वैकल्पिक धारको राजनीतिबारे

चुनाव
  • Get News Alerts

tata

 

भारतीय स्वतन्त्रता संग्रामका एक हस्ती सी राजागोपालचरीले राष्ट्रिय स्वतन्त्रताको १२ वर्षपछि १९५९ मा काँग्रेस पार्टीबाट अलग भएर स्वतन्त्र पार्टी खोले। १९६२ र १९६७ का आम चुनावहरुमा देशभरमा क्रमशः ६.८ र ८.७ प्रतिशत मत तथा १८ र ४४ सिट ल्याएको तथा १९६७ को चुनावपछि संसदमा सबैभन्दा ठूलो प्रतिपक्षी दल बनेको स्वतन्त्र पार्टी १९७२ मा राजागोपालचरीको देहान्त भएसँगै तीव्र गतिमा खस्केर गयो। अहिले भारतको राजनीतिक वृत्तमा उक्त पार्टी झण्डै बिर्सिइसकेको छ।

तर १९५९ मा इण्डियन नेशनल काँग्रेसको समाजवादी अर्थनीतिको कडा विरोध गरेर त्यसलाई टक्कर दिन खूल्ला बजार अर्थनीतिको वकालत गरेका राजागोपालचरी उनको मृत्यूको डेढ दशकपछि सही ठहरिएः उनले पार्टी खोलेको तीन दशकपछि नेहरुले व्यवहारमा ल्याएको राज्य–केन्द्रित अर्थतन्त्रलाई ‘सुधार’ गर्दै भारतले खूला बजार अर्थनीति अँगाल्यो। विविध चुनौती र समस्यका बाबजुद त्यो सुधारले भारतीय अर्थतन्त्रलाई नयाँ गति र उचाइ दिएको र भारतलाई उदीयमान एशियाली शक्ति बनाएकोमा अहिले कसैलाई दुविधा छैन।

जुन बेला राजागोपालचरीले नेहरुलाई चुनौती दिंदै अर्थतन्त्रमा खूलापनको वकालत गरे, त्यो बेला त्यो सजिलो काम थिएन। सिंगो विश्व पुँजीवादी र साम्यवादी गरी दुई कित्तामा विभाजित थियो र दुई पक्षबीच यस्तो बहुआयमिक टक्कर थियो कि अमेरिका भन्दा अगाडि सोभियत संघले अन्तरिक्षमा मानिस पठाएको थियो। भूराजनीतिक हिसाबले समेत भारत सोभियत संघको निकट थियो र १९६२ को भारत–चीन युद्धभन्दा अगाडि माओ–शासित चीनसित भारतको धेरथोर मैत्रीपूर्ण सम्बन्ध थियो। विश्वभर पिछडिएका समुदायहरुले साम्यवादी क्रान्तिलाई मुक्तिको उपायका रुपमा हेर्थे।

एक हिसाबले त्यो बेलाको भारतमा खूला अर्थतन्त्रको वकालत गर्नु अहिलेको भारतमा राज्य–नियन्त्रित अर्थतन्त्रको वकालत गर्नुजस्तै दुरुह थियो।

तर इतिहासकारहरु र अर्थशास्त्रीहरु अहिले भन्छन्ः भारतको सत्ताले १९५९ मा राजागोपालचरीको कुरा सुनेको भए वा नेहरुको मृत्यूपछि १९६४ मा प्रधानमन्त्री बनेर डेढ वर्ष मात्र शासन गरेका काँग्रेसकै अर्का नेता लाल बहादुर शास्त्री अरु केही वर्ष बाँचेर अर्थतन्त्रमा राज्यको नियन्त्रण थप खुकुलो पार्न सकेको भए आज भारतको अवस्था अर्कै हुने थियो।

नेपालमा वैकल्पिक धारको राजनीतिबारे बहस भइरहँदा भारतमा स्वतन्त्र पार्टीको 'लिगेसी' याद गर्नु उचित हुन्छ।

के वैकल्पिक राजनीतिक शक्तिहरुको ‘स्कोप’ छ?

परम्परागत राजनीतिक दलहरुभन्दा पृथक् हिसाबले राजनीतिक संगठन शुरु गर्ने कुरा उठ्दा अहिले त्यस्तो प्रयासप्रति कटाक्ष गर्ने मानिसहरु धेरै छन्। उनीहरुका तर्कहरुमध्ये केही यस्ता छन्ः

एक, देशमा जति खराबी छ, त्यो सबैको केन्द्र बिन्दु वा आहाल बनिसकेको राजनीतिमा केही नैतिकवान वा स्वच्छ मानिस हाम फाले भने प्रणाली सुध्रिंदैन, बरु हाम फाल्ने व्यक्ति बिग्रेर जान्छ।

दुई, राजनीति भनेको तर्क र इमानले चल्दैन। नेपालका धेरै मतदाता जन्मजात रुपमा यो वा त्यो पुरानो राजनीतिक दलसित आबद्ध छन्, त्यसैले नयाँ दल खोल्ने मुर्खता नगरेकै बेस।

तीन, राजनीति भनेको पूर्णकालीन रुपमा त्यसैमा जीवन होम्न तयार मानिसहरुका लागि मात्र हो त्यसैले आफ्नो पेशा वा व्यवसायलाई निरन्तरता दिन चाहनेहरुले राजनीतिको सोख नराखेकै राम्रो।

चार, देशलाई माथि लगाउने हो भने गर्न सकिने अनेक कामहरु छन् त्यसैले जो जेमा राम्रो छ, त्यसैमा लागिराखेको राम्रो। अनुभव नभएका मानिसहरु राजनीतिमा लागेर त्यसबाट समाजले उल्लेख्य उपलब्धि हासिल गर्दैन।

यी सबै तर्कहरुमा कतै न कतै सत्यताको अंश छ तर यी एक्ला एक्लै वा सबै मिलाएर पनि पूर्ण सत्य पटक्कै हैनन्।

एक, असल नियत र सुधारको इच्छाशक्ति हुनेहरु राजनीतिको आहालमा हाम फाल्दा त्यसमा सुधार नहुने सम्भावनालाई नकार्न सकिंदैन (उसो त मानिसले जीवनमा गर्ने कुनै काम पनि सफल हुन्छ भन्ने ग्यारेन्टी शुरुमै हुँदैन) तर त्यस्ता मानिसहरु हाम नफाल्ने हो भने, खास गरी राजनीतिमा दुराचार र अपराध संस्थागत भइसकेको समाजमा, राजनीतिको त्यो आहाल कहिल्यै नसंग्लिने ग्यारेन्टीचाहिं हुन्छ।

सुधार र परिवर्तनका लागि राजनीतिमा हाम फाल्नु भनेको तिनको ग्यारेन्टी गरेर हैन कि तिनको सम्भावनाको ढोका खोल्नलाई हो। आफू हाम फाल्दाबित्तिकै जादुको छडीले झैं सुधार हुने अवस्था आओस्, अनि हाम फालौंला भनेर बस्यो भने त्यस्तो अवस्था कहिल्यै आउने छैन। त्यसैले आहालमा हाम फाल्ने जोखिम उठाउने मानिसहरुलाई ‘तिमीहरु बिग्रेर जाउला तर समाज सप्रिंदैन’ भन्नु भनेको अहिलेको ज्यादतीपूर्ण यथास्थितिको पक्षपोषण गर्नु हो जहाँ मुठ्ठीभर मानिसहरुबाहेक कसैको पनि भलाइ छैन।

दुई, आम रुपमा मानिसहरुलाई आफूले अँगालेको दलप्रतिको वफादारी त्याग्न गाह्रो छ भन्ने कुरा साँचो हो। तर पहिलो र दोस्रो संविधान सभाको चुनावमा अनिर्णीत मतदाता वा ‘स्वीङ भोटर’हरुको प्रभावले जसरी नतिजा पूरै फरक देखियो, त्यो हेर्दा दलीय वफादारी हाम्रो समाजको महत्वपूर्ण विशेषता हुँदाहुँदै पनि आम रुपमा आँकलन गरिए जति गहिरो नहुने देखिन्छ। त्यसमाथि पनि अहिलेसम्म परम्परागत राजनीतिक दलहरुको कार्य सम्पादन र त्यसले समाजलाई खाडलमा पार्दै गएको कुरा आम मानिसलाई बुझाउन सक्ने हो भने त्यसले मानिसहरुको चुनावी मनोविज्ञानमा अर्कै प्रभाव पार्न सक्छ।

जहाँसम्म मूलतः पेशा वा व्यवसायमा रहेका मानिसहरुको आडमा चलाइएको पार्टीले पूर्णकालीन नेता र कार्यकर्ताहरु भएका दलहरुसित प्रतिस्पर्धा गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न छ, यसको अन्तिम उत्तर अझै विश्वका अरु धेरै समाज र मुलुकहरुमा पनि आइसकेको छैन।

कति ठाउँमा अल्प र मध्यकालमा त्यस खालका वैकल्पिक राजनीतिक शक्तिहरुले राम्रै प्रदर्शन गरेका छन् भने अन्यत्र त्यस्तो छैन। त्यसबाहेक, समाजका अरु धेरै कुराहरुजस्तै समाजको कुन हिस्साले राजनीतिमा वर्चस्व जमाउने भन्ने कुरा पनि समयसँगै बदलिंदै जाने कुरा हो। अहिलेसम्म खास प्रक्रियाको नतिजा राम्रो छैन त्यसैले अब त्यो अपनाउनु हुँदैन भन्ने तर्कमा त्यसैले खास दम छैन। साथै, समाजमा सबैले आ आफ्ना पेशागत क्षेत्रमा राम्रो गर्ने हो भने समाज र देश आफैं राम्रो भइहाल्छ भन्ने कुरामा पनि आंशिक सत्यता मात्र छ। राजनैतिक प्रणाली औसत स्तरमा भएर ठिकठिकै काम गर्दासम्म त्यो कुरा सही हो तर सीमित भ्रष्ट र अपराधीहरुले सिंगो राजनीतिक मेशिनलाई नै बन्धक बनाएका समाजहरुमा आम नागरिकहरु पेशागत रुपमा जति उत्कृष्ट भए पनि समाज अघि बढ्ने बाटो छेकिएकै हुन्छ। त्यस्ता समाजमा कसको नेतृत्वमा परिवर्तन आउनुपर्छ भन्ने बहसको विषय होला तर यथास्थितिले पुर्याउने भनेको थप गरिबी र कंगालीकरणतिरै हो।

वैकल्पिक धारको राजनीतिका चुनौती

यो टिप्पणीको शुरुमा मैले एउटा झण्डै बिर्सिइसकेको राजनीतिक दलको उदाहरण दिनुको खास अर्थ छ। अहिले फरक किसिमको राजनीतिको कुरा गर्दा भारतको आम आदमी पार्टीलाई उदाहरणको रुपमा पेश गर्ने गरिन्छ तर फरक राजनीतिको मानकका रुपमा मेरो विचारमा केजरीवालको आम आदमी पार्टीभन्दा राजागोपालचरीको स्वतन्त्र पार्टी बढी उचित छ।

आम आदमी पार्टी जसरी स्थापनाको छोटो समयमै प्रदेशस्तरको चुनावमै भए पनि भारी बहुमतले जितेर सत्तामा पुग्यो, त्यो त्यस खालको राजनीतिक परिवेश र दलका लागि अपवाद थियो। दीर्घकालमा सो पार्टीले भारतमा कति सफलता हात पार्छ, त्यो हेर्न बाँकी नै छ तर यसपछि हुने प्रादेशिक र केन्द्रीय चुनावहरुमा ऊ सफल हुँदै गयो भने पनि भारतमा त्यस खालको राजनीतिक प्रयोग अझ चासो लाग्दो र उल्लेखनीय अपवादकै रुपमा रहनेछ, अन्यत्र सहजै पछ्याउन सकिने मोडलका रुपमा विकास हुने छैन।

हाम्रो सन्दर्भमा आम आदमी पार्टीलाई किन यसरी याद गर्नुपर्यो भने, उसलाई मानक बनाएर अन्यत्र कहीं पनि शुरु गरिएको वैकल्पिक राजनीतिक शक्तिले त्यसरी नै लगत्तै हुने चुनावमा सफल भएन भने त्यसले निराशा र दिग्भ्रम सिर्जना गर्छ।

आम आदमी पार्टीलाई बारम्बार अपवाद किन भनिएको त? किन भने, सन् २०१२ को भारतमा एएपी जति नयाँ र अपत्यारिलो शक्ति थियो, सन् १८८५ मा इण्डियन नेशनल काँग्रेस (आइएनसी), सन् १९५९ को स्वतन्त्र पार्टी र सन् १९८० मा बीजेपी त्यति नै नयाँ र अपत्यारिलो थिए। त्यसैले अहिले एएपीको मूल्यांकन गर्दा अहिलेको विश्वमा उस्तै किसिमले आएका वा आउन खोजेका वैकल्पिक शक्तिहरुसित मात्र तुलना गरेर पुग्दैन, त्यसो गर्दा हामी निचोडमा पनि पुग्न सक्दैनौं किनकि वैकल्पिक भनिएका विभिन्न दलहरुले दीर्घकालमा ती समाजहरुमा कस्तो प्रभाव छाड्छन् अझै टुंगो लागेको छैन। त्यसको एउटा अर्थ के भने, इण्डियन नेशनल काँग्रेसले जसरी ब्रिटिशविरोधी स्वतन्त्रता आन्दोलनका क्रममा खारिएर भारतीय उपमहाद्वीपभर जरा गाड्यो, भाजपाले जसरी काँग्रेसको गिर्दो साखबीच साम्प्रदायिकताको छाल उरालेर आफैंलाई स्थापित गर्यो, त्यस्तै खालका समाजलाई जरैदेखि हल्लाउने प्रक्रियाहरु नभइकन नयाँ राजनीतिक शक्तिहरु दिगो रुपमा स्थापित हुन सक्दैनन्। तत्काल भारतका विभिन्न भागहरुमा फैलावट बढाउन सके पनि अझै एएपीलाई भारतीय समाज र आम मनोविज्ञानमा आफ्नो उपस्थितिको गहिराइ बढाउने चुनौती कायमै छ। 

र त्यो काम समाज ठूलो परिवर्तन वा उथलपुथलबाट गुज्रिरहेको समयमा जति सहज हुन्छ, अन्य बेला त्यस्तो हुँदैन। खास गरी शहरी मध्यम वर्गलाई उद्वेलित गर्ने अन्ना हजारेको अभियान नचलेको भए केजरीवाल र उनको दलको यस खालको आगमन हुने सम्भावना थिएन। तर दिगो राजनीतिक शक्तिका रुपमा स्थापित गर्नका लागि अब एएपीलाई हजारे नेतृत्वको अभियानको लिगेसी पनि काफी छैन।

त्यसबाहेक, पहिलेकाभन्दा फरक वा वैकल्पिक भनिए पनि सबै जसो नयाँ राजनीतिक शक्तिहरुले सामना गर्नु पर्ने चुनौती र गुज्रिनुपर्ने जटिलताहरुमा निश्चित हदसम्म समानता हुन्छ। त्यसैले अहिले आउन प्रयासरत वैकल्पिक राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा विभिन्न राजनीतिक दलहरुका विगतका भोगाइ महत्वपूर्ण हुन आउँछन्।

अब आउन खोज्ने फरक धारको राजनीतिले महसुस गर्नुपर्ने पहिलो कुरा के हो भने, आधारभुत रुपमा सफल राजनीति भनेको असम्भवलाई सम्भव तुल्याउने कला हो। सामान्य वा औसत इच्छाशक्ति र लगाव भएको नेतृत्वबाट यो सम्भव हुँदैन। नेपालमा बसेको मानिसले यो कुरालाई पुष्टि गर्न टाढा जानु पर्दैन।

असामान्य इच्छाशक्ति र लगाव भएका मोहनदास गान्धी, जवाहरलाल नेहरु, वल्लभभाइ पटेल, सी राजागोपालचरी जस्ता मानिसहरु भारतीय समाजबाट निस्के र नै त विशाल, एकीकृत र लोकतान्त्रिक भारत सिर्जना भयो र टिकिरह्यो, जर्ज वाशिंटन, थोमस जेफर्सन र जोहन आडम्सजस्ता व्यक्तिहरुको नेतृत्वबाट संयुक्त राज्य अमेरिका जन्म्यो। त्यस्तै इच्छाशक्ति र लगाव भएका बीपी कोइराला, सुवर्णशमशेर र गणेशमान सिंहजस्ता नेताहरु नेपाली समाजबाट निस्के र नै त नेपाल राणा र राजाको तानाशाही व्यवस्थाबाट मुक्त भयो। त्यसरी नै ली क्वान यू र महाथिर मोहमदको नेतृत्वमा क्रमशः सिंगापुर र मलेसियाले आफूलाई समृद्ध बनाए।

यीमध्ये धेरै देशमा, र खास गरी नेपालमा अहिले जुन नेतृत्व छ, त्यसलाई भारतीय इतिहासकार रामचन्द्र गुहाका शब्द सापटी लिएर भन्दा माथि उल्लेख गरिएका नेताहरुको फोटो कपीको फोटो कपीको फोटो कपी भन्न सकिन्छ जसबाट समाजले छलाङ लगाएर अघि बढ्नु त कता कता ठूलो दुर्घटनातिर जानुबाट रोकिने सम्भावना समेत न्यून देखिन्छ। तिनले समाज र देशको नेतृत्वको मानक यति गिराएका छन् कि पटके चोर वा त्यस्तै खालको सामान्य अपराधीमा भन्दा तिनमा कम नैतिक बल छ।

त्यसैले अहिले फरक खालको राजनीति गर्न चाहनेले नेपालमा अहिले नेतृत्वमा रहेका मानिसहरुसँग आफूलाई तुलना गरेर वा उनीहरुभन्दा राम्रो बनेर पुग्दैन। चुनौतीकै कुरा गर्दा, आजभन्दा सात दशक अगाडि बीपी वा गणेशमानका सामू देशलाई लोकतान्त्रीकरण र समृद्धितिर लैजान जति चुनौती थिए, फरक राजनीति गर्न चाहनेहरुका अगाडि अहिले तीभन्दा कम चुनौती छैनन्। त्यसैले अब नेपालमा इमान्दारीपूर्वक राजनीतिमा छिर्नेहरुले आफ्नो मानक बीपी वा गणेशमानलाई बनाउनुपर्छ, अहिले शक्तिमा रहेका, चार पल्ट फोटो कपी गरिएका तिनका उत्तराधिकारीहरुलाई हैन।

त्यसो भन्नुको अर्को अर्थचाहिं के हो भने, समाजमा आकार लिन खोजेको कुनै पनि नयाँ राजनीतिक शक्तिसामू दुई विकल्प हुन्छन्ः एक, समाजलाई जकडेर पिछडिएको अवस्थामा राखेका र विभिन्न किसिमले विभाजित गरिराखेका जुन अनेक समस्या र विभाजन रेखा हुन्छन्, तिनलाई बेवास्ता वा छोपछाप गरेर छिटो सत्तामा पुग्ने प्रयास गर्ने। यस्ता पात्र र शक्तिहरु नेपाल र अन्यत्रको इतिहासमा बग्रेल्ती पाइन्छन्। इतिहास जस्तो भए पनि अहिले नेपालमा कायम धेरै जसो राजनीतिक शक्तिहरु यही दौडमा छन्। तिनलाई समाजलाई संकट वा दुर्घटनामा पार्ने निश्चित भएका समस्या र विग्रहको अवस्था समाधान गर्नुभन्दा आफू सत्ता र शक्तिमा पुग्नु धेरै महत्वपूर्ण छ।

अर्को विकल्प भनेको राजनीतिलाई समाजमा कायम तमाम समस्याहरु, विग्रह र ध्रुवीकरणलाई समाधान गर्ने, समाजलाई आधारभूत रुपमै स्वस्थ र गतिशील बनाउने हतियारको रुपमा लिने र सत्ता वा शक्तिमा पुग्नुलाई पहिलो प्राथमिकतामा नराख्ने । इतिहासमा जति पनि सम्मानित राजनेताहरु छन्, उनीहरु सबैले यही बाटो अँगालेका छन्। यदि उनीहरुमध्ये धेरै सत्तामा पुगेका छन् भने दशकौंको त्याग, तपस्या र बलिदानपछि पुगेका छन्।  

गजब त के भने, उनीहरुले आफ्नो समयमा लिएका अडान र मान्यताहरु कहिल्यै पनि सर्वस्वीकार्य थिएनन् र उनीहरुका समर्थक र विरोधीहरुको अनुपात झण्डैझण्डै उस्तै रहेको थियो, भलै समयले, ख़ास गरी उनीहरुको मृत्युपछि, उनीहरुको दूरदृष्टिको कदर गर्यो। मानिसहरुबीच लोकप्रियताका लागि मरिमेटेर ठूलो राजनीतिक दल बनाउनपट्टि मात्र लागेको भए र अहिलेको विश्वका धेरै नेताहरु झैं भीडको मनोविज्ञानबाट निर्देशित भएको भए गान्धीले कहिल्यै जातीय विभेदको विरुद्ध अनवरत संघर्ष गर्ने थिएनन्, महिला सशक्तीकरणका लागि लड्ने थिएनन् र अन्तर्धार्मिक सहिष्णुता र समन्वयका लागि दशकौं खर्च गर्ने थिएनन्। पछिल्लो अडानका लागि त उनले आफ्नो ज्यान समेत गुमाउनुपर्यो।

त्यसैले, यो आलेखको ‘थेसिस’ के हो भने, समाजलाई बदल्ने आकांक्षा पालेको राजनीतिको लक्ष्य निश्चित मूल्य मान्यताहरुका आधारमा समाजलाई संकटबाट बाहिर निकाल्ने, गति दिने, राज्यमा संस्थागत भएका अन्याय, असमानता, विभेद र अपराधजस्ता कुरालाई अन्त गर्ने र समग्रमा समाजलाई आधारभूत रुपमै स्वस्थ र गतिशील बनाउने हुनुपर्छ। त्यसो गर्दा तत्काल अलोकप्रिय लाग्ने अडानहरु समेत लिनुपर्छ, त्यस्ता अडानको औचित्य निरन्तर पुष्टि गरिरहनुपर्छ र आफूले देखेको समाजलाई मुक्त गर्न सक्ने मूल्य र मान्यताहरुमा सिंगो समाजलाई नै ढाल्ने अभ्यास गर्नुपर्छ। त्यसका कारण सत्ता र शक्तिमा पुग्ने सम्भावना उल्लेख्य रुपमा टर्छ भने त्यसका लागि पनि त्यस खालको राजनीतिक शक्ति तयार हुनुपर्छ। वास्तवमा त्यस्ता राजनीतिक दलको सफलता वा असफलताको कसी भनेको सत्तामा पुग्नु वा नपुग्नु नभई समाजलाई त्यसरी उसले ढाल्न वा डोर्याउन अर्थात अगाडीबाट नेतृत्व दिन सक्छ कि सक्दैन भन्ने हुनुपर्छ।

गाह्रो कामचाहिं के भने, त्यस्तो कामका लागि भीडबाट डोरिने हैन कि आम मानिसले सोच्न सक्नेभन्दा निकै अघि बढेर सोचेर, निक्र्योलमा पुगेर समाजलाई अगाडिबाट दिशानिर्देश गर्न सक्ने अवस्थामा नेतृत्व हुनुपर्छ। नेतृत्वमा ठूलो त्याग र तपस्या चाहिने नै त्यसै कारणले हो। त्यस हिसाबले आसन्न चुनावमा कस्तो प्रदर्शन गरिएला भनेर चिन्तित राजनीतिक शक्तिभन्दा आजभन्दा ५० वर्षपछि वा अब आउने तेस्रो पुस्ताले हामीले गरेको राजनीतिलाई कसरी मूल्यांकन गर्ला र यसले त्यस्तो दीर्घकालीन छाप छाड्न सक्ला कि नसक्ला भनेर चिन्ता गर्ने राजनीतिक शक्ति निकै अघि बढ्ने सम्भावना हुन्छ।

खास गरी वैकल्पिक धारको राजनीतिका लागि नेतृत्वमा अहिलेको अवस्थामा अपवादै भन्न मिल्ने दुरदृष्टि, धैर्यता र इच्छाशक्ति आवश्यक हुन्छ। नेपालकै कुरा गर्दा, सुशासन र समृद्धितिर अब फड्को मार्नुपर्छ भन्नेमा कसैलाई दुविधा छैन तर त्यो फड्को मार्ने बलियो धरातल कसरी बन्ने हो? देशलाई अहिले अस्तव्यस्त बनाएका विभिन्न विग्रह र विभाजनहरुको गहिराइ कति छ र तिनको पिंध कहाँ छ? तिनलाई छोपछाप नगरी जरैदेखि समाधान नगरी के अघि बढ्नु सम्भव छ? समय लगाएर, अलोकप्रिय र मानिसहरु ध्रुवीकृत हुने अनि दुश्मनी कमाइने अडानहरु समेत लिएर तिनलाई समाधान गर्ने बाटो सही हो कि तिनलाई नदेखेजस्तो गरेर अघि बढ्ने बाटो सही? राजनीतिको प्राथमिक लक्ष्य समाजलाई गाँजेर दलदलमा राखिरहेका समस्याहरुको दशकौंसम्म लाग्ने धैर्यतापूर्ण समाधान हो कि सम्भव भए जति छिटो सत्तामा पुगेर त्यहाँबाट दिन सकिने सुशासन र समृद्धि?

यी प्रश्नहरुको उत्तर मसँग छैन। यिनको उत्तर खोज्नमा बांकी जीवन होम्न पनि म व्यक्तिगत रुपमा अहिले तैयार छैन। त्यसबाहेक दलीय राजनीतिभन्दा बाहिर नागरिकका हैसियतले हामीहरुले शुरु गरेका समाजलाई प्रभावित गर्ने केही अभियानहरु अझै अधुरा छन् र देशको राजनीतिक माहोल देख्दा स्वतन्त्र नागरिकका तर्फबाट राजनैतिक नेतृत्वलाई गरिने खबरदारीको महत्व अबका दिनमा झनै बढेर जाने देखिंदैछ। यी दुई कारणले व्यक्तिगत रुपमा म त्यही, जुन कुनै शक्ति केन्द्रतिर औंला तेस्र्याएर खबरदारी गर्ने, स्वतन्त्र नागरिकको भुमिकामा रहिरहने निधो गरेको छु। 

फरक किसिम वा धारको राजनैतिक अभियानमा यस अघि होमिइसकेका र अहिले होमिने घोषणा गरेका सबै साथीहरुमा मेरो शुभकामना छ र एउटा सुझाव पनिः जुन दिन वैकल्पिक धारको राजनीतिले सुशासन र समृद्धिको सपना मात्र नभई वर्तमानमा त्यसका लागि आवश्यक धरातल बनाउन अपजस र अलोकप्रियताको जोखिम मोलेर पनि हाम्रो समयका संगीन, अनुत्तरित र लामो समयदेखि गुजुल्टिएर बसेका प्रश्नहरुको धैर्यतापूर्वक जवाफ खोज्छ, त्यसै दिन नेपाली राजनीति र समाज फरक युगमा प्रवेश गर्छ। त्यो काम पक्कै सजिलो छैन तर सजिलो काम मात्र गरेका भए गान्धी र मण्डेला त्यो उचाइमा पुग्ने थिएनन् जहाँ उनीहरु पुगे। वैकल्पिक धारको राजनीतिको लक्ष्य अहिले काँग्रेस–एमाले–माओवादीले गरेको राजनीतिभन्दा राम्रो बन्ने भएर पुग्दैन, गान्धी र मण्डेला झैं समाजलाई ज्यूँदो र गतिशील बनाउने हुनुपर्छ, मेरो भन्नु यत्ति नै हो।

लेखक हिमालय वाच संग सम्बद्ध छन्।  

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट