२०६९ साल पुस २६ गते पाँचथर जिल्लाको फेमेखोला भन्ने ठाउँमा गोरु काटेर मासु बेचेको आरोपमा ६ जना पक्राउ परे।
प्रहरीले दलबहादुर गुरुङ, दिपक आङ्वो, सुरेश नेम्बाङ, विनोद नेम्बाङ, शुभचन्द्र राई र रमेश गुरागाईँलाई जिल्ला प्रशासन कार्यालयमा बुझायो।
पुस २८ गते स्थानीय जनजाति संघसंस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय गई पक्राउको विरोध गरे।
मुलुकमा धर्म निरपेक्ष संविधान बनिसकेको हुँदा सबै जातजातिले आ–आफ्नो धर्म संस्कृति अनुसारको भोगचलन गर्न पाउनुपर्ने जिकिर उनीहरुले गरे।
गाउँ–गाउँमा ‘जासुस पठाएर’ गाईगोरु काटेको चियोचर्चो नगर्न चेतावनी दिए। पक्राउ परेकाहरु तुरुन्त रिहा गर्न दबाब दिए।
जिल्ला प्रसाशन कार्यालय फिदिममा भएको छलफलमा सिडियो कोशहरि निरौलाले प्रशासनले जासुसी नगरेको तर उजुर आएपछि कानुनअनुसार कारबाही बढाउनु आफ्नो दायित्व भएको जिकिर गरे।
संविधानले धर्मनिरपेक्ष भने पनि मुलुकी ऐनमा गौहत्याबारे व्यवस्था खारेज नभएको हुँदा आफू त्यही कानुनअनुसार कारबाही अघि बढाउन बाध्य भएको जानकारी गराए।
प्रशासनले पक्राउ परेका मानिस रिहा गर्न अस्वीकार गर्यो। जनजाति संघसंस्था र नेताहरु आगो भए। दुवै पक्षका अड्डी र चेतावनी बढ्दै जाँदा बिषय पेचिलो बन्दै गयो।
नेपाल जनजाति महासंघ, संघीय लिम्बुवान राज्य परिषद्, संघीय समाजवादी पार्टी, आदिवासी जनजाति युवा महासंघ, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा र आदिवासी जनजाति विद्यार्थी परिषद्ले कडा संयुक्त कार्यक्रम घोषणा गरे।
माघ ७ गते सार्वजनिक अपिल गर्ने, १० गते यातायात बन्द, ११ गते बजार र यातायात बन्द र १२ गते सम्पूर्ण जिल्ला बन्द।
त्यसपछि पनि पक्राउ परेका मानिस नछोडिएमा माघ १७ गते पाँचथरका ४१ गाविसबाटै जनजाति कार्यकर्ता र सर्वसाधारणको उपस्थितिमा फिदिम बजारमा गाई काटी सार्वजनिक भोजको आयोजना गर्ने।
यो कार्यक्रमको घोषणासँगै फिदिममा तनाव चुलियो। लगभग ४० प्रतिशत लिम्बु र अन्य जाति बसोबास गर्ने पाँचथरमा जातीय सद्भाव भड्किए त्यसले विकराल रुप लिने प्रष्टै थियो।
यो तनावसँगै जिल्लाका मुख्य पार्टी–एमाओवादी, नेपाली कांग्रेस र एमालेमा भएका जनजाति नेताहरुले सक्रियता बढाए।
चेपुवामा उनीहरु नै थिए। एकातिर आफ्नो जाति र समुदायको सांस्कृतिक अधिकारको प्रश्न थियो। अर्कोतिर, सामाजिक सद्भाव जोगाउनुपर्ने दायित्व।
प्रशासन तथा जातीय संघसंस्थाका नेताहरुसँग समन्वय गरेर समस्याको ‘सेफ–ल्यान्डिङ’ गराए। अन्ततः पक्राउ परेका मध्ये धेरै मानिसहरु छुटे।
...
दुई हप्ता अगाडिमात्र तिहार सकियो। लक्ष्मीपूजाका दिन धेरै नेपाली हिन्दुहरुले गाईको पूजा गरे, लक्ष्मीको प्रतीकका रुपमा। रक्षा–बन्धनका दिन हातमा बाँधेको डोरो सम्हाली राखेकाहरुले डोरो फुकाए गाईको पुच्छरमा बाँधे, पानी चढाए र आचमन गरे। शरीर शुद्धि गर्न गहुँत चाहिने हिन्दुहरुका लागि गाई पवित्रताको प्रतिक हो।
अर्कोतिर गाईगोरुको मासु पूजामा चढाउने र खाने प्रचलन धेरै जनजातिहरुको धर्मसंस्कृतिको अभिन्न अंग हो।
‘लिम्बुहरुको कतिपय पुजामा कोरली गाइको टाउको नै चाहिन्छ। हाम्रा पुर्वजहरुले त्यो नै चढाउँदै आएका हुन्,’ एमाओवादी पाँचथर जिल्लाका संयोजक श्रीप्रसाद जबेगुले भने।
राईहरुको साकेवा (साकेला) पूजामा पनि गोरुको मासु अनिवार्य चढाउने चलन थियो। गाईगोरुको मासु तामाङहरुको पहिचानसँगै जोडिएको छ। मेरी एकजना तामाङ साथी छिन्। उनको परिवारको एउटा मर्मस्पर्शी कथा छ। गाउँ (काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम गाउँ) गएका बेला उनकी आमाले लुकाएर गाईगोरुको सुकुटी ल्याउँथिन् । उनीहरुलाई खान दिन्थिन् र भन्थिन्– तामाङ भएपछि हामीले गाईगोरुको मासुको प्रसाद खानुपर्छ, यो तामाङको पहिचान हो । तर बाहिर साथीभाइ कसैलाई पनि नभन्नू पुलिसले समात्छ।
...
दोस्रो जनआन्दोलनपछि मुलुक धर्मनिरपेक्ष घोषणासँगै हाम्रा धार्मिक/सांस्कृतिक मुद्दाहरु पेचिला बन्दै गएका छन्। हामी नेपाली इतिहासको विभिन्न चरणमा फरक–फरक भुगोलबाट आएर आजको नेपालको सीमाभित्र बस्यौँ। कोही उत्तरबाट आयौँ, कोही दक्षिणबाट। यसरी यो भुगोलमा आउँदा हामीले आ–आफ्ना धार्मिक सांस्कृतिक मान्यता र परम्परा आफूसँगै लिएर आयौँ। कसैले गाईको पुजा गर्ने, गाईको गहुँत आचमन गर्ने परम्परा लिएर आयौँ। कसैले गाईगोरुको मासु चढाउने, खाने संस्कृति लिएर आयौँ। आ–आफ्नो संस्कृतिको निर्वाहमा सबैको स्वभाविक अधिकार हो।
बहुसाँस्कृतिक, बहुधार्मिक मुलुकमा राज्य धर्मनिरपेक्ष हुनुको महत्ता यहीँनिर छ।
धर्मनिरपेक्षको परिधिभित्र हाम्रा धार्मिक/सांस्कृतिक अन्तरविरोधहरुको संयोजन कसरी गर्ने भन्ने भने हामीले राम्ररी पहिल्याउन सकेका छैनौं। हाम्रो भोलिको चुनौती पनि यही हो।
यही धार्मिक सांस्कृतिक अन्तरविरोधलाई आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गर्न कमल थापा अघि सरेका छन्।
राजाको शासनकालका गृहमन्त्री थापा पहिलो संविधानसभाको चुनावमा मतदाताबाट दण्डित भएका थिए। उनको पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि जितेन, समानुपातिकमा चार सिट ल्यायो ।
आफ्नो राजनीतिक पुनर्जन्मका लागि उनलाई केही न केही मुद्दा चाहिएको थियो। राजा, संघीयता हुँदै अन्ततः उनले धर्म समातेका छन्।
दोस्रो जनआन्दोलनपछि पुनर्स्थापित अन्तरिम संसदले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गर्यो। धर्मनिरपेक्षता दोस्रो जनआन्दोलनमा उठेको मुद्दा थिएन। राजनीतिक पार्टीहरुको अन्तरविवेकमा भने बहुधार्मिक/सांस्कृतिक राष्ट्रमा राज्यको धर्म हिन्दु हुनु संगतिपूर्ण होइन भन्ने थियो। ‘जनयुद्ध’को नेतृत्व गरेको एमाओवादीले धर्म निरपेक्षताको मुद्दा जबरजस्त रुपमा उठाएकै थियो। एमालेले २०४७ सालको संविधानमा उल्लेखित हिन्दु राज्यको आलोचनात्मक समर्थन गरेको थियो। २०४७ सालको संविधान राजा र राजनीतिक पार्टीहरुको सम्झौताको परिणाम थियो। त्यसैले नेपाली कांग्रेसले संविधानमा हिन्दुराज्य राख्ने दरबारको मनसायलाई सहजै स्वीकार्यो।
नेपाली कांग्रेसमा पनि पहिले देखिनै धर्मनिरपेक्षको मत नरहेको होइन। २०१५ सालको संविधान खारेज गरेर २०१९ सालमा पञ्चायती संविधान जारी गर्दा राजा महेन्द्रले संविधानमा हिन्दूराज्य लेखाएका थिए।
बिपी कोइरालाले त्यसलाई जनतामाथिको धोका भनिदिए। दोस्रो जनआन्दोलनपछि राजनीतिक पार्टीहरुले आफ्नो त्यही ऐतिहासिक राजनीतिक विवेक र विश्वास प्रयोग गर्दै अन्तरिम संसद मार्फत राज्य धर्मनिरपेक्ष हुने घोषणा गरे। त्यो कदम कतिलाई मन पर्यो, कतिलाई परेन। त्यसविरुद्ध असन्तुष्टि भने खासै अभिव्यक्त भएन। पहिलो संविधानसभाको निर्वाचनमार्फत एक हिसाबले धर्मनिरपेक्षताको घोषणाले वैधता पायो।
दोस्रो संविधानसभा निर्वाचनताका राजनीतिक मतभेदहरु बढ्दै गए, खास गरी संघीयताको सवाललाई लिएर। संघीयता एकल जातीय पहिचानमा आधारित हुने कि बहुलजातीय भन्नेमा राजनीतिक पार्टीहरुसँगै समाज पनि विभाजित भयो। एकल जातीय संघीयताको कथित प्रगतिशील बुद्धिजीवीहरुले पनि वकालत गरे। जसरी बहुधार्मिक समाजमा हिन्दु राज्य गलत थियो, त्यसरी नै बहुजातीय समाजमा एकल जातीय पहिचानको संघीयता गलत थियो।
एकल जातीय संघीयताको मुद्दाले करिब ३१ प्रतिशत जनसंख्या भएका बाहुन क्षेत्रीलाई असन्तुष्ट, असुरक्षित र आक्रोशितसम्म बनायो । यही असन्तोष र आक्रोशमा थापाले धर्मको राजनीति झोसेका छन्। यसले राम्रोसँग सल्कने छाँट पनि देखाएको छ।
हामी सेतोपाटी सहकर्मीहरु चुनाव रिर्पोटिङका क्रममा गत एक हप्ता तराईका विभिन्न जिल्ला पुग्दा समानुपातिक तर्फ एक भोट राप्रपा नेपालको गाई चिन्हमा दिने मतदाता प्रसस्तै भेटिए। विषेश गरी, क्षेत्री, बाहुन र केही मधेसी समुदायका हिन्दुहरु गाई प्रति आकर्षित देखिए।
राजनीतिमा जातीयताको आगो नै डरलाग्दो हो। धर्म त झन खतरनाक डढेलो हो। राजनीतिमा धर्मजति प्रज्वलनशील अरु केही छैन। थापाले जानिजानी धर्मको आगो राजनीतिमा झोसेका छन्। उनको प्रचारप्रसारको केन्द्रमा आजकाल हिन्दु राज्यको पुनर्स्थापना हुने गर्छ, राजतन्त्रको कुरा उनले लगभग उठाउन छोडिसकेका छन्।
हिन्दुराज्यको मुद्दाले कमल थापालाई यो चुनावमा तात्कालिक फाइदा पुग्ने छ। समाजलाई भने यसले थप ध्रुवीकृत बनाउने छ। विध्वंशको बाटोमा लैजाने खतरा छ। धर्मको द्वन्दमा फसेका मुलुकहरु विरलै त्यसबाट बाहिर निस्कन समर्थ हुन्छन्।
कमल थापाले झोसेको आगोबाट सकारात्मक परिणाम निस्कने एउटा झिनो आशा भने गर्न सकिन्छ –हिन्दु राज्यको मागले एकल जातीय पहिचानको संघीयताको मागलाई ‘काउन्टर’ गर्ने छ र समाज क्रमशः मध्यमार्गमा फर्कने छ।