इतिहास एकै दिनमा बन्दैन। सुरू भने कहीँ न कहीँबाट अवश्य हुन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीलाई दिएको रात्रिभोज त्यस्तै एउटा अवसर थियो।
गणतन्त्र स्थापनाको आठ वर्षमा नेपालले विदेशी राष्ट्राध्यक्षको सम्मानमा उच्च महत्वसाथ दिन लागेको पहिलो राजकीय रात्रिभोज, जसले नयाँ थिति बसाल्दै थियो। पहिलो राष्ट्रपति रामवरण यादवले श्रीलंकाली समकक्षीलाई दिएको रात्रिभोजले सायद नजीर राखेन।
राजनीतिक परिवर्तनले कस्तो परम्परा रेखांकन गर्ला भन्ने स्वाभाविक उत्सुकतासाथ म राज्यले चिनेका गन्यमान्यहरूको हूलमा पसेँ।
राजतन्त्र गएपछि मेरो दौरा सुरुवाल त्यसै पनि दराजमा कोचिएर उपयुक्त औपचारिक साइत पर्खिबसेको थियो। झण्डै एक दशकपछि त्यो मौका पनि आयो तर सवारी छिन्नभिन्न भएको सहरको अस्तव्यस्त दैनिकीमाझ।
इस्त्री गर्न नभ्याएको कोट र दौरा औँलाले फट्कार्दै म कागको बथानमा बकुल्लाझैँ मिसिएको थिएँ।
मेरो आफ्नै ताल त यति लठिभद्र छ भने यही समाजका राज्य हाँक्नेहरूले के कति मेसो मिलाउन सक्दा होलान् र? तैपनि मीठो मसिनो के कसरी खुवाउलान् भन्ने उत्कण्ठाले म खुजमुज्ज पोशाकको परवाह नगरी उर्दीपालन गर्न थालेँ।
तर सोल्टी क्राउन प्लाजाको मेघा मल्हार हलको त्यो समारोहमा म सम्भवतः सवभन्दा भाग्यमानी हुन पुगेँ। कसको सीट कता परेको छ भन्ने गञ्जागोलमा ढोकाछेऊकै टेबलमा आफ्नो नाम फ्याट्ट भेटिहालेर होइन।
गोलो टेबलमा सह–भोजालुका नेमप्लेट हेर्दै जाँदा आफ्नो छेऊकै कुर्चीमा बस्न आउनेको नामले मलाई दङ्ग पारेको थियो।
मेरोआढमा अतिथि राष्ट्रपति मुखर्जीलाई पक्कै बसाइने थिएन। उनीसँगै दिल्लीबाट सवार मन्त्री, सांसद, विदेश सचिव पनि होइनन्। हाम्री राष्ट्रपति भण्डारी पनि हुने कुरा भएन। प्रधानमन्त्री वा प्रधानन्यायाधीश पनि होइनन्।
राज्यका औपचारिक शीर्ष अनुहारहरूसँग नार जोड्ने मेरो हैसियत होइन। उनीहरूका लागि त केही हात पर एउटा लमतन्न विशिष्ट टेबल छँदै थियो।
वरपरका अरू गोला टेबलहरूमा बाँकी मन्त्री, मन्त्राणी, संवैधानिक अंगका प्रमुख, नेता, सचिवलगायत आ–आफ्ना निर्धारित स्थान खोज्दै, आउँदै, बस्दै, यताउता पल्याकपुलुक गर्दै थिए।
हलभित्रको उज्यालोमा थप चिम जोड्ने गरी सम्पूर्ण मुस्कानसहित मेरो सम्मुख आइपुगे, धुर्मुस–सुन्तली। हो, सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’।
भैँचालोपछि पुनर्निर्माणमा व्याप्त निराशा र आक्रोश तथा राज्यका निकायहरूको असफलताका कथाबीच समकालीन नेपाललाई नयाँ आशा दिने समाचार शीर्षक बनेको जोडी।
मेरोआढमा धुर्मुस बसे। सुन्तलीका लागि भने बगलकै कुर्ची थिएन। उनले आफ्नो जोडी बाँधेरै बस्न खोजिन्। त्यो जोडीबीचको कुर्चीमा पहिल्यै आसन जमाइसकेका सशस्त्र प्रहरीका एकजना एआइजीले सम्झाए, ‘नाम लेखेअनुसारै बस्नुपर्ला, ‘प्रोटोकल’ तोकिएको हुन्छ।’
ढुकुरझैँ छुट्न नमानेको त्यो जोडी एकार्कालाई हेराहेर गर्ने ‘प्रोटोकल’ तोकिएको ‘पोजिसन’ मा बस्ने भए।
‘तपाईँहरूलाई अब उहाँले नै पहरा दिनुहुन्छ,’ मैले जिस्किँदै भनेँ।
दुई पत्रकार, दुई कलाकार र दुई नेतासँगै समारोह पोशाकमा सजिसजाउ सशस्त्र प्रहरीका ती अधिकारी हाम्रो टेबलमा गोलो पर्यौँ। लगन, अठोट, सौन्दर्य र संघर्षको आभासहित सुन्तलीको सर्वपरिचित मुस्कानले हामीलाई धपक्क बालिदियो।
त्यस्तो मुस्कानको भोल्टेज अरू टेबलतिरबाट हलभित्र थपिने छाँट थिएन।
राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख एकसाथ महिला पदासीन भएको देश भनेर नाक किन घिरौँलाजत्रो पार्नू? यस्ता समारोहमा सहभागी हुन पाउनेहरू कसैका श्रीमतीका रूपमा आएकामात्रै प्रायः देखिन्थे। त्यो पनि औँलाले भाँच्न सकिने संख्यामा।
हाम्रो समाजमा आफ्नै पौरख र प्रतिभाले गनिएका महिला पहिचान गरेर राजकीय पाहुना बनाउनुपर्ने दरकार तीन शीर्षस्थ महिला भएकै संयोगमा त पर्दो रहेनछ। महिला राष्ट्राध्यक्ष आफैँले बोलाएका पाहुनासमेत त्यतिविधि पुरूषै पुरूष हुँदामात्र राजकीय शोभा हुने निश्चितै ठानिएको होइन होला।
तर राज्यलाई के अप्ठ्यारो पर्ने होला त ‘आधा आकाश’ बाट आधाउधी पनि ताराहरू टिप्न नसक्ने गरी गणतन्त्रको चित्रपट तयार गर्नुपर्ने ? पुरूषै पुरूषले हल भरिने गरी गणतन्त्र नेपालको पहिलो राजकीय रात्रिभोज गर्नुपर्ने कुनै कारण कुनै शिलालेखमा लेखिएको होइन, सिवाय कल्पनाशिलताको अभाव। सिवाय परिवर्तनप्रतिको लगाव।
‘हाम्रो राज्य आज यहीँ छ, होइन त ?’ धुर्मुसले हलभरि आँखा फिँजाउँदै सोधे।
‘हो, राज्यले मानेका ठूलाबडा यहीँ छन्,’ मैले भनेँ।
फेरि यताउति नियालेँ, काठमाडौंका औपचारिक कार्यक्रमहरूमा सधैँ देखिने अनुहारकै त रजाईँ थियो। राजनीतिक दल, सरकार, संवैधानिक अङ्ग, सैन्य–सशस्त्र–सुरक्षा बल, सञ्चार तथा व्यापारिक जमातमात्रै हो त राज्यले चिन्ने गन्यमान्य ?
के हाम्रो राज्य त्यति साँघुरो छ जसमा कला, साहित्य, संस्कृति, शिक्षा, विद्धता, सीप, उद्यम, पौरखको कुनै कदर हुँदैन ? औपचारिक पद र प्रभावलाई मात्र चिन्ने र त्यसैलाई मात्र चिनाउने हो भने अझै पनि राज्य संकीर्ण र स्वार्थ समूहहरूको सुबिधामात्र बनिरहने त होइन ?
अपवादै किन नबनेका हुन् धन्य, त्यहाँ धुर्मुस–सुन्तली थिए, राज्यको नाकको सानो टुप्पो भए पनि जोगियो।
धुर्मुसलाई मैले चार महिनामै एउटा सिङ्गो गाउँ बनाएर उनको जोडीले स्थानीयबासीलाई हस्तान्तरण गरेपछिको एउटा लोकप्रिय ट्वीटको सार सुनाएँ, ‘हँसाउने कलाकारले देश बनाए, देश बनाउँछु भन्ने नेताले जनता रूवाए।’
‘हामीले त सानो होष्टे गरेका हौँ,’ उनले ‘हैँसे’ गर्ने त गाउँले नै हुन् भन्ने भावना दिँदै विनयी मुस्कानसाथ भने।
कसरी भयो त त्यो होष्टे हैँसे भन्नेबारे उनी उत्साहसाथ भन्न थाले। राष्ट्रपतिद्वयको सवारी चल्न बाँकी नै भएकाले टेबल–टेबलमा चलेका गाईँगुईँको सिको गर्ने हामीलाई फुर्सद थियो।
सिन्धुपाल्चोकको गिरानचौर। भैँचालाले उजाडेको तामाङ बस्ती। ६५ घर परिवारलाई गाउँ फेरि बनाउन सम्भव छ भन्ने भरोसा दिन नै सजिलो थिएन। राज्यप्रति भरोसा, सरकारी सेवाप्रति आकर्षण, शिक्षाप्रति लगाव नभएको समाज त्यसै पनि राजनीतिक दलका स्थानीय शक्तिहरूबाट विभाजित थियो।
सरकारको मुख ताकेको भए दुई खेप गरी घरधुरिपिच्छे एकाध खेप नगद बुझेर चाडवाड, रीति रिवाज, संस्कार र अरू रैथाने लहडमै निख्रिन सक्थ्यो।
धुर्मुस–सुन्तलीले कलाकारिताबाट कमाएर काठमाडौंमा जोडेको घर बेचेरै भए पनि केही रकमको जोहो गर्ने विचार गरे। सहयोगका लागि सार्वजनिक आह्वान गरे। छिमेकी काभ्रेमा त्यस्तै अभियान थाल्न खोजेका थिए। स्थानीय झैझगडा र वैमनस्यबीच खास काम गर्न सकेनन्।
त्यहाँ भने उपभोक्ता समिति बनाएर सरकारी निकायहरूसँग समन्वय गरी एकीकृत बस्ती ठड्याउन कम्मर कसे।
स्थानीयबासीसँग जग्गा खरीद गरे। उस्तै आकारप्रकार र उत्तिकै जग्गा सबैलाई हुने गरी साढे पाँच आनाका दरले सबैलाई घर बनाइदिने सपनामा एकीकृत गरे।
‘म आफैँ त्यहीँ बसेँ, बिहान सखारै उठेर आफैँ सामानको भारी बोक्ने, मसला बनाउने, गाह्रो हाल्ने, सबथोकमा आफैँ अगाडि सरेँ,’ उनले भने, ‘मैले गर्न केही बाँकी राखिनँ।’
उनी कलेजमा पत्रकारिता पढुञ्जेल चित्र बनाउने गर्दा रहेछन्। हिमाल, पहाडका भूदृश्य उतारिबस्ने। ‘सुन्दर डिजाइन गर्न आफैँ सिकेको हुँ, चित्रकार भएकैले ममा सौन्दर्यबोध थियो,’ उनले भने, ‘हास्य कलाकारिता त त्यस्सै गर्न थालेको थिएँ। सानैदेखिको चित्रकारिताको धूनले मलाई घर र गाउँको डिजाइन गर्न सघायो।’
सवभन्दा पहिला उनले हिम पाइपको सहाराले एउटा रकेट बनाएर गाउँको माझमा ठड्याए। त्यहीँ लेखे, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।’
त्यो उद्देश्य गाउँलेसँग मिलेर बाहिरका देशी विदेशी स्वयमसेवकहरूसहित सामूहिक जमर्को गर्ने थियो। त्यही मूल मन्त्र भयो। उनी सखारै उठेर सिरानमा पुग्थे र माइकमा फुक्थे, दाजुभाइ दिदीबहिनी हो, लौ अब काममा निस्कौँ।
उनीहरू त्यसरी काममा निस्केको चार महिनामै नीलो जस्ताले छाएका पक्की घरहरूको बस्ती बन्यो। ‘हरेक घर समान छन् र समावेशी पनि, बालमैत्री, अपाङ्गमैत्री, बृद्धबृद्धामैत्री छन्,’ उनले भने, ‘त्यस्तो भूकम्पले त केही असर गर्ने छैन। त्यो भन्दा ठूलो गयो भने त हामी को रहौँला र?’ उनी हाँसे।
काठमाडौं उपत्यकामा विस्तार भइरहेका महङ्गा आवासीय क्षेत्र (कोलोनी)हरूमा जस्तै बालबालिकाका लागि पार्क, सामूदायिक भवन, फूलबारी, पिउने पानी, पार्किङ स्थल सबथोक छन्, त्यसबाहेक पनि चलचित्र छायाँकन गर्न मिल्ने बगैँचामात्र छैन, पाहुनाघर समेत बनाइएको छ। ‘होम स्टे’ गराउने पर्यटन प्रवर्धन गर्ने सोच बाँडिएको छ।
‘तपाईँहरू पनि घुम्न आउनुहोस् है,’ उनले भने, ‘म भोलि बिहानै जाँदैछु।’
‘फेरि, भोलि नै ?’
‘हो, लामाको विधिअनुसार घर भित्रिने साइत छ,’ उनले भने।
यता, राजकीय विधि पालना गर्दै दुबैजना राष्ट्रपतिको आगमन भयो। सबैजना उठे। पालैपालो दुबै देशका राष्ट्रधून बजे। राष्ट्रपतिद्वय बसेपछि हल शान्त भयो। होटलका परिचारकहरू एक्कासि परिचालित भए।
खाना यसरी आउन थाल्यो, मानौँ हामी विदेशी हौँ। एभोकाडोका चानासहित पपाया ओलिभ साल्सा र अड्गमबगड्म सजाएर ल्याइएका एपेटाइजरका प्लेट राखिए।
टेबल–टेबलमा चक्कू र काँटा बज्न थाले।
‘चिना हेर्नुपर्यो,’ छ पल्ट पस्किने विभिन्न परिकारको मेनूको रातो डोरी फुकाउँदै धुर्मुस हाँसे।
गोलो पारेर बेरिएको कागज नेपाली थियो जसको शिरानमा रंगिन राष्ट्रिय छाप। अंग्रेजीमा मेनू जति स्वाभाविक थियो उति नै असुहाउँदो गैर नेपाली परिकारको हुलिया।
उनी ‘चिना’ हेर्न लागे, म टाढा मञ्चमा माइक लिएर पदार्पण भएकी युवतीतिर आँखा लाउन थालेँ। उनले सांस्कृतिक प्रस्तुतिको शंखघोष गरिन्। संस्कृतिमा सम्पन्न देशका आकर्षक झलकहरू देखाउने उद्घोष गर्दा उनका शब्दभङ्गिमाहरू त्यतिसारो सुललित थिएनन्।
विदेशी राष्ट्राध्यक्षलाई देखाउने नाचगान कसले चयन गर्दा होलान् कुन्नि? सांस्कृतिक संस्थानका कलाकार टोलीले एकपछि अर्को लोकभाकाका नृत्य गर्न थाले। प्रायः यौवनसुलभ रामरमाइलोका झलक थिए।
सुदूर पश्चिमी लोकनाचपछि पश्चिम पहाडी भाका आयो, कुमारी नृत्य अनि मारूनी नाच। कुमारी नृत्यबाहेक सबैमा केटा र केटीका जोडीहरू वैँसले उन्मत्त हुँदाको चरणका उखरमाउलो छनक दिँदै थिए। कलाकारले रामो नाचेका हुन् तर ती नाच के त्यहाँका लागि उपयुक्त थिए?
म ट्वाँ परेँ। नेपालकी राष्ट्रपतिका तर्फबाट आयोजित सर्वोच्च समारोह। वयोवृद्ध पाहुना राष्ट्रपतिलाई मनोरञ्जन गराउनु छ। दुबैजनाका लागि सुहाउँदा सांस्कृतिक छटा नेपालमा हुँदै नभए जस्तो। रोदीघरको आफ्नै महत्व छ तर रोदीघरमा गर्ने रमाइलो बेग्लै हो।
अर्कातिर नेपाल पहाडी मुलुकमात्र हो भन्ने भान पारिँदै गयो। सोचेँ, अब त झलकहरू तराईतिरबाट आउलान्। थारू नाच होला, मिथिला, भोजपुरा आउला, राजवंशीहरूका पनि आदिवासी भाका गुञ्जेला। कम्तीमा एउटै प्रस्तुतिमा त तराई गुञ्जिएला।
मैले हाम्रो टेबलका दुबैजना मधेसी नेतालाई हेरेँ, सायद ती पनि आफ्नो भूगोलको प्रतिनिधित्व पर्खिँदै थिए।
दोस्रो खेपमा टोमाटो सूप आउँदै थियो, बदाम पिसेको तरकारीको डबुकामा। अब कतै झिञ्झिया नाच आउन लागेको त होइन ? वा लाठी नाच।
के हुन्थ्यो ? माइकबाट पुरूष स्वर सुनियो, राष्ट्रपतिद्वयको सम्बोधन हुने भएछ। पहिला राष्ट्रपति भण्डारी उठिन् र आफ्नो सम्मुख आसिन पाहुना राष्ट्रपतिलाई सम्बोधन गर्दै भनिन्, ‘महामहिम, अठार वर्षको लामो अन्तरालमा भएको यो राजकीय भ्रमणलाई हामीले ठूलो महत्व दिएका छौँ।’
उनले नेपालीमा सम्बोधन गर्न थाल्नासाथ अंग्रेजी रूपान्तरसहित हाते पुस्तिका वितरण भयो। सम्बोधित राष्ट्रपति मुखर्जीले त्यही हेर्दै आफ्नो स्वागतका शब्दहरू पल्टाउन थाले।
ती शब्दमा नेपाल–भारतको युगौँ पुरानो बहुआयामिक र उतारचढावपूर्ण जटिल सम्बन्धको वयान गर्ने शब्द र चित्रणमा आवश्यक राजकीय उच्चता पनि थिएन। ख्यारख्यारती लेखेर एक दुईजनाले हरफमात्र मिलाइदिए जस्तो थियो।
यता हाम्रो टेबलमा खासखुस जारी रह्यो। ‘राष्ट्रपतिबाट तपाईँको एकीकृत बस्ती उद्घाटन कस्तो भयो नि ?’ मैले सोधेँ।
‘राष्ट्रपतिले त हाम्रो काम सरकारलाईनै चुनौती भयो भनिदिनुभयो,’ धुर्मुसले सानो स्वरमा हाँस्दै भने, ‘हामीले सरकारलाई चुनौती दिन चाहेका होइनौँ, मिलेर देश बनाउन सकिन्छ भन्ने सन्देशमात्र दिन खोजेका थियौँ।’
म राष्ट्रपतितिर कान तन्काउन थालेँ।
उनले आफ्ना समकक्षी पाहुनाको दीघार्यू र सुस्वास्थ्य, भारतीय जनता तथा दुई देशको मित्रताका लागि टोष्ट प्रस्तावमा सरीक हुन आह्वान गर्दा परिचारकहरूले हाम्रा ग्लासमा तरबुजाको जूस राखिदिएका थिए। हामी उठ्यौँ।
टोष्ट प्रस्तावको प्रचलन नै सायद् जूसका लागि सुरू भएको थिएन। तर यस्ता समारोहमा पनि त्यसमै सीमित रहने हाम्रो सरकारी कबोल जारी रहेछ।
राष्ट्रपति मुखर्जीले जवाफी सम्बोधन गरे। उनको सम्बोधनको लिखतमा सभामुख ओनसरी घर्ती मगरको नाम पनि उल्लेख थियो, मैले उनको आसन कता रहेछ जति चियाउँदा पनि देख्न सकिनँ।
मेरो छट्पटी बुझेर धुर्मुसले भनिदिए, ‘सभामुख त रोल्पामा हुनुहुन्छ।’
म पत्रकारलाई अत्तोपत्तो थिएन, उनी कलाकारलाई भने पूरै ‘अपडेट’ रहेछ। मैले सोधेँ, ‘तपाईँलाई कसरी थाहा भयो?’
‘रेडियोमा समाचार सुनेको थिएँ,’ उनले भने।
अस्ति भर्खर संसारभरिका सभामुखहरू सहभागी हुने अन्तर्राष्ट्रिय बैठकमा जाने निर्णय अघिल्लो दिनमात्र ‘देशको आन्तरिक कारण’ स्थगित गरेकी सभामुख फेरि यता पनि उपस्थित रहिनछन्। राजकीय भोजको निमन्त्रणा छापिइसकेपछि फेरि ‘जिल्लाको आन्तरिक कारण’ परेछ।
राष्ट्रपति मुखर्जीले आफ्ना तर्फबाट पनि त्यसैगरी ग्लास उचालेर टोष्ट प्रस्ताव गरे। हामीले तरबुजा जूस बुत्यायौँ।
बाँकी नाचगानका लागि युवती फेरि मञ्चमा माइकसहित पैदा भइन्।
नर्तक नर्तकीहरू अँह, फेरि पनि तराईतिर झर्ने छाँट देखिएन।
उकुसमुकुस हुँदै पछाडि कुनै टेबलबाट नेपाल–भारत प्रबुद्ध समूहका सदस्य रहेका एमाले युवा नेता राजन भट्टराईले परराष्ट्रका अधिकारीलाई एउटा चिर्कटो लेखेर पठाए।
नेपालका प्रधानमन्त्रीले उद्घाटन गरेको र भारतका राष्ट्रपतिले समापन गर्ने नेपाल–भारत संवाद शीर्षकको दुई दिने सम्मेलनको पहिलो दिन सहभागी भएर अर्को होटलबाट आइपुगेका उनलाई उकुसमुकुस भएछ।
(मुखर्जीले त्यही संवादमा भोलिपल्ट नेपाललाई सन्देश दिनेवाला थिए, संविधान कार्यान्वयनमा ‘समाजका सबै हिस्सा’लाई सहभागी गर्ने प्रयासको स्वागत गर्छु। स्थायीत्व, समृद्ध, शान्त र एकीकृत नेपाल भारतले हेर्न चाहेको छ भन्नेमा म जोड दिन्छु।
त्यसरी भारतले ‘समाजका सबै हिस्सा’ सम्झाउन थालेको छ र नेपाल ‘एकीकृत’ रहोस् भन्ने अथ्र्याउन खोजेको छ।)
दिउँसो छलफलमा नेपाल समावेशी हुनुपर्ने र हुन लागेको भन्ने मन्थनबाट रन्थनिँदै आएका भट्टराईले तारन्तार पठाएको चिर्कटोमा नाचगान समावेशी गर्ने सुझाव थियो।
त्यसरी एउटा चिर्कटोको भरमा एकछिनमै राज्य व्यवस्था कहाँ बदलिन सक्थ्यो र ?
हामीले हेर्दाहेर्दै बहुसांस्कृतिक मुलुकको अल्पसांस्कृतिक प्रतिनिधित्व आँखैसामू नाच्न थाल्यो। म आफ्नो सामुन्नेका दुई मधेसी नेतालाई हेर्न थालेँ। सोधेँ, ‘मुखर्जीजीलाई तपाईँहरूले संयुक्तरूपमा भेट्दै हुनुहुन्छ, हैन?’
उनीहरूले टाउको हल्लाए। संविधान हामीले खोजेजस्तो समावेशी छैन भन्ने सुनाउने तरखरमा रहेका ती मझौला नेताहरूलाई मैले त्यसपछि कोट्याइन।
परिचारकहरू अर्को झमट फेरि एकाएक मुख्य खानाका प्लेट लिएर परिचालित भए। नर्वेजियाली ग्रिल्ड सालमोन, ब्रोकाउली, पिसिएको हरिया केराउसहितको परिकार। फेरि काँटा चम्चा बज्न थाले।
हामीले बातचीत बढाउन थाल्यौँ। धुर्मुसले भने, ‘देश बनाउन सकिन्छ, सर। नयाँ तरिकाले सोच्नुपर्छ।’
नयाँ तरिकाले सोच्न सवभन्दा पहिला नयाँ तौरतरिका चाहिन्छ र त्यसका लागि सुन्दर सपना चाहिन्छ भन्ने त उनी आफैँ उदाहरण थिए। राज्य हाँक्नेहरूसँग भने परिवर्तनको कुनै एउटै सुन्दर सपना पनि भएन भने के हुन्छ म अगाडि आँखा विस्तार गर्दै हेर्दै थिएँ।
देश बनाउने सर्वोच्च पदाधिकारीहरूका टेबलतिर नियालेँ।
धुर्मुसले फेरि ‘चिना’ पल्टाए। मैले अब डेजर्ट आउँछ भन्ने ईशारा गरेँ। डेजर्ट पनि कहाँ नेपाली हुन सक्छ र?
राजकीय भोजमा नेपाली परिकार नै थिएन। मानौँ त्यो भोज कुनै युरोपेली राष्ट्राध्यक्षले अर्को कुनै युरोपेली पाहुनालाई कुनै युरोपेली राजधानीमा गरेको सत्कार थियो।
भारतीय सत्कारको स्वाद लिएका हाम्रा सत्तासीनहरू बर्गेल्ती त्यहीँ वरपर काँटा चम्चा उज्याइरहेका थिए। उनीहरूले ससाना बटुकामा तरकारी, अचारसहित चाँदीका थालमा भात, रोटी कसरी एकै पटकमा ल्याएर सजिलो र सहज तरिकाले खुवाउँछन् र आफ्नो मौलिक पहिचान देखाउँछन् भन्ने हाम्रा अनुभवीहरूले सायद् पत्तै पाएका थिए।
गुजराती होओस् वा बंगाली, दक्षिण भारतीय होओस् वा उत्तर भारतीय थाली। भारतीयले विदेशी पाहुनालाई आफ्नै परिकार चिनाउँछन्, चखाउँछन्। चिनीयाहरूले पनि त त्यही गर्छन्।
यसो सम्झौँ न। प्रजातन्त्र पुनस्र्थापनापछि पहिलो निर्वाचित प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइराला चीन भ्रमणमा जाँदै थिए। राजा वीरेन्द्रले धेरैबेर लगाएर चिनीयाँ सत्कार कस्तो हुन्छ, बाँसका सुइरा उज्याएर कसरी खानुपर्छ, सूप कति खेर आउँछ सम्पूर्ण वेलिविस्तार लगाइदिएछन्। वीरेन्द्र त युवराज छँदैदेखि चिनीया सत्कारका पारखी भइसकेका थिए।
नेपाली प्रधानमन्त्री चपस्टिक्सले खान जान्दैनन् भनेर चिनीयाँले दालभात वा रोटी तरकारी वा युरोपेली खाना त पक्कै पस्किने थिएनन्। चिनीयाँले चिनीयाँ खाना नै सत्कार गर्छन् जसरी भारतीयले आफ्नै थाली।
नेपालीले घरको भान्छामा दालभात हातैले मुछेर औँला चाटचुट गर्दै लप्पालप खाने चलन छ भन्दैमा त्यही गर्नुपर्ने होइन। भारतीय नेताहरू रोटी हातैले लिएर खान्छन् भन्दैमा काँटा चम्चा नै नचाहिने परिकार सजाउने पनि होइन।
राजकीय भोज आफ्नो मौलिक परिकार प्रवर्धन गर्ने सर्वोच्च भान्छा हो। झन् नेपालजस्ता देशसँग पहिचानका लागि मठ मन्दिर, चैत्य गुम्बा, कला, संस्कृति, खानपीन, नाचगान, भेषभूषा, रीतिरिवाज, चालचलन बाहेक के नै छ र देखाउन ? त्यो पनि पुर्खाले बनाएका।
भौतिक उन्नति, प्रगति, विकास, समृद्धि, ज्ञान विज्ञानको त हामीसँग विश्वमा प्रदर्शन गर्न के नै पौरख छ र ?
उसमाथि दुई बलशाली छिमेकबीच हामीलाई बचाउने र चिनाउने हाम्रो आफ्नै ‘सफ्ट पावर’ को पहिचान र संवर्धनमात्र उपाय थियो। आफ्नै पाखा पखेरा, खेत खलिहानका उब्जनीका आफ्नै बान्की र स्वाद्का परिकार तयार गर्नुपर्ने थियो।
बंगाली मूलका भारतीय राष्ट्रपतिलाई नर्वेजियाली साल्मोन माछाको परिकार। त्रिशूलीकै सगर माछा वा जनकपुरकै रऊ कति निको हुन्थ्यो होला। लप्सीको अचार, गुन्द्रुक। काठमाडौं उपत्यकाको नेवारी खाना आफैँमा कति सम्पन्न छ। नभए थकाली खानाका नामले लोकप्रिय पहाडी थाल। हिमाल, पहाड र तराईका तीनथरी प्रतिनिधिमूलक स्वाद छानेर परिकार परिष्कार गरेको भए नेपालीहरू आफ्नोपनप्रति गर्व गर्छन् भन्ने भान त पार्न सकिन्थ्यो। नेपाली परिकार प्रवर्धन गर्ने पहिलो उच्च कूटनीतिक परिपाक त्यस्सै सेलायो।
वामपन्थी पृष्ठभूमिका राष्ट्रपति र प्रधानमन्त्रीकै कार्यकालमा भान्छामै समेत परिवर्तनको सुरसार नदेखेर म धुर्मुसतिरै फर्किएँ।
काँटा चम्चाहरू चकलेट, ताजा किबी र क्रिप रोलसहितको मिठाई प्लेटतिर बज्न थाले।
गणतन्त्रमा समेत हामी अझै कसैलाई सम्मानीय भन्छौँ, कसैलाई माननीय। माननीय आफैँमा कति मर्यादापूर्ण शब्द छ तर त्यतिले नपुगेर हामी दुईथरी नागरिक तयार गर्दैछौँ। मानौँ हामीले राजनीतिक व्यवस्था फेरेको राजतन्त्रसँग रीस पोख्नमात्र हो, आफू परिवर्तन हुनका लागि होइन।
विदेशी पाहुनाको सत्कारमा कमी हुनुहुँदैन तर ढङ्ग पुगेन भने हामीले अरूबाट वाञ्छित मर्यादा कसरी पाउँछौँ होला र ?
राष्ट्रपति मुखर्जीलाई स्वागत गर्न होस् कि विदाई राज्यका सबै उच्चासीनहरू विमानस्थलमा लावालश्कर लगायौँ। तीन दिन देश ठप्प पार्यौँ, मानौँ हामी एउटा स्वतन्त्र राष्ट्रका रूपमा गतिशील, कर्मशील र स्वाभिमानी भावनाले बाँधिएका छैनौँ।
लघुताभाषले छिमेकीलाई हेपाया बनाउँछ। एकताबद्ध, मर्यादित, आत्मा र अठोटसहितको सानै होस् देशले जस्तै वैरी ठूलो छिमेकीलाई पनि झुकाउँछ।
चिया/कफीको पालो थियो तर भिभिआइपीतिर चुस्की सिसिद्धसकेको रहेछ। दुबै राष्ट्रपतिलाई अंगरक्षकले साउती गरेको मैले देखेँ तर हामीतिर कप आउन भ्याएन। राष्ट्रपतिद्धय उठेपछि हलै जर्याकजुरूक भयो।
मैले धुर्मुसलाई उठीउठी छैठौँ परिकार त चुस्दै जानुपर्छ भनेर रोकेँ। थालीमा थेप्चिएका गुच्चा आकारका मिठाई आउँदै थिए।
मिठाईको आखिरी स्वाद जिब्रोभरि राख्दै हामी विदा हुन थाल्यौँ। अब अर्को राजकीय रात्रिभोजमा भेटौँला है भन्दै।
त्यो समारोहबाट निस्क्यौँ जसमा न नेपाली परिकार थियो न नेपाल समेट्ने लोकसंस्कृति न त गतिशिल लोकतान्त्रिक राज्यनिर्माणको कुनै छनक नै। कस्तो राज्य बनाउने भन्ने भेऊ नपाएर रनभुल्ल भइरहेकाहरूकै पछि लाग्यौँ।
कस्तो उदेक हगि ? राजतन्त्रका छायाँहरू नै गणतन्त्रका प्रकाश बनिरहेछन्।
मोनार्की इज गन। लङ लिभ द ह्याङओभर।