डा केसीको अनशन:
डा. केसी फेरि अनशनमा बसेपछि एउटा रेडियोबाट फोन आयो । सोधिएका प्रश्नहरुमध्ये तीन यी थिएः
गुँड पनि धेरै खाए तीतो हुन्छ भन्छन्, डा केसीको अनशन पनि त्यस्तै भएको त हैन?
देशमा पुलिस र सेनादेखि बाँकी सबै ठाउँमा भागवण्डाबाट नियुक्तिहरु भएकै छन्, चलेकै छ, खाली आइओएमको डिनचाहिं किन वरिष्ठ नै बनाउनुपर्ने?
डा.केसीको माग अनुसार नै अख्तियार प्रमुखलाई अहिले महाभियोग लाग्ने क्रममा छ । त्यत्रो लडाइँ लडेको मानिस अब फेरि डीन नियुक्तिको कुरालाई लिएर अनशन बस्न सुहाउँछ?
यी प्रश्न ती प्रस्तोताले सोधे पनि उनका मात्रै प्रश्न होइनन्। डा.केसीलाई नजिकबाट हेर्नेदेखि लिएर उहाँको बारेमा सुनेका मात्र र उहाँप्रति सद्भाव राख्ने धेरैका मनमा अहिले यी प्रश्न छन् । यीनको उत्तर उहाँ आफैंले दिंदा राम्रो हुन्थ्यो तर २०६९ सालको पहिलो अनशनदेखि अहिलेसम्म उहाँसँगै काम गरेकाले र सबै चरणमा कुनै न कुनै रुपमा संलग्न भएको नाताले मलाई यी प्रश्नहरु सोधिनु स्वभाविक हो र यीनको सम्भव भएसम्म गहिरो उत्तर दिने प्रयास यहाँ म गर्नेछु ।
यी प्रश्नको उत्तरमा जानु अगाडि छोटो पृष्ठभूमि ।
राज्यको समग्रतामा हेर्दा आइओएम त्यसको एउटा सानो अंश हो । त्यसको मुद्दालाई केन्द्रमा राखेर राष्ट्रिय स्तरमा व्यक्तित्व बनाइसकेको मानिसले ज्यान होमेर किन लागेको होला भन्ने अहिले धेरैलाई परेको छ ।
तर यो त्यति सानो निकाय पनि हैन । यसअन्तर्गत वर्षेनी झण्डै हजार डाक्टर उत्पादन हुन्छन् तिनले भोलि गएर वर्षमा झण्डै एक लाख बिरामीलाई सेवा पुर्याउँछन् । तीमध्ये अहिले कायम भद्रगोलका कारण आधा जति डाक्टर अयोग्य भए भने वर्षेनी ५० हजार मानिसको ज्यान जोखिममा पर्छ ।
यो संस्थालाई चुस्त राखेर गुणस्तर कायम राख्न यसको मातृसंस्था विश्वविद्यालयको नेतृत्वमा बौद्धिक चोरीका लागि कुख्यात व्यक्ति दलको झण्डा ओढेर बसिरहँदा सहज हुँदैन किनकि चोरी भनेको एकपल्ट हुने घटना हैन बानी वा प्रवृत्ति हो । जसरी बौद्धिक कर्ममा मेहनत गरेर समस्या हल गर्नुको सट्टा थपक्क अर्काले गरेको कामबाट सारेर ल्याइन्छ व्यवहारिक जीवनमा पनि त्यस्तो प्रयास हुन्छ । जसरी आफूले पद पाउँदा योग्यता र भिजनका लागि नभई विशुद्ध पार्टीलाई वफादारी टक्रयाएबापत हुन्छ, आफूले दिने नियुक्ति पनि त्यसरी नै दिनुपर्ने बाध्यता हुन्छ ।
त्यो प्रवृत्तिले आइओएम मात्र हैन, त्रिवि अन्तर्गतका सबै संकायलाई घुँडा टेकाउनु स्वभाविक हो ।
अरु केही नभए पनि आइओएम चलाउन दिनभर होशमा रहने र कार्यालय समयभर परिसरभित्र टिक्ने व्यक्ति हुनु अनिवार्य हुन्छ । जसले बाहिर क्लिनिक चलाएर, आफ्नो सबै जसो समय र ऊर्जा उतै खर्च गरेर त्यहाँका गम्भीर वा गालपारा बिरामी ल्याएर टाउको जोगाउने ठाउँ आईओएमलाई बनाएका छन् वा जसलाई नशाका कारण आफ्नै टाउको धान्न गाह्रो छ, डीनजस्ता पदहरु उनीहरुलाई टीका लगाएर दिइनु हुँदैन ।
अहिले त्रिविको नेतृत्व र उसले बनाएको आइओएमको नेतृत्व कस्तो छ भनेर मैले अझै टिप्पणी गरेको छैन । उल्लिखित व्याख्याचाहिं दुवै संस्थामा कस्तो नेतृत्व हुनुहुँदैन भनेर आम रुपमा गरिएको हो । यदि त्यो व्याख्या सम्बन्धित व्यक्तिहरुसँग मिल्छ भने त्यो भयंकर दुर्भाग्यको कुरा हो ।
संस्थालाई जसरी हुन्छ छिटो धराशायी बनाउने हो भने जे गरे पनि हुन्छ तर चलाउने हो भने त्यो पाराले हुँदैन ।
अब आऊँ, धेरै खाँदा तीतो हुने गुँडको कुरामा । समाजमा यस्तो चौतर्फी निराशा छ कि कुनै कुरा बिग्रेको, भत्केको, कुनै व्यक्तिको निन्दा वा अपमान भएको जस्ता कुरामा, वा आम रुपमा कुनै पनि नकारात्मक कुरामा हाम्रो ध्यान तुरुन्त जान्छ ।
हाम्रो ध्यान कताचाहिं जाँदैन भने, हामी आफूले सक्ने भुमिका नखेलेका कारण नै समाजमा अधिकतम खराब कामहरु भइरहेका हुन्छन् ।
उदाहरण हेरौंः अघिल्लो वर्ष एमबीबीएस कार्यक्रमको शुल्क ३५ लाख भनेर कार्यान्वयन गरेको सरकारले अहिले त्यो झण्डै दोब्बर हुने गरी एउटा निजी मेडिकल कलेजका प्रतिनिधिहरुले बनाएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयास गर्यो । त्यसो हुनु भनेको एकतिर जेहेन्दार विद्यार्थी किनारा लागेर धेरै पैसा हुने अयोग्यहरु समेत डाक्टर हुनु हो भने अर्कोतिर पछि तिनले (जागिर पाएको खण्डमा) दिने स्वास्थ्य सेवा पनि महँगो हुनु हो ।
हामी कहीं बोल्यौं? बोलेनौं । कसैलाई खबरदारी गर्यौं? गरेनौं । डा केसी नवौं अनशन बसेका कारण त्यो प्रतिवेदन पारित भएर कार्यान्वयन हुन पाएन ।
त्यसपछि दशैं, तिहार र छठ आयो, हामी चाड मनाउन लाग्यौं । अघिल्लो वर्ष शुल्क ३५ लाख कायम गर्नु भनेर सम्बन्धित निकायहरुलाई चिठी लेखेको र सार्वजनिक सुचना निकालेको शिक्षा मन्त्रालय अहिले मौन बस्यो । व्यवहारमा ‘हामी चुप बसिदिन्छौं, तिमीहरु मनपरी गर’ भनेर निजी मेडिकल कलेजलाई छाडेको देखियो । अहिले धमाधम ६० लाख हाराहारीमा एमबीबीएसका सिटहरु बिक्री भइरहेका छन् ।
हामी बोल्यौं? बोलेनौं । शिक्षा मन्त्रीलाई खबरदारी गर्यौं? गरेनौं । उनको पार्टीलाई तिमीहरुको तर्फबाट देशमा ५ अर्बको कालोबजारीले प्रश्रय पाइरहेको छ भनेर औंला ठड्यायौं? ठड्याएनौं ।
अरु त अरु विद्यार्थी र अभिभावकको तर्फबाट समेत कोही चुँ गरेन, बरु कमजोर र कम अंक ल्याउने विद्यार्थीका अभिभावकहरुबीच धेरै पैसा दिएर सिट हडप्ने प्रतिस्पर्धा चलिरहेको छ । दिनदहाडै अहिले मेडिकल शिक्षामा झण्डै ५ अर्बको कालोबजारी भइरहेको छ किनकि अघिल्लो वर्षको निर्णय यथावत् रहेकाले अहिले पनि एमबीबीएसको वैध शुल्क ३५ लाख नै हो ।
अर्कैले अर्कैलाई तोकेको भन्दा दोब्बर शुल्क तिर्छन् त हामी के गर्न सक्छौं भनेर भन्न सकिएला तर भविष्यमा जब पैसाले डिग्री किनेका डाक्टरसित उपचार गराएका कारण हामी स्वास्थ्य गुमाउँछौं, तब मात्र हाम्रो होश खुल्नेछ। त्यति बेला धेरै ढिलो पनि भइसकेको हुनेछ ।
अब ती तीन प्रश्नको उत्तरतिर लागौं ।
एक, डा केसीका अनशनको सिलसिला धेरै खाएर तीतो हुने गुँडसित भन्दा मूलैबाट धमिलिएको पानीलाई अलि तल बसेर सफा पार्न गरिने कोशिससित तुलना गर्दा बढी सान्दर्भिक हुन्छ । त्रिविमा नियुक्तिको आधार वफादारिता र चाटुकारिता रहुन्जेल आइओएमको नियुक्तिमा इमान्दारी खोजिनु मूललाई धमिलै छाडेर खोलो संग्लो बनाउन खोज्नु जस्तै हो ।
शायद यही महसुस भएर अहिले त्रिविका पदाधिकारी नियुक्तिमा हुनुपर्ने सफाइलाई उहाँले यसपल्ट प्राथमिकता दिनुभएको छ ।
दुई, सार्वजनिक यातायातमा कायम कार्टेलहरुले अहिले पनि यात्रुलाई भेडाबाख्राको व्यवहार गरेर ज्यादतीपूर्ण भाडा लिएकै छन्, सरकारी कर्मचारीमध्ये धेरैले भ्रष्टाचार गरेकै छन्, व्यापारीहरुमध्ये धेरै कालोबजारीमा संलग्न भएका छन्, राज्यको कुनै अंग नातावाद, कृपावाद र चाप्लुसीबाट मुक्त छैन । फलस्वरुप हामी जहाँ छौं, त्यहीं छौं ।
तर बीस वर्ष पुरानो जीर्ण बसमा कोचिएर यात्रा गर्नु र पहिले कहिल्यै त्यस खालको अपरेशन देख्न समेत नपाएको डाक्टरसित अपरेशन गराउनु फरक कुरा हुन् । त्यसैले स्वास्थ्य क्षेत्रलाई अपवाद मानेरै व्यवहार गर्नुपर्छ र यो क्षेत्रमा गुणस्तरमा हुने सम्झौता सह्य हुनुहुँदैन ।
तीन, डा केसीको व्यक्तित्व अब राष्ट्रिय भइसकेको छ । तर अदुअआजस्ता निकायमा सफाइ भइरहँदा आइओएम धराशायी भएर गएको उहाँले हेर्न सक्नुहुन्न, हामीले पनि सक्दैनौं ।
चोरी र दुव्र्यसनका लागि चिनिएका मानिसहरुलाई देशमा विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका नियामक निकायहरु जिम्मा लगाउनु भनेको राज्यले नागरिकहरुप्रति गर्न सक्ने अपराध र गद्दारी हो । ती निकायमा ‘फलानोजस्तो चाहिं कहिल्यै नबनेस्’ भनेर आम मानिसले भन्ने मानिसहरुलाई जहिलेसम्म नियुक्त गरिन्छ, तबसम्म अहिलेको दुर्दशा कायम रहनेछ र डा केसीजस्ता मानिस पटकपटक अनशन बसिरहनुपर्नेछ ।
त्यसरी बसेको भनेर उहाँप्रति खिशीट्युरी गर्ने वा लज्जास्पद यथास्थिति बदल्न आ–आफ्नो ठाउँबाट सकेको भुमिका खेल्ने, त्यो हाम्रै छनोटको कुरा हो ।
जीवन क्षेत्री South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।