यो लडाइँ म एक्लैको होइन। हिजोसम्म म र मेरा साथीहरू जेका निम्ति लड्यौं, त्यो हामी सबैको साझा भएको छ। तपाईंहरू हजारौंले सडकमा ओर्लेर, सयौं जनाले मलाई व्यक्तिगत रूपमा भेटेर साथ र साहस दिनुभएको छ। हाम्रो आवाज बन्द गर्न खोज्नेहरू आज आफैं बोल्ती बन्द भएर घर बसेका छन्। यो हाम्रो सत्याग्रह आन्दोलनको ठूलो उपलब्धि हो।
आज मुर्दाशान्ति भंग भएको छ। एकपल्ट फेरि हामीले हाम्रो आवाज फिर्ता पाएका छौं। त्यसैले, तपाईंहरू हुनुहुन्छ र म छु। र, सँगै हामी बनेका छौं।
अब अगाडिको लडाइँ हाम्रो साझा लडाइँ हो।
आम नागरिकको स्वास्थ्यको आधारभूत सुरक्षाका निम्ति हामीले बारम्बार संघर्ष गर्नुपरेको छ। गुणस्तरीय स्वास्थ्य सेवामा गाउँमा बस्ने सवा दुई करोड नेपालीको सजिलै पहुँच हुनुपर्छ भन्ने हाम्रो एकसूत्रीय माग हो। तर, सारा नेपालीको स्वस्थ रहन पाउनुपर्ने संविधानले दिएको अधिकार सुनिश्चित गर्न हामीले दक्ष डाक्टर र स्वास्थ्यकर्मीहरू तयार गर्नुपर्ने हुन्छ। त्यसैले, हाम्रो माग चिकित्सा शिक्षासँग जोडिएको छ। कारखाना नै नराम्रो भयो भने उत्पादन कस्तो हुन्छ? आजका नाफामूलक मेडिकल कलेजहरूले जुन रूपमा विद्यार्थी भर्ना लिन्छन्, कमसल जनशक्ति उत्पादनको जरो त्यही हो।
मेडिकल कलेजहरू मात्र किन, समग्र शैक्षिक क्षेत्रमा व्याप्त विकृतिको सिकार हामी सबै अभिभावक र विद्यार्थी भएका छौं। हाम्रो लडाइँ यसैविरुद्ध हो।
अहिले पूरा तराई–मधेस जलमग्न छ, त्यहाँ अस्पताल खोई? त्यहाँ डाक्टरहरू खोई? पहाडमा पहिरो गएर बेहाल छ, त्यहाँ औषधि खोई? विपद पर्दा हेलिकप्टरमा सवारी निरीक्षण गर्ने, काठमाडौंबाट राहत बाँड्ने संस्कार बन्द गर्नुपर्यो। भ्रष्टाचार नभएको भए आज त्यहाँ अस्पताल हुन्थ्यो, डाक्टरहरू हुन्थे, सबै कुरा काठमाडौंमा थुपारेर हुन्छ?
विगत आठपटकको सत्याग्रहको उपलब्धि अनेकौं राजनीतिक हथकन्डा अपनाएर आज तुहाउने कोशिस गरिँदैछ। यसअघि नेपालका चार प्रधानमन्त्री र उनको सरकारसँग गरिएका सम्झौता एकपछि अर्को गर्दै भत्काइएको छ। यता ‘हुन्छ’ भनेर सरकारका प्रतिनिधिहरू सम्झौता गर्नुहुन्छ, उता ‘हुँदै–हुँदैन’ भनेर प्रोपोगान्डा जुलुस निकालिन्छ। अहिले फेरि राजनीतिक अस्थिरताबीच विधेयक पास गर्न चलखेल हुँदैछ, यो तुरुन्त फिर्ता लिनुपर्छ भन्ने हाम्रो माग हो।
हामी पहिलेभन्दा सजग, बढी होसियार, पूर्ण रूपमा सक्रिय र एकबद्ध भएर अगाडि बढ्नुपर्ने बेला आएको छ। हामीले पहिले पनि भनेका थियौं, सांसदहरू अघि सरेनन् भने जनता अघि सर्छन्। राम्रा मान्छे चुप लागेर नै नराम्राहरूको हालिमुहाली भएको हो। तर, यो आठौं सत्याग्रहले बोल्न चाहनेहरू त्रासमा बाँच्ने छैनन् भन्ने हामीलाई ठूलो ऊर्जा प्राप्त भएको छ। यो ऊर्जालाई हामीले सञ्चय गर्नुपर्छ।
हामी अब चुप लागेर बस्ने छैनौं। हामी आफू मात्र बोल्ने होइन, अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध जोसुकै पनि निर्धक्क बोल्छन् र आफ्नो कुरा राख्न सक्छन् भन्ने सन्देश पनि दिन चाहन्छौं।
नेपाली जनताले १० वर्षअघि बोल्न नदिने शक्तिलाई पूर्ण रूपमा ध्वस्त बनाएका थिए, आज त्यही बोल्न नदिने संस्कार बोकेका मानिस फेरि टाउको उठाउँदै छन्।
हाम्रो विगतका संघर्ष र कार्यान्वयन पक्ष हेर्दा हाम्रा पाइला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ढोकामा गएर ठोकियो। सम्मानित आयोगको प्रमुख आफैंले व्यक्तिगत चासो, अनुचित सम्बन्ध र हस्तक्षेप गरेका कयौं उदाहरण हामीले भेट्टायौं। यी उदाहरणको फेहरिस्त हामीले, जनताले कहाँ दिने? कसलाई दिने? