हामीलाई बेथिति, अनियमितता अनि पहिले जस्तो चलिरहेको छ, त्यस्तै चलनमा चल्ने बानी परेको छ। हामी परिवर्तन त चाहन्छौंं तर, त्यसका लागि केही पनि गर्दैनौं। गर्नुपर्नेले गरेका छैनन् भन्दै बस्न हामी यति व्यस्त भयौं कि, हामीलाई समाजमा जकडिएर बसेका विकृतिविरुद्ध केही गर्ने फुर्सद नै भएन। झिनामसिना समस्यामा यसरी अल्झिएका छौं, हाम्रा हातगोडा नै चल्दैनन्।
यस्तो अवस्थामा हामीबीच एउटा यस्तो सोच जन्मिएको छ, जो आफू अनि आफ्नो परिवारभन्दा माथि उठेर देशको विकृतिविरुद्ध ज्यान दिन तयार छ। डा. गोविन्द केसी एक चिकित्सक मात्र होइनन्, एउटा शरीर मात्र होइन, उनी एउटा सोच हुन्। जुन सोचले समाजमा देखिएको विकृति सहनै सक्दैन।
डा. केसीले केका लागि लडिरहेका छन्? कसका लागि अनसन बसिरहेका छन्? म वरीपरी देखिरहेको छु, यहाँ धेरैलाई यसबारे मतलब नै छैन। अझ कतिसम्म भने कतिलाई त यसबारे जान्नु नै छैन रे! अनि, कोचाहिँ ‘कस्तो काम नपाएको पागल रैछ’ भन्दै बस्न रुचाउँछन्। हुन त यसरी आफू अनि आफ्नो परिवारलाई बिर्सेर समग्र देश अनि जनताका लागि सोच्न एकखाले पागलपन त चाहिन्छ नै। हामीमा यो पागल सोच नभएरै सहने बानी परेको हो।
डा. केसी यस्तो सोच हो, जुन साँच्चै नै बलियो छ। सफा छ। तेजिलो छ। हामीले अहिले बोल्नु पर्ने उनको शरीर कमजोर भएकोले होइन। उनलाई ऊर्जा चाहिएकाले होइन। डा. केसी त हामीले सोचेभन्दा निकै बलवान छन्। हामीले सोचेभन्दा धेरै तगडा।
अब पनि सकारात्मक सोच भएकाको पक्षमा उभिने सोच हामीले किन विकास गर्न सकेनौं भनेर मनन नगर्ने?
उनको सत्याग्रह हामी सबैका लागि हो। हाम्रा सन्ततीको सुनौलो भविष्यका लागि हो। हामी अहिले उनको साथमा रहनु भनेको उनको आवाज सुनेर पनि मौन बसेका कानहरुको कानेगुजी निकाल्न हो। उनको सत्याग्रहलाई समर्थन गर्न मात्र होइन, फेरि कोही पनि जनहितका लागि भोकै लड्न नपरोस् भन्नका लागि हो। फेरि यस्तो स्थिति नदोहोरियोस्, कोही सामाज परिवर्तनका लागि अनसन नै बस्नु परोस्। त्यसैले हामीले बोल्नैपर्छ।
कहिलेकाहीँ सोच्छु, डा. केसीजस्तो म किन पागल भइनँ! अर्थात्, उनको जस्तो पागल सोच ममा किन पलाएन?
जब–जब उनका कुरा सुन्छु, पढ्छु, हेर्छु, दिमागमा यसै–यसै विचार आइदिन्छन्, म पनि पागल भैदिए! अनि, मजस्तै अरु थुप्रै पागल थपिए! कामना गर्छु, ममा पनि डा. केसी सोच भरिदेउ भगवान!
यदि यस्तो हुन्थ्यो भने, स्वास्थ्य उपचार नपाएर कोही अकालमै मर्नु पर्ने थिएन। अनि आफैं उपचार गर्न सक्नेलेचाहीँ उपचारका नाममा राज्यको ढुकुटीमाथि मोजमस्ती गर्न पाउने थिएन।
हामीमा यत्तिको सोच नभए पनि पुग्छ तर, कोही सकारात्मक परिवर्तनका लागि लडिरहेको छ भने मौन बस्नु घातक छ। हाम्रै लागि घातक छ। हाम्रा सन्तानका लागि घातक हुनेछ। सोच्नुस् त, आज हामी चुप रहँदाको परिणाम हाम्रा सन्तानले भोग्नुप¥यो भने?