मधेशलाई काठमाडौंको माफीपत्र

yamaha
  • Get News Alerts

united
tata

मेरो हरेक दिन जुत्ता पालिस गरेर हिँड्ने बानी छैन। आज एउटा महत्वपूर्ण मिटिङ भएको र केही समय बाँकी रहेकाले महाराजगन्जको फुटपाथमा आफ्नो कालो जुत्ता चम्काउन बसेँ। जुत्तामा पालिस लगाउँदै गर्दा महेन्द्रनारायण दाइसँग कुरा सुरु भयो। कुरा गर्दा गर्दै मैले “दाइ तपाईंको घर कहाँ हो ?” भनेर सोधेँ। एक्कासि उहाँले लगाइरहेको पालिस रोकेर आफ्नो खल्तीबाट नागरिकता निकालेर “राजविराज हो, म नेपाली हुँ” भन्दै नागरिकता देखाउनुभयो। मैले केही बोल्ने आँट गर्न सकिनँ। “हैन, हैन दाइ पर्दैन“ भन्दै नागरिकता भएको हात समाएँ। मैले त्यो नियतले प्रश्न सोधेको थिइनँ। तर उनको आखाँमा छुट्टै आगो देखेँ।

म काठमाडौंमै हुर्के पनि मेरा धेरै साथीहरु मधेशका छन्। केही वर्षयता विभिन्न कामले मधेश जाँदै छु। मधेशबाट आएका मान्छेसँग भेट्दै छु। मेरो बच्चा बेलादेखिका ४ जना मिल्ने साथीमध्ये २ जना मधेशकै छन्। तसर्थ, मैले त्यो भाव सतप्रतिशत महशुस नगरे पनि त्यो पीडाबाट भने म पनि धेरै टाढा छैन। माथि महेन्द्रनारायण दाइले जुन कारणले आफ्नो नागरिकता बोकेर हिँड्नुपरेको छ, मेरो बुझाइमा त्यही हो मधेशको समस्या। आफ्नै देशमा म नेपाली हुँ भनेर नागरिकता बोक्नुको पीडा नागरिकता त्यागेका, त्याग्न लागेका वा बोक्न नपर्नेले बुझ्दैनन्। बारम्बार म नेपाली हुँ भनेर प्रमाणित गर्नुपर्ने पीडा सबैले बुझ्न सक्दैनन्। मैले महेन्द्रनारायण दाइको आँखामा जुन पीडा देखेँ त्यो पिडाले ठूलो अर्थ राख्छ। अनि, नराम्रो संकेत पनि गर्छ। त्यो पीडाको बेलामै उपचार गर्न सकिएन भने हामी सुडान, अफगानिस्तान वा कश्मिर को उदाहरणसँग मिसिन धेरै दिन छैन।

मेरो एक जना सिरहाका साथी केही दिनअघि भक्कानिएर रुँदै भन्दै थिए, “मिलन, हिजो बाटोमा हिँड्दै गर्दा केही केटाहरुले मेरो बुवालाई मर्स्या धोती भन्दै मुख छाडे। बुवाले मलाई र श्रीमतीलाई हेर्दै शिर झुकाउनुभयो। मैले डाक्टर पढेँ। हजारौं मान्छेको सेवा गर्दै छु। मेरो के दोष ? मेरो बुवाको के दोष ? मैले चाहेको भए दुनियाको कुनै पनि कुनामा गएर मेरो सात पुस्तालाई पुग्ने कमाउन सक्थेँ तर म त यहीँ तिमीहरुकै सेवाका लागि छु। तर पनि मैले मधेशी हुनुको मूल्य कति तिर्ने ?” मसँग उत्तर भएन। हुने कुरो पनि थिएन। मैले धेरै मधेशीहरुले आँशु पिएर यो अपहेलना सहेको देखेको छु। महशुस गरेको छु।

