भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय उद्यमी योगी रामदेवको प्रत्यक्ष लगानी रहेको भनिएको पतञ्जली आयुर्वेद प्रालिको उद्घाटन गरिन्। योगगुरु रामदेवले काठमाडौं ओर्लिनेबित्तिकै उक्त उद्योगमा आफूले हालसम्म १०० करोड (१ अर्ब भारु) लगानी गरिसकेको दाबी गरेका थिए। तर, उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि स्वीकृति नै नलिइएको खुलेपछि हतारहतार रामदेवले आफूले लगानी गर्ने योजना मात्र बनाइरहेको विज्ञप्ति जारी गरेका छन्।
यसअघि उनले ४ देखि ५ अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने घोषणा गरेका थिए। भारतको उदाउँदो औद्योगिक समूह पतञ्जलीले नेपालमा लगानी प्रवर्धन गर्नुलाई अन्यथा लिन नसकिए पनि यसले जुन विधि र बाटो अवलम्बन गरेको छ, त्यसले भने केही प्रश्न उब्जाइरहेका छन्।
एफडीआई प्रवाहका लागि दुई विधि छन्। एउटा, प्रधानमन्त्री अध्यक्ष रहेको औद्योगिक प्रवर्धन बोर्डबाट स्वीकृत गर्ने र अर्को, १० अर्बभन्दा ठूलो लगानीका हकमा लगानी बोर्डमा प्रस्ताव पठाएर त्यहाँबाट निर्णय गराई लगानी गराउने । उद्योग विभागमा दर्ता भएपछि सम्बन्धित कम्पनीले कति अनुपातको वैदेशिक लगानी भित्र्याउने हो, त्यसको विवरण खोलेर आवेदन दिनुपर्छ। लगानीको स्रोत हेरेर सरकारले एफडीआई प्रवाहको अनुमति दिने गरेको छ।
वैदेशिक लगानी नीति–२०७१ ले लघुउद्यम, परम्परागत घरेलु उद्योग, हातहतियार तथा खरखजानाजस्ता सीमित क्षेत्रमा मात्र वैदेशिक लगानी प्रतिबन्ध लगाएको अवस्थामा पतन्जली योगपिठले किन चोरबाटो अपनायो? भन्ने विषय प्रश्नको घेरामा छ। यसका साथै, राष्ट्रप्रमुखले कुनै अमुक उद्योगको उद्घाटन वा ब्रान्ड प्रवर्धन गर्न हुन्छ कि हुँदैन भन्ने अर्को प्रश्न पनि उब्जेको छ। ज्ञातव्य छ, पतन्जली आयुर्वेद नेपालले विगत १० महिनाअघिदेखि नै ५५ किसिमको उत्पादन बजारमा पठाइरहेको छ।
उत्पादन कताको?
केही वर्षअघि रुपन्देहीतिर कारखाना राखेर यहीँ विभिन्न ब्रान्डका चकलेट उत्पादन गर्ने अनुमति लिएको कम्पनी शिवा कन्फेक्सनरीले भारतमा चकलेट उत्पादन गराइ उतै प्याकिङ गराएर नेपाल भित्र्याउने गरेको खुलासा भयो। भैरहवा भन्सारले नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त कम्पनीका चकलेट बरामद नगरेको भए शायद यो रहस्य खुल्दैन थियो पनि होला। नेपाली उत्पादनका नाममा अन्यत्रै उत्पादन गरेर यहाँ भित्र्याइन्छ भन्ने कुराको यो एउटा उदाहरणमात्र हो।
नेपालभित्रै उद्योग स्थापना गरेर उत्पादन आधार विस्तार गरिँदा त्यसले रोजगारी सिर्जनादेखि राज्यलाई कर योगदान गर्ने तथा समग्र अर्थतन्त्र विस्तारमै सहयोग पुर्याउने कुरामा शायदै दुई मत होला। डाबर नेपाल, युनिलिभर नेपालजस्ता केही भारतीय संयुक्त लगानीका कम्पनीहरूले नेपालमा उत्पादन आधार सिर्जना गरेका छन्, जसले सबैभन्दा बढी निर्यातमूलक उद्योगका रुपमा बेलाबेलामा राज्यबाट सम्मान पनि पाउँदै आएका छन्। यी कम्पनीहरूद्वारा उत्पादित तीव्र खपत हुने वस्तुहरू (एफएमसीजी) को ब्रान्ड, उत्पादनको आकार प्रकार, रंग सबै ढाँचा नेपालमा र भारतमा उस्तै छ। केबल लेबलमा छापिने–मेड इन नेपाल शब्दबाहेक। कतिपय उत्पादन भने भारतमा उत्पादन गरेर ‘अन्ली फर नेपाल’ भनेर पनि यहाँ भित्र्याइने गरिएको छ।
बाबा रामदेवको कम्पनी अहिले बहु–उत्पादनमा गएको छ। पतन्जली आयुर्वेद नेपाल प्रालि स्थापना हुनुपूर्व नै नेपालमा खुलेका पन्तजली बिक्री कक्षहरूमा उक्त औद्योगिक समूहको आयुर्वेदिक उत्पादनदेखि साबुन, पिठो, बिस्कुट, चाउचाउ, स्याम्पु, दन्तमञ्जन र अन्य सौन्दर्य प्रशाधन पनि बिक्री भइरहेका छन्। नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसनबाहेक अरुले नुन आयात गरेर बिक्रीवितरण गर्न पाउँदैनन्, तर पतन्जलीका बिक्री कक्षहरूमा खुलेआम भारतीय नुन बिक्री भइरहेको छ। नेपालमा स्थापना हुने, कारोबार गर्ने कुनै पनि कम्पनी विशेषले यहाँका नीतिनियम पालना गर्नुपर्छ। पतन्जलीका व्यापारिक केन्द्रहरू त्यसबाट अलग हुन सक्दैनन्।
योगका माध्यमबाट व्यापारमा प्रवेश गरेका रामदेव र उनका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णको अहिले कूल सम्पत्ति ११ अर्ब भारु (३.८ अमेरिकी डलर) बराबर छ। पतन्जली समूहमा कूल ९४ प्रतिशतका शेयर स्वामित्व भएका आयुर्वेदाचार्य बालकृष्ण २.८ अर्ब अमेरिकी डलरसहित फोर्ब्सको भारतका उत्कृष्ट ५० धनाढ्यको सूचीमा परेका छन्।
बहुराष्ट्रिय कम्पनीको विरोध
केही वर्षअघिसम्म बाबा रामदेव केवल योगको मात्र प्रवर्धन गर्थे। उनको सानिध्यमा हुर्केका बालकृष्ण सुवेदीले जब आयुर्वेदमा आचार्य गरे, हरिद्वारस्थित योगपिठमा सुरुका दिनमा केही आयुर्वेद औषधीमात्र उत्पादन गरेर तिनैका बजारीकरण गरिरहेका रामदेवले पछि भारतीय वैज्ञानिक राजीव दीक्षितबाट प्रभावित भइ स्वदेशी आन्दोलनका प्रवर्धन गर्न थाले। सन् २००९ मा दीक्षितको हृदयाघातबाट निधन भएपछि बाबा रामदेवले त्यसलाई पनि रहस्यमय हत्याको आरोप लगाएका थिए। विशेषगरी भारतमा कसरी बहुराष्ट्रिय कम्पनीहरू प्रवेश गरे र त्यहाँको अर्थव्यवस्थालाई कसरी खोक्रो पारिरहेका छन् भन्ने दीक्षितका व्याखानहरूबाट प्रभावित भएका रामदेवले आफ्ना योग मन्तव्यहरूमा बहुराष्ट्रिय कम्पनीका संस्थागत विरोध थाले। बहुराष्ट्रिय कम्पनीले भारतीयका स्रोतसाधन कब्जा गर्ने, नाफाजति आफ्नै मुलुकमा लैजाने भएकाले स्वदेशी उत्पादनको खपत बढाउँ भन्ने ‘राष्ट्रवादी’ नारासँगै रामदेवले आफ्नो औद्योगिक समूहको उत्पादनको बजारीकरण थालेका हुन्।
ब्रान्ड स्थापना
भारतमा धर्मकर्म, गुरु र मन्दिरहरूका नाममा ठूलो धनराशि दान दिने चलन छ। साइबाबादेखि कृपालुजी महाराज हुँदै बाबा रामदेव, श्रीश्री रवि शंकर, आशाराम बापुसम्मका ट्रस्टमा दान दिइएको रकम अर्बौं छ। करिब एक दशकअघि आफूले ५० देखि ६० करोड रुपैयाँ (भारु) व्यक्तिगत ऋण लिएर पतन्जलीमा लगानी गरेको आचार्य बालकृष्णले फोर्ब्सलाई बताएका छन्। पतन्जलीले अहिले ५ सय किसिमका उत्पादनहरू भारतीय बजारमा बेच्ने गरेको छ। आउँदो वर्षभित्र १ खर्ब भारुबराबरको बिक्री लक्ष्य राखेको छ। पतन्जलीलाई ब्रान्डका रूपमा स्थापना र प्रवर्धन गर्न आचार्य बालकृष्णको लगानी रहेको आस्था च्यानललाई प्रयोग गर्ने गरिएको छ।
प्रत्यक्ष बिक्री मोडलः
सुरुका दिनहरूमा बहुराष्ट्रिय कम्पनी र विज्ञापनको विरोध गर्ने बाबा रामदेवले प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) मोडल अपनाए। यसअन्तर्गत उनी योग शिविरहरूमा पन्तजलीका उत्पादनहरूको प्रवर्धन गर्छन्। जहाँबाट उनका अनुयायीहरूले निश्चित कमिसनका आधारमा पतन्जलीका उत्पादनहरू लैजान्छन् र त्यसको बिक्री प्रवर्धन गर्छन्। अहिले पतन्जली भारतकै सबैभन्दा ठूलो स्वदेशी ब्रान्ड बनेको छ। जहाँ व्यापार हुन्छ, त्यहाँ व्यापारका विधिहरू पनि अपनाइन्छ। केही अघिसम्म बिक्री प्रवर्धनका लागि गरिने विज्ञापनका विरोध गर्दै आएका रामदेव र बालकृष्णले आफैं मोडलिङ गरेर उत्पादनको प्रवर्धन गरिरहेका छन्।
बहुराष्ट्रिय कम्पनी भनेको अमेरिका वा युरोपतिर मुख्यालय भइ धेरै वटा मुलुकमा आफ्नै उत्पादन र बजारीकरण चेन स्थापना गर्ने कम्पनीहरूमात्र होइनन्, भारत वा नेपालमै पनि उत्पादन आधार रहेर अन्य मुलुकमा आफ्नो अस्तित्व विस्तार गर्ने कम्पनीसमेत हुन्। यसरी नेपालसमेत लगानी गरेर कम्पनी स्थापना गरिसकेपछि रामदेव पनि बहुराष्ट्रिय कम्पनीका मालिक भएका छन्। स्वदेशी वस्तुको प्रवर्धन गरेर पनि आत्मनिर्भरताका बाटो अबलम्बन गर्न सकिन्छ भन्ने उद्यमशीलताका लागि रामदेवको व्यापारिक मोडल बनेको छ।
जडिबुटी र बजारमा नजरः
आचार्य बालकृष्णले केही समयअघि नेपाल आउँदा विश्वभर ५ हजार किसिमका जडिबुटी पाइने गरेकोमा ३ हजार किसिमका जडिबुटी नेपालमा पाइने उल्लेख गरेका थिए। वनास्पति विभागको अध्ययनले भने नेपालमा उपलब्ध जडिबुटीमध्ये ८१९ किसिमका जडिबुटी औषधीय रुपमा प्रयोग गर्न सकिने देखाएको छ।
सिंहदरबार वैद्यखाना, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडजस्ता सरकारी स्वामित्वका र केही सीमित निजी कम्पनीले न्यूनरूपमा जडिबुटीको प्रशोधन गर्ने गरेकोमा दुई तिहाइभन्दा बढी जडिबुटी कौडीका भाउमा भारततर्फ निर्यात हुने गरेको छ, जहाँबाट प्रशोधित र प्याकिङ भइ फेरि नेपालतिरै फर्कन्छन्। नेपालबाट अहिले वार्षिक १ अर्ब २५ करोडबराबरको जडिबुटी भारततर्फ निर्यात हुने गरेको तथ्यांक छ, यो बजार सम्भावनाको एक चौथाइ पनि होइन। बजार नपाएर, सरकारी प्रोत्साहन नपुगेर सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी घाटामा गएकाले आफ्नो जग्गा बेचेर कर्मचारीलाई उपदान दिनु परिरहेको बेला भारतीय बहुराष्ट्रिय कम्पनी नेपाल छिरेको छ। अझ यसरी बुझौः डाबर, झन्डुको प्रतिष्पर्धीका रूपमा पतन्जली नेपाल छिरेको हो।
अहिलेसम्म डाबरले मात्र नेपाली जडिबुटीका एक हिस्साको बजार कब्जा गर्दै आएकोमा अब पतन्जली आयुर्वेदले नेपालका जडिबुटी प्रशोधन, प्याकिङ, लेबलिङ र ब्रान्डिङ गरेर भारतका उत्तर–पूर्वी राज्यहरू उत्तरप्रदेश, बिहार, पश्चिम बंगालसहित नजिकका अन्य राज्यमा आपूर्ति गर्ने रणनीति बुझ्न कठिन छैन। विश्व व्यापार संगठनको प्रावधानअनुसार नेपाल सरकारले सन् २०२२ भित्र औषधीय गुण बोकेका जडिबुटीहरूको प्याटेन्ट दर्ता गरिसक्नु पर्नेछ। हाम्रा परम्परागत ज्ञानसहितको जडिबुटीको प्याटेन्ट अरुले दर्ता गर्नुपूर्व नै सरोकारवालाहरूले पहल नथाल्ने हो भने भोलि पछुताउनु पर्ने दिन आउनेछ।
जग्गा विवाद
बाबा रामदेवका प्रत्यक्ष लगानीमा उनका अनुयायीहरूका तर्फबाट नेपालमा औपचारिक रूपमा कम्पनी नै दर्ता भइसकेको छ, पतन्जली योगपिठ। उक्त योगपिठले काभ्रेको नासिकास्थानमा अतिन्यून मूल्यमा किनेको जग्गा, प्लटिङ गरेर बेचिएको, डाँडा खोतल्दा पहिरो बढेको भनेर स्थानीयवासीले नै निकै विरोध गरेका थिए, तर पछि उक्त विरोध थामथुम पारियो। अहिले पनि नेपाल संस्कृत विश्वविद्यालयको दाङमा रहेको करिब २ सय विघा जग्गा, सस्तो दाममा ४० वर्षका लागि लिजमा दिने प्रक्रिया अघि बढेपछि सो विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरू आन्दोलित भएका छन्। यसको निर्णय फायल अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पठाइएको छ, जो उक्त विश्वविद्यालयका कुलपति हुन्। ढिलोचाँडो त्यसमा निर्णय हुने संकेत देखिएको छ। पतन्जलीको प्रवेश स्वाभाविक हुँदाहुँदै पनि अस्वभाविक परिणामका लागि भने पर्खनै पर्छ।