‘हरेक युगको एउटा विशिष्ठ पात्र मात्र होइन, एउटा मुख्य प्रश्न पनि हुन्छ। एउटा यस्तो प्रश्न जसका माध्यमबाट त्यो युगका बारेमा फैसला गर्न सकिन्छ। जस्तो - के हुँदैछ? दोषी को हो? अब के गर्ने? गर्ने कि नगर्ने? आदि’ - स्तानिस्लाभ बेल्कोभ्स्की
प्रिय सुनयना!
सोधेकी छौ म कसको पक्षमा? केपी ओलीको? प्रचण्डको? देउवाको? महन्त ठाकुरको? वा अरू कसैको?
इन्टरनेटको जमानामा पनि तिमी मलाई हस्तलिखित लामा लामा पत्र लेख्छौ। तिम्रो टाइपिङको तुफानी स्पीडसँग परिचित छु। त्यसैले त छक्कै पर्छु , जब हातका अक्षर पठाउँछ्यौ तिमी।
खुसी लाग्छ ; हस्तलिखत चिठ्ठीको सुगन्ध महसुस गर्न पाउँदा।
कति धेरै अनुरोध, अधिकार र प्रेमका साथ प्रश्न गरेकी छ्यौ तिमीले – ‘विजय सर कसको पक्षमा? अगाडिको बाटो के?’
उत्तर लेख्न धेरै बेर घोत्लिए। घोत्लिए यस कारण, किनभने म तिमीलाई बजार सुहाउँदो कुनै झुटो-मिठो उत्तर दिएर पन्छन चाहन्नँ। मेरा लागि तिमी नयाँ पुस्ताको प्रतिनिधि पनि त हौ। त्यसैले काँचो उत्तर दिन संकोच लाग्छ।
नयाँ पुस्तासँग ऊर्जा हुन्छ, अनुभव हुँदैन। पुरानासँग अनुभव हुन्छ, ऊर्जा हुन्न।
ऊर्जा र अनुभव एकै साथ हिड्न सके समाजमा परिवर्तन - दिगो , छिटो र अलि थोरै उथलपुथलका साथ आउँछ।
तर ऊर्जा र अनुभव सहयात्रा गर्न सक्दैनन् भने ऊर्जाले एक्लै अगाडि बढ्ने साहस देखाउन सक्नुपर्छ। ऊर्जा र अनुभव मध्ये कुनै एक छान्नैपर्ने बाध्यात्मक स्थिति आए, म ऊर्जा छान्ने छु।
ऊर्जा जीवन हो। अनुभव जीवनको कथा।
ऊर्जा वर्तमान हो। अनुभव हो विगत।
बिगत जतिसुकै सौर्यवान भए पनि, वर्तमानको बोझ त्यसले बोक्न सक्दैन।
वर्तमानको भारी वर्तमानलेनै बोक्ने औकात राख्नुपर्छ।
होइन भने, बिगतले जे जति भागबन्डा गरेर दिएको छ, त्यसैमा सन्तोष गरेर जीवन कटान गर्दा बेस हुन्छ। बाँकी रहेको फोकट्या समय, नेताहरूलाई सामाजिक सन्जालमा सत्तोसराप गरेर बसे पनि हुन्छ।
शीर्ष स्थानमा बसेका राजनीतिक नेताहरुको कागजी बदख्वाइ गरेर म पाठकहरूको समय बर्बाद गर्न चाहन्नँ। जगजाहेर तथ्यका निम्ति शब्दको बरबादी शौकिया लेखकको चिनारी हो।
थप्न यति मात्र चाहन्छु – आज ‘शीर्षहरू’ जे जस्ता भए पनि, जब यीनीहरू जवान थिए, ऊर्जावान थिए; त्यो बेला यीनले, त्यसबेलाका शासकलाई, कोठे सत्तोसराप गरेर मात्र आफ्ना दिन कटाएनन्।
यो पुस्ता, जो आज शीर्ष नेतृत्वमा छ, हो उसले - आफ्नो अधिकार मागेर होइन खोसेर लिएको हो। कोठामा गनगन गरेर यीनले पञ्चायत र राजा पल्टाएका होइनन्। सामाजिक सञ्जाल त यीनको पालामा पृथ्वीमै थिएन।
उदारता हेर्नुहोस् त यो पुस्ताको–अधिकार यिनले आफ्ना निम्ति मात्र लिएनन् अपितू तिनका निम्ति पनि लिए जो पुरानो सत्ताको दास थिए। दास मात्र भए त केही थिएन, आफ्नो समयका अत्याचारी पनि थिए।
होइन भने – कयौं पञ्च भलाद्मी र तिनका मालिक आज जेलमा हुन्थे।
तर यही त हो सक्कली प्रजातन्त्रवादीको सुन्दरता – उसको शासनमा उसका परम बिरोधी पनि आफूलाई अकारण असुरक्षित महसुस गर्दैनन्।
लोकतन्त्रवादीले आफूलाई जलाएर ल्याएको प्रकाशको उज्यालोमा उसका परम विरोधीले पनि पुरापुर हकदावी साथ हिड्न पाउँछन्; चाहे ती जतिसुकै हरामी, ढोङी र मुसा छाप किन नहोउन्।
**
सुनयना! म तिमीले सोचेको कुनै पनि नाम वा पार्टीको पक्षमा छुइन। कसैको बिपक्षमा पनि छुइन। म आफ्नै पक्षमा छु।
गहिरिएर सोच्दा त्यसको कारण–युवा अवस्थामा जे जस्ता मानिस मेरा बैचारिक नायक थिए, जसको पक्षमा म थिएँ; हो, उनले मलाई फगत यति मात्र सिकाए–‘आफ्नो विवेकबाहेक कहिलै कसैको पक्षमा नहुनू। तिम्रो विवेकले साथ दिँदैन भने हाम्रै पक्षमा पनि नउभिनू।’
गणेशमानजी, किशुनजी, मनमोहनजी र गणेशराज शर्माजीसँग मैले फरक फरक भाषामा एउटै कुरा सिकेँ- ‘जो मानिस आफ्नो विवेकको पक्षमा हुन्छ, उसका निम्ति कसैको पक्ष वा बिपक्ष भन्ने शब्दावलीले खासै अर्थ राख्दैन।’
सुनयना, तिम्रो पुस्ताका निम्ति मैले भर्खरै लिएका नामले कुनै अर्थ नराख्न पनि सक्छ। राख्नुपर्छ भन्ने पनि छैन। किनभने हर युगका नायकहरू अलग अलग हुन्छन्।
त्यसैले आज यो लेख्न बस्दा म इतिहासका नायकहरूमा सिमित रहन चाहन्नँ।
मलाई थाह छ – हिजोका नायक (वा नायिका) चाहे जतिसुकै महान किन नहोउन् तिनले आजका समस्या समाधान गर्दैनन्। कुनै पनि उपलब्धि, चाहे जतिसुकै बिशाल किन नहोस् –एक निश्चित कालखण्डभन्दा लामो हुन सक्दैन।
म आजको नायक खोज्न चाहन्छु । सतही होइन, सघन रूपले खोज्न चाहन्छु ; त्यसैले त मेरो खोज्ने प्रकृया अलि भिन्न छ।
म आजभोलि, एक आख्यान (उपन्यास) लेखनमा व्यस्त छु।
मलाई लाग्छ गैर आख्यानभन्दा आख्यानको कलम मैले चलाए भने, समाजलाई त्यसको असली स्वरुपमा प्रकट गर्न सहज हुन्छ।
पहिला पनि कतै भनि सके, दोहोर्याउन चाहन्छु आज; पत्रकारिताभन्दा साहित्य र साहित्यभन्दा संगीतको गहिराई धेरै हुन्छ। यसो भनिरहँदा, म यो भनिरहेको छुइन कि एउटा घटिया साहित्य ऊच्चकोटीको प्रेस रिपोर्टिङभन्दा माथिल्लो हो भनेर।
फगत यति मात्र भन्दै छु म; पत्रकारिता , साहित्य र संगीतका तीनै थरि सगरमाथा एकै ठाउँ उभिए– संगीतको सगरमाथा सबैभन्दा अग्लो र पत्रकारिताको सगरमाथा अलि पुडको देखिनेछ।
एक बिन्दु : जीवनमा यस्तो पनि आउँदोरहेछ जब सत्यलाई त्यसको नग्न रूपमा प्रकट गर्न गैर आख्यानको ‘क्यानभास’ साँघुरो प्रतित हुनथाल्छ।
तुलनाको दुस्साहस नठानियोस्, यो बिन्दु मेरा प्रिय लेखक हेमिङवेको जीवनमा पनि आयो, र आयो ग्याब्रियल मारखेजको जीवनकालमा पनि। लेखक हुनुअघि, थियो कुनै समय, जब यी दुबै सक्रिय पत्रकार थिए।
मलाई लाग्छ, समाजका चरित्रहरूलाई तिनको असली रंगमा चित्रित गर्न, म गैरआख्यान (ननफिक्सन) बाट जति पोखिन सक्छु, आख्यान (फिक्सन)बाट शायद अलि बढी सकुँला।
मुख्य कुरा पोखिनु हो, मुख्य कुरा त अभिव्यक्त हुनु हो। माध्यम जे समाते पनि हुन्छ। माध्यम विचरा आफैंमा न बलियो हुन्छ, न त हुन्छ कमजोर।
आफ्नो दोस्रो पुस्तकका निम्ति मेरो मनमा ओथारो बसेका भावना, अक्षरको भर्याङ समातेर बिस्तारै कागजमा ओर्लिदै छन्। मनबाट कागजसम्मको जुन यात्रा चल्दै छ, मलाई त्यसैमा स्वान्तसुखाय छ। अक्षर पनि भर्याङबाट ओर्लन मेरो साथ चाहन्छन्।
त्यसैले म आख्यानतिरै व्यस्त छु।
समसामयिक राजनीतिक विषयमा लेख्न मलाई खासै जांगर छैन, आजकाल। अमित ढकाल भन्छन् ‘ ब्रदर! जे लेख्न जाँगर चल्छ त्यो मात्रै लेख्नुहोस्। जे गर्न जाँगर चल्छ, त्यो मात्र गर्नुहोस्!’
यस विषयमा म अमितसँग सहमत छु।
त्यसका बाबजुद पनि, म तिमीलाई खाली हात पठाउन चाहन्न सुनयना।
तर थप केही लेख्नुअघि, स्मरण गराउन चाहन्छु – आज तिमी हामीले जुन स्वतन्त्रता पाएका छौं त्यो ‘फ्रिडम’ तिम्रो वा मेरो काबिलियतका कारणबाट मात्र पाइएको होइन। जहानियाँ शासनबाट यहाँसम्मको यात्राको मूल्य तिमीले र मैले तिरेको छैनौं भन्दैमा, नठान्नु कि कसैले तिरेका छैनन्।
सुनयना मलाई थाहा छ, तिम्रो पुस्तालाई विगतमा होइन वर्तमानमा रूचि छ। त्यसैले त होला त्रिविविको इतिहास विभागमा आज मास्टरभन्दा विद्यार्थीको संख्या आधा पनि छैन रे।
मलाई यो पनि थाह छ, तिम्रो पुस्तालाई वर्तमानसँग गुनासो छ। नयाँ कुरा होइन त्यो। हर नयाँ पुस्तालाई वर्तमानसँग शिकायत हुन्छ।
तर शिकायतले मात्र के हुन्छ र?
तिम्रो पुस्ता अहिलेकोभन्दा छिटो गतिमा परिवर्तन चाहन्छ भने- देखाऊ ल्याकत् , उठाउँ नयाँ झण्डा, गर एउटा नयाँ जन-आन्दोलन। हामी पनि त हेरौं यो नयाँ पुस्ताको दम असली हो वा भर्च्यूअल हो? पुरानो पुस्ताको दुःखले ल्याएको परिवर्तनको खाटमा सुतेर देखिएका नयाँ सपनाहरूको कुनै अर्थ छ र सुनयना?
तिम्रो पुस्ताको दम असली प्रमाणित भएको दिन सबैभन्दा खुसी मलाई हुनेछ।
जरूरी छैन कि तिम्रो पुस्ताले गर्ने जन-आन्दोलनको स्वरुप पनि विगतकै आन्दोलनहरू झै होस्। उही पुरानो बन्द, हड्ताल, घम्की र बन्दुकको शैलीनै दोहोर्याउनु पर्छ भन्ने छ र?
बिरोधको नाथे शैली फेर्न नसक्नेले नेपालको मुहार फेर्लान् भनेर कसरी पत्याउनु!
तर यो भ्रममा पनि नबस्नु; तिमीले एक दिन जुलुस निकाल्दैमा पृथ्वी त्यसरी नै चल्ला जसरी तिमी चाहन्छौ। फेसबुक र ट्विटरमा भाइरल त अनगिन्ती विषय भएका छन्। आज भाइरल, भोलि गायब। त्यसले के फरक पारेको छ र?
‘कर्तव्य बिनाको अधिकार, उत्पादन बिनाको वितरण र योग्यता बिनाको आकांक्षा’ ले ‘भर्च्यूअल दुनियाँ’ मा क्षणिक कोलाहाल त उत्पन्न गर्न सक्छ तर, ‘वास्तविक संसार’ लाई कति बदल्न सक्छ? म यसै भन्न सकिन्नँ।
परिवर्तन चाहने तर त्यसको निम्ति संघर्ष नगर्ने, सत्य चाहने तर सत्यको मुल्य चुकाउन नसक्नेहरुको जीवन; गुनासोको भारी बोक्दा-बोक्दै ओरालो लागेका उदाहरण यथेष्ठ छन् संसारमा, नेपालमा पनि।
के तिम्रो पुस्ता एउटा लामो संघर्षका निम्ति तयार छ सुनयना?
केही जवाफ फर्काउन अघि कृपया नबिर्स- मण्डलामा एक दिन मैनबत्ति बाले जस्तो रोमान्टिक कहाँ हुन्छ र यथार्थको राजनीतिक जीवन।
आज नालायक भनेर आरोपित (कतिपय अवस्थामा प्रमाणित पनि) शीर्ष राजनीतिक नेतृत्वको जुन पंक्ति छ, हो, तिनिहरू युवा हुँदा-आजभन्दा सैंकडौं गुणा कठोर शासनका विरूद्ध संघर्ष गरेका थिए।
एक दिन होइन, एक वर्ष होइन, तीन दसकभन्दा पनि बढी समय अनवरत आन्दोलनमा लागिरहे। तब हामीले पायौं लेख्ने बोल्ने आजादी।
तीन दसक लामो समय हो। थाहा छ सुनयना, कति गोटा वर्ष बितेपछि एउटा दशक बन्छ?
म तिम्रो पुस्तालाई सुरूमै लामो बाटो देखाएर अत्याउँदै छु भन्ने नठान है।
यसै पनि यो युग लामो बाटोको युग होइन। ब्रेकिङ न्युज (सहि वा गलत) को युग हो।
‘तातै खाउ जली मरूँ’ को युग हो। हाम्रो पुस्ताले लामो बाटो हिड्यो भन्दैमा तिम्रो पुस्ताले त्यही बाटो रोज्नु पर्दैन। हर युग आफ्नै विशेषता बोकेर आउँछ।
हाल चलेको ‘वैश्य युग’ का पनि स्वाभत: आफ्नै खाले बिशेषता छन्। पहिलाको तुलनामा केही असल र केही खराब मिलेर बनेको छ यो युग। हर युगको कथा यस्तै हुन्छ।
केही असल, केही खराब; हुन्छ हर युग।
हाम्रो पालामा ‘सिनेमा’ हिट भयो कि भएन भन्ने थाहा पाउन २५ साता कुर्नुपर्थ्यो। तब त्यसलाई ‘सिल्भर जुब्ली’ मनाएको फिलिम भन्थे। भुवन केसीको ‘जुनी’ मैले हलमा चलेको बिसौं हप्तामा हेरेको हुँ।
अनमोल केसीसम्म आइपुग्दा हिट र फ्लपको फैसला एकै सातामा हुन्छ। आजका सुपर स्टार सलमान खानले एकै सातामा यति कमाउँछन् (पैसाको क्रय शक्तिका हिसाबले) हिजोका सुपर स्टार राजेश हमाललाई वर्षौ लगाएर पनि धौ धौ हुन्थ्यो होला।
छिटो गतिको युग यो। युग छिटो हो भन्दैमा सबैलै कुद्नै पर्छ भन्ने पनि जरुरी छैन।
तिमीले आफूले चाहेको गति निर्धारण गर्न स्वतन्त्र छ्यौ सुनयना। तर अहिलेभन्दा परिवर्तन छिटो चाहन्छौ भने के त्यसको निम्ति संघर्ष गर्न तयार छौं सुनयना? एक यस्तो संघर्ष जो सामाजिक सञ्जालको परिधि भित्र मात्र सिमित नरहोस्।
अपवाद बाहेक, हाम्रो समाजको मानसिकता दुई अलग अलग जिब्रा एकै ठाउँ मिसिएर बनेको छ। मनमनै दिनहुँ दुई छाक खसीको कबाब खाने रहरको जिब्रो। तर, पब्लिकमा बोल्दा-लेख्दा पशुहिंसाको बिरोधको जिब्रो। ‘आफ्नो शरीरमा हल्का खत नलागोस् तर अरू शहिद भएको समाचार दिनहुँ सुन्न पाउँ’ भन्ने ‘भर्च्यूअल’ कामनाले निर्मित छौं हामी।
‘कर्तव्य बिनाको अधिकार , उत्पादन विनाको वितरण र योग्यता विनाका आकांक्षा’ को हावादारी जगमा उभ्याइएको छ आजको नेपाल। भारतको ‘पोलिटीकल ईन्जिनियरिङ’ मात्र छैन यहा अपितू गोरा/गोरीको झनै घातक ‘सोसिएल ईन्जियरिङ’ पनि कार्यरत छ यहाँ। भारत जस्तो दिनहुँ ट्या ट्या गर्दैन भन्दैमा नठान्नु कि चीन त्यति लाटो र पवित्र हो जति देखिन्छ । गोवा पुगेर फर्केका देउवालाई भेट्न उसका प्रतिनिधिलाई पनि त्यतिकै हतारो छ, जति हतारो चीनभन्दा बढी चीनभक्तहरुलाई गोवामा देउवा कुन सिटमा बसे भनेर चियाको कपमा तुफान ल्याउने हतारो छ।
यो सब राष्ट्रिय र अन्तर्राष्टिय ‘रियलपोलिटिक’ का बाबजुद पनि, ढिलो होस् या चाडो केही प्रगति नेपालमा पनि भएकै छ। हामी आज अफ्रिकाका कयौं देसभन्दा राम्रो हालतमा छौ। एसियामा अफगानिस्तान पछि दोस्रो गरिब भएर के भो? संसारकै दोस्रो गरिब त होइनौं नि हामी।
यसरी हेर्ने हो भने चाही कसैसँग गुनासोको टन्टा नगरे पनि हुन्छ। जे छ, जस्तो छ, त्यसैमा रमाएर बाँचे पनि हुन्छ। जीवन बाँच्ने बाटो एउटै मात्र तरिका कहाँ छ र सुनयना? जसरी बाँचे पनि हुन्छ।
अब तिमीलाई लाग्न सक्छ, म विरोधाभाषी (कन्ट्राडिक्टरी) लेख्दै छु। एकछिन अघि ‘आन्दोलन’ को चुनौति दिदै थिएँ अब ‘जसरी बाँचे पनि हुन्छ’ भन्दै छु।
त्यसो होइन, म त फगत तिमीलाई बिकल्पहरू प्रस्तुत गर्दैछु।
म त तिमीलाई जीवनको एकोहोरो होइन, दुबै पाटो एकै साथ देखाउँदै छु। म त एकै वाक्यमा आधा आगो र आधा पानी बर्साउदै छु। ताकी तिमीले तस्वीरलाई समग्रतामा देख्न सकौं।
जीवन एकोहोरो रेखामा कहाँ हिड्छ र सुनयना?
चंखेभाई वा चंखेनी बहिनीको विकासे सेमिनार/ कार्यपत्र/ शोधपत्र/ अन्तरवार्ता / विशेष सम्पादकीय / विदेश भ्रमण जस्तो सजिलो र एक धर्से कहाँ हुन्छर आम मानिसको जीवन? सञ्जालको सतही टिप्पणी जस्तो छिपछिपे पानीमा कहाँ तैरिन्छ जीवनको यथार्थ।
त्यस्तो हुने भए, भइसक्थ्यो सुनयना। त्यसैले , अबका दिनहरूमा म तिम्रासामू क्रमिक रूपले बिकल्पहरु राख्दै जाने छु।
***
पत्रमा यो पनि सोधेकि रहिछ्यौ, ‘नेपाल कहिले परिवर्तन होला? किन परिवर्तन भएन?’
यो पनि कुनै सोध्ने कुरा हो र सुनयना? देश-बिदेशका ठूला ठूला सेमिनारमा बोल्ने अर्धशिक्षित विकासे बुद्धिजिवी जस्तो कुरा नगर न।
गौतम बुद्धको युगजयी बचन छ; ‘संसार प्रतिपल, प्रतिक्षण परिवर्तनशिल छ। परिवर्तनको अविरल प्रवाहको अर्को नाम जीवन र जगत हो। परिवर्तन संसारको प्रकृति हो।’
नेपालमा पनि परिवर्तन भएको छ, हुँदै जानेछ।
४० वर्ष अघिको नेपालका तस्वीर एकफेर हेर त सुनयना। कस्तो देखिन्छ दृश्य? तुलना गर त आजसँग? तस्वीरमा देखिने मुहारहरुलाई आज गाउँघरतिर देखिने मुहारसँग भिडाएर हेर त। लुगाफाटा, गाउँ बस्ती र शहरहरू तुलना गर त!
परिवर्तन र रूपान्तरणका नाममा नेपालमा हुने अधिकांश बहस नक्कली हुन्। प्लाष्टिका हुन्। किनभने- प्रश्न परिवर्तन वा रूपान्तरणको हुँदै होइन।
चुरो ‘परिवर्तन’ मा होइन ‘प्रगति’ मा छ सुनयना।
हाम्रा प्रायः नेता, सञ्चार माध्यम र बुद्धिजिवी (?) ले नबुझेको कुरा चाँही- ‘परिवर्तन र प्रगति’ बीचको अन्तर सम्बन्ध हो।
‘परिवर्तन’ हुँदैमा ‘प्रगति’ हुनैपर्छ भन्ने कुनै जरूरी छैन।
ठ्याक्कै याद भएन, शायद मैक्सवेलले भनेका छन्‘ परिवर्तन अवश्यम्भावी छ, प्रगति स्वेच्छिक हो।’
त्यसैले म पनि यति मात्र भन्न सक्छु- परिवर्तन त नेपालमा जरूर भएको छ, हुँदै जानेछ। प्रगति? म भन्न सक्दिनँ।
दोहोर्योईरहनुपर्छ र सुनयाना?
प्रगति अनिवार्य होइन। सबैको बराबर प्रगति हुँदैन। संसारमा कतै भएको छैन। हो, निश्चित अवधि पछि राजनीतिक परिवर्तन चाँही अनिवार्य हुन्छन्। त्यसैले त भएका पनि छन्। तर प्रगति?
कतिपटक सम्झाउ सुनयना- प्रगति ‘ऐच्छिक’ (अप्सनल) हो, अनिवार्य (कम्पल्सरी) होइन। नेपालमा त झनै होइन। जुन कुरा ‘कम्पल्सरी’ होइन त्यो भएन भनेर रोनाधोना किन?
त्यसैले त नेपालमा त्यतिका राजनीतिक परिवर्तन भए तर युग अनुसारको प्रगति भएन।
किन भएन भनेर रोइ कराइ नगर।
परिवर्तन मात्र अनिवार्य हो। प्रगति होइन।
प्रगतिका निम्ति त ‘क्वालिफाइ’ गर्नुपर्छ।
के हामी प्रगतिका निम्ति ‘क्वालिफाई’ गर्छौत ? के हाम्रा आनी- बानी , चाल-चलन, विषयवस्तुको जटिलता बुझ्ने- बुझाउँने हैसियत ‘बैश्ययुग’ को मापदण्ड अनुरूप छ त?
आजभोलि यो ‘हैसियत’ शब्द साह्रै अलोकप्रिय बनेको छ, सामाजिक सञ्जालमा, प्रचण्डजीले यो शब्दलाई गलत सन्दर्भमा प्रयोग गरिदिनाले। म यो शब्द पुरा जिम्मेवारी र सतर्कताका साथ प्रयोग गर्दै छु।
आजभोलि जुन युगमा हामी बाँचेका छौं, त्यसको नाम बैश्य युग हो। आफू बाँचेको ‘युग’ बुझ्नुपर्छ पहिला। अनि मात्र समाज र राजनीति बुझ्न सकिन्छ। कसैलाई मन परे पनि नपरे पनि हामी बाँचेको युग ‘बैश्य युग’ नै हो । यो युगमा हर पेशाका तार कुनै न कुनै रुपमा आएर पैसा र व्यापारसँग ठोकिन्छन्।
जुगलले एक दिन रूसी लेखक स्तानिस्लाभ बेल्कोभ्स्कीको एउटा महा-वाक्य सुनाए- ‘हरेक युगको एउटा बिशिष्ठ पात्र मात्र होइन, एउटा मुख्य प्रश्न पनि हुन्छ। एउटा यस्तो प्रश्न जस्का माध्यमबाट त्यो युगका बारेमा फैसला गर्न सकिन्छ। जस्तो - के हुँदैछ? दोषी को हो? अब के गर्ने? गर्ने कि नगर्ने? आदि’
के तिमीलाई थाह छ – जुन युगमा तिम्रो पुस्ता अहिले बाँचेको छ, त्यसको मूल प्रश्न के हो ? त्यसको मुख्य पात्र को हो?
यो प्रश्नलाई अलि सोचेर उत्तर दिनु सुनयना। हतारो नगर्नू।
हाम्रो पुस्ताले दिएका उत्तर सुँगाझैं नदोहोर्याउनू। यो प्रश्नको उत्तर आउने बित्तिकै नेपालसँग सम्बन्धित धेरै प्रश्नहरुको उत्तर स्वत: आउनेछन्।
जबसम्म यो प्रश्नको उत्तर आउँदैन, तबसम्म तिमीलाई पढाइएका र सुनाइएका बाँकी सबै उत्तर ब्यर्थ हुन्। तिमीलाई सुनाइएका उत्तरले कागजका पाना भर्न सक्लान्, सेमिनारका घन्टा बिताउन सक्लान्, सन्जालमा भाइरल हुन सक्लान्; तर तिम्रो दैनिक जीवनमा सुधार ल्याउने छैनन्।
नुनिलो पानी पिएर, कसको तिर्खा पो मेटिएको छ र?
[[email protected]]