नेपालको राजनीतिक भूगोलका बासिन्दा भारतमा अंग्रेजको आवागमनपछि मात्र त्यहाँको सेनामा भर्ती हुन थालेका हुन् भन्ने धेरैको बुझाइ छ। त्यस्तो बुझाइअनुसार लाहुरे बन्ने प्रक्रिया बेलायतको ‘इष्ट इन्डिया कम्पनी’ र गोर्खा साम्राज्यबीच सन् १८१४ मा सुरु भएको युद्धको पहिलो चरणलगत्तै सुरु भयो।
तर हामीले ध्यान दिनु पर्ने कुरा हो, यस भेगका मानिस विदेशी सेनामा काम गर्ने चलन सुगौली सन्धिताका मात्र सुरु भएको हो वा त्यसभन्दा अघि पनि थियो?
लामो दुरीमा काम गर्ने परम्परालाई जोडेर नेपालको मध्यकाल (१३ औं शताब्दीको मध्यदेखि १८ औं शताब्दीको मध्यसम्म) बारे कुनै नेपाली वा विदेशीले अहिलेसम्म राम्ररी अनुसन्धान गरेका छैनन्।
आजभन्दा झन्डै २५ वर्षअघि डर्क कोल्फ़ नाम गरेका डच इतिहासकारले आफ्नो पुस्तक ‘नौकर, राजपुत एण्ड सिपोइ’मा दक्षिण एसियाको उत्तरी भेगबाट लामो दुरीका सेनामा भर्ती हुने धेरै पुरानो परम्परा रहेको उल्लेख गरेका छन्। त्यसलाई नोकरी भनिन्थ्यो। त्यस्तो परम्परा उहाँले अनुसन्धान गरेको अवधि १५ औं शताब्दीको मध्यदेखि १९ औं शताब्दीको मध्यभरि यथावत् रहेको पुस्तकमा उल्लेख छ ।
उक्त परम्पराबाट नेपालको सीमा भित्र बस्ने मानिस अछुत थिए भनेर विश्वास गर्न सकिन्न। मेरो विचारमा त्यो परम्परा नेपालमा पनि थियो। तर १९ औं शताब्दीभन्दा अघि त्यस्तो परम्पराबारे राम्रो अनुसन्धान नभएका कारण हामीले लाहुरेबारे लेख्दा वा बोल्दा १९ औं शताब्दीको शुरुवातसम्म मात्र पुग्छौं। त्यसअघि उनीहरु आफ्नो बासस्थानबाट टाढा रहेको कुन सेनाका लागि काम गर्थे, पारश्रमिकबापत् के पाउँथे वा कति पाउँथे भन्ने प्रश्नको जवाफ हामीलाई थाहा छैन। त्यसबारे राम्रो अनुसन्धान भए मात्र बोल्न सकिएला।
ब्रिटिस भारतमा भएको भर्तीबारे कुरा गर्दा भने त्यसको पृष्ठभूमि गोर्खा साम्राज्य र इष्ट इन्डिया कम्पनीबीच १८१४ मा सुरु भएको युद्ध नै हो। बलियो देखिएका आफ्ना शत्रुका सेनालाई कमजोर बनाउन उक्त अभियान सुरु भएको देखिन्छ। हारेका गोर्खाली सेना तथा छोटो समयका लागि गोर्खा साम्राज्यको नियन्त्रणमा रहेका गढवाल र कुमाउका मानिसलाई मिलाएर ब्रिटिस भारतमा गोर्खा भर्ती सुरु गरियो।
त्यस्तो भर्ती गर्ने परम्परा पञ्जाबका राजा रञ्जित सिंहले सुरु गरेको र लाहोर भन्ने स्थान उक्त परम्परासँग जोडिएकाले उनीहरूलाई लाहुरे भन्न थालियो भन्ने भनाइ छ। तर, ढुक्क भएर त्यो नै सही हो भन्न सकिदँैन। मैले पढेका स्रोतहरूमा त्यसलाई केवल सुनिएको कुराका रूपमा मात्र प्रस्तुत गरिएको छ। त्यसबारे थप खोज र अनुसन्धान जरुरी छ।
राज्य, भूमि र सेना
लाहुरे परम्पराको जरो खोज्न हामीले गोर्खा राज्य विस्तारका क्रममा देखिएको भूमि र सेनाबीचको सम्बन्धलाई पनि हेर्नु पर्ने हुन्छ। गोर्खा साम्राज्य विस्तारमा राज्य र भूमिबीचको सम्बन्धले खेलेको भूमिका बारे महेशचन्द्र रेग्मीले चर्चा गर्नुभएको छ जसलाई फादर लुडविग स्टिलरले अझै विस्तार र व्याख्या गर्नुभयो।
उहाँहरूको विश्लेषणले नेपाली इतिहासमा रहेको एक महत्वपूर्ण प्रश्नको जवाफ दिन्छ – गोर्खा जस्तै हैसियतका अन्य राज्यले पनि आफ्नो सीमा विस्तारको प्रयास गरेका थिए, तर त्यसमा गोर्खा मात्र किन सफल भयो?
