'आइमाई केटाकेटी' कति मायालु कति न्यानो सम्बोधन, यसै हलुका किसिमले सोच्दा।
'आइमाई केटाकेटी यसरी एक्लै-दुक्लै हिँड्न हुन्न...' कति सुरक्षाको अँगालोले बाँधिएको सम्बोधन, यसरी नै हलुका किसिमले सोच्दा।
'आइमाई केटाकेटी भएर बढ्ता हाँस्न बोल्न हुन्न,' कति अपमानजनक सम्बोधन, अझ गहिरिएर सोच्दा।
'आइमाई केटाकेटी भएर बढ्ता जान्ने हुनुहुन्न,' कति दमनकारी सम्बोधन गहिरिएर सोच्दा।
यो 'आइमाई केटाकेटी' भन्ने शब्ददेखि नै घृणा भएर आउँछ मलाई। सुन्दा मायालु बुझिने यस सम्बोधनमा कति हीनता, कति अवहेलना, कति शोषण र कति अपमान लुकेको छ।
सृष्टिको आदिकालदेखि नै वात्सल्य र ममताको गुणले सुसज्जित नारी जातिमा शारीरिक मानसिक अजस्र शक्तिको स्रोत लुकेको छ। यिनै नारी जातिको गुण र क्षमताले आदिम मानव समाजको ढाँचाकाँचा तयार भएको तथ्य ईतिहासले बताउँछ। समाज पितृसत्तात्मकतातर्फ उन्मुख हुन थालेपछि पुरूषहरूले नारी जातिलाई विस्तारै घरभित्र बजार्दै ल्याए र 'शक्तिहीन र क्षमताहीन छस्' भनी विस्तारै हेप्दै, शोषण गर्दै ल्याए। नारी जाति क्रमशः परास्त हुँदै आए अन्धविश्वास रुढी र संस्कारहरूमा साँघुरो भएर अस्तित्व धान्दै आए, आत्मविश्वासहरू चिहान पार्दै आए। आज विश्वभरि नै नारी जाति कतै पूँजीवादीका हत्केलामा छन् भने कतै सामन्तवादको पैतालामुनि। लाखौं वर्षको शोषणले यस शक्तिशाली र क्षमताशील स्त्रीलिङ्गलाई मनोवैज्ञानिक रुपले परास्त हुन यसरी बाध्य तुल्याए कि, हामी साँच्चै शक्तिहीन लिङ्ग हौं भनी सोच्न थाल्यौं। तर, सत्य यसको ठीक उल्टो छ। वैज्ञानिक रुपमा समाज यति अघि बढिसक्दा पनि समाजको एकथरी मिचाहा पुरूष वर्गले नारी जातिलाई सधैं अपमान गरेको छ। सधैं यस्ता भनाइहरू फैलाइदिएको छ, जसले नारी जातिलाई आफ्नो शक्तिबोध र अस्मिताबोध हुनदेखि बञ्चित राख्छन्।
यस विशाल र व्यापक विषयलाई अलिकति अथवा एकै झमटमा अभिव्यक्त गरेर सकिँदैन। त्यसैले, स–साना प्रसंगहरुबाट जाऊँ।
हामी आधी आकाश माग्छौं तर समाजका एकथरी स्वार्थी पुरूष वर्गले हामीलाई आधी इन्च पनि दिन चाहँदैनन्। 'आइमाई केटाकेटी' भनेजस्तै नेपाली सामन्तवादी समाजमा नारी जातिलाई लिएर यति धेरै असभ्य र अपमानजनक उखानहरु छन्, जसले हाम्रो शीर ठाडो गर्न कहिल्यै दिँदैन। आधी आकाश चाहनेहरूले भाषामा, साहित्यमा तथा बोलचालमा पनि यस्ता उखानहरूको वहिष्कार गर्नुपर्छ।
निमुखाहरूको बीचमा गएर पनि यस्ता उखानहरू सविस्तार व्याख्या गरिदिएर आपसमा यस्ता उखानहरूको आदान–प्रदान गर्न छोडाउन सक्नुपर्छ।
नेपाली भाषामा यति धेरै यस्ता उखानहरू छन्, जसले सधैं पुरूषहरूलाई उठाउने र नारी जातिलाई होच्याउने अर्थ मात्र दिन्छन्। कतै–कतै महिलाहरू पनि यस्ता उखानहरु रुचि लिएर प्रयोग गर्ने गर्छन् तर त्यो हाम्रो दोष होइन। त्यो त पुरूष हैकमवाला समाजले युगौंदेखि हामीमा थोपरिदिएको संकीर्णताबोधको संस्कार हो। जतिसुकै संकीर्ण बन्ने वातावरणको काँडेबार हालेर धेरैपछि हामीमा संकीर्ण दृष्टिकोणको प्रादुर्भाव हुनु कुनै अस्वाभाविक होइन। तर, अब परिवर्तनकारी इतिहास अघि बढिसकेको छ। त्यसैले, जान्ने सुन्नेहरूको मौनता एकदमै सामयिक ठहरिँदैन।
सधैंभरि शोषणको कोलमुनि पेलिएका स्वास्नीमान्छेहरूलाई उनीहरू भन्ने गर्छन्, 'बाख्रा सम्ममा चर्दैन, आइमाई सुखमा बस्दैन।'
सुख दिँदै नदिएपछि सुखमा बस्ने कहाँ? यसको अर्थ यसरी लाग्छ। तर, यो उखानलाई पुराणहरु बडो अपमानजनक स्थितिमा प्रयोग गर्छन्। 'बाघको हजार गुँड' र 'खुट्टा भए जुत्ता जति पनि आउँछ', यी उखानहरूमा कति अपमान लुकेको छ। के स्वास्नीमान्छेहरू पुरूषको जुत्ता मात्र हुन्, उनीहरुले जति चाहे पनि फेर्न सकिने? यस्तो उखान प्रायः पाइँदैन, जसमा लोग्नेमान्छेहरुलाई हेय तुल्याइएको होस्। यहाँ म केही यस्ता उखानहरु प्रस्तुत गर्न चाहन्छु, जहाँ पुरूष कतै पनि पर्दैन र उखानहरु स्वास्नीमान्छेहरुलाई लिएर साह्रै असभ्य र विभत्स छन्। 'काम पाएन बुहारी पाडाको...', 'कुन्ताकी बुहारी भटमास खाएकी'... 'ठाउँ न ठहर बूढीको रहर', 'घ्यु न तेल पका बुढी सेल', 'हिस्स बुढी हरिया दाँत', 'चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी', 'रातभरी रुङ्यो बुढी ज्यूँदै', 'छोरी कुटेर बुहारी तर्साउनु', 'सौताको रिसले पोईको नाक काट्नु', 'हुँदा जोगी ख्वाई, नहुँदा राँडी रुवाई', 'गरीबलाई दिन्छु नभन्नु, राँडीलाई लान्छु नभन्नू' आदि–आदि।
निराश्रित, एकलास भइसकेका बुढी आमैहरुलाई अथवा निराश्रित एक्ली विधवाहरूको यस्तो अपमान किन? महिला मुक्तिका हिमायतीहरुले पनि यसतर्फ ध्यान दिन आवश्यक छ।
(पारिजातको यो निबन्ध २०४८ सालमा प्रकाशित 'आधी आकाश' निबन्ध सङ्ग्रहमा सङ्कलित छ। हामीले फिनिक्स बुक्सले बजारमा ल्याएको 'पारिजातका सङ्कलित रचना ग्रन्थ छ'बाट साभार गरेका हौं।)