हिजो (बुधबार) साँझ घर फर्कंदा बाटोमा एउटा फुच्चे रक्ताम्य भएर लडिरहेको थियो ।
मुटु ढक्क फुल्यो । भिड लागिसकेको थियो । नजिकै गएर हेरेँ, कसैले छुरी रोपिदिएछ । उसको आन्द्रा नै बाहिर निस्केको थियो ।
हातखुट्टा फत्रक्क गले ।
एउटा सहृदयीले हतारहतार मोटरसाइकल ल्याएर फुच्चेलाई नजिकैको कान्तिपुर अस्पताल लैजान खोज्यो । घाइते ठिटो बाइकमा बस्नै नसक्ने स्थितिमा थियो ।
कसैले ट्याक्सी मगाएर लडिरहेको फुच्चेलाई हुल्यो र अस्पताल दौडायो ।
आठ बजेकै थिएन । बाटोमा मानिसहरूको घुइँचो थियो । रात मजाले परेकै थिएन ।
नजिकै होस्टलमा बस्ने त्यो फुच्चेलाई सानो रिसमा कसैले (सम्भवतः साथी नै) छुरी रोप्दिएछ ।
मातातीर्थ औंशीलाई हातमा फलफूलको पोको बोकेको थिएँ । ससानो निहुँमा छुरी नै रोप्न सिकेको नयाँ पुस्ताको शोकमा हातको फलफूल कतै हुर्याइदिऊँजस्तो लाग्यो ।
...
निजी स्कुलहरूलाई गाली गर्नुपर्ने थुप्रै कारण होलान्– चर्को फी, बेस्वादिलो खाना, कोचाकोच बस, कमसल पढाइ, विभिन्न शीर्षकमा रकम असुल्ने प्रवृत्ति ।
सूची लामै बन्नसक्छ ।
केही चिज यस्ता पनि छन् जसका लागि मसिना नानी पढाउने स्कुलहरूलाई धन्यवाद दिनैपर्छ ।
जस्तो कि मदर्स डे ।
आमाको गुणगान गाउन सयौं पृष्ठ पनि कम होलान् । यो सृष्टिमा हाम्रो आँखा खोलिदिने आमालाई सम्मान गर्न थिती बसाइएको आजको दिन मातातीर्थ औंशीको कथा लेख्न थाल्यो भने थुप्रै पृष्ठ भरिएलान् ।
तर, नानीहरूले ती कथा पढ्दैनन् ।
हो, स्कुलमा सरमिसले जे सिकाए, त्यो भने उनीहरूका लागि ढुंगाको अक्षर बन्छ ।
स्कुलहरूले गणित सिकाउँछन्, अंग्रेजी सिकाउँछन्, विज्ञान सिकाउँछन् तर संस्कार सिकाउँदैनन् । गुडमर्निङ, हेलो, ममीपापा भन्न सिकाउँछन् तर ठूलालाई सम्मान, सानालाई माया गर्न सिकाउँदैनन् ।
खुसीको कुरा, हिजोआज केही स्कुलहरूले थोरै सही संस्कार पनि सिकाउन थालेका छन् । ‘मदर्स डे’मा कार्ड बनाएर आमालाई दिनुपर्छ भन्ने पाठ पढाउन थालेका छन् ।
भर्खर २६ महिना पुगेकी मेरै छोरीले मातातीर्थ औंशीका दिन स्कुलबाट उसकी आमालाई ‘ह्याप्पी मदर्स डे’ लेखेको कार्ड लिएर आई । यहाँ राखिएजस्तै । बिहानै उसकी आमालाई भनी पनि, ‘ह्याप्पी मदर्स डे ।’
तीन साताअघि ‘प्ले ग्रुप’मा भर्ना भएकी ऊ आफैंलाई त के आउँथ्यो कार्ड बनाउन । सरमिसले सिकाए होलान् नि !
भनेपछि आमालाई सम्मान गर्नुपर्छ भन्ने संस्कार मातातीर्थ औंशीकै नाममा भए पनि सिकाउने स्कुलहरूलाई धन्यवाद नदिएर भयो ?
घरपछि संस्कार सिकाउने ठाउँ स्कुल हो । त्यहीमाथि हिजोआज दुई वर्ष पुगेका केटाकेटीलाई प्ले ग्रुपमै भए पनि स्कुल भर्ना गर्दिने चलन छ । बुबाआमाले भनेको नमान्ने केटाकेटी पनि सरमिसका वचन काट्दैनन् । बुबाआमाभन्दा कम छैन, सरमिसको महत्व !
बालबालिकाले नराम्रा कुरा त जहाँबाट पनि सिक्छन् तर उनीहरूलाई राम्रा कुरा सिकाउनैपर्छ । आमाको मुख हेर्ने दिनको महत्व ‘मदर्स डे’ भनेरै भए पनि केटाकेटीले सिके भने नयाँ पुस्ता सुसंस्कृत हुँदै जालान् ।
‘मदर्स डे’जस्तै स्कुल हरूले ‘फादर्स डे’, ‘टिचर्स डे’ पनि सिकाउन थालेका छन् ।
अहिले ‘मदर्स डे’मा कार्ड बनाउँछन्, ‘ह्याप्पी मदर्स डे’ भन्छन्, आमालाई एक थुँगा फूल दिन्छन् ।
बिस्तारै आमाको महत्व बुझ्न थाल्नेछन् । मसिनो बोल्न सिक्छन् । आदर गर्न जान्दछन् । माया गर्न थाल्छन् ।
...
आज बिहान हजामकहाँ कपाल काट्दै थिएँ ।
बंगाली हजामकी नेपाली छोरी कुद्दै आई र बुबाको कानमा खुसुखुसु केही भनी । मेरो हजाम हाँस्यो र छोरीलाई भन्यो, ‘ल ल, हुन्छ हुन्छ, स्कुल जाऊ ।’
नेपालीसँग बिहा गरेको बंगाली हजामकी चार वर्षजतिकी छोरी स्कुल ड्रेसमा छुनुमुनु देखिएकी थिई । बुबाले हुन्छ भनेपछि ऊ खुरुर्र कुदी र अलप भई ।
मैले उत्सुकतावश हजामलाई सोधेँ, ‘के भनेकी छोरीले ?’
हजामले एकछिन कपाल काट्न छाड्यो र भन्यो, ‘उसको ममीलाई मदर्स डेमा चक्लेटमात्र दिएर हुन्न रे, गिफ्ट प्याकेट नै दिनुपर्छ रे, स्कुलबाट फर्कंदा किन्दिराख्नू है भनेकी ।’
मेरो मुटु ढक्क फुल्यो ।
मेरो हजामले छोरी पढाउने भित्री सहरको सानो स्कुलमा पनि मदर्स डेको पाठ राम्ररी पढाउँदा रहेछन् भनेर थाहा पाउँदा मन चंगा भयो ।
स्कुलहरूले बिस्तारै ‘फ्रेन्डसिप डे’ सिकाउलान्, साथीको महत्व पनि सिकाउलान् ।
गल्लीहरूमा साथीसाथीबीच छुरीकाण्ड पनि नहोला ।
ह्यापी मदर्स डे !