संसदमा लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि यस विषयमा पार्टीको धारणा के हुने भन्नेबारे मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र तीव्र मतभेद उत्पन्न भएको छ। बिहीबार केन्द्रीय समिति बैठकमा ‘महाअभियोग प्रस्ताव दर्ता भएपछि मुलुकभर दिपावलीको माहोल उत्पन्न भएको’ प्रतिक्रिया दिँदै पार्टी सभापति शेरबहादुर देउवाले महाअभियोग प्रस्तावप्रति आफ्नो असन्तुष्टि नरहेको संकेत गरेका छन्। प्रक्रियामा भने उनका केही असहमति देखिएका छन्।
कांग्रेसका बहुसंख्यक युवानेता तथा कार्यकर्ता महाभियोगको पक्षमा छन्। सुरुदेखि नै लोकमानको पक्षमा रहेका कांग्रेसका केही ‘प्रभावशाली’ नेता अहिले पनि विभिन्न बहानामा उनको बचाउमा ओर्लिएका छन्। केहीले यो अदालतमा विचाराधीन विषय भएकाले अहिले पार्टीले बोल्न नमिल्ने तर्क गरेका छन्। केहीले यो महाअभियोग प्रस्ताव संविधान कार्यान्वयनको विषय ओझलमा पार्न ल्याइएको आरोप पनि लगाएका छन्।
महाअभियोगको विषय पेचिलो बन्दै जाँदा कांग्रेसमा कुन बिचारले जित्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ। लोकमानको विषय आज आएर हठात् उठेको होइन। उनको नियुक्तिको वैधानिकता सम्बन्धमा सर्वोच्च अदालतले गरेको पछिल्लो निर्णय, डा. गोविन्द केसीले केही महिनादेखि उठाउँदै आएको महाअभियोग माग, लोकमानका प्रतिशोधपूर्ण र स्वेच्छाचारी कार्यको नेपाली प्रेसले निरन्तर गर्दै आएको रिपोर्टिङ र लोकमान स्वयंले अदालतको म्याद तामेलीका सम्बन्धमा पछिल्लोपटक न्यायालयविरुद्ध देखाएको गुण्डगर्दीको पृष्ठभूमिमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको हो।
लोकमानले अदालतविरुद्ध हुलहुज्जत गर्दासम्म एक शब्द नबोलेका कांग्रेसका केही नेतालाई संसदमा महाअभियोग दर्ता भएपछि अदालतको मानहानीको चिन्ता लागेको छ। उनीहरूले लोकमानको विषय अदालतमा विचाराधीन रहेकाले अहिले बोल्न नहुने तर्क गरेका छन्।
लोकमानविरुद्ध संसदमा महाअभियोग र अदालतमा विचाराधीन मुद्दा फरक विषय हुन्। अदालतले लोकमानको नियुक्ति संविधानसम्मत थियो कि थिएन भनेर हेर्दै छ। महाअभियोगको विषय उनले अख्तियार प्रमुख भएपछि गरेका काम–कारबाहीसँग सम्बन्धित छ। यी दुवै फरक विषय हुन्। न्यायपालिका र व्यवस्थापिकाले यी विषयमा आफ्नो कारबाहीलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ।
महाअभियोग प्रस्ताव दर्ता हुनु एक दिनअघि नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले संसदमा विशेष समय लिएर अत्यन्त महत्वपूर्ण र मार्मिक मन्तव्य राखेका थिए। उनको मन्तव्य र त्यसपछि सांसदहरूले राखेका धारणाले महाअभियोग प्रस्ताव अघि बढाउन उत्प्रेरकको भूमिका खेलेको थियो। अधिकारीले भनेका थिए, ‘आज महिना दिनभन्दा बढी समयदेखि सर्वोच्च अदालतबाट जारी भएको म्याद अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको घरमा तामेल गर्न सकिएको छैन। अदालतको आदेशको खुल्लमखुल्ला अवज्ञा भएको छ, कानुनी राज्यको उपहास भएको छ। तर, यस विषयमा समाचार प्रेषित गर्ने सञ्चार माध्यमबाहेक अरू कसैलाई चासो र सरोकार नभएको लाग्न थालेको छ।’
आफ्नो मन्तव्यको अन्त्यमा उनले कानुनको शासनको खिल्ली उडाउँदै लोकमानले गरेका हर्कतबारे निकास निकाल्नुपर्ने प्रस्ताव गर्दै भनेका थिए, ‘हामीले लोकतान्त्रिक गणतन्त्र रोज्यौं। राजा वा राजतन्त्र अरू कारणले हामीले समाप्त गर्नुपरेको होइन। कानुनभन्दा माथि कोही छैन भन्ने सिद्धान्तका आधारमा गणतन्त्र स्थापित गरेका हौं। त्यो शासन पद्धति स्थापना गर्ने संविधान यसै संसदमा उपस्थित अधिकांश सदस्यहरूले दस्तखत गरी पारित गरिएको हो। यस्तो संविधानलाई आज सबैले देख्ने, बुझ्ने गरी चुनौती दिने काम हुँदा संसदले चुप लागेर बस्नु हुँदैन। यसको निकासबारे छलफल हुनुपर्दछ।’
महाअभियोग प्रस्ताव अघि बढेपछि यसको निकास निकाल्ने विषयमा भने कांग्रेस प्रस्टसँग दुई खेमामा विभाजित भएको छ। यसबारे कांग्रेस नेताहरूका फरक–फरक अभिव्यक्ति आएका छन्। व्यक्तिका अभिव्यक्ति उनीहरूको निष्ठा र चेतका उपज हुन्छन्। कहिलेकाहीँ निजी स्वार्थ र बफादारिताका प्रतिबिम्ब पनि हुन्छन्। नेपाली कांग्रेस जस्तो विशाल पार्टीमा विचार र स्वार्थहरूको इन्द्रेणी स्वाभाविक छ। तर, मूल प्रश्न कांग्रेसमा कस्तो विचारले जित्छ भन्ने हो। समाजमा जवाफदेहिता होस्, कानुनी शासन होस्, मुलुकको स्वतन्त्रता र सार्वभौमिकता बलियो होस्, चुनौतीका बाबजुद समाज अघि बढोस् र नेपालीले आत्मसम्मानपूर्वक बाँच्न पाउन् भन्ने विचारले कांग्रेसमा जित्छ कि हार्छ भन्ने हो।
बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले स्थापना गरेको पार्टीका सवालमा पछिल्ला वर्ष यी प्रश्न बारम्बार उठ्नु कांग्रेसका लागि कति चिन्ताजनक विषय हो, त्यो विचार गरेर महाअभियोगका बारेमा नेपाली कांग्रेसले निर्णय गरोस्। उसले जे निर्णय लिन्छ, त्यसले मुलुकलाई प्रभावित गर्ने नै छ। त्यो निर्णयको सबैभन्दा ठूलो प्रभाव भने स्वयम् नेपाली कांग्रेसलाई नै पर्नेछ। आजको भन्दा फरक संस्कारको राजनीति र सम्मुन्नत समाजप्रति नेपालीहरूको आकांक्षा यति तीव्र भएको छ, समाज त अघि बढेरै छाड्छ। तीव्र गतिले बदलिँदो नेपाली समाजमा नेपाली कांग्रेस अहिले नै भोलिको होइन, हिजोको पार्टीजस्तो लाग्छ। गलत निर्णयहरू दोहोर्याउँदै गए लामो समय नेपाली राजनीति अघि बढाउन नेतृत्वदायी भूमिका खेल्दै आएको कांग्रेस पछि छुट्नेछ।