त्यो अपहेलनामा तपाईं कति दोषी, म कति दोषी भन्ने दोश्रो प्रश्न हो। पहिलो प्रश्न भनेको त किन हाम्रो समाजमा यस्तो हुँदैछ भन्ने नै हो। तपाईं र म बस्ने समाजको यथार्थको भागीदार हुनबाट तपाईं अनि म पन्छिन सक्दैनौं। मैले कक्षा कोठामा गहुँगोरो अनुहार भएको सर र कालो अनुहार भएको सर पढाउन आउँदा विधार्थीहरुको समग्र मानसिकता देखेको छु। हामीले त्यो कुरालाई रमाइलो ठानेर गर्यौं होला, अचेत रहेर गर्यौं होला, नबुझेर गर्यौं होला तर अब घैटो भरिसकेको छ। अब यी पीडालाई पनि हामीले नबुझ्ने हो भने, हामीले यसको मूल्य चुकाउनुपर्नेछ। तसर्थ, मैले अहिले भइरहेको सम्पूर्ण घटनाको जिम्मेवारी लिनबाट पन्छिन मिल्दैन। मैले त्यो विभेदका निम्ति कति भूमिका खेलेको छु वा खेलेको छैन भनेर चुप बस्न वा उम्कन मिल्दैन।

यो देशमा मधेश मात्रै होइन, धेरै समुदाय हेपाइमा परेका छन्। बाहुनलाई पनि टुप्पी वा टपरी भनेर हेपिँदै आइएको छ। फेरि गुरुङ-राईलाई भोटे भनेर होच्याइन्छ। नेवारलाई ज्यापु भनेर हेपिन्छ। यो धेरथोर हरेक समाजमा हुने घटना नै हो। जहाँ-जहाँ जसको बाहुल्य छ, त्यहाँ-त्यहाँ त्यो समुदायले अल्पसंख्यामा रहेको समुदायलाई हेप्ने गरेको नकार्न सकिन्न। तर, त्यसले कति गहिरो असर पारेको छ, त्यसले समस्याको डिग्री निर्धारण गर्छ।

मधेशमै पनि "एक दु तीन, मङ्गरके दिन, साले पहरिया टोपी छिन्" भनेर मधेशले टोपी फालेको प्रत्येक दिन अपहेलना सहने मान्छे पनि मधेशमै पीडित छन्। स्कुल जाँदा-आउँदा बाटोमा कतिचोटि "पहरिया के टिकी तान्" भनेर टुप्पी तान्दा र छिर्के हानेर लडाइदिँदा नियति सम्झेर बाध्य हुँदै टुपी नै काटेका साथीहरुका आँशु समेत मैले पुछेको छु। समस्या मधेशीलाई मात्रै भएको भन्ने होइन। अहिले तराईमा आवाज मात्रै उठेको हो। तर जुन मानसिकताका कारण मधेशमा समस्या भएको हो, त्यो मानसिकता पहाडमा पनि छ। तराईमा पनि छ। केवल कहाँ बढी छ भन्ने नै हो। अब कहाँ बढी छ, किन बढी छ भनेर लेखाजोखा गर्ने समय गुज्रिसकेको छ। अब समाधानतिर जानुपर्छ।

हुम्ला, डोल्पाजस्ता भूभाग हाम्रै देशमा छ, जहाँ मोटर पुगेको छैन। नुनको लागि तड्पिनुपर्छ। सिटामोल त ठूलो कुरा हो। यो पनि त विभेद हो नि। म यहाँ अरु समस्या देखाएर मधेश समस्यालाई धमिलाउन खोज्दै छैन। तर, यी कुरा मधेशले पनि बुझ्न जरुरी छ। मधेश विभेदमा परेको सत्य हो। तर, मधेश मात्रै विभेदमा परेको असत्य हो। मधेश पीडामा रहेको सत्य हो। तर, मधेश मात्रै पीडामा रहेको असत्य हो। मधेशीलाई अन्याय भएको पनि सत्य हो तर मधेशीलाई मात्रै अन्याय भएको असत्य नै हो।

मधेशले त बरु बोल्न सकेको छ। तर, हाम्रो देशमा त्यस्ता समुदाय, जाति, वर्ग पनि छन् जसले आफ्नो पीडाको आवाज निकाल्नसमेत सकेका छैनन्। तसर्थ, अब मधेशले यी कुरा आत्मसात् गर्दै ती समुदायका लागि पनि समानुभूति राख्दै नेतृत्व लिन जरुरी छ। सद्भाव अभियान चलाउन जरुरी छ। बदलाको आन्दोलन हैन, प्रगति अनि समाधानको भद्र अभियानको नेतृत्व गर्न आवश्यक छ। त्यो तपाईंहरुको अभियानको साथमा पूरा पहाड हुनेछ। काठमाडौँ हुनेछ। मेरा पुस्ताका धेरै युवा हुनेछन् जसले तपाईंहरुलाई साथ दिँदै समता, आत्मसम्मानसहितको समृद्धिको बाटोमा मधेशलाई मात्रै नभई पूरै नेपाललाई हाँक्न तपाईंहरुलाइ साथ दिनेछ।

मैले बच्चामा सधैं “नेपाल”का बारेमा निबन्ध लेख्दै गर्दा, “हिमालको सेतो टोपी, पहाडको हरियो भोटो अनि तराईको पहेँलो धोती फेरेर बसेको मेरो देश संसारकै उत्कृष्ट देश हो” भनेर सुरु गर्थें। अब हामीले आफ्नो स्वाभिमान पनि बचाउनुछ। लाज पनि बचाउनुछ। त्यसैले टोपी र धोतीको सम्मान गर्नु, महत्व बुझ्नुको विकल्प छैन। अब टोपीको स्वाभिमान धोतीले बचाउनुपर्छ। धोतीको लाज टोपीले बचाउनुपर्छ। तसर्थ, तपाईं र म मिलेर सद्भावका साथ काम गर्नुको विकल्प छैन। समाधान नै साथ हो। सहकार्य हो। एकअर्कालाई बुझ्नु हो। एकअर्कालाई स्वीकार्नु हो।

संसारमा जुनसुकै समस्याको समाधान भनेको वार्ता नै हो। विश्वयुद्धदेखि गृहयुद्धसम्मको अन्तिम समाधान भनेको वार्ता नै हो। फरक यति हो, वार्ता टाउको फोरेर गर्ने कि टाउको नफोरी, बन्दुक चलाएर वार्ता गर्ने कि नचलाई, त्यो चाहिँ हाम्रो पुस्ताले निर्णय गर्नुपर्छ। आफ्नै दाजुभाइको रगत बगाएर समाधान खोजिनु विवेकयुक्त छैन। अहंकारले पतनको बाटो रोज्छ। त्यो बाटो रोक्नु हाम्रै दायित्व हो। अब पतनको बाटो रोक्न काठमाडौँले नेतृत्व लिनुपर्छ। अब, सद्भावको बाटो रोज्न मधेशले नेतृत्व लिनुपर्छ।

गत साता म दुईवटा विवाहमा गएको थिएँ। पहिलो विवाह एक जना नेवारको क्षत्रीसँग थियो। अर्को, मिश्रको नेवारसँग। दुवै विवाहमा हजुरबुवा पुस्ताको अनुहार केही मलिनो देखिए पनि, बुवा अनि काका पुस्ता भने त्यति दु:खी देखिएनन्। समाज बदलिँदै छ। समाजले विस्तारै एकअर्कालाई स्वीकार्न थालेको छ। गल्ती हजुरबुवाको पुस्ताले गरेका थिए। बुवा पुस्ता र काका पुस्ताले दोहोर्याएका थिए, त्यो गल्ती मेरो पुस्ताले सच्याउने छ। सच्याउँदै छ। यो रोगको आजको भोलि नै समाधान निकाल्न त सकिँदैन। कसरी निकाल्नु समाधान? आम नागरिकको व्यवहारको कुरा जो छ। सोचाइको कुरा जो छ। तसर्थ, यसका लागि कम्तीमा एउटा पुस्ता नै लाग्ने छ। तसर्थ, आजको आवश्यकता, धैर्य, गाम्भीर्य र सद्भाव नै हो भन्ने लाग्छ।

मलाई यी दल र यी राजनीतिक नेताहरुप्रति विश्वास छैन। न त जुन मूल समस्या हो त्यसको समाधान संविधान संशोधनबाट आउँछ भन्ने लाग्छ। तसर्थ, म एउटा पहाडीया आज मधेशलाई विनम्र अनुरोध गर्न चाहन्छु। यो बदलाको राजनीति, यो विभेदको राजनीति अन्त्य गरौं। सुरु म आफैंबाट गर्छु। म आफूले गरेको अनि मेरो पुर्खाले र मेरो पुस्ताले गरेको गल्तीको माफी माग्छु। हृदयदेखि नै दुई हात जोडेर माफी माग्छु। म महेन्द्रदाइहरुसँग माफी माग्न चाहन्छु। म मेरा मित्र जसको बुवाले बेइज्जती बेहोर्नुभएको थियो उहाँसँग अनि उहाँको बुवासँग माफी माग्न चाहन्छु। म मधेशका प्रत्येक नागरिकसँग माफी माग्न चाहन्छु। विस्तारै मिलेर यी कुराबारे म मेरो घरमा, मेरो टोलमा अनि मेरो समाजमा चेतना फैलाउँदै जानेछु अनि यो विभेदलाई अन्त्य गर्दै जानेछु। त्यसैले, मेरा दाजुभाइ दिदीबहिनीहरु मलाई क्षमा दिँदै मेरो पुस्तालाई समय दिनुहोला। मलाई तपाईंको राष्ट्रियतामाथि कुनै शंका थिएन। छैन। बरु, हाम्रो देशकै रक्षा तपाईंहरुबाट भैरहेको छ। आउनुहोस्, अब सद्भावको यात्रा सुरु गरौं। समय लाग्ला, लाग्छ तर मिलेर यो यात्रा तय गरौं। मबाट अनि तपाईंबाट यो यात्रा सुरु गरेर विस्तारै यो उत्पीडन, यो मनमुटाव अन्त्य गरौं। मिलेरै नेपाललाई समृद्ध बनाऔं।

हामी जुन समस्याबाट प्रताडित छौं, त्यसको समाधान संविधान संशोधन मात्रै होइन। समाधान त म हुँ। मेरो व्यवहार हो। मेरो मानसिकता हो। समाधान त मेरा मधेशका दाजुभाइहरु हुन्। उहाँहरुको व्यवहार हो। उहाँहरुको धैर्य हो। संविधान संशोधनसँगै २-४ सिट धेरै मधेशले पाउला। २-३ जना मुख्यमन्त्री होलान्। तर, समाधान त्यो होइन। समाधान त, मैले तपाईंको धोतीको आत्मसम्मान रक्षा गर्नु नै हो। समाधान त तपाईंले मेरो टोपीको आत्मसम्मान रक्षा गर्नु नै हो। तसर्थ, एक-अर्काको भाषा, संस्कृति, रहनसहन, चाडपर्वलाई बुझ्नु नै समाधान हो। पुरानो कुराहरुप्रति माफी माग्दै अघि बढ्नु नै समाधान हो। म मैले, मेरो पुस्ताले, मेरो समुदायले, मेरो पुर्खाले गरेको विभेदका लागि फेरि एकचोटि माफी माग्छु। म दुई हात जोडेर माफी माग्छु। अब समाधानको यात्रा सुरु गरौं। आँखाको बदला आँखाले त संसार नै अन्धो हुन्छ।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट