तपाईँ उडेर दिल्ली जाँदै हुनुहुन्छ भने विमानस्थलबाट निस्केपछि गाडी खोज्नपट्टि नलाग्नुहोला।
सरासर मेट्रोतिर लम्किनुहोस् र ६० रूपैयाको टिकट काट्नुहोस्। कुनै विकसित सहरको सार्वजनिक सवारीको सभ्य स्वाद लिँदा नलिँदै केहीबेरमा नयाँ दिल्ली स्टेसन आइसक्नेछ।
त्यहाँबाट पनि सहरभित्र मुख्य ठाउँसम्म पुग्ने मेट्रोको भव्य सञ्जालले तपाईँलाई अर्को टिकट काटेपछि आफ्नो गन्तव्यतिर पुर्याउनेछ।
जापानको मीठो कोसेली भारतको विकासलाई जुन केही वर्षदेखि स्थानीयबासीले अन्तर्राष्ट्रिय स्तर चाख्न पाइरहेका छन्।
गन्तव्य आसपासको निकास द्वारबाट निस्केपछि त असली भारत नै पुगिनेछ। यात्रुलाई हुनेहुनामी छँदैछ। ट्राफिक जाम, हुप्प गर्मी, धुवाँ, भीडभाड, हतार र सबथोकको कोलाहाल। कोलाहलको कोलाज।
म अमेरिकाको हवाईस्थित ईष्टवेष्ट सेन्टरले दिल्लीमा आयोजना गरेको अन्तर्राष्ट्रिय मिडिया सम्मेलनमा भाग लिन त्यसैगरी मेट्रोबाट निस्किएँ। ग्रीनपार्क नाम गरेको निकास द्वारबाट सडकमा उक्लिएपछि होटलसम्म पुग्न सोध्दै हिँडेँ।
ले ट्रिभेन्टिनो भन्ने विदेशी नामको तर देशी स्तरको होटलमा मेरो कोठा थियो।
त्यसरी होटल पुग्न मलाई विमानस्थलबाट एक घण्टा लाग्ने गुञ्जायसै भएन। ट्याक्सीले बाह्र सय रूपैयाँ लिने लेखिएको थियो। म चानचुन असी रूपैयाँमा कम झन्झट र कम प्रदूषण झेल्दै मन्द मुस्कानसहित होटल रिसेप्सनमा पुगिसकेको थिएँ।
जवाफमा अतिरिक्त मुस्कानसहित रिसेप्सनिष्टले मेरो पासपोर्टको फोटोकपी उतारिसकेपछि एउटा चाबी दिइन्। सबभन्दा माथिको कोठा पाए हुन्थ्यो भनेको थिएँ। जति उचाइमा पर्यो उति सिँढी उक्लिन चाहने
मलाई खुच्चिऊँ गरेझैँ पहिलो तला नै पर्यो। ढोका खोल्नासाथ झस्किएँ र भित्रै नपसी फटाफट तिनै बहिनीतिर लम्किएँ।
‘म एक दुई होइन, छ–छ रात बस्दैछु,’ मैले भनेँ, ‘यस्तो कोठा दिएर त भएन कि?’
‘के भएन सर?’
‘मलाई झ्याल भएको कोठा चाहिन्छ,’ मैले भनेँ, ‘ठाउँको नाम छ ग्रीनपार्क। टेलिभिजन हेरेर म निदाऊँ?’
उनले अर्को साथीसँग खासखुस गरिन् र एक तलामाथिको अर्को चाबी दिइन्। उत्तरतिरको झ्यालको पर्दा खोलेपछि सडकपारि उत्तिकै अग्लो डियरपार्क नाम गरेको अर्को होटल देखियो र माझमा सास फेर्ने ठाउँ
पनि नछाडी एकसाथ जोगल्टिएर उभिएका गुजुमुज्ज घरहरू। आँखा तन्काउन मिल्ने दुरीसम्म कतै ग्रीनपार्क वा डियर वियरको नाम निशाना थिएन।
जुत्ता खोलेर लुगासुगा दराजमा झुण्ड्याइसकेपछि ल्यापटप निकालेँ। चार्जरका लागि मल्टिप्लग मगाएँ। वाईफाई फ्रि भनेर त्यत्रोविधि होटलको बेवसाइटमा प्रचार गरिएको त फ्वायँ रहेछ। के हो यो ताल भन्दै फेरि रिसेप्सनमा झरेँ।
‘हेर्नोस्न्,’ अर्का रिसेप्सनिष्टले विनयीभावमा भने, ‘चालीस जना विदेशी पाहुना (हाम्रै सम्मेलनका लागि) आउन लागेको बेला वाईफाई चट् भयो।’ विभिन्न देशबाट आउने सहभागीहरूलाई विभिन्न होटलमा के कसरी हो अलग्याएर राखिएको थियो।
‘के भयो?’
‘राउटर बिग्रियो।’
‘कहाँ छ त्यो?’
‘हरेक तलामा।’
‘हरेक तलाको राउटर बिग्रियो त?’
‘हो, एकैचोटी,’ उनले भने।
‘भएभरका जम्मै एकै दिन बिग्रिने कस्ता परेछन् त?’
‘प्राविधिक आउँदैछन्,’ उनले भने, ‘ध्यैर्य गर्नुहोला।’
म ध्यैर्य नगरी बाहिर टहल्लिन हिँडेँ। ग्रीनपार्कको मुख्य चोकमा नयाँ जमानाका सहरी युवायुवतीहरू झुम्मिने गरी कुनभन्दा कुन चम्किला कफीघर र अन्तर्राष्ट्रिय फाष्टफुड चेन रेष्टुरेन्टहरू रहेछन्। साँझपख त मध्यम र उच्चमध्यम वर्गको वैभवको छाँट देखिने।
वाईफाई फ्रि लेखिएको ‘क्याफे कफी डे’ भित्र पसेँ। कफी र व्यसनी भावनाले स्निग्ध आन्तरिक सजावटबाट मोहित हुँदै कुनाको एउटा सानो टेबलमा कुइनो अड्याउन कुर्ची सारेँ। अमेरिकानो डबल सट् अर्डर गरेँ।
आफ्नो प्रिय मोबाइल निकालेँ।
इमेल खोल्ने कत्रो हतार थियो भने कफी आउनुअगावै आफू सांसारिक सम्पर्कमा पुगिहालुँ भइसकेकाले वाईफाई अन् गरेँ। पासवर्ड अचेल हाम्रो हरेक जिज्ञासा, व्यग्रता र व्याकुलताको कुँजी भइसकेको छ।
पासवर्ड पाए हाम्रा सबै भोक, तिर्खा, आलस्य, वेचैनी स्वाट्टै मेटिन्छन्।
भाउँतो त लाग्ने नै थियो। पासवर्ड पाउन आफ्नो मोबाइलको नम्बर हाल्नुपर्ने र मोबाइलमै एसएमएस आउने रहेछ।
‘ए भाइ,’ मैले वेटरसँग भनेँ, ‘मैले आफ्नो मोबाइल नम्बर हालेर के गर्नु? नेपालको नम्बर छ, यहाँबाट मेसेज हेर्न मिल्दैन।’
त्यत्तिका लागि स्थानीय सीमकार्ड हाल्न म बाहिर निस्कनुपर्ने त? उनले अर्का सहकर्मीलाई बोलाइदिए। विदेशी पर्यटकले भारतीय सीमकार्ड नभए वाईफाई नै नपाउने भनी सोधेँ। उनले ठाडै मिल्दैन भन्ने ठोकुवा
गरे। कफी, अन्तर्राष्ट्रियतावाद, मोबाइल, वाईफाई, पासवर्ड सुरक्षा, नागरिकता/पासपोर्ट, औँठाछाप, आतंकवाद, प्रतिआतंकवाद...अनेक सोच एकसाथ त्यही कुइनो अड्याएको टेबलमा मौरीझैँ झुम्मिए। फ्रि वाईफाई पाउन कफी पिउनुपर्ने, मोबाइलमा लोकल सीम भर्नुपर्ने, सीम लिन प्रमाणपत्र बुझाउनुपर्ने।
मैले सम्पर्कविहीन रहनुपर्दाको निस्तो मनले कफी घुट्क्याएँ र होटलतिर फिर्ती सवारीका लागि गोडा फटाएँ।
राउटर बनाउने प्राविधिक माकुराको जालो उधिन्न उभिएझैँ मेरो कोठाबाहिर उँभोमुन्टो लाइरहेका थिए। उनले संकेत गरेअनुसार राति अबेरसम्म बन्नेवाला थिएन।
भित्र पसेर टेलिभिजन घ्यारघ्यार पार्दा भारतीय च्यानलहरूका सनसनीखेज समाचार, समाचारका रूपमा सनसनी फैलाउने तरङ्गले मन झन् भरङ्ग भयो। त्यसै त मैले घरमा आजकल टेलिभिजन राखेको छैन।
भारतीय च्यानलहरू कहिलेकाहीँ बाहिर हेर्दा पनि पर्दाभरि यतिसारो झैझगडा गर्ने आधा दर्जनभन्दा बढी अनुहारहरू एक ठाउँ टाउका राखेर बातचित गराइरहेका हुन्छन्। बातचित के भन्नु, वादविवाद।
संवाद हेर्न के गर्नुपर्ला? मैले एकपल्ट पत्रकार सिद्वार्थ बर्धराजनलाई भारतमा सबभन्दा स्वतन्त्र सञ्चार माध्यम कुन हो भनी सोधेको थिएँ। मोदीको उदयसँगै उलटपुलट भएका सम्पादकहरूमध्ये ‘द हिन्दु’ दैनिकबाट निस्किएका उनले ‘राज्यसभा टिभी’को नाम लिएका थिए।
उनले अर्थ्याएअनुसार राजनीतिक र व्यापारिक जगजगीवशः सञ्चार माध्यमको स्वतन्त्रता पहेलु बन्दै गएको छ। संसदले चलाएका दुई टिभी तुलनात्मक रूपमा स्वतन्त्र छन् तर त्यसमध्ये पनि लोकसभा टिभीमा बहुमतका सभामुखको छायाँ पर्छ। माथिल्लो सदनका अध्यक्ष (संविधानअनुसार उपराष्ट्रपति हमिद अन्सारी) भने बौद्धिक, अल्पमत समुदायका, प्रतिपक्षी राजनीति समर्थक र प्रेस स्वतन्त्रताको बुझाइ भएका व्यक्ति परेकाले राज्यसभा टिभी हेर्न योग्य छ।
वायर नामक अनलाइन पत्रिका सम्पादन गर्न थालेका सिद्धार्थ आफैँ पनि त्यसमा एउटा कार्यक्रम चलाउँछन्। तर, त्यो च्यानल मेरो कोठाको टिभीमा सायदै पहिला कसैले हेरेको थियो। क्यै गर्दा पनि आएन।
रिसेप्सनिष्टले पठाइदिएका अधवैँशे सहयोगीले त्यस्तो नाम गरेको च्यानल सुनेकै छैन भने। उनले रिमोर्टमा भएसम्मका बटन थिचेर चलाउँदा चल्मलाएका च्यानलहरूबाटै भारतमा सञ्चारको विकास जताउने नानाथरी झिलिमिलीहरू झल्याकझुलुक भइरहे। चामलमा कनिका फेला पारेझैँ अन्त्यमा मैले खोजेको यही हो नभनिउञ्जेल उनले रिमोर्ट थिच्याथिच्यै गरे। धन्य भेटियो। बक्सिसस्वरूप धन्यवाद शब्दबाटै उनी मख्ख फर्किए।
दङ्ग पर्दै विछ्यौनामा बल्डङ्ग पल्टेर हेर्दै थिएँ, एउटा समाचार स्क्रोल देखेर बजारिएँ, ‘चीन के राष्ट्रपति सी के नेपाल दौरा रद्द।’
लौ जा, यता एक सातापछि हाम्रा प्रधानमन्त्रीले भारत भ्रमण गर्दैछन्, उता चीनका राष्ट्रपतिले नेपाल भ्रमण रोकेको समाचार आउँदैछ।
भूराजनीतिको भूमरी कसरी गहिरिँदैछ भन्ने त बुझ्नु नै छ। अहिलेलाई भने पहिला भारत बुझौँ भनेर म राज्यसभा टिभीमै झुत्तिरहेँ। व्यापारिक विज्ञापनरहित सफा, स्वच्छ, स्पष्ट र सरल कार्यक्रमहरू एकपछि अर्को आउने रहेछन्। कहिले हिन्दीमा त कहिले अंग्रेजीमा । समसामयिक समाचार सँगसँगै कला, संस्कृति, संगीत, वृत्तचित्र, आदिवासी जनजीवन, गाउँठाउँ, दूरदराज...। आमसञ्चार माध्यमका प्राथमिकता नपर्ने शितल संवादमुखी सामाग्रीहरूले आकर्षित गरे।
केहीबेरमा ग्रामीण पत्रकारिताको ख्याति कमाएका पी साइनाथ झुल्किए। उनले भारतभित्र कतै कुनै विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गरिरहेका थिए। दलित, मर्यादा र विभेदका विषयमा। खुला बजार अर्थतन्त्रले बढाएको आर्थिक विकासको चङ्गूलमा कसरी पिँधका जनता उपेक्षित छन् भन्ने व्याख्यान दिँदै रहेछन्।
बजार अर्थतन्त्रले भारतीय सहरहरू झन्झन् असमावेशी हुँदै गएको र बहिष्करणको प्रक्रिया बढेको उनी बेलिविस्तार लाउँदै थिए। उनले पर्खालको चौघेराभित्र मध्यम तथा उच्च वर्गका लागि धमाधम बनिरहेका आवासीय क्षेत्रहरूको उदाहरण दिए। पर्खालको चौघेराका समुदाय (गेटेड कम्युनिटी) कसरी बढिरहेका छन् भने एउटा गेटेड कम्युनिटी डट कमले त विज्ञापनै गरेको छ भारतमा सबभन्दा तीव्र विकास भइरहेको क्षेत्र भनेर।
राजकीय शानसहितका ‘किङ साइज’ बसोबास भन्ने प्रचारसहित बन्दै गरेका आवासीय क्षेत्रलाई कटाक्ष गर्न उनले महाराष्ट्र राज्यको उदाहरण दिए। चार दशकको सबभन्दा सुख्खा अर्थात् मुख्यमन्त्रीले त घोषणै गरेको अहिलेसम्मकै सुख्खा खडेरी परेको वर्ष नै त्यस्ता उधूम विज्ञापन सहरी क्षेत्रमा गतिमान थिए। निजी स्विमिङ पुलसहित सुपर डुप्लेक्स अपार्टमेन्टहरूको विस्तारक्रममा उनले एक ठाउँ देखेछन्, निजी वनसहितको आवासको विज्ञापन। ‘बाघलाई वन छैन, धनी मानिसलाई निजी वन बनिरहेको छ,’ उनले भने।
अर्को ठाउँ तलापिच्छे निजी स्विमिङ पुल बन्दै गरेको विशालकाय निर्माणाधीन अपार्टमेन्ट भवन पुगेछन्। कामदारहरूसँग सोधपुछ गरेछन्। के गर्नु हाम्रो खेतमा पानी छैन, सुख्खा छ, उब्जनी हुँदैन, यसरी अन्त आएर काम नगरी मुखमा बुझो लाग्दैन भन्ने जवाफ दिएछन्। साइनाथ भन्दै गए, ‘खेतमा पानी नभएर विस्थापित किसानहरू सहरमा तलापिच्छे निजी स्विमिङ पुल बनाइरहेका छन्।’
आम जनताको जीवनस्तर होइन, केही जनताको जीवनशैली उकास्ने विकास विसंगतिका ती टिप्पणीकारले किसानका जमिनमा सुख्खा खडेरी पनि मानवनिर्मित भन्दै थिए। किनभने, उनले देखेअनुसार पानीका स्रोतहरू खेततिर होइन, औद्योगिक र त्यस्तै जीवनशैली विकास क्षेत्रतिर मोड्नेक्रम बढ्दो छ।
सत्तरी वर्षे स्वतन्त्र भारतको लोकतन्त्रमा जनताको बहिष्करण र उल्लेख्य संख्या भएका दलितको मानवीय मर्यादा प्रमुख सवालका रूपमा उनले उभ्याउनुअघि जीवनशैली विकास परियोजनाहरूमध्ये गल्फ कोर्सहरूको उग्र विस्तारले पानी र पेस्टिसाइट कति खपत गर्छन् तर्क गरे। अनि भने, यता–यस्ता आवासीय क्षेत्रमा दलितले बस्न पाउँदैनन्। उता गरिबका खेतखलिहान झन् रूखासुख्खा हुँदै जानेछन्।
समाचारको पालो पर्यो। कश्मिरमा लगातार ६१ औँ दिन कफ्र्यु थियो। दिल्लीमा गृहमन्त्री राजनाथ सिंहको अध्यक्षतामा सर्वदलीय बैठक हुँदै थियो। प्रधानमन्त्री मोदी भारतको बाह्य प्रभाव बढाउन पूर्वी एशियाली मुलुकहरूको लाओस सम्मेलनमा रातो कार्पेट यात्रा गर्दै थिए।
भारतमा आर्थिक सुधार सुरू गर्ने चन्द्रशेखरको सरकारका अर्थमन्त्री यशवन्त सिन्हासँग अन्तर्वार्ताको समय आयो। अढाइ दशकअघिको आफ्नो पालादेखि अहिलेसम्म हरेक सरकारले सुधारका कार्यक्रम जारी राखेकै छन्, चाहे जुनसुकै पार्टी र गठबन्धनको सरकार बनोस्, राष्ट्रिय सहमति देखिएकै छ भन्नेमा उनी दङ्ग देखिए। ‘सुधार कसरी गर्ने भन्नेमा भने राष्ट्रिय सहमति अझै बनेको छैन,’ उनले भने।
त्यही सिलसिलामा शास्त्रीय संगीतका एक साधकको अन्तर्वार्ता आयो र सँगसँगै सुमधुर संगीतको गुञ्जनले मलाई विस्तारै लुट्पुट्याउँदै लग्यो।
भोलिपल्ट हाम्रो निर्धारित सम्मेलन सुरू भयो। एउटा सत्रमा भारतीय वातावरणीय पाक्षिक ‘डाउन टू अर्थ’का प्रबन्ध सम्पादक रिचार्ड महापात्र आफ्नो म्यागेजिनको आवरण देखाउन थाले। हजारौँ पत्रपत्रिका छापिने देशमा जनजीवन र जगतका दीगो मुद्दासँग जोडिने उनको पत्रकारिता वैकल्पिक धारको थियो। त्यो धेरै बिक्ने र होहल्ला मच्चाउने खाले होइन। उनले गत जुन महिनाको आवरण देखाए जसमा खडेरीको चित्र थियो र भित्र २५ पृष्ठ लामो अनुसन्धानमूलक सामग्री।
त्यो पत्रिका तल राखेर उनले जुलाई महिनाको अंकको आवरण उचालेर हामीपट्टि तेस्र्याए जसमा बाढीको चित्र थियो। अनि अगष्टको आवरणमा बादल।
‘ल हेर्नोस् एक महिना सुख्खा–खडेरी छ, अर्को महिना भेल–बाढी, तेस्रो महिना बादल बदलिएको छ,’ उनले भने, ‘झरी कम परेका प्रदेशमै बाढी गएको छ। तपाईँहरू किन भन्नुहोला, खासमा मौसमी घटनाहरू अचाक्ली बदलिएका छन्।’
बादल भनेको मौसमको आधारभूत यातायात व्यवस्था हो। त्यो नै बदलिँदै गएको छ। हामीभन्दा माथिको आकाशको बादल हामीले उपभोग गर्ने डिजेल र अन्य पदार्थले कलुषित बन्दै गएको छ। ‘मान्छेले बादल बिगारेका छन् र विपत्ति ल्याएका छन्,’ उनले भने।
यस्ता विषयमा आम सञ्चार माध्यमको ध्यान किन नगएको होला त भन्ने जिज्ञासा बढ्दै गयो। उनले अथ्र्याउन पाए। ‘म उदाहरण दिन्छु, पहिला–पहिला नेपाल र भारतबीच उच्च तहमा द्विपक्षीय वार्ता हुँदा नदी सन्धि, तटबन्ध जस्ता गहनतम् विषयमा हुने छलफल मुख्य समाचारका शीर्षक बन्थे। हो?,’ उनले भने, ‘अहिले समाचारहरू बदलिए, शीर्षकहरू बदलिए, ध्यानहरू बदलिए।’
भारतीय शीर्षकहरू बदलिँदै जाँदा सर्वसाधारणका जीवनसँग सरोकार राख्ने विषयवस्तुहरूप्रतिको गम्भीरता हराउँदै गयो। ‘यो सबै सन् १९९१ यता सुरू भएको हो, जब भारतले आर्थिक सुधारको नीति लियो,’ उनले भने, ‘हरेकथोक बदलियो।’
भारत जोडले आर्थिक शक्ति राष्ट्र बन्ने धुनमा अन्तर्राष्ट्रिय पखेँटा खियाउँदैछ, आन्तरिक रूपमा भने वेचैनी र विरोधाभाषहरू पनि उत्तिकै बढाउँदैछ। भारतले कस्तो विकास कसरी गर्दै जान्छ भन्नेले हामी छरछिमेक सोझै प्रभावित हुने नै छौँ। हुँदै गएकै छौँ। आकाशमा बादलहरू बदलिइसकेका छन्। जमिनमा बहिष्करण बढिरहेको छ।
मैले सम्मेलनका अर्का सहभागी बंगलादेशको ‘न्यू एज’का सम्पादक नुरूल कबिरलाई आँखा सन्काएँ। जाऊँ, कफी तानौँ र यावत् बदलावहरूको केन्द्रमा रहेको भारतका बारेमा गफिऔँ। किताब पसल पनि चाहार्न मिल्ने खान मार्केट जान हामी दुई दक्षिण एशियाली होटलबाट निस्क्यौँ।
मधुमेहको बिरामीले हिँड्नु राम्रो हो भन्दै उनी मेरो पछिपछि छालाको जुत्तामा तन्किन थाले। मेट्रोबाट लाइन बदलेर पुग्न सकिन्छ भन्दै मैले हिँडाउँदा उनले त्यहाँको मेट्रो नचढेको बताए। ‘मलाई त हिन्दी पनि आउँदैन, मलाई गाइड गर्नू है,’ उनले भने।
अटो चढेर प्रदूषण बढाउनुभन्दा वातानुकूलित मेट्रो कताकता सुविधाजनक भन्दै मैले उनलाई उकासेँ। मेट्रोमा टिकट काट्नेदेखि मेटल डिटेक्टरको सुरक्षा जाँचबाट पसेर लाइन बदल्नेसम्म उनलाई मैले सहज तुल्याउनु थियो। हतारिएर रोकिने र झ्वाट्टै कुदिहाल्ने मेट्रोमा साँझको भीड छिचोलेर म सुट्ट डिब्बाभित्र छिरेको मात्र के थिएँ विद्युतीय ढोका त ढ्याम्म लागिहाल्यो।
मेरो पछिपछि आइरहेका सहयात्री नुरूल ढोकाबाहिर हिँस्स परे। लौ मार्यो। मैले हेर्दाहेर्दै उनी हात पनि हल्लाउन नभ्याएकी प्रेमिकाझैँ छुटे, मेरो गाडीले नयाँ भारतीय बृद्धिदरको रफ्तार समातिसकेको थियो।
हत्तेरी, उनलाई अर्को रेल आएपछि चढेर फलानोठाउँ झर्नू है भन्न पनि भ्याइन। कहाँ झरेर कुन लाइनको रेल पक्रिने र कहाँ उत्रिने पनि मैले उनलाई राम्ररी बुझाएको थिइन।
दोषी मन र खिन्न भावसाथ बंगलादेशी साथीलाई व्यस्त दिल्ली मेट्रोमा अलपत्र हिस्स पारेर म एक्लै बत्तिएँ।
हामी दक्षिण एशियाली छरछिमेकी सायद यसैगरी बदलिँदो विशाल भारतबाट अलग्गिएका छौँ। भारतीय गतिको डिब्बामा हामी एकसाथ समावेश हुन सकिरहेका छैनौँ।