राष्ट्रपति रामवरण यादवले मंगलबार दिउँसो मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेटे । उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले सञ्चारकर्मीहरूसँग भने, ‘राष्ट्रपतिले जनभावनाको कदर गर्नुहुन्छ, निर्वाचनको वातावरण नबिथोलिनेगरी निर्णय आउँछ।’
त्यसको केही घन्टामै रेग्मी निवास बालुवाटारमा चार दलको बैठक बस्यो।
शाहीकालीन मुख्यसचिव तथा ‘भ्रष्ट छवि’का भन्दै विवादास्पद लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्तिबारे छलफल भयो । कांग्रेस र एमालेले कार्कीको विरोध गरे । माओवादी र मधेसी पक्षमा उभिए।
बालुवाटार बैठक जारी छँदै राति पौने ९ बजे दाहालले बिबिसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै फेरि त्यही कुरा दोहोर्याए।
कार्कीलाई अख्तियार प्रमुख बनाउने सिफारिस चार दलले नै गरेको भए पनि व्यापक विरोधपछि कांग्रेस र एमाले पछि हटेका थिए। एमालेले दुई दिनअघि नै सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएको थियो।
लोकमानको नाम सिफारिस गरेदेखि सार्वजनिक रूपमा मौन बस्दै आएका र आफ्ना निकटस्थसँग ‘विवशता पोखिरहेको’ भनिएका कांग्रेस सभापति सुशील कोइरालाको पनि मंगलबारै बोली फुट्यो । उनले निकै चर्किएर भने, ‘पहिला जे भयो–भयो, जनभावना विपरीत लोकमान नगरौं।’
...
राजनीतिमा जे देखिन्छ, त्यो हुँदैन । जे भइरहेको हुन्छ, त्यो देखिन्न।
बुधबार बिहानै लोकमान लगायत कयोदेवी यमी, भानुप्रसाद आचार्यलाई बिहान ९ बजे सपथग्रहण गराउने निर्णय भएको खबर आयो।
मंगलबार मध्यरातसम्म राजनीतिक रंगमञ्चमा जुन दृश्य मञ्चन भइरहेको थियो, त्यो त एक सय असी डिग्रीले परिवर्तन भइसकेको रहेछ । सर्वसाधारणलाई देखाउनको निम्ति मात्रै कांग्रेस र एमालेले लोकमान नमान्ने स्वाङ पारेका रहेछन् । राष्ट्रपति यादवले पनि जनता झुक्याउन लोकमानको नाम पुनर्विचार गर्ने नाटक गरेका रहेछन्।
त्यही नाटकको पटाक्षेप हुँदै थियो, राष्ट्रपति निवासमा।
सयौं प्रहरी तैनाथ थिए । एसपीले नै कमान्ड गरिरहेका थिए । डिएसपी, इन्स्पेक्टरहरूको त गन्ती नै भएन । सपथको समय लगभग एक घन्टा सरिसकेको रहेछ । सपथ गराउनुपर्ने कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मा आइपुग्दा झन्डै १० बजिसकेको थियो।
राष्ट्रपति निवास बाहिर र भित्र सुरक्षाकर्मी संख्या बाक्लिँदै गयो।
यतिञ्जेल शीतल निवास पूर्वतिरको मूल सडकमा नागरिक अगुवा आइसकेका थिए । शम्भु थापा, कनकमणि दीक्षित, चरण प्रसाईं, द्रोण रेग्मी लगायत।
‘आए, आए,’ एक डिएसपीले उनीहरूलाई देखाउँदै आदेश दिए, ‘यता वरिपरि बस्न नदिनू।’
एक इन्स्पेक्टर उनीहरू भएतिर दौडिए । केही बेर कुराकानी गरे । ‘उतातिर जानू,’ ती इन्स्पेक्टरले उत्तरतिर देखाउँदै भने।
दीक्षित र थापाले टेरेनन् । विवाद सुरु भयो । उनीहरू राष्ट्रपति कार्यालयको गेट सामुन्नेबाट टिचिङ अस्पतालतिर आए । प्रहरी तालिम केन्द्र अगाडि आइपुगे । यता डिएसपी, इन्स्पेक्टर र चारजना प्रहरीले दागा धरिरहेकै थिए । बालुवाटारतिर जाने मुखमा उनीहरू अडिए।
भर्खर विस्तार गरिएकाले सडक किनार कच्ची थियो । एउटा स्लेप थियो । ‘यहीँ उभिऊँ,’ दीक्षितले भने।
थापाले सहमति जनाए।डिएसपीले त्यहाँबाट पनि हटाउन कोसिस गरिरहेकै थिए । उनीहरूसँग मर्यादित व्यवहार गरिरहेका इन्स्पेक्टर दिनेश घिमिरेले आफ्ना हाकिमको हप्की नै खाए।
‘यहाँ किन उभिन दिएको,’ घिमिरेसँग डिएसपी जंगिए।
अर्को डिएसपीले दीक्षितलाई झङ्याल-झुङुल पारे । थापाले प्रतिवाद गरे, ‘अस्ति यहीँ बसेर विरोध गर्न पाएका थियौं, आज किन नपाउने?’
प्रहरीले हटाउन खोज्दा पनि उनीहरूले टेरेनन् । बरू ज्यानै छाडेर लागे।
‘जे आदेश आयो, त्यही गर्ने न हो,’ अर्का डिएसपी भूपेन्द्र खत्रीले उनीहरूसँग भने।
कार्कीको सिफारिसविरुद्ध थापा, दीक्षितहरूको अगुवाइमा सोमबार त्यही स्थलमा एकघन्टे धर्ना भएको थियो । त्यसमा प्रहरी, प्रशासनले कुनै अवरोध पुर्याएका थिएनन् । कार्कीसहितको नियुक्ति पक्का भएपछि भने त्यही ठाउँमा प्रहरीले निहत्था नागरिकलाई उभिन दिएन।
सपथको जानकारी पाउनासाथ एक घन्टाअघि मात्र विरोध कार्यक्रम तय भएकाले उपस्थिति पातलो थियो । पुग-नपुग आधा दर्जन प्रदर्शनकारी, दुई सयभन्दा बढी सुरक्षाकर्मी।
करिब दस मिनेट पौंठेजोरी चल्यो । प्रहरीले आन्दोलनकारीलाई चित्तबुझ्दो जवाफ दिन सकेन । थापा, दीक्षित, प्रसाईंले ऐन, कानुन र विधिको प्रश्न तेस्र्याइरहेका थिए । उता लोकमानको सपथ अझै सुरु भएको थिएन । सुरक्षाकर्मी अघिपछि लगाएका भिआइपीहरू शीतल निवास पसिरहेका थिए।
प्रहरीको सेटमा आदेश आयो, ‘सपथको बेला भयो । तिनीहरूलाई जसरी पनि हटाउनू।’
प्रहरीले अन्तिम अनुरोध ग¥यो । उनीहरूले मानेनन्।
‘जे गर्छौ गर,’ थापा र दीक्षित कड्किए, ‘हामी धर्ना छाड्दैनौं।’
उनीहरूले यति भन्न पाएका थिएनन्, प्रहरीले दीक्षितलाई लछारपछार पार्दै भ्यानमा कोचिहाल्योे । त्यसपछि थापा लगायत सबैलाई समात्दै भ्यानमा हाल्न थाल्यो।
प्रहरी भ्यान टिचिङ अस्पताल हुँदै महाराजगन्जतिर लाग्यो।
केही बेरमा बालुवाटारतिरबाट आइरहेका मानवअधिकारवादीहरु सुशील प्याकुरेल र सुबोध प्याकुरेल देखिए । भैरवनाथ गण अगाडि आइपुगेपछि उनीहरूले अस्ति धर्ना बसेको दोबाटोतिर हेरे । अरू आन्दोलनकारीलाई नियाले।
‘खै त शम्भु, कनकजीहरू,’ प्रहरीलाई नै सोधे।
जवाफ नपाएपछि केही मिनेट दुवैजना प्रहरीको भीडमै अल्मलिए।
‘प्याकुरेल दाजुभाइ आइपुगे के गर्ने ?’ सुरुदेखि भिडिरहेका डिएसपीले सोधे।
‘सपथ सुरु हुन लागिसक्यो । अब केही गर्नुपरेन,’ आदेश आयो, ‘शीतल निवास भएपट्टिको बाटोबाट चाहिँ हिँड्न नदिनू ।’
...
भर्खरै समातिएका व्यक्तिहरूले न नाराजुलुस गरेका थिए, न हुलदंगा । न सडकमा अवरोध पुर्याएका थिए । शान्तिपूर्ण रूपमा धर्ना दिन आएका थिए उनीहरू, हिजोअस्तिजस्तै । जुन ठाउँमा उभिन पहिले मनाही गरिएको थिएन, त्यहाँ उभिनबाट समेत वञ्चित गरियो। के का लागि ? लोकमानको सपथग्रहणमा कुनै किसिमको अवरोध नआओस् भनेर ? यसको जवाफ खिलराज सरकारले दिन्छ।
अफिस पुग्दापुग्दै थाहा पाएँ, विधार्थी संगठनहरूले लोकमान नियुक्तिको विरोधमा नेपाल बन्द घोषणा गरेका छन् ।
लोकमान नियुक्ति हुनुमा सर्वसाधारणको गल्ती के हो ? यदि गल्ती छैन भने त्यही नाममा नेपाल बन्द गरेर फेरि सर्वसाधारणलाई नै बलीको बोको बनाउनुको अर्थ के हो ? यसमा गल्ती कसैको छ भने त्यो दोहोरो बोलिरहेका कांग्रेस र एमालेको छ । उनीहरूले नै हो, लोकमानको नाममा सहमति जनाएको । विरोधका स्वर सुनिन थालेपछि अलि अन्कनाएजस्तो गरे, तर खासमा उनीहरू लोकमानसामु नतमस्तक भइसकेका रहेछन् ।
त्यसैले, विधार्थीहरूले विरोध गर्ने हो भने कांग्रेस र एमाले पार्टी कार्यालय अगाडि आएर प्रदर्शन गर्नुपर्छ। कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले मंगलबार दिनभरि राजनीतिक नाटक प्रदर्शन गरेर जनता झुक्याएका छन् । विधार्थीहरूले यी दुवैलाई पार्टी कार्यालयभित्रै छिर्न नदिए मात्र त्यसलाई महत्वपूर्ण मान्न सकिन्छ । उनीहरूले नेपाल बन्द गर्ने होइन, यदि साँच्चिकै लोकतन्त्र र जनताप्रति इमानदार हुने हो भने पार्टी कार्यालय बन्द गराउने वा पार्टी नेताहरूलाई नै घेराउ गर्ने साहस देखाउनुपर्छ।
लोकमान प्रकरणमा एकदमै चर्को रूपले सुनिएको कुरा हो, भारतको हस्तक्षेप। भारतले नै लोकमानको नाम सिफारिस गरेको हो भन्ने कुरा सबैले स्वीकार गरेका छन् । यदि त्यो हो भने कांग्रेस र एमाले पनि भारतसामु लम्पसार परिसकेका रहेछन् भन्ने झन् छर्लंग हुन्छ ।
यतिमात्र होइन, अघिल्लो रात मात्रै सरकारलाई ‘लोकमानको नाम पुनर्विचार गर्नू’ भनेका राष्ट्रपति यादव भोलिपल्ट बिहानै सपथ खुवाउन राजी हुनुले कतै उनी फेरि भारतसामु लम्पसार परेका त होइनन् भन्ने शंका जन्माएको छ ।
होइन भने, रातभरिमै त्यस्तो के भयो, जसले निर्णय फेर्न राष्ट्रपति, कांग्रेस र एमाले बाध्य भए ? वा, अघिल्लो रातको बालुवाटार बैठक आफैंमा एउटा नाटक थियो ? उनीहरूले जनतालाई जवाफ दिनैपर्छ ।