जीवनमा धेरैप्रति आस्था राखियो, धेरैमाथि विश्वास गरियो। अझ राजनीतिमा धेरैबाट धेरै किसिमले आशा राखियो। तर, मेरो आस्था, विश्वास र आशा धेरैपटक धरापमा परे। क्षतविक्षत भए। आज मैले मभित्र त्यो आशा, विश्वास र आस्था बाँकी छ कि छैन भनेर सिंगै आफ्नो अस्तित्वलाई टक्टक्याएर जाँच्नुपर्ने हुन्छ। खोज्दै जाँदा यसको मूल कारण राजनीतिमै गएर टुंगिने रहेछ।
मलाई लाग्छ, मेरो वरिपरि र मेरो भोट लिएर गरिने राजनीति मैले र मजस्तै सबै आम मान्छेले बुझ्ने खालको हुनुपर्छ। तर, त्यस्तो हुँदै भएन। मेरो देशको राजनीति यति जटिल बनाइयो, यो राजनीति किन, कसरी र कसका लागि हुँदैछ भनेर मभित्र अहिले भयानक अलमल व्याप्त भएको छ। यो अलमलले मेरो अगाडि एउटा डरलाग्दो अँध्यारो उपस्थित गराउँछ। म त्यो अँध्यारोसित डराउँछु।
तर, यही अँध्यारोबीच मैले एउटा मसिनो आशाको दीप पनि बलिरहेको देखेँ। त्यसैमा देखेँ मैले डाक्टर गोविन्द केसीको मुहार। गाढा अँध्यारो व्याप्त हुँदै गैरहेको यो समाजमा जब उनी उपस्थित भए, मलाई फेरि मेरो समयप्रति अलिकति भए पनि विश्वास पलाएर आयो। सकारात्मक सोच जागृत भएर आयो। त्यसैले पनि मलाई हजारपल्ट डाक्टर गोविन्द केसीलाई सलाम गर्न मन लाग्छ।
गोविन्द केसीलाई म नजिकबाट चिन्दिनँ। तर, अहिले आएर सबैभन्दा नजिकबाट चिन्छु भन्ने आभास भएको छ। उनी मेरो लागि अनसन बसिरहेछन्, मेरो सन्तान दर सन्तानका लागि अनसन बसिरहेछन्। नेपालका मेडिकल माफियाबाट यो क्षेत्रलाई चोखो राखेर हाम्रा लागि सहज स्वास्थ्य सेवाको वातावरण बनाउन लागिपरेका छन्। अलिकति भावुकता देखिन्छ उनको यो गतिविधिमा, अलिकति हठ पनि देखिन्छ। तर, यो हठ र भावुकता उनले आफ्नो जायजेथा बढाउन वा आफूलाई समाजको अब्बल चिकित्सक सावित गर्न देखाइरहेका छैनन्। यो त उनले मेरो लागि, मेरो जहान परिवारका लागि, म बाँचेको समाजका लागि देखाइरहेका छन्। म अल्पज्ञानीले त यो कुरा बुझेँ भने मेरो र मजस्ताको मतको भर्यांग चढेर सरकार, सदन र राज्यसत्ताका विभिन्न ग्ल्यामरस सिंहासनमा बसिरहेकाहरुले किन बुझिरहेका छैनन्? किन बुझ्दैन कार्यपालिका, किन बुझ्दैन व्यवस्थापिका र किन बोल्दैन न्यायपालिका?
यो मौनताले डाक्टर गोविन्द केसीको ज्यान पनि लिन सक्छ। मर्दा उनी एक्लै मर्लान्, तर उनीसँगै मेरो आस्था र विश्वास त मर्छ मर्छ, मजस्तै अरू कति कतिको आस्था र विश्वास पनि मर्छ। यो मृत्यु चुपचाप हुने छैन। यो मृत्युसित चित्कार पनि हुनेछ, आवाज पनि हुनेछ। ढिलोचाँडो यो आवाजले सत्तासिंहासनका हातगोडा काँप्ने नै छन्। त्यसको परिणाम खपिनसक्नु हुनेछ। त्यसैले, त्यति धेरै क्षति हुनुअघि नै गोविन्द केसीलाई मर्न दिनु हुँदैन हामीले।
तर लाग्छ, मेरो सरकार त गोविन्द केसीको मृत्यु कुरिरहेछ। भावुकता नै सही, म मेरो आँशु लतपतिएका यी शब्दमार्फत् सरकारलाई प्रश्न गर्न चाहन्छु– तिमीसम्म आवाज पुग्न कतिवटा गोविन्द केसीले चिच्याउनुपर्छ, कतिवटा गोविन्द केसीले अनसन बस्नुपर्छ? कतिवटा गोविन्द केसी मर्नु पर्छ?
सरकार, के त्यो मृत्युको कुनै लगत हुनेछ तिमीसित? किनभने, समयले एक न एकदिन तिमीसित हिसाब त माग्ने नै छ।