गोर्खा राज्यसँग बलियो स्थायी सेना हुनुको मूल कारण सेनालाई भूमिसँग सम्बन्धित जागिर प्राप्त हुन्थ्यो। मोहीले राज्यलाई बुझाउने करको ५० प्रतिशत सैनिकले जागिरको रूपमा प्राप्त गर्थे। त्यसकारण सेनाले जति भूमि जित्यो उसलाई उति नै धेरै फाइदा थियो। त्यो नै नेपाली राज्य विस्तारको केन्द्रमा थियो भन्ने व्याख्या मलाई सही लाग्छ।
तर, इष्ट इन्डिया कम्पनीसँग युद्धमा बेहोरेको हार र सुगौली सन्धिले नेपाली राज्य विस्तार प्रक्रिया एक्कासी रोकियो। फैलँदो र व्यस्त नेपाली सेना युद्धमा सामेल नहुने अवस्था भयो। उक्त नयाँ परिस्थितिले सुगौली सन्धिको वरिपरि गोर्खा भर्ती किन त्यति धेरै व्यापक भयो भन्ने प्रश्नको उत्तर दिन्छ।
सेनाका लागि हार भइसकेपछि जागिरबापत् प्राप्त हुने जग्गाको मालिक दक्षिण एसियाको प्रभुत्व शक्ति इष्ट इन्डिया कम्पनी वा उसले तोकेको कुनै ठेकेदार हुने भयो। त्यसकारण तपाईँको बफादारिता नेपाली राज्य बाहिरको अर्को शक्तितर्फ ढल्कियो। उक्त परिवर्तनलाई माथि उल्लेखित १५ औं शताब्दीको मध्यदेखि १९ औं शताब्दीको मध्यसम्म लामो दुरीका सेनामा काम गर्न जाने परम्पराको पृष्ठभूमिमा हेर्ने हो भने त्यो कुनै आश्चर्यको कुरा होइन। तपाईँको जागिरको श्रोत परिवर्तन भएका कारण तपाईँको बफादारिता पनि परिवर्तन भयो।
अहिले अमेरिका बस्ने मेरी डेशन नाम गरेकी क्यानडेली मानवशास्त्रीले १९९१ मा स्ट्याण्डफोर्ड विश्वविद्यालयमा नेपाली लाहुरेका बारेमा अत्यन्त राम्रो विद्यावारिधि थेसिस लेख्नु भएको छ। त्यसका धेरै भाग अझै प्रकाशित भएका छैनन्। प्रकाशित भएका भए नेपाली लाहुरेबारे धेरै कुरा प्रष्ट हुने थियो।
सन् १८०५ तिर गोर्खा साम्राज्यको विस्तार भएर कांँगडा बाहेक अन्य स्थानमा पुगिसकेको थियो। त्यो बेलासम्म गोर्खा राज्यले दिने जागिरबारे सेनाका प्रत्येक सदस्यसँग नभई सेनाका ठेकेदारसँग सम्झौता गर्थे कि भन्ने डेशनको अनुमान छ। राज्यले ठेकेदारलाई भन्थ्यो – तेरो जागिर यति भयो र त्यसबापत् तैँले यति संख्यामा सेना जुटाउनु पर्छ।
यदि त्यस्तो परम्परा थियो भने सेना आपुर्ति गर्ने ठेकेदारको बफादारितामा परिवर्तन भएको अनुमान गर्न सकिन्छ। त्यतिबेला दक्षिण एसियाको प्रमुख शक्ति केन्द्र भएको थियो, इष्ट इन्डिया कम्पनी। सेनाको रूपमा तपाईँको बफादारिता ठेकेदारप्रति भयो र ठेकेदारको बफदारिता इष्ट इन्डिया कम्पनीतर्फ भयो।
१८०० को वरिपरिको समयका सेनालाई आजको स्थायी सेनाको अवधारणाअनुसार बुझ्नु हुँदैन। अझ इष्ट इन्डिया कम्पनी अन्तर्गत गोर्खा भर्ती धेरै कुरा स्पष्ट नभएको वातावरणमा भएको थियो।
गोर्खा भर्ती, सफलता र प्रतिरोध
कतिपयले १८१६ को सुगौली सन्धिमा नै इष्ट इन्डिया कम्पनीको सेनामा गोर्खाली भर्ती हुने प्रावधान छ भन्ने दाबी गरेको सुनिन्छ। तर मैले त्यस्तो प्रावधान देखेको छैन। वास्तवमा सुगौली सन्धि र सेना भर्ती एक संयोग मात्र थियो। सन् १८८५ मा वीरशमशेरको उदय नहुँदासम्म सेना भर्तीसम्बन्धी द्विपक्षीय रूपमा कुनै औपचारिक प्रबन्ध भएको देखिँदैन।
जंगबहादुर इष्ट इन्डिया कम्पनीलाई सधैँ सहयोग गर्न तयार थिए। नेपाली सेनाको बटालियन नै लिएर १८५७ मा उनी सिपाही विद्रोहको दमन गर्न भारत नै गए। तर उनले गोर्खा भर्तीलाई स्वतन्त्रपूर्वक नेपालको भूमिबाट सञ्चालन गर्न इष्ट इन्डिया कम्पनीलाई सहयोग भने गरेनन्।
नेपालले गोर्खा भर्तीमा सहयोग गरेन भन्ने इष्ट इन्डिया कम्पनीको गुनासो हामी धेरै स्रोतहरूमा पढ्न सक्छौं। जंगबहादुरका भाइ रणोदीपका पालामा भर्ती अभियानमा सहयोग गर्ने भनिए पनि उनले आफ्ना कर्मचारीलाई सहयोग नगर भन्ने र अपाङ्गता भएका मानिसलाई भर्तीका लागि पठाइदिने जस्ता कार्य गरे। शमशेर खलक सत्तामा आएपछि भने द्विपक्षीय सम्बन्ध र भर्ती प्रक्रियामा केही परिवर्तन आयो। अंग्रेजले नयाँ शमशेरहरूको सत्तालाई समर्थन गर्ने र नेपालले भर्ती गर्न दिने भन्ने किसिमको समझदारी भएको देखिन्छ।
१८८५ सम्म आइपुग्दा दुई-तिन वटा महत्वपूर्ण कुरा भए। भर्तीले निकै सङ्गठित रूप ग्रहण गरिसकेको थियो। १८५७ पछि बेलायत सरकारले भारतलाई आफ्नो साम्राज्यकै हैसियतले शासन गर्न सुरु ग¥यो। त्यसपछि उसले ज्ञानको क्षेत्रमा पनि लगानी गर्न सुरु ग¥यो। १८८० को दशकसम्म आइपुग्दा नेपाल भित्र धेरै घुम्न नपाए पनि नेपाल बस्ने ब्रायन हड्सन लगायतका रेजिडेन्टले लेखेका प्रतिवेदनले देखाउँछ कि उनीहरूले नेपालबारे निकै ज्ञान हासिल गरिसकेका थिए।
गोर्खा भर्ती बेलायती साम्राज्यका लागि महत्वपूर्ण थियो। चाखलाग्दो कुरा भनेको ब्रिटिस–भारतमा सेना भर्तीका लागि बनेको पहिलो ह्यान्डबुक नै गोर्खा भर्तीका लागि बनेको थियो। गोर्खा सेना भर्तीका लागि गोरखपुरमा खटिएका एडेन भान्सिटार्टले १८९० मा उक्त ह्यान्डबुक प्रकाशित गरेका थिए।
क्रेकप्याट्रिक, ह्यामिल्टन र विशेष गरी हड्सनले निर्माण गरेको ज्ञान उनलाई ह्यान्डबुक तयार गर्न उपयोगी भयो। सन् १८८९ मा नेपाल भ्रमण गरेका भान्सिटार्ट एक कुशल अनुसन्धानकर्ता र प्रशासक थिए। नेपाली भूमिबाट नै भर्ती गर्ने प्रयोजनका लागि उनको भ्रमण नभए पनि उनले भ्रमणबाट थप ज्ञान प्राप्त गरे।
उनको ह्यान्डबुकमा कसलाई, कसरी र कहाँबाट भर्ती गर्ने भन्नेबारे उल्लेख छ। जस्तै, गुरुङलाई भर्ती गर्दा कहाँ र कुन वंशको गुरुङलाई भर्ती गर्ने भन्ने समेतका कुरा राखिएको छ। ब्रिटिस भारतमा १८९० पछि अन्य ह्यान्डबुक प्रकाशित भए। तर, गोर्खा भर्तीका लागि भान्सिटार्टले तयार ह्यान्डबुक नै भारतमा सेना भर्तीका लागि तयार गरिएको पहिलो ह्यान्डबुक थियो।
अंग्रेजहरू गोर्खा भर्तीका लागि किन यति लालायित थिए भन्ने प्रश्न छ। सुरुका दिनमा उनीहरूको उद्धेश्य शत्रुका सेना कमजोर बनाउनु नै थियो। त्यसको दोस्रो पक्ष हो– न्यारेटिभ इम्पेरियलिजम। जसलाई मेरी डेशनले आफ्नो थेसिसमा राम्ररी व्याख्या गर्नुभएको छ। आफ्नो क्षेत्रका मानिस कजाएर राख्ने भन्ने कुरा ‘टेरिटोरियल इम्पेरियलिज्म’ हो भने ‘न्यारेटिभ इम्पेरियलिजम’ अन्तर्गत साम्राज्यवादी शक्तिका लागि उपयोगी कथाहरु बन्छन्।
१९ औं शताब्दीको अन्त्यसम्ममा उनीहरू अन्य स्थानीय सेनाको दाँजोमा नेपालीहरू प्रिय भइसकेका थिए। त्यसको कारण रणभूमिमा देखिएको उनीहरूको कौशलता हो, कुनै कथा होइन। ‘लडाकु जाति’ भनिने जुन धारणा बन्यो। त्यसमा नेपालीले देखाएको युद्ध कौशलताको कुरा छ र अंग्रेजहरू त्यसबाट प्रभावित भएका पनि हुन्। तर हामीले के ठान्नुहुन्न भने अंग्रेजले भनेको वा वर्णन गरेको बहादुरी नै नेपालीले भर्तीमा गएर देखाएको बहादुरी हो। तत्कालीन गोर्खा सेनामा भर्ती हुन जाने मानिस कुशल र बहादुर पनि थिए। तर, अंग्रेजले वर्णन गरे जस्तो भने होइन।
सेनामा भर्ती हुनेलाई उनीहरू ‘कच्चा पदार्थ’ भन्थे। जीवन धान्न कठीन विकट क्षेत्रमा हुर्किएका तथा परिश्रम गर्न सक्ने क्षमताका मानिस र उनीहरूको बफादारिता लगायतका धेरै कुरा मिश्रणले नेपालीहरू अंग्रेजका लागि उत्कृष्ट सेना भए भन्न सकिन्छ।
चाख लाग्दो कुरा भनेको 'गोर्खा को हो?' भन्ने विषयमा कथा, अन्यौलता, बहस र विवादबारे मेरी डेशनले आफ्नो थेसिसमा चर्चा गर्नुभएको छ।
भान्सिटार्टले लेखेको ह्यान्डबुक १८९० मा छापिँदा त्यसमा मगर र गुरुङहरू श्रेष्ठ गोर्खा हुन्, तर राई र लिम्बूहरू होइनन् भनियो। ह्यान्डबुक निस्किएको वर्षकै वरपर ब्रिटिस भारतको उत्तरपूर्वमा केही युद्धका अभ्यासहरू भए र राई-लिम्बूको प्रदर्शनबाट प्रभावित भएर हुनुपर्छ भान्सिटार्टको पुस्तक १८९६ मा छापिएको अर्को संस्करणमा राई-लिम्बू पनि उत्कृष्ट सेना हुन सक्छन् भनियो।
नेपालका अन्य जातजाति पनि बहादुर छन् भन्ने कुरा ह्यान्डबुकमा उल्लेख हुँदाहुँदै पनि निश्चित समुदायबाट मात्र भर्ती भएको देखिन्छ। अहिले बेलायती सेनामा लगभग ३ हजार सेना छन् र हरेक वर्ष लगभग २५० नयाँ मानिस भर्ती हुन्छन्। सबैभन्दा बढी मगर र गुरुङ, त्यसपछि राई, लिम्बू र अन्य जातका मानिस फाट्टफुट्ट मात्र भर्ती हुन्छन्। बेलायतले भन्नचाहिँ भन्छ – हाम्रो भर्ती सबै नेपालीका लागि खुला छ।
भर्तीका जातीय आयाम
ब्रिटिसहरू माझ वास्तविक गोर्खा को हो र को होइन भन्ने विषयमा लामो बहस भएको देखिन्छ। ब्रायन हड्सन नेपाल आउनुभन्दा अघि नेपालको राजनीतिक सीमा भित्रबाट भर्ती हुने वास्तविक गोर्खा हुन र गोर्खाली साम्राज्यको अधिनमा केही समयसम्म रहेका कुमाउँ-गढवाल क्षेत्रका मानिस कमसल हुन् भन्ने धारणा रहेको देखिन्छ।
ब्रायन हड्सन नेपाल आइसकेपछि उनले नेपालमा भएका सबै जातजाति सेनाका रूपमा काम लाग्दैनन् भनेर आफ्ना हाकिमलाई जानकारी गराएको विभिन्न डकुमेन्टले देखाउँछ। उनले त्यस्तो कुरा पहिलो पटक १८२५ तिर लेखेका थिए। त्यही कुरालाई पुनर्लेखन र परिमार्जन गर्दै उनले १८३२-३३ तिर आफ्ना हाकिमहरूलाई नोट पठाएका छन्।
सायद त्यही नोट १८३३ मा ब्रिटिस इन्डियाबाट निस्कने एउटा जर्नलमा छापियो। उक्त लेखअनुसार मगर र गुरुङ सबैभन्दा राम्रा ‘कच्चा पदार्थ’ हुन् र अरुचाहिँ अलि कम राम्रा ‘कच्चा पदार्थ’ हुन्। त्यही कुरालाई अंग्रेजहरूले उनलाई उद्धृत नगरिकन दोहो¥याउन थाले। भान्सिटार्टको ह्यान्डबुकमा पनि हड्सनको भाषा प्रष्टसँग भेटिन्छ।
राम्रो सेनाको खोजी र को राम्रो सेना हुन सक्छन् भन्ने बुझाइ र त्यो बुझाइमा क्रमशः आएको परिवर्तन, ज्ञानको उत्पादन र वास्तविक फिल्डमा देखिएको कौशलता सबै कुराको मिश्रण भएर निश्चित जातका मानिस मात्र ठूलो संख्यामा भर्ती अवस्था बन्यो।
तर ठूलो संख्यामा मानिस आवश्यकता परेको बेला भर्तीका लागि उनीहरूले बनाएका त्यस्ता नियम लागू भएन। विश्वयुद्धको समयमा बढीभन्दा बढी मानिस भर्ती गर्नु पर्ने भएकाले उनीहरूले जातको सिद्धान्तलाई पाखा लगाए र सबै जातिका मानिस भर्ती गरे।
आजका दिनमा निश्चित जातका मानिस भर्ती हुनुका अन्य कारण पनि छन्। जस्तो आफ्नो परिवारका धेरै पुस्ता लाहुरे भएका कारण परिवारमा साँस्कृतिक पूँजी बनेको हुन्छ र त्यसले सञ्जाल पनि निर्माण गरेको हुन्छ। त्यसले निश्चित परिवारका सदस्यलाई लाहुरे बन्न सहज बनाउँछ। सक्षमताका हिसाबले निश्चित जातका मानिस योग्य र अन्य जातिका मानिस अयोग्य हुन्छन् भन्ने तर्क वाहियात हो।
बेलायतले भारत छोडेपछि
१९४७ मा भारतबाट अंग्रेज शासन अन्त्य भएको परिस्थितिमा गोर्खा सेनाको अवस्थाबारे डेशनले अत्यन्त राम्रो ढंगले अनुसन्धान गर्नुभएको छ। बेलायतले भारत छाड्ने भएपछि बेलायत र भारत दुबैलाई गोर्खा सेना राख्ने रूची भयो र अहिलेसम्म दुबै देशले उक्त परम्परालाई निरन्तरता दिँदै आएका छन्। तत्कालीन अवस्थामा गोर्खा बटालियनलाई कतापट्टि बस्ने भनेर रोज्न दिइएको थियो। त्यसमध्ये ४ वटा बटालियनले बेलायतलाई रोजेका थिए।
बेलायतले दक्षिणपूर्वमा रहेका उपनिवेशमा ‘आपतकालीन अवस्था’ खेप्ने अवस्था बन्यो। मलायाको विद्रोहलाई ध्यानमा राखेर ५० र ६० को दशकभरि बेलायतले भर्ती जारी राख्यो। महत्वपूर्ण कुरा त गोर्खा भर्तीको इतिहासमा पहिलो पटक नेपाली भूमिबाट उसले भर्ती सुरु ग¥यो। त्यसभन्दा अघि नेपाली भूमिबाट बाह्य सेनामा भर्ती हुँदैन थियो।
बेलायतीले सधैँ गुनासो गर्थे राणाहरूले हामीलाई नेपाल छिर्न दिँदैनन्। त्यसकारण उनीहरूले ‘गल्लावाला’ परिचालन गरेका थिए। गल्लावाल भनेको बेलायतको सेनामा काम गरेको र नेपाली भएका हैसियतले नेपालमा जहाँ जान पनि छुट भएको व्यक्ति हो। उसले सेनामा भर्ती हुन सक्ने सम्भावित युवालाई प्रभोलन देखाएर सीमा नजिक स्थापना गरिएका भर्ती केन्द्र लिएर जान्थ्यो। नेपाली राज्यले आफ्नो भूमिबाट गरेको बन्देज १९४७ पछि खुल्यो।
लाहुरे जीवन रोमाञ्चित र बहादुरपूर्ण भनिए पनि उनीहरूको जीवन भने पीडादायक थियो। मलायाको विद्रोहभरि थुप्रै गोर्खाली सेनाले काम गरे र विद्रोह सकिएपछि उनीहरूको जागिर एक्कासी अन्त्य गरियो। अनुसन्धानकर्ताहरूको निष्कर्ष छ– उनीहरू भर्ती हुँदा जसरी गएका थिए लगभग त्यही अवस्थामा नेपाल फर्किए। उनीहरूले कुनै पेन्सन वा सुविधा पाएनन्।
दुई विश्वयुद्धमा गोर्खालीको संख्या दुई-दुई लाख भएको अनुमान गरिन्छ। दोस्रो विश्वयुद्धमा सेवा गरेका सैनिकको संख्या हेर्दा मैले ७० हजारभन्दा कम भेटें। तर, एउटा सैनिकका लागि दुई गैरसैनिक पनि भर्ती भएका थिए भन्ने कुरा मान्दा ७० हजार सेना र १ लाख ४० हजार सेनाका सहयोगीहरू भर्ती भएका थिए भनिन्छ तर यस विषयमा गहिरो खोज भएको छैन।
डेशनका अनुसार सम्पत्ति भएका लाहुरेको इमेजचाहिँ सन् १९७१ मा ब्रिटिस ब्रिगेडको मुख्यालय हङकङमा सरेपछि बनेको हो। उनीहरूले राम्रो सुविधा र अवकाशपछि राम्रै पेन्सन पाउन सुरु गरे। उनीहरूसँग भएको बचतबाट घर बनाउने र लगानी गर्न थाले। लाहुरे एक समुदायका रूपमा विकसित भयो र विभिन्न शहर विस्तारमा उनीहरूको भूमिका रह्यो। हाम्रो दिमागमा लाहुरे भन्नेबित्तिकै पैसा भएको मानिसको जुन तस्बिर आउँछ, त्यो धेरै पुरानो हो जस्तो लाग्दैन।
बेलायतले हङकङ छाडेपछि १९९७ मा पहिलो पटक गोर्खा ब्रिगेडको मुख्यालय बेलायतको मूल भूमिमा स¥यो। गोर्खाली सेनामा अधिकार प्राप्तिको आन्दोलन ९० को दशकको सुरुदेखि चल्न थाल्यो भने बेलायती सेना समान अधिकार र सुविधा पाउनु पर्ने मागचाहिँ गोर्खा ब्रिगेडको मुख्यालय बेलायतमा सरेको समयमा सुरु भयो।
आज समय निकै परिवर्तन भएको छ। हिजो आज शब्दको चयनबाट पनि देखिन्छ, ‘नयाँ लाहुरे’ भन्ने शीर्षकमा पुस्तक नै निस्किएको छ। बेलायतमा त जम्मा २ सय ५० को हाराहारीमा मात्र प्रत्येक वर्ष भर्ती हुने गरेका छ। अहिले बन्द ग¥यो भने भविष्यमा फेरि सुरु गर्न गाह्रो हुन्छ भन्ने जानेर बेलायतले भर्ती परम्परालाई निरन्तरता दिएको देखिन्छ।
भर्ती प्रक्रिया निरन्तर हुँदा नेपाललाई फाइदा हुन्छ कि हुन्न भन्ने कुरा बहसको विषय हुन सक्छ। खासगरी १९९७ पछि अवकाश प्राप्त सेनाले बेलायतमा नै आवासको अधिकार पाएका छन्। नेपालको घरजग्गा बेचेर बेलायतमा घर किन्ने गरेको पनि देखिन्छ। त्यसले नेपालबाट रेमिट्यान्स बेलायततर्फ गएको हुन सक्छ। बेलायतले यो परम्परालाई जोगाउने नीति लियो। भारततर्फ धेरै कुरा होलान् र त्यसबारे अनुभवी व्यक्ति वा त्यससम्बन्धी अनुसन्धान गरेका मानिसले भन्न सक्नु होला।
लाहुरे परम्परा अझै लामो समय चलिरहने देखिन्छ। नेपालका धेरै थरीका राजनीतिज्ञले गोर्खा भर्ती बन्द गर्न नाराबाजी गरे। अझ, त्यस्तो नारा बिना त तपाईँ कम्युनिष्ट नै बन्न सक्नु हुन्नथ्यो। पञ्चायतपछि नेपालमा धेरै थरीका कम्युनिष्ट सत्तामा गए। तर उनीहरूले यो परम्परा बन्द गर्न कुनै किसिमको प्रयास गरेको सुनिएन र देखिएन।
अर्को चाखलाग्दो कुरा बेलायतका केही ठाउँमा नेपालीहरू बाक्लो रूपमा बस्न थालेपछि उनीहरूको राजनीतिक मतको महत्व भएको छ। त्यसकारण यो परम्परा बन्द गरौं भन्न बेलायत भित्र पनि गाह्रो हुने देखिन्छ। अहिले विभिन्न देशबाट अर्बौं रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ। बेलायतको कुरा गर्दा तीन हजार सेना र प्रत्येक वर्ष तीन सयभन्दा कम भर्तीबाट जाति प्राप्त गर्छ त्यो कुल रेमिट्यान्सको अत्यन्त सानो हिस्सा हो।
लाहुरे सुरुदेखि नै विवादित हुँदै आएको विषय हो। राजनीतिक दलले यसलाई राजनीतिक विषय बनाए पनि सत्तामा पुगेपछि यसलाई रोक्न कुनै कदम चालेनन्। त्यसकारण यो परम्परा निरन्तर चलिरहनेछ। साथै नेपालीले विदेशी सेनामा काम गर्नुहुन्छ वा हुँदैन भन्ने बहस पनि रहनेछ।
(बेलायत र नेपालबीच सम्पन्न सुगौली सन्धि भएको दुई सय वर्ष पुरा भएको छ। त्यसको एक महत्वपूर्ण पक्ष गोर्खा भर्तीका विषयमा सेतोपाटीले इतिहासकार प्रत्यूष वन्तसँग गरेको कुराकानीको अंशः)