डा. गोविन्द केसीको दसौं अनसन आज १७ औं दिनमा प्रवेश गरेसँगै यो उनको सबैभन्दा लामो अनसन बनेको छ। आजसम्म जोड्दा डा. केसी चिकित्सा शिक्षाको सुधार र स्वास्थ्य उपचारमा आमनेपालीको पहुँच सहज बनाउन ११८ दिन अनसन बसिसकेका छन्। हामी सबै नेपालीलाई स्मरण गराउन चाहन्छौं, नेपालको इतिहासमा अर्को कुनै त्यस्तो व्यक्ति छैन, जो यतिका दिन अनसन बसेको होस्। सम्भवतः अर्को कुनै मुलुक पनि छैन, जहाँ एउटा पेशाकर्मी आफ्नो ज्यान जोखिममा राखेर आमसरोकारका विषयमा यति निष्ठा र दृढतापूर्वक निरन्तर अनसनमा होमिएको होस्। त्यस अर्थमा डा. केसीको सत्याग्रह अपूर्व र असाधारण छ। त्यसैले, उनका माग सम्बोधन र उनको जीवनरक्षा हामी सबैको दायित्व र जिम्मेवारी हो।
हामी मुलुकको राजनीतिक नेतृत्व सम्हालेर बसेका दलका नेताहरूलाई सचेत गराउन चाहन्छौं, डा. केसीलाई दसौंपटकसम्म अनसन बस्न बाध्य पारेको यो देशको राजनीतिले हो, तपाईंहरूकै गतिविधिले हो, त्यसैले यो विषयको शिघ्र हल खोज्ने जिम्मेवारी पनि तपाईंहरूको हो। प्राविधिक कारण देखाएर वा तपाईंहरूकै फेरो समातेर कुर्सीमा पुगेका कर्मचारीका नालायक काँधमा यो जिम्मेवारी छाडेर तपाईंहरू कोही पनि टक्टकिन पाउनु हुन्न।
पछिल्लोपटक यो विषय डा. गोविन्द केसीसँग सरकारले गरेका पछिल्ला सम्झौताहरू तोडेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा त्रिभुवन विश्वविद्यालयले गरेको डिनको नियुक्तिले बल्झिएको हो। योभन्दा धेरै अघिदेखि भएका अनसनहरूमा नै डा. केसीले आइओएममा डिन नियुक्ति वरिष्ठताका आधारमा गर्नुपर्ने माग राखेका थिए। उनको मागलाई सरकारले स्वीकार गरेर चार वर्षदेखि आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्त हुँदै आएको थियो। यसपालि त्रिविका उपकुलपति तीर्थ खनियाँले बदनियतपूर्वक डा. केसीसँग भएको सम्झौताको सर्त तोडे र कनिष्क व्यक्तिलाई डिन नियुक्त गरे।
कतिपय राजनीतिज्ञ तथा व्यक्तिहरूले वरिष्ठताका आधारमा मात्र डिन नियुक्त गर्नुपर्ने डा. केसीको माग अव्यवाहारिक रहेको भन्दै आलोचना गरेका छन्। उनीहरूले नियुक्तिको आधार वरिष्ठता र कार्यदक्षता दुवै हुनुपर्ने तर्क गरेका छन्।
डा. केसी भावनाले मात्र चल्दैनन्, उनको दिमाग पनि त्यति नै तेज चल्छ। उनलाई डिन वा कुनै कार्यकारी पदमा नियुक्ति गर्दा वरिष्ठता र कार्यसम्पादन दुवैको मूल्यांकन हुनुपर्छ भन्ने थाहा नभएको हैन। तर, सिद्धान्तको गुड्डी मात्र हाँक्नेहरूलाई थाहा नभएको तथ्य के हो भने, कार्यदक्षताको बहानामा राजनीतिज्ञहरूले आइओएमा एकाध अपवादबाहेक सधैं निकम्मा डिनहरू थोपरे। तिनै निकम्मा डिनकै कारण आइओएम मात्र धरासायी भएन, आइओएमको सम्बन्धनमा चलेका मेडिकल कलेजमा पनि चरम नाफाखोरी मौलायो।
आइओएममा सक्षम डिनहरू नियुक्त हुने परिपाटी बसेको भए आज चिकित्सा शिक्षा यसरी रसातलमा पुग्दैनथ्यो। आइओएमअन्तर्गतका करिब दर्जन मेडिकल कलेजमा खडेबाबा संस्कृति भित्रिन्न थियो। ती कलेजमा एमबिबिएस पढ्ने विद्यार्थीले टेबल माथि वा मुनि गरेर ५०–६० लाख रुपैयाँ तिरेर पनि गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपर्दैन थियो। आवश्यक पूर्वाधार, फ्याक्ल्टी र बिरामीबिना नै पैसाको बिटो बुझाएको भरमा मेडिकल कलेजले बर्सेनि थप सिट पाउँदैन थिए।
कार्यदक्षताको आवरणमा राजनीतिज्ञले आफू नजिकका वा आफूलाई पोस्न नियुक्त गरेका व्यक्तिले चिकित्सा शिक्षालाई धरासायी बनाउन थालेपछि नै डा. केसीको पहिलो अनसन सुरु भएको थियो। डा. केसीको सत्याग्रहका कारण चार वर्षदेखि आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्त हुन थालेको थियो। राजनीतिको छायाबाट मुक्त डिनहरूको नियुक्तिपछि मात्रै आइओएम र मेडिकल शिक्षामा सुधारका संकेत देखिन थालेका थिए। यो सुधार उल्टिने खतरा देखिएको छ।
त्रिवि उपकुलपति खनियाँले वरिष्ठताको सहमति लत्याएर कनिष्क डा. केपी सिंहलाई डिन नियुक्त गरेका छन्। तर, डा. सिंह कार्यक्षमताका आधारमा पनि डिन नियुक्त भएका होइनन्। योभन्दा अघि उनी आइओएमका निर्देशक हुँदा शिक्षण अस्पताल अस्तव्यस्त मात्र भएको थिएन, उनलाई उपकरण खरिदमा अनियमितताको आरोप पनि लागेको थियो। अहिले पनि अख्तियारले त्यसको अनुसन्धान गरिरहेको छ। डा. सिंहपछि डा. भगवान कोइराला आइओएममा निर्देशक भएर आएपछि मात्र आइओएम फेरि ‘फर्म’ मा आएको थियो।
खनियाले डा. सिंहलाई कुटिलचालअन्तर्गत डिनमा नियुक्त गरेका हुन्। उनी डा. केसीका अनन्य मित्र हुन र केसीसँगै चिकित्सा क्षेत्रको सुधारका लागि लडेका व्यक्ति हुन्। डा. सिंहमा एकपटक डिन बन्ने जुन लालसा र मानवीय कमजोरी देखियो, त्यसैलाई समातेर खनियाले डा. सिंहले अवकाश पाउनु चार महिनाअघि उनलाई डिन नियुक्त गरेका छन्। उनको नियुक्तिसँगै डा. केसीको मुख बन्द हुने खनियाँको अपेक्षा थियो। चार महिनापछि आफूले चाहेको व्यक्तिलाई डिन नियुक्त गर्ने रणनीतिअनुरुप खनियाँले डा. सिंहलाई अघि सारेका थिए।
यो पनि हेर्नुस्:
डा. केसीको सत्याग्रह विधिका लागि हो, व्यक्तिका लागि होइन। त्यसैले, आफ्ना अनन्य मित्रको नियुक्तिसँगै डा. केसीले उनी र खनियाको बर्खास्ती लगायत माग राखेर दसौं अनसन सुरु गरे।
यति कुटिल चाल चल्ने खनियाँ स्वयं शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र भ्रष्टीकरणका उपज हुन्। उनले बौद्धिक सम्पत्ति चोरी गरेको अकाट्य प्रमाण फेला परेका छन्। एकेडेमिक क्षेत्रमा अर्काले लेखेको, सिर्जना गरेको सार्नु वा आफ्नो भनी प्रस्तुत गर्नु सबैभन्दा अक्षम्य अपराध मानिन्छ। कसैले लेखेको दुई–चार लाइन सारेको भेटिएका प्राध्यापक, पत्रकारहरूले सभ्य समाजमा जागिर मात्र गुमाएका छैनन्, सधैंका लागि सामाजिक प्रतिष्ठा गुमाएका छन्। बहिष्कृत जीवन बाँच्न अभिशप्त छन्।
खनियाँ उपकुलपति नियुक्त हुनुअघि नै उनले बौद्धिक सम्पति चोरी गरेको प्रमाण बाहिर आएका थिए। तर, राजनीतिक भागबण्डाका आधारमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई त्रिभुवन विश्वविद्यालयको गरिमामय उपकुलपति पदमा नियुक्त गरे।
राजनीतिज्ञज्यूहरू, प्रमुख पार्टीका प्रमुख नेताज्यूहरू, तपाईंहरूले त्रिभुवन विश्वविद्यालयमा भएको विषवृक्षले आज आइओएममा आफ्नो विष फैलाएको छ। चिकित्सा क्षेत्रको सुधार र स्वास्थ सेवामा आमनेपालीको पहुँचका लागि निरन्तर लडिरहेका डा. केसी आज जीवन–मरणको लडाइँमा छन्। उनको स्वास्थ्य निरन्तर खस्किन थालेको छ। लगातार १७ दिन अनसन बसेको पाको शरीरमा कुनै पनि बेला अनिष्ट हुन सक्छ। डा. केसीको माग सुनुवाइ र उनको जीवनरक्षाका लागि लाखौं नेपालीको मन र मस्तिष्क हरपल तानिन थालेको छ।
तर, तपाईंहरू जुन संवेदनहिनताका साथ पन्छिन खोजिराख्नुभएको छ, त्यो बुझिनसक्नु छ। त्यसले सम्भावित अनिष्टलाई झन् सन्निकट ल्याएको छ। कदाचित् तपाईंहरूले यो विषय खनियाँ र डा. सिंहको थाप्लोमा हालेर आफू उम्कने सोच्नुभएको छ भने, त्यो गम्भीर भूल हुनेछ। खनियाँ, डा. सिह र अहिले चिकित्सा क्षेत्रमा देखएको बेथितिका जड तपाईंहरू नै हो। यो आमनागरिकलाई राम्ररी थाहा छ। जसलाई थाहा छैन, उनीहरूलाई त्यो बुझाउन नेपालको जिम्मेवार मिडिया पछि पर्ने छैन।
अहिलेको निकासको एउटै बाटो छ, खनियाँ र डा. सिंहले तुरुन्त राजीनामा दिने र चिकित्सा शिक्षा क्षेत्र सुधारको बाँकी कामका लागि अविलम्ब कदम चाल्ने। भविष्यमा राजनीतिक हस्तक्षेपबिना वरिष्ठता र कार्यसम्पादनका आधारमा कर्मचारी नियुक्तिको प्रबन्धको ग्यारेन्टी गरौं। त्यसमा न डा. केसीको असहमति रहन्छ न त कुनै विवेकशील नागरिकको। राजनीतिक पहुँचका भरमा नियुक्ति गरेर संस्थाहरूलाई धरासायी बनाउने काम भने अब सधैंका लागि बन्द हुनैपर्छ।
त्रिवि उपकुलपति खनियाँ र डा. सिंहको राजीनामा टार्ने असफल प्रयासमा समय नघर्काउन हामी राजनीतिज्ञहरूसँग अनुरोध गर्छौं। हामी तपाईंहरूलाई सचेत पनि गराउन चाहन्छौं, खनियाँ र डा. सिंहको पद मात्र हैन, डा. केसीको जीवनको मूल्यमा कुनै पनि राजनीतिज्ञको पद जोगाउन विवेक भएको कुनै नेपाली आजका दिनमा तयार छैन। आम नागरिकमा राजनीतिज्ञले अति गरे भन्ने भावना अहिले नै छ, तर त्यो अतिको पनि सीमा हुन्छ। चुपचाप बसेका नागरिकको धैर्यको परीक्षण तपाईंहरू नगर्नुस्, त्यो ज्यादै महँगो पर्नेछ।