पोखरादेखि बागी औँलाहरू

  • Get News Alerts

united
पीपलबोट डटकम
tata

नाक पिर्पिर्‍याएको छैन, आँखा पोलेको छैन र छाती खसखस भएको छैन भने मान्नुहोस् तपाईं काठमाडौंमा हुनुहुन्न।

कचौरा आकारको विशाल उपत्यका कहाँ रहिरह्यो र? ठूलो एष्ट्रेमा बदलिएर विषालु भइसकेको छ। कहिलेकाहीँ त लाग्छ राजधानीको दूषित हावाले निकास नपाउँदा नै राजनीतिले गति लिन नसकेको हो।

हिउँदका उकुसमुकुसपूर्ण दिनहरू यसैउसै काटिरहँदा संयोगले नेपाल साहित्य महोत्सवको छेको पर्‍यो। काठमाडौंको नेटो काट्ने भएपछि कचेरा भरिएका आँखा स्वस्फुर्त निर्मल भए। 

पृथ्वी राजमार्ग पछ्याउने रिजर्भ बसमा एकालाप गर्दै हुइँकिन सम्भव थिएन। किनभने त्यसमा बुद्धिसागर सहयात्री थिए। उनले ढोकाछेउको पहिलो सिटमै फुरूक्क परेर बसिसकेका केदार शर्मालाई सुरूमै खिप्न भ्याए, ‘दसैंमा घर जान लागेजस्तो गर्नुभएछ त दाइ।’

उनका ‘नन स्टप’ किस्साहरूको होमा हो मिलाउन सक्नुभएन भने तपाईं हाँस्न जान्नुभएन। 

हाँसोको जोरसामु शर्माको केही सीप चलेन। उनी सर्लक्क उठेर बसको बीच भागतिर सिट खोज्दै आए, जहाँ हाम्रो हाहूको ठूलो कम्पनको केन्द्रविन्दु थियो।

‘बुद्धिसागर जेमा पनि हँसाउने, नारायण वाग्ले जेमा पनि हाँसिदिने,’ खगेन्द्र संग्रौलाका चिरपरिचित असन्तोषी ज्वारभाटा निस्किए, ‘पापीहरू, मानौं हामीले हाँस्नै जानेका छैनौं?’

हाँस्न नजानेका पक्कै होइनन् तर उनलाई कुनै किताब दिएर ओथारो बसाउनु थियो र हाम्रो हाँसोठट्टालाई कुनै हस्तक्षेपकारी लगामबाट मुक्त गर्नु थियो। मिलन कुन्देरा च्यापेर उनी चलायमान बसको गतिभन्दा तीव्र दरले पाना पल्टाउन थाले र हाम्रो हाँसोको मार्क्सवादी मिमाँसा गर्न छाडे।

हामी बरू हाँसोको ‘कमर्सियल ब्रेक’ मा बाहिरपुँडो दृष्टि दिन भ्याउँथ्यौं। बजार अर्थतन्त्रले हाम्रा रूखासुखा पाखाहरूलाई पनि आफ्नो मोहपाशमा बाँध्न खोजिरहेको थियो। राजमार्ग वरिपरि घरघडेरी बन्न खाली ठाउँ तै बाँकी रहेछन्। कताकति स-साना कित्ताका तोरीबारी देख्दैमा चित्त लहलहाउन थाल्यो।

सडकले जग्गा छुनु भनेको उब्जनीलाई बजार पुर्‍याइदिनु होइन रहेछ। ‘प्लटिङ’ व्यापारको पसल खोलिदिनु रहेछ। 

शर्मासँग मैले विचार पैंचो लिनु थियो। उनी पचास वर्षको उमेर लागेपछि राजधानीको रामरमाइलो छाडेर आफ्नो गाउँ इलाम फर्केका थिए। म उनलाई आफ्नो टुहुरो खेतबारीमा के कस्तो कृषि इलम गर्ने होला भन्ने सोध्दै थिएँ।

घाँसीकुवा पुग्ने बेला तल बुल्दी खोला किनारमा एक चोक्टा पहेँलपुर तोरीबारी हुँदै सानो सुलुत्त सडक गाउँतिर हरायो। मैले साथीभाइलाई आफ्नो बाँझो जग्गा जाने बाटो औंलाले देखाएँ।

पल्लो सिटबाट हरि शर्माले भने, ‘अब प्लान गर्नु के छ र भाइ ? प्लटिङ गर्‍यो, नापेर पैसा लियो।’

धत्, ठट्टैठट्टामा मुकाम पुगियो।

उही क्या त पोखरा। हरियाली रानीवनको पृष्ठभूमि। फेवाताल किनार। मन्द गतिमा हावा सुसेली हाल्दै आयो। साहित्य र वरपरका विषयवस्तुमा केही दिन हामी चङ्गा नबनेर सुख थियो त?

महोत्सव उद्घाटन गर्न बिहानैदेखि टाई-सुटमा चुलबुल ठाँटिएका थिए ध्रुवचन्द्र गौतम। पानसमा बत्ती बाले। छोटो उद्घाटन मन्तव्य दिए। ‘साहित्यकारहरूसँग म सुरक्षित महसुस गर्छु’ भनिदिए। बाहिर कहाँ कसरी असुरक्षित हुने रहेछन् केही प्रकाश पारेनन्। ‘पहिलेजस्तो स्वान्त सुखायका लागि लेख्ने भनेर पुगेन अहिले,’ उनले अर्थ्याउन पनि भ्याए, ‘चेतनाको विष्फोटको युग हो।’

अरू कसैको आङमा औपचारिक पहिरन नदेखेपछि उनले टाई खोलेर गोजीमा पट्याए। प्रमुख वक्ताका रूपमा आएका केदारभक्त माथेमाको पनि आफ्नै स्वभाव रहेछ। लेकसाइड टेक्नासाथ पुराना पुस्तक बेच्ने पसल चहारिहाल्ने। उनले लामो बोल्नु थियो तर झरीले खज्मज्याइदिने भयो। सिमसिम भिज्दै उनले आफ्नो मन्तव्य सुरू गरे, ‘आज चिसो भएको छ र म मेरी बुढियालाई सम्झिरहेको छु।’

सबै जना हाँसिदिएपछि उनले सच्याउन खोजे, ‘अरू कारणले होइन।’

भने, ‘कहिलेकाहीँ त दिनभरि रिस उठिरहन्छ, देशको स्थिति देख्दा।’

रिसाउनु राम्रो होइन। पश्चिमा समाजमा रिसलाई सातवटामध्ये एउटा ‘पाप’ भन्छन्, पूर्वीय दर्शनमा पनि क्रोध लोभबाट आउँछ भन्छन्। उनले थपे, ‘कसैले भनेको सम्झिन्छु, दिक्क हुनुभन्दा त रिस उठेकै ठीक हो।’

आजको नेपालमा जो कोही नरिसाइकन किन शान्त रहन सक्दैन भन्नेमा उनी केन्द्रित थिए। विश्वविद्यालयहरूको बेथिति र राजनीतिक भागबण्डामाथि उनले कटाक्ष गरे। हाम्रो लोकतन्त्र लोकबण्डा बन्दै गएकोमा उनी किन नजङ्गिउन् त?

माथेमाले हाम्रो मथिङ्गल जति रिङ्गाइदिए पनि भारतको समेत ताल खासै फरक रहेनछ भन्ने केही बेरमै बुझ्न पाइँदै थियो। बौद्धिक समुदायमा रिसको मात्रा हाम्रो छिमेकमा किन कम हुन्थ्यो र?

भारतीय इतिहासकार रामचन्द्र गुहा मञ्चमा चढ्नुअघि टाउको भिज्ला भनेर थुरथुर रहेछन्। उनलाई साक्षात्कार गराउन कस्सिएका कनकमणि दीक्षितले मेरा सहकर्मी अमित ढकालको टाउकाबाट फुत्त क्याप झिकेर गुहालाई भिराइदिए। क्यापमा संयोगले ‘जी’ लेखिएको थियो। गान्धीबारेका पुस्तक लेखक गुहाले कुरैकुरामा राजनीतिक नेतृत्वको योग्यता परख गरे।

‘लेख्ने, पढ्ने, चिन्तन गर्ने र आफूले प्रतिनिधित्व गर्ने समाज परिवर्तन गर्ने बौद्धिक नेतामध्ये बाराक ओबामा सबभन्दा पछिल्ला हुन्,’ उनले भने, ‘तर हेर्नोस् त, आज उनलाई कसले विस्थापित गरेको छ।’

भारतमा बौद्धिक नेतृत्वको त्यस्तै अभावले लोकतन्त्र संकटमा फस्दै गएको उनले लेख्दै आएका छन्। प्रधानमन्त्री मोदीको जगजगीविरूद्व विपक्ष छँदै छैन भने पनि हुन्छ भन्ने खाले अभिव्यक्ति उनले त्यहाँ दोहोर्‍याए। ‘राहुल गान्धी फोटोकपीका फोटोकपी, फोटोकपीका पनि फोटोकपी हुन्, नेहरूका चारपुस्ते फोटोकपी,’ उनी जङ्गिए, ‘राहुल राजनीतिमा रहेसम्म मोदीको चलिरहनेछ।’

उनले भन्न बाँकी राखेनन्, जो राजनीतिक नेता आफैं लेख्छ, विचार बनाउँछ, पढ्छ उसले विश्वविद्यालय र ज्ञानगुनका क्षेत्र विस्तार गर्छ, अरूले भने ‘चम्चाहरू हुर्काउँछन्।’ आज देशमा नेतृत्वको ह्रास विश्वविद्यालयहरूबाट झल्किन्छ।

देशभरि चम्चाहरूको जगजगी छ।

लोकतन्त्र बलियो बनाउन त राजनीतिक दलहरूको स्वार्थघेरा बाहिर बौद्धिक समुदाय चाहिन्छ। बौद्धिक विपक्ष विश्वविद्यालयहरूबाट तयार हुन्छ। त्यसका लागि विश्वविद्यालय स्वायत्त हुनुपर्छ र त्यसको नेतृत्व बौद्धिक हुनुपर्छ। त्यसमा अर्को एउटा बुँदा पनि थपे गुहाले। भने, ‘बहुलतावादको सम्मान गर्ने परिवेश हुनुपर्छ।’

हाम्रोमा त झन् विश्वविद्यालयसमेत राजनीतिक भागबण्डाको डण्डाले सेकिएका छन् भनेर माथेमाले मन्थन गरिसकेका थिए। ‘बुद्धि बनाउने विपक्षको ठाउँ’ विश्वविद्यालय हो तर त्यसकै मुखमा बुजो लागिसकेको छ।

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र संकायको अनुभव दिन चैतन्य मिश्र उभिए, आफ्नो सत्रमा। ‘राजनीतिक भक्ति देखाएर पद लिन प्राज्ञिक क्षमताको कोही व्यक्ति किन लालायित हुन्छ?’ उनले प्रश्न गरे। अर्थात् ज्ञानले सम्पन्न कोही दक्ष व्यक्ति चम्चा बन्न किन तयार हुन्छ?

मिश्रका अनुसार, गत अढाई दशकमा राम्रो विश्वविद्यालयबाट आएको एउटा पनि विद्यावारिधिवाला दक्ष जनशक्ति उनको संकायमा भर्ना भएको छैन। ‘यसको कारण गम्भीर छ,’ उनले भने, ‘एकातिर अन्तर्राष्ट्रिय निकायहरूको सरसुविधापूर्ण जनशक्ति बजार छ, अर्कातिर देशभित्र भागबण्डाको पद्धति..।’

विश्वविद्यालयको बिजोग अवस्थावशः देशमा ‘वैचारिक कटुवाल,’ ‘ज्ञानी धामी’, ‘जन सचेतक’ र ‘लोक सचेतक’ जस्ता नाम दिन सकिने बौद्धिकहरू तयार नहुने मिश्रको निर्क्यौल थियो। ‘हरेक पार्टीमा बुद्धिजीवी परिषद् छ, भक्ति गर्ने बुद्धिजीवी, हाकिमले जे भन्यो त्यही मान्ने बुद्धिजीवी...,’ उनले थपे।

राजनीतिक भक्तिले आज देशमा बौद्धिक शक्ति उठ्न नसकेको चर्चा चल्दै गर्दा सिके लालले त्यसैमा छुरी चलाए। ‘भगवान कृष्णले भनेका थिए– भक्ति मार्ग नै सबभन्दा उत्तम हो,’ उनले भने, ‘ज्ञान योग थोरैले मात्र गर्न सक्छन्।’

भक्तिमार्गीहरू नै सार्वजनिक निकायहरूमा हावी रहेको लालको चित्रण थियो। ‘राजनीतिक पार्टीदेखि सञ्चार माध्यम हुँदै संघ-संस्थासम्म,’ उनले भने, ‘सबै सार्वजनिक ठाउँ प्रतिध्वनि–शाला (इको च्याम्बर) जस्ता छन्, आफ्नै कुरा सुन्ने।’

के लेखकहरू पनि राजनीतिक पार्टीबाट टाढा हुनु पर्दैन त ? त्यस्तै एउटा सत्र चल्यो बागी विचार शीर्षकमा। खगेन्द्र संग्रौलाले खसोखास भनिदिए, ‘पार्टी सत्तासँग अलग भएन भने स्वतन्त्र लेखक र माल अड्डाको लेखन्दासबीच फरक हुँदैन। तमसुकको संरचना हुन्छ, तर सिर्जना स्वतन्त्र हुनुपर्छ। म राजनीतिमा लागिरहेको हुँ, पार्टीमा कहिल्यै लागिन।’

राजन मुकारूङ भने पार्टीमै डटिएर किन लेखक बनिरहन नसक्ने भन्ने पक्षका रहेछन्। भनिदिए, ‘बिपी कोइरालालाई दलका नेता र साहित्यकार भनेर मान्यौँ भने राजन मुकारूङलाई किन मान्न नसक्ने?’

‘सिर्जनशील अराजकता आन्दोलन’ चलाउनेमध्ये एक मुकारूङले विभेदकारी समाजसँग जुध्न बाँकी रहेको पनि सम्झाए। ‘हामी कोदोलाई हेलाँ गर्छौं, धानलाई पुज्छौं जबकि दुवैको आफ्नो महत्व छ, तर विभेद विद्यमान छ,’ उनले भने, ‘हामी प्रश्न गरेर हेरौं न त भनेर लाग्यौं, प्रश्न त आफ्नै समाजसँग गर्ने हो।’

त्यसरी प्रश्न ‘मर्यादा पुरूष’ श्रीराममार्फत पनि समाजलाई गर्दै रहेछन्। ‘जसले सीता फिर्ता पाउन त्यत्रो युद्ध गरे, रावणको वंशनाशै गरिदिए, फर्काएर ल्याएपछि तँ चोखी छस् कि छैनस् भनेर आगोमा पस्न लगाए। त्यस्ता व्यक्ति कसरी मर्यादा पुरूष भए भनेर सोध्दा समाजले के भन्छ हेरौं भनेका हौं,’ उनले थपे।

यसरी भविष्यदेखि वर्तमान र भूतसम्मका कुराहरू लम्मिएर चार दिनसम्म चरैवति चरैवति चलिरह्यो। त्यसो हुँदा लेखक–साहित्यकारहरू त जगतकै जान्नेबुझ्ने जस्ता देखिँदा हुन् कि? त्यही भएर संग्रौला सङ्ग्लिन खोज्दै थिए, ‘यसले त कत्ति न थाहा पाएको हुन्छ भनेर मलाई देश कता जाँदैछ भनेर सोध्छन्।’

पाठकहरूले ठाउँ कुठाउँ त्यसरी प्वाक्क सोध्ने गर्दा के जवाफ दिँदा रहेछन् त उनी?

‘म अकिञ्चनलाई आफैं कता जाँदै छु त थाहा हुँदैन,’ उनी हाँसे, ‘देश कता जाँदैछ कसरी भनौं?’

हामी आ–आफ्ना सत्रमा सरिक भएर साहित्यिक सत्संग जति गर्दै थियौं उति बाँकी रहला जस्तो हुँदै गयो। छेउ समात्यो टुप्पोमा पुग्न नसकिने, टुप्पोमा समात्यो जरा फेला पार्न नभ्याइने। कहिल्यै प्रश्न नसिध्दिने र जवाफ नसुल्झिने।

सिर्जना भनेको सायद समाधान होइन। समस्या मात्र पनि होइन। त्यो खासमा एउटा सिलसिला मात्र रहेछ। अभ्यास मात्र। निरन्तर प्रयास।

मैले आफ्नो एउटा सत्रमा ‘नेपथ्य’ ब्याण्डका गायक साथी अमृत गुरूङसँग उनको प्रिय गोठ बासबारे बातचित गरेँ र आफ्नो बाँझो जग्गाको सम्झना।

देशभरि जता गयो तन्नेरीहरू विदेशिएका र जग्गा बाँझै छाडेको देखेका उनले द्वन्द्वकालपछि त लोकभाका टिप्न पनि हम्मे पर्दै गएको गुनासो गरे। हामीले ढाड फर्काइरहेको दिशामा केही डाँडा पर एउटा सेपिलो खर्कमा उनी महिनैपिच्छे त के सके हप्तैपिच्छे आइरहने गोठ पर्थ्यो जहाँ उनलाई भेट्न जाँदा लाग्थ्यो– गायक भनेको गोठाला नै त हो।

महोत्सवलाई काव्यिक माहौल दिन कविहरू जुर्मुराए। पोखरेली कवि सरस्वती ‘प्रतीक्षा’ ले नेपाल साहित्य महोत्सव, २०१७ को बिट मार्न आखिरमा निम्ता गरिन् कुमार नगरकोटीलाई। राम्राभन्दा राम्रा कविको पुछारमा तासको तुरूप लुकाउने उनको त्यो निकै साहसिलो बठ्याईँ रहेछ।

अघिल्लो वर्ष हामीले उपेन्द्र सुब्बाको कविताबाट मत्मतिँदै पोखरालाई बाई बाई गरेका थियौँ। यसपटक भने आख्यानकार। त्यसो त आख्यानभित्रै टन्न कविता छाप्ने उनलाई पाठ गर्न केको दुःख थियो र?

रानीवनतिर पिठ्यूँ फर्काएर साँझको सुसेली हाल्न थालेको फेवालाई वास्ता नगरी ‘घाटमाण्डु’का साधुझैँ तान्द्राङतुन्द्रुङ झुण्ड्याउँदै नगरकोटी माइकमा उभिए। 

‘औँलाहरू... कहिलेकाहीँ म ती औँलाहरूबारे सोचिबस्छु, जो जीवन यात्रामा कतै छुटिगए।

... केही औँला त यस्ता हुन्छन्, जो कविता लेख्दालेख्दै काव्य–संग्रहको पाण्डुलिपिभित्र छुट्छन्। जसरी केही औँला प्रेमपत्र लेख्दालेख्दै कलमहरूमा छुट्छन्।

... केही औँला बाँसुरीका प्वालहरूमा छुट्छन् र केही औँला वीणाका तारहरूमा। मानौँ ती हिउँदका बर्फिला औँलाहरू हुन्, जो ज्याकेटका गोजीहरूमा छुट्छन्।

... केही औँला मन्दिरका स–साना घण्टीहरूमा छुटे-केही कलशमा। जसरी पुतली समाउन उडेका औँलाहरू बतासमा छुटे।

... कहिलेकाहीँ म सोच्ने गर्छु, तपाईँलाई पनि त यदाकदा ती औँलाहरूको याद आउँदो हो, जो सेतो खरीसितै कालोपाटीमा कतै छुटिगए। जो डाँठसितै फूलका थुङ्गाहरूमा छुटिगए। जो धागोसितै सियोको टुप्पामा छुटिगए।’ ...

तालीको गड्गडाहटमै हाम्रा औंलाहरू छुटे। हामी विदा माग्ने तरखर गर्‍यौं। मसँगै उभिएका खगेन्द्र संग्रौला शौचालय पसे। बाहिर निस्केर रिमरिम अँध्यारोमा हिँड्दै थियौँ, उनले नगरकोटीसँग भने, ‘मेरा औँलाहरू बाथरूममै छुटे।’

हाँस्दै फेरि फर्किनु थियो।

काठमाडौंमा अब केही दिनलाई पुग्ने अक्सिजन भरेर हामी फर्किन त फर्कियौँ, तर औँलाहरूले उतै तानेजस्तो लागिरह्यो। ती बागी औँलाहरू। देशभरि चम्चे औँलाहरूको बिगबिगी झन्झन् बढिरहेको बेला यस्तै–उस्तै प्रिय औँलाहरूको खुब ख्याल आउने रहेछ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट