‘सत्तामा भ्रष्ट बनाउने प्रवृत्ति हुन्छ र सर्वसत्ताले पूर्ण भ्रष्ट बनाउँछ’ भन्ने निष्कर्ष प्रसिद्ध इतिहासकार तथा प्रखर नैतिकतावादी व्यक्तित्व लर्ड एक्टनले १९ औं शताब्दीको आखिरीतिरै निकालेका थिए ।
रोमन र युरोपका अन्य मुलुकमा सत्ताको मातमा भएका विचलनहरूका आधारमा सायद एक्टनले त्यो निष्कर्ष निकालेका थिए ।
सत्ताको दुरुपयोग र भ्रष्टीकरणका प्रसंगमा अहिले पनि एक्टनको उक्त भनाइलाई अक्सर उद्धृत गरिन्छ ।
नेपाल त्यसको अपवाद छैन । चार ठूला दलको लाचारी, राष्ट्रपतिको नीति र उनको संविधान विपरीतका आचरण र असीमित महत्वाकांक्षाका कारण कार्यकारी प्रमुख बन्न पुगेका प्रधान न्यायाधीश खिलराज रेग्मीले हालै प्रदर्शन गरेको दम्भले एक्टनको भनाइको सान्दर्भिकता स्थापित गरेको छ ।
विविध व्यावसायिक समस्या सम्वोधन गर्न र मुलुकमा सहज वातावरण बनाउन प्रधान न्यायाधीश पदबाट राजीनामा गर्न आग्रह गर्दै सिंहदरबार पुगेको चिकित्सक संघको प्रतिनिधिमण्डल समक्ष बिहीबार उनले प्रदर्शन गरेको दम्भले नेपालमा सत्ताको उपल्लो तहमा जवाफदेहीताको सिद्धान्त पूर्ण समाप्त भएको सन्देश गएको छ ।
अहिले शक्ति पृथकीकरणको औचित्य नै नरहेको भन्नसम्म पनि रेग्मी चुकेनन् ।
‘नेपालमा शक्ति नै कहाँ छ र शक्ति पृथकीककरणको कुरा गर्नुहुन्छ अहिले ?’ ४२ वर्षसम्म न्याय सेवामा रही सर्वोच्चको प्रधान न्यायाधीशसमेत रहेका रेग्मी यतिमा मात्र सीमित रहेनन् । दलहरूले चुनाव गर्न असफल भएपछि आफूसमक्ष सरकारको नेतृत्व लिइदिन हात जोडेको अनि अन्तर्राष्ट्रिय जगतले समेत उनलाई मान्यता दिएको अवस्थामा प्रधान न्यायाधीश पदको राजिनामा मागको औचित्य नरहेको अडानसमेत प्रस्तुत गरे ।
निश्चय पनि प्रजातान्त्रिक व्यवस्था पूर्ण व्यवस्था हैन, तर यसका दुईवटा पक्ष मौलिक र सम्झौतारहित मानिन्छन् । पहिलो, सत्ता जनताप्रति उत्तरदायी रहन्छ र दोस्रो उसको बफादारी सधैं मुलुक र जनतासँगै संविधानवादप्रति रहन्छ ।
सर्वसत्तावादजस्तो संविधानवाद माथिको हैसियत ‘लोकतन्त्र’मा हासिल हुँदैन । रेग्मीले प्रस्तुत गरेको दम्भबाट आफू संविधानभन्दा माथि रहेको र नेपाली जनताप्रति कुनै दायित्व नरहेको मान्यता बोकेको पुष्टि भएको छ ।
उनको यो अनपेक्षित आचरणबाट अर्को खतरा उत्पन्न हुने देखिन्छ ।
जनताप्रतिको दायित्व नस्विकार्नु भनेको सर्वसत्तावादको खुड्किलो चढ्ने प्रयास हो । तर त्यसमा सफलताको सम्भावना हुँदै नभएको मात्र हैन, त्यो शिघ्र पतनको संकेत पनि हो । रेग्मीले त्यो नबुझ्नु आफ्नो तत्काल पतन निम्त्याउनु हो ।
जनताले केही सीमित राजनीतिज्ञ र बाहिरी दुनियाँप्रतिमात्र जवाफदेहीता स्वीकार गर्ने व्यक्तिलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने छैनन् । अझ, जनताको भूमिकालाई स्वीकार नगर्ने व्यक्तिको नेतृत्वमा कसरी स्वच्छ चुनाव होला ?