डा. गोविन्द केसीको रित्तो पेट

  • Get News Alerts

united
डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज
tata

डिसेम्बर २ को बिहान साढे ३ बजे झल्याँस्स आँखा खुलेका छन्। झ्यालबाहिर बत्तीहरूको मधुरो उजेलो छ। गाढा सन्नाटा छ छिमेकमा। कुकुरहरू पनि मस्त निद्रामा छन्। भुकेका छैनन्। झ्याल र ढोकाका कापबाट मुधुरो स्याँठ भित्र पसिरहेको छ।

मेरो छिमेक हुँदै सुनसान बाटो गणेशस्थान हुँदै गोङगबुचोक पुग्छ। अनि बाटा माकुराको जालोझैं फिजारिन्छन्। यतिबेला फिजारिएको बाटो जहाँ जहाँ पुगेको छ, त्यहाँ त्यहाँ सबै निदाएका छन्। कोही सुन्दर सपना देखिरहेका होलान्। कोही भने भयावह सपनासित जुधिरहेका होलान्। तर, सबै न्यानोमा छन्।

र, माकुराको जालोझैं फिजारिएको बाटो महाराजगन्ज टिचिङ अस्पताल पनि पुग्छ। सहरमा अस्पताल मात्रै होला, जो रामरी निदाउन पाउन्न। बिरामी र तिनका कुरुवा, डाक्टर र नर्सहरूको अनिद्रा र पाइतलाको आवाज सर्याक–सर्याक हिँडी नै रहेको हुन्छ।

त्यही अनिद्राले भरिएको अस्पतालको एउटा स्ट्रेचरमा डाक्टर गोविन्द केसी पनि छन्। के डिसेम्बर २ को यो चिसो बिहान उनी निदाएका होलान्?

म कल्पनाले पनि काँप्छु।

म अचेल धेरै भोको बसेको छैन। भोकै बस्ने मौका वा दुर्भाग्य दुवै आइपरेको छैन। साठीको दशकमा संघर्षशील समयमा तीन दिन भोको बसेको थिएँ। र, तीनै दिन मैले घरमा आमाले नमीठो तरकारी पकाउँँदा झोक्किँदै स्वात्त फालेका तात्ताता भातका डल्लाहरू सम्झेको थिएँ। तीन दिन भोको हुँदा हाडहरू नै गलेजस्तो लागेको थियो। पेट नराम्ररी बटारिन्थ्यो। एउटा सर्पले अर्को सर्पलाई निलेझैं आफ्ना आन्द्राहरूले आफ्नै आन्द्रा निलिरहेका छन् जस्तो लाग्थ्यो।

धेरै भोको हुँदा झलमल घाम पनि बादल लाएजस्तो अँधेरो अँधेरो हुन्छ। छिमेकमा बजिरहेको गीत पनि मधुरो मधुरो हुँदै जान्छ। गुफाहरू भित्रभित्रै बगिरहेको नदीको मधुरो आवाजजस्तो रित्तो पेटको आवाज कानसम्म आइरहन्छ। र, बेलाबेला लाग्छ, म यही रित्तो पेटको गर्तमा भासिएर मर्ने छु।

धेरै भोको भएपछि, वरिपरि के भइरहेछ थाहा हुन छाड्छ। आफ्नै जिब्रो तितो लाग्न थाल्छ। र, रित्तो पेट गह्रँुगो हुँदै जान्छ। सहरका अग्ला घर, फराकिला सडक, छेउछाउका पारिजातका रूख, फराकिलो आकाश क्यै मतलब हुन्न। छट्पटिएको नाकले छिमेकको किचनबाट आइरहेको मसलाको बासना मात्र खोजिरहेको हुन्छ। र, आकाशमा टाँगिएको चन्द्रमा भर्खरै तन्दुरबाट निस्केको बाटुलो र तात्तातो रोटीमा परिर्वतन हुन्छ।

तीन दिनको रित्तो पेटले म यति नै महसुस गर्न सक्छु।

मेरी छोरी सानै छँदा जे भेटे पनि मुखमा क्वाप्पै हालिहाल्थी। उसले न बालाई रामरी चिन्थी न आमालाई। तर, माटो होस् या ढुङ्गोको टुक्रो, जे भेटे पनि मुखमा हालिहाल्थी। ईश्वर मान्नेलाई ईश्वर, प्रकृति मान्नेलाई प्रकृतिले जन्मनासाथ एउटा कुरो सिकाउँदो रैछ, भोको नबस्नू। जसरी हुन्छ, जे गरी हुन्छ, खानू।

त्यसैले होला, बिहान उठेदेखि राति सुत्दासम्म हाम्रो दिमागमा खानेकुरा नै घुमिरहेका हुन्छन्। कहिलेकाहीँ गफमा जब खानेकुराका कुरा निस्किन्छन्, हामी गफैगफैमा मीठा खानेकुराका कल्पनामा थुक निलिरहेका हुन्छौ।

तर, डिसेम्बर २ को जाडोमा डाक्टर गोविन्द केसीको पेट रित्तो भएको बीसौं दिन हुन्छ।

सेतोपाटीले मध्यरात न्यूज अपडेट गरेको छ, मध्यरातसम्म बसेको वार्ता सफल भएन। डाक्टर केसीको खस्कँदो स्वास्थ्यलाई सत्तावालहरू ‘ब्ल्याकमेल’ गर्न खोजिरहेका छन्।

म छट्पटिन्छु, फेरि डाक्टर केसीको पेट रित्तै रहने भयो।

म सोच्छु, उनी ढाडसितै टाँसिनै थालेको पेट लिएर के निदाएका होलान्? निदाएका छैनन् भने के सोचिरहेका होलान्?

केदार शर्मासितको वार्तामा उनले भनेका रैछन्, ‘म अनसन बसिरहेका बेला आफूले डुलेका गाउँ, आफूले भेटेका बिरामीलाई सम्झेर बस्छु।’ म सोच्छु, यिनै कुराले बचाएको छ कि अहिलेसम्म उनलाई।

तर, रित्तो पेटलाई स्मृतिहरूले मात्र लामो समय बचाउन सक्दैन। स्मृति त दिमागको भोजन हो, शरीरको होइन। चेतना जतिसुकै बलियो होस्, शरीर त धोकेबाज नै हुन्छ। गोविन्द केसीको बूढो शरीरले पनि विस्तारै धोका दिने छ। र, शरीरले धम्की पनि दिन थालिसकेको छ।

डिसेम्बर २ को चिसो बिहानमा मलाई गोविन्द केसीको बूढो शरीरको माया लागिरहेको छ।

र, म सोचिरहेछु, उनले किन गर्नुपर्थ्यो यस्तो। जो हामी कसैले गर्न सक्दैनौं। तात्ताता ममःका डल्ला मुखमा कोचेर ‘अटेरी बूढो अनसनै बसेर सबथोक पाइन्छ भन्ने ठान्छ’ भनेर तर्क गरिरहेका छौं। भोको बसेर सबथोक पाइन्छ? अर्को तर्क गरिरहेका छौं।

हुन पनि हो, यो देशमा जसले जे जे पाएका छन्, जसले आफ्नो ठूलो साम्राज्य र चुनावमा चाहिने बूढीऔलाहरूको लस्कर खडा गरेका छन्, ती कहिल्यै भोको बसेका छैनन्। तिनलाई खानमा रुचि छ, ख्वाउनमा रुचि छ। खानपानको टेबुलमा यहाँ धेरै ठूला निर्णय भएका छन्। खानपानकै टेबुलमा भिजिटिङ कार्डहरू साटासाट भएका छन्। सबथोक अपच हुने गरी खाएर चलिरहेको छ। इतिहास नै यस्तो छ। समय नै यस्तो छ।

यस्तो बेला एउटा डाक्टर बूढोले नखाएर के हुन्छ?

र, मलाई डाक्टर बूढोको माया झन् लाग्छ। यसरी इतिहास, समय र प्रकृतिविरुद्ध लडिरहेको बूढो डाक्टरप्रति झन् श्रद्धा बढ्छ। उनले हार्न हुँदैन, उनलाई हार्न दिनु हुँदैन भनेर मुड्कीले टेबुल बजार्न मन लाग्छ।

उनका लागि जे गर्न सकिन्छ, अहिले नै गरौं भन्ने लाग्छ। उनलाई सत्ता र शरीरले धोका दियो भने हाम्रा आउने सबै पुस्तामाथि धोका हुनेछ। उनलाई म अहिले नै सम्झिन चाहन्छु। मैले अहिले उनको रित्तो पेटलाई सम्मान गरिनँ भने बाँचुन्जेल त्यसले पोलिरहनेछ। उनले आफ्ना लागि होइन, मेरा लागि बीसौं दिनदेखिको रित्तो पेट लिएर लडिरहेका छन् भने म उनलाई आफ्नो भरिएको पेटले पनि साथ दिन सक्दिनँ?

यदि मैले सकिनँ भने, गोविन्द केसीको शरीरले धोका दियो भने एउटा उजेलो आशाले भरिएको समय पनि मर्नेछ। एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना हुनेछ। मलाई थाहा छ, ठूला घटनाका बारेमा सत्तावालहरूले कस्ता ‘हास्यास्पद तर्क’हरू दिएर उम्किने कोशिस गर्छन्। डाक्टर केसी सत्तावालहरूको ‘हास्यास्पद तर्क’ भएर इतिहासको अँधेरो गर्तमा हराउनु हुँदैन।

यदि उनी इतिहासका पन्नाका हास्यास्पद तर्कहरूका अनुच्छेदमा चेपिए भने मलाई उनको रित्तो पेटको पाप लाग्नेछ। ईश्वर मान्नेलाई ईश्वरले र प्रकृति मान्नेलाई प्रकृतिले सराप दिने छ। र, मलाई थाहा छ, रित्तो पेटले दिएको सराप सबैभन्दा डरलाग्दो हुन्छ।

कामना गर्छु—
मैले आत्मग्लानीले— आफूले निलिरहेका हरेक गाँसहरूमा उनको रित्तो पेटलाई सम्झिन नपरोस्। मैले उनलाई आफू बिरामी भएर छट्पटिरहेको स्टे«चरबाट पनि सम्झिन नपरोस्।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा

    नेपाली फोटोपत्रकारिता भनेजस्तै विकास र उन्नति नहुनुमा नेपाली फोटो पत्रकारहरुले जति सुन्दर तस्बिर कैद गर्छन् त्यस्तै अनुरुपमा फोटो क्याप्सन (फोटो विवरण) नलेखेर हो। उनीहरुलाई लाग्छ कि लेख्नु भनेको लेखक पत्रकारहरुको काम हो। त्यसैले त्यो लेखाइ गलत भैदिन्छ जब क्याप्सन लेखकले फोटोपत्रकारको नजरले हेर्न सक्दैन।

    दीपेन्द्र बज्राचार्य

  • काठमाडौंमा म कसलाई मतदान गरौं काठमाडौंमा म कसलाई मतदान गरौं

    काठमाडौं! आफैं भित्र के छ? अवस्य नै धेरै छ। काठमाडौं मेरो लागि धेरै हो। यसलार्इ राम्रो बनाउन प्रतिज्ञा गर्ने र परिवर्तनका सम्वाहक बन्न खोज्ने मानिसहरूका लागि पनि यही नै सत्य हो, कुनै पनि व्यक्तिका लागि उसको नाम नै सबैथोक हो। काठमाडौंका लागि त्यो अझ बढी हो। तपाईँ आफूलार्इ विवेकशिल वा एमाले, काँग्रेस, माओवादी, साझा, हाम्रो यो वा त्यो अन्य दर्जनौं नामले पुकार्नुहोस्, के तपाईँको काठमाडौं वास्तवमै मेरो भन्दा फरक छ? तिनीहरू भन्छन् कि युवाहरू तेज, लचिलो र दिन चाहने हुन्छन्। तर नेपालका नयाँ राजनीतिक पार्टीहरूलार्इ के भएको छ, मलार्इ थाहा छैन । कुनै पनि नयाँ राजनीतिक पार्टीसँग जित्नका लागि चाहिने कोष, युवाहरूको सहयोग, अनुभव जस्ता सबै कुराहरू पर्याप्त छैनन्। के हामी सबै मिलेर एउटा समूह बनाउन सक्तैनौं जहाँ हामीसँग पर्याप्त कोष, कार्यान्वयन गर्न सक्ने युवाशक्ति र बौद्धिक वार्ताकारले भरिपूर्ण रहुन् अनि त्यहाँ उत्कृष्ठताका लागि फरक हुन सक्छ।

    सुमना श्रेष्ठ

  • फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि? फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि?

    यसको अर्थ यो नमानौं कि आमाको फोटो फेसबुकमा राख्न पनि नपाउने? पक्कै पनि पाउने। तर आफूले आमालाई कतिको माया गर्छु, बिरामी पर्दा कतिको हेरचाह गर्छु, बृद्ध अवस्थामा कतिको माया र स्नेह गरेँ, आमालाई मिठो मसिनो खान दिएँ कि दिईन लगायतका कुराहरु ख्याल गरेका छौं? एकपटक स्मरण गरौं, हामीमध्ये कतिले फेसबुकमा धेरै खाले ‘क्याप्सन’ सहित तस्बिर राखेका आमाहरु कति बृद्धाश्रममा होलान्, कति खान नपाएर रत्नपार्कमा हात फैलाउन बाध्य होलान्, कति उपचार खर्च नभएर अस्पतालमा जीवन र मृत्युको दोँसाधमा लडिरहेका होलान्।

    गोबिन्द मरासिनी

साहित्यपाटी

  • आमा आमा

    रगतको थोपा थोपा सिन्चित गरेर  आफू भित्र लुकायौ  शारीरिक परिवर्तनसँगै  जाग्राम बसेका  मातृ उमंगहरु  दिन अनि महिना गन्दै...

    मिरा प्रसाई

  • माता तिर्थ औँसी माता तिर्थ औँसी

    लंके दिनभर र्याली र भाषणमा ब्यस्त रह्यो। साँझपख लखतरान परेर पार्टी कार्यलय पुग्यो। कार्यालयको वाइफाइ अटो-कनेक्ट हुनासाथ मोबाइलमा नोटिफिकेसन बज्न थाल्यो। उसले फेसबुक खोलेर हेर्यो। ओहो! आज त आमाको मुख हेर्ने दिन पो रहेछ। आफुसँग दिनभर सँगै हिंडेका मने, रिखे र यामेले फेसबुकमा आमाको फोटो राखेको देखेर ऊ चित खायो। उसले सोच्यो- 'कुन बेला फुर्सद पाएछन यिनेरुले? अनी कहाँको वाइफाइ पाएछन?'

    सन्तोष पौड्याल

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

पाठक विचार

  • किशोर थापाजीलाई खुलापत्र

    राजनितिमा भर्खर प्रवेश गरेकी रन्जुलाई मेयर पदमा निर्वाचित गराएर उनीलाई मार्गदर्शन गर्ने भूमिकामा तपाई रहनु भयो भने निश्चय नै नेपालको राजनैतिक इतिहासमा यो एउटा नयाँ प्रयोग हुनेछ। अरुले पनि यसबाट पाठ सिक्ने छन्। नयाँ पुस्तालाई राजनितिमा स्थान दिन यो कोशेढुंगा साबित हुनेछ। मलाई के पनि विश्वास छ भने वैकल्पिक राजनैतिक शक्ति खोजिरहेका काठमाण्डौबासीहरुले तपाईहरुलाई अवश्य विजय गराउने छन्।

    डा. शैलेन्द्र सिग्देल

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट