तीन वर्षअघि भेनेजुयाली कम्युनिस्ट नेता ह्युगो साभेजको मृत्यु हुँदा नेपाली मिडियामा जति चर्चा भएको थियो, त्योभन्दा बढी क्युबाली नेता फिडेल क्यास्ट्रोको पालामा भएको छ। स्वाभाविकै हो, क्यास्ट्रोको वरिपरि निर्माण गरिएको व्यक्तित्वको उचाइ र प्रभावका हिसाबले उनको निधनले बढी चर्चा पाउनै पथ्र्यो।
तर, क्यास्ट्रोको मृत्युपछि उनका बारेमा जे–जति चर्चा भएका छन् ती स्वाभाविक हुन् त? यी चर्चामा क्यास्ट्रोलाई हिरो बनाइएको छ। साँच्चिकै क्यास्ट्रो हिरो हुन्? हाम्रा आदर्श पुरुष हुन्?
क्यास्ट्रो बहादुर, बलिया र प्रभावशाली थिए। किशोरावस्थामा एकपटक उनले आफू कति बहादुर छु भन्ने प्रमाणित गर्न आफू चढिरहेको साइकल भित्तामा लगेर जोतेका थिए। भन्नेहरू उनलाई दृढनिश्चयी थिए भन्छन्। यसको अर्थ असहिष्णु थिए, कहिल्यै कुनै कुरामा सम्झौता नगर्ने एकोहोरो थिए भन्ने पनि हुन्छ। क्यास्ट्रोमा शक्तिको भोक कति थियो भन्ने उनले झन्डै आधा शताब्दी एकछत्र शासन गरेबाटै पुष्टि हुन्छ। क्युबाली क्रान्ति र क्यास्ट्रो पर्यावाची हो भन्ने पारिएको थियो। शीतयुद्धको उत्कर्षमा उनले क्युबालाई दुई महाशक्तिका बीचमा एक तुरुप बनाएका थिए। ल्याटिन अमेरिकाभर क्रान्तिको निर्यात गरेका थिए नै, अफ्रिकी मुलुकमा पनि लडाकु योद्धाहरू पठाएका थिए।
क्यास्ट्रो भाग्यमानी थिए। उनले १९५२ मा आफ्ना भाइ राउलसहित एक सय ३५ जनालाई लिएर देशको दोस्रो ठूलो सहरमा रहेको सेनाको क्याम्पमा आक्रमण गरेका थिए। यो आत्मघाती आक्रमणमा उनका अधिकांश साथी मारिएका थिए। उनलाई पक्रिएर १९ महिना जेलमा राखेर माफी दिइएको थियो। सैनिक तानाशाह बाटिस्टाविरुद्धको त्यो पहिलो र त्यसपछिका थुप्रै लडाइँमा क्यास्ट्रो भाग्यले बाँचेका थिए।
सिआइएले रचेका अनैकौं हत्या प्रयासबाट पनि उनी उम्किए। आममाफीपछि मेक्सिको निर्वासनमा गएका क्यास्ट्रो १९५६ मा चे ग्वेभारा र राउलसहित ८१ जना ६० फिटे डुंगा ‘ग्रान्मा’ मा बसेर पूर्वी क्युबामा उत्रिए। उत्रिएपछि तीमध्ये क्यास्ट्रो दाजुभाइ, ग्वेभारा र २० जना मात्र क्युबाली सेनाको गोलीबाट बाँच्न सफल भए। त्यहाँबाट उनीहरू पहाडी भेग सियरा मास्त्रातर्फ लागे, त्यहीँका किसानलाई जम्मा पारेर अर्को लडाकु दस्ता बनाए। हरबखत सिगार च्यापिरहने क्यास्ट्रोको उमेर त्यतिबेला ३२ वर्ष थियो।
जनवरी १९५९ मा दाह्रीवाला क्रान्तिकारीहरूसँगै उनी राजधानी हवाना प्रवेश गरे। एक उदार न्यायाधीशको नेतृत्वमा सरकार गठन भयो। सुरुआती दिनमा सरकारले ज्याला बढाउने, घरभाडा घटाउने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्ने जस्ता निकै लोकप्रिय कार्यक्रम ल्यायो। यो समय बिताउने मेलो मात्रै थियो। भित्रभित्रै क्यास्ट्रोले सुरक्षा दस्तालाई सुदृढ पार्दै लगेका थिए। क्रान्ति सम्पन्न भएको एक वर्ष पुग्दानपुग्दै उनले सरकारभित्र रहेका बुर्जुवा तत्वलाई सफाया गर्ने नाममा मन नपरेकालाई हटाउने वा राजीनामा गर्न लगाउने, सरकारको भाषा नबोल्ने मिडियालाई बन्द गराउने काम थाले। छ वर्षभित्रै सबै निजी सम्पत्ति राष्ट्रियकरण गरियो। यसबाट मध्यम वर्ग बिच्कियो। ठूलो संख्यामा क्युबाली देश छाडेर उत्तर अमेरिका लागे।
क्रान्तिलगत्तै बाटिस्टाका सहयोगी भनिएका हजारौंलाई मृत्युदण्ड दिइयो। क्यास्ट्रोको शासन रक्तपातयुक्त नभए पनि दमनले भरिएको थियो। कोही कसैले क्यास्ट्रोको प्राधिकारलाई चुनौती दिन सक्दैन्थ्यो। कोही तटस्थ हुनै पाउँदैन्थ्यो। कोही कि क्रान्तिको पक्षमा हुन्थ्यो वा विपक्षमा। क्रान्तिको विपक्षी हुनु र क्यास्ट्रो विरोधी भन्नु एउटै थियो।
अमेरिकासँग क्यास्ट्रोको सम्बन्ध सुरुदेखि नै द्वेषपूर्ण होइन। अमेरिकाविरोधी चर्का भाषण गर्ने क्यास्ट्रो कम्युनिस्टहरूको संगतले बरालिएका हुन् भन्ने विश्वास तत्कालीन राष्ट्रपति आइजनआवरको थियो। आइजनआवरकै आग्रहमा तत्कालीन उपराष्ट्रपति निक्सनले क्यास्ट्रोलाई मनाउने प्रयास गरेकै थिए। क्यास्ट्रोले हनिमुन अमेरिकामै मनाएका थिए, विलासी गाडी चढेका थिए, महँगा होटल रेस्टुरेन्टमा खाएका थिए।
क्यास्ट्रो राजनीतिक सुविधाका लागि माक्र्सवादी थिए, उनको भित्री विश्वास क्युबाली राष्ट्रवाद थियो। क्युबालाई स्पेनबाट मुक्त गर्ने आन्दोलनका नेतृत्वकर्ता होसे मार्टी क्यास्ट्रोका आदर्श थिए। अमेरिका–स्पेन युद्धपछि क्युबा अमेरिकाको नवउपनिवेश बन्न पुग्यो। क्यास्ट्रोले मार्टीकै राष्ट्रवाद र साम्राज्यवाद विरोधलाई अँगाले, प्रजातान्त्रिक समाजवादलाई हटाएर। उनको अभियानमा कम्युनिस्टहरू सहयोगी भए। अन्ततः महान कम्युनिस्ट नेता बने।
सोभियत संघबाट हतियार र तेल पाए। अमेरिकाको व्यापारिक नाकाबन्दीले उल्टै क्यास्ट्रोलाई फाइदा पुग्यो। उनका अनौठा आर्थिक योजनाको विफलताको दोष साम्राज्यवादी दुश्मनले लगाएको व्यापारिक नाकाबन्दीले पायो।
क्यास्ट्रोले चाहेको भए चे ग्वेभारा बोलिभियामा मारिन्थेनन् भन्नेहरू पनि थुप्रै छन्। कोलम्बियाली लागुऔषध गिरोहसँग मिलेको सार्वजनिक भएपछि क्यास्ट्रोले त्यसको सारा दोष आफ्नै सहयोगी क्रान्तिकारी जनरल अर्नाल्डो ओचोआलाई लगाएर गोली हानी मार्न लगाए। सोभियत संघबाट थुप्रै सहयोग लिए पनि कहिलेकाहीँ उनीहरूले भनेको नमानेर अप्ठेरोमा पारेका घटना पनि छन्। रुसीहरूकै सल्लाहमा उनले पहिले औद्योगिकीकरण थालेपछि त्यसलाई बीचैमा छाडेर उखु खेतीलाई ब्युँत्याए। विकेन्द्रीत आर्थिक नीतिलाई अँगालेजस्तो पनि गरे तर आर्थिक स्रोत साधनलाई आफैंमा केन्द्रीकृत गरे।
क्युबालीले उच्च स्तरको शिक्षा र स्वास्थ्य सुविधा पाए तर त्यसको आर्थिक लागतको कुनै हिसाब गरिएन। खर्च कहाँबाट बेहोर्ने भन्ने स्रोतको खोजी नै भएन। वाक स्वतन्त्रता शून्य पारियो। जनता अवसर र समृद्धिबाट वञ्चित भए। विरोधीसामु दुइटा विकल्प थिए, भागेर अमेरिका जाने वा श्रम शिविर। धेरैले चुपचाप बस्ने विकल्प रोजे। क्यास्ट्रोले क्रान्तिमा तटस्थ रहनेहरूलाई देश छाड्ने मौका पनि दिए।
क्यास्ट्रो कहिल्यै थाक्दैनथे। उनको व्यक्तित्व प्रेरणादायी छ भन्ने भ्रम धेरैले पालेका थिए। उनी स्वघोषित काममा विश्वास गर्ने मान्छे थिए। उनलाई ठूला रणनीतिकार मानिन्थ्यो। सबै चिज विस्तृतमा जान्न खोज्थे। मान्छेहरूसँग लामो समयसम्म बात मार्थे, कुरा खोतल्थे। पछि तिनै जानकारी, सूचना विवरणलाई भाषणमा प्रयोग गर्थे। क्यास्ट्रो लामालामा भाषण गर्थे। दिनहुँजसो रेडियोमा सुनिन्थे, टिभीमा देखा पर्थे। कहिले चर्कोचर्को बोल्थे, कहिले साउती मार्थे।
क्यास्ट्रोको निजी जीवन अत्यन्तै गोप्य थियो। दुईवटा घोषित श्रीमती थिए, नौ छोराछोरी। अनेकौं महिलासँग उनको सम्बन्ध थियो। क्यास्ट्रोविरुद्ध बोल्न सक्ने एक बहिनी र मोडल बन्न चाहने एउटी छोरी भागेर अमेरिका पुगेका थिए। १७ वर्ष क्यास्ट्रोको अंगरक्षक रहेका हुआ रिनाल्दो सान्चेजले करोडौं क्युबालीले सास्ती खेपिरहेका बेला क्यास्ट्रो कस्तो मस्तीमा थिए भन्ने खुलासा आफ्नो पुस्तकमा गरेका छन्।
क्यास्ट्रो समवयीहरूभन्दा नौजवानलाई अवसर दिन्थे। आफ्नो पकडभन्दा बाहिर जान लागेको आभाष हुनेबित्तिकै समाप्त पारिदिन्थे, आफ्नो वर्चश्व बचाउन। जनरल अर्नाल्डो ओचोआलाई गोली हानिएपछि विरक्तिएर रक्सीको कुलतमा परेका भाई राउललाई नसुध्रिए मारिने धम्की दिएका थिए उनले।
दक्षिण अमेरिकाभर उनले यस्तो संस्कृतिको विकास गरे, जहाँ युवाहरू गुरिल्ला हुन अभिशप्त भए। फलस्वरुप दक्षिण अमेरिकाभर कम्युनिस्टविरोधी सैनिक तानाशाहको उदय भयो। अफ्रिकामा त्यसै भयो। इथियोपिया र अंगोला गोराहरूको उपनिवेशबाट मुक्त भए तर कथित अमेरिकाविरोधी सैनिक तानाशाहको शासनमा फसे। ८० को दशकमा क्युबाले गुरिल्लाको सट्टा डाक्टर निर्यात गर्न थाल्यो। पहिले ती डाक्टर क्रान्तिका सन्देशवाहक हुन्थे, शीतयुद्ध समाप्तिपछि विदेशी मुद्रा आर्जनको दह्रो स्रोत बने।
बर्लिनको पर्खाल भत्कियो, सोभियत संघ बिघटन भयो। क्युबालाई धक्का लाग्यो। अर्थतन्त्र धराशयी भयो। धेरैले क्यास्ट्रो र उनको क्रान्ति खरानी हुने अनुमान गरे। जवाफमा क्यास्ट्रोले ‘शान्ति कालको विशेष परिस्थिति’को घोषणा गरे। उनले आर्थिक व्यवस्थालाई केही खुकुलो बनाए। खुद्रा पसल, रेस्टुरेन्टजस्ता स–साना व्यवसाय गर्न पाइने भयो। अमेरिकी डलरको प्रयोगले वैधानिकता पायो। पर्यटन क्षेत्रमा विदेशी लगानी खुल्ला गरियो। हवाना फेरि यौन पर्यटनको गन्तव्य बन्यो। क्रान्तिले ग्रस्त खासगरी काला जातिका क्युबालीलाई देहव्यापार जीवन गुजाराको एउटा विकल्प बन्यो। अमेरिकाबाट आउने रेमिटेन्स, क्यानेडाली लगानीकर्ताले चलाएको खानी र पर्यटनले उखु खेतीलाई अर्थतन्त्रको मुख्य स्रोतबाट विस्थापित गर्यो। सरकारी स्वामित्वका कम्पनीलाई केही स्वायत्तता प्रदान गरियो। यससँगै आर्थिक असमानता र असन्तोषले अर्को उचाइ लियो। सर्वसाधारणको दैनिक जीवनयापनमा राज्यको नियन्त्रण गुम्दै गयो।
ठिक त्यसै बेला एक अर्काे सहयोगी देखा परे– भेनेजुयलाका ह्युगो साभेज। चीनले पनि केही सहयोग गर्यो। सोभियत संघकै परिमाणमा भेनेजुयलाले क्युबालाई सहयोग गर्न थाल्यो। अर्थतन्त्रले गति लिन थालेपछि क्यास्ट्रोले गरेका सुधारलाई उल्ट्याए। क्यास्ट्रोलाई चित्त बुझाए मात्रै विदेशी लगानी भित्रिन सक्ने भयो। भ्रष्टाचारविरुद्ध लड्न उनले सामाजिक कार्यकर्ताको दस्ता बनाए, जसमा क्रान्तिप्रति उदासीन लम्फुहरुलाई भर्ती गरियो। राजनीतिक विरोधीहरूमाथिको दमन तीव्र पारियो। धेरैलाई जेल पठाइयो। अमेरिका छिर्न खोज्ने तीन जनालाई मारियो। दुई वर्षपछि विशेष काल समाप्त भएको घोषणा भयो।
भाइ राउल र केही भित्रिया क्यास्ट्रोलाई चिनियाँ र भियतनामी मोडलको आर्थिक व्यवस्था लागू गरौं भन्थे। त्यसलाई क्यास्ट्रो ठाडै अस्वीकार गर्थे। उनका अनुसार चिनिया मोडल पतनोन्मुख उपभोक्तावादी थियो। उसले माक्र्सवादी मूल्य–मान्यता गुमाएको थियो, समतामूलक समाज निर्माणको पथबाट विचलित भएको थियो। भेनेजुयला आर्थिक संकटमा परेपछि त्यसको संक्रमण क्युबाले पनि बेहोर्यो। भित्रियाहरूका माझमा क्युबाली मोेडलले पनि काम नगर्ने उनले बताउन थालेका थिए। सरकारी मुखपत्र ‘ग्रान्मा’मा उनका लामालामा झर्को लाग्दा लेख प्रकाशित हुन्थे। ती लेखहरुबाट उनको अर्थ राजनीतिक विचारमा आएको असंगति प्रष्टै बुझ्न सकिन्थ्यो।
जीवनकालको उत्तराद्र्धमा क्यास्ट्रो चिनी उद्योगीहरुले बनाएको आलिसान महलमा बस्न थालेका थिए जुन उनले धेरैअघि राष्ट्रियकरण गरेका हुन्। कहिलेकाही पाहुना नेताहरुसँग तस्बिर खिचाएको भेटिन्थे। ती तस्बिरहरुमा क्यास्ट्रो सुश्क र थकित देखिन्थे। तथापि उनले १० अमेरिकी राष्ट्रपतिलाई बेहोरे। पछिल्लो समय बाराक ओबामाले अघि सारेका सम्बन्ध सुधारको प्रयासबाट पनि उनी खासै खुशी थिएनन्। हवानामा ओबामाले क्युबालीलाई स्वतन्त्र चुनावमार्फत आफ्नो नेता चयन गर्न आग्रह गर्दा क्यास्ट्रो क्रूद्ध बनेका थिए। ‘म अमेरिकी नीति पत्याउँदिन, न मैले उनीहरूसँग कुनै कुरा गरेको छु,’ उनले भनेका थिए।
दमन र करिश्मा मिश्रित क्यास्ट्रोको शासन शैली २० औं शताब्दीका अन्य नेतामा नभएको विशेषता हो। उनलाई घृणा गर्ने क्युबालीहरु समेत उनको वाकपटुताबाट कायल थिए। उनले क्रान्ति सुरु गरे र त्यसको अवसानको साक्षी बन्न पनि भ्याए।
क्यास्ट्रोले अमेरिकासामु घुँडा टेकेनन्। यसैलाई महानताको आधार भन्न सकिँदैन। उनको अहंकारको चर्को मूल्य क्युबालीले चुकाउनुपर्यो। अमेरिकासँग हार्दैमा, घुडा टेक्दैमा सर्वस्व जाने होइन। जापान पनि कुनै बेला अमेरिकासँग परास्त भएको हो, घुडा टेकेकै हो। के आज जापानको प्रतिष्ठा विश्व समुदायमा कम छ? जापानीहरूको जीवनस्तर, उनीहरूले उपयोग गरिरहेको स्वतन्त्रता कसको भन्दा कम छ?
महानता नाप्ने कसी मुलुकको अर्थ राजनीतिक व्यवस्थापन कुशलतापूर्वक गरियो कि गरिएन भन्ने हुनुपर्छ। उदाहरण छर्लंग छन्– एकातिर क्यास्ट्रोको क्युबा र उनको मित्रशक्ति भेनेजुयला, बोलिभिया, अंगोला, इथियोपिया, सिरिया। अहिले त्यहाँका जनता कति संकटमा छन्, दिनदिनै समाचारको विषय बनेको छ। अर्कातिर क्यास्ट्रोले दुत्कारेका तर आर्थिक उन्नतिमा लम्किएका चीन र भियतनाम छन्। कम्युनिस्ट कट्टरतालाई त्यागेर करोडौं जनतालाई गरिबीबाट उतारिरहेका छन्।
क्यास्ट्रोको सनकलाई कल्पनाशीलता मान्ने, उनको दम्भलाई गौरव मान्ने, उनले गरेका दमनलाई नजरअन्दाज गर्दै महान नेताको पगरी गुथाउने गल्ती हामीले गर्न हुँदैन। उनलाई महान भन्ने हो भने महानताको परिभाषा फेर्नुपर्छ। आफूले मस्ती गरेर जनतालाई सास्ती दिने सबै ठालुहरूलाई महान नेता भन्नुपर्छ।
(सन्दर्भ सामग्रीः इकोनोमिस्ट, वाल स्ट्रिट जर्नल, फरेन पोलिसी, न्यूयोर्क पोस्ट)