वोत्तम उदाहरण दिने हो भने गंगालाल तथा केदारमान “व्यथित” जस्ता केही साथीहरू मिलेर माधवराजका छोरा शुक्रराजले नेपाल नागरिक अधिकार समिति नामक एक गुप्त संगठन खोलेका थिए। त्यसै उद्देश्यअन्तर्गत सन् १९३९ मा काठमाडौँमा गीताको कर्मयोग उपर प्रवचन दिँदै थिए। ब्राह्मण कुलको नभई धर्मग्रन्थको प्रचार गर्ने अधिकार छैन भन्ने आरोपमा उनलाई बन्दी बनाइयो।

बिसौँ शताब्दीको नेपालको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जागरणको इतिहासको विस्तृत विवरण गर्न भने म चाहन्नँ। लामो छ भनेर होइन। सारा मुर्दा गोडेर फाइदा नै के जब एक दुई दृष्टान्त नै पर्याप्त छन्।

सेना, पुरोहितवाद तथा निजामती सेवा जस्ता प्रमुख अंगको टेवा पाएको उक्त एकतन्त्रीय राणा शासनले नेपालको बौद्धिक इतिहासमा एउटा असामयिक शीत-युग सिर्जना गरेका थिए। फाटफुट प्रयासका एक दुई काण्ड भए पनि सन् १९५० सम्म नेपाली समाजमा कतै कहीँ पनि शीत पग्लिने सम्भावनाको लक्षण देखा परेको थिएन। जे जति देखा परेका उदास, उग्र तथा दुःखान्त घटना थिए तिनमा भाग लिने जुन प्रमुख व्यक्ति थिए, ती असनातनी तरुण युवकहरूमध्ये सबैले कि त काठमाडौँमा (दरबार स्कूल, त्रि-चन्द्र कलेजमा) वा उत्तर भारतका सहरहरूमा शिक्षा पाएका थिए।

दुई विश्वयुद्धहरूमा भाग लिएको नेपाली पैदल-सेना पनि थियो जो जान्दथ्यो अनुकूल परिस्थितिबाट केही लाभ पाउन सकिन्छ। पछिल्लो समयमा भने भारतीय आन्दोलनहरूमा भाग लिएका वा भारतका महान् नेताहरूको सम्पर्कमा पुगेका र तिनका प्रभाव क्षेत्रमा परिसकेको नवयुवक नेपालीहरूले जनसमुदायको विप्लवको नेतृत्व लिन पुगे।

उसमाथि, धेरै कालदेखि शक्तिको रोलबाट खोसिएका असन्तुष्ट राणाहरूसमेत जब यस आन्दोलनमा सरिक हुन पुगे अनि बुझियो एकतन्त्री शासनको मिति पुगेछ।

क्रमश:

(प्राध्यापक कमलप्रकाश मल्लको यो लेख सर्वप्रथम २०२७ वैशख र जेठमा दुई भागमा अंग्रेजी पत्रिका बसुधामा छापिएको थियो। सँगसँगै प्रसिद्ध साहित्यकार शंकर लामिछानेले अनुवाद गरेपछि रूपरेखाको पूर्णांक १०८ र १०९ मा प्रकाशित भएको थियो। हामी यहाँ लामिछानेले गरेको अनुवादको सम्पादित अंश प्रस्तुत गरेका छौं। यो लेखको दोस्रो भाग भोलि प्रकाशन हुनेछ। मल्लको यो लेख हामीले मार्टिन चौतारीको जर्नल 'समाज अध्ययन ११- २०७३' बाट लिएका हौं।)

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • छायाँ छार्का छायाँ छार्का

    कुनै किचकन्नीको फेला परेजस्तो डर लागेर आयो। के उसका पैताला उल्टा परेका थिए? प्रश्न उब्ज्यो। गौर गरेर सम्झन खोजेँ। अहँ सकिनँ। उसको अनुहारको आकार झलझली सम्झनामा आयो। पुष्ट अपुष्ट सम्झनामा उसका दुई थान नरम स्तनहरूको स्पर्शीय आकार सम्झनामा आयो। रौँविहीन उसको योनिको पनि सम्झना आयो। उसको अर्धचन्द्राकार नाइटो, डोलमडोल गर्धन, पातला ओठ, चिम्सी आँखा, भुक्के गाला...। शरीरका सबका सब अङ्गहरूको सम्झना आयो तर उसको पैतालाको सम्झना आएन। उसको पैताला कता फर्केको थियो? कतिवटा औँला थिए? नङ कत्रा थिए?

    गनेश पौडेल

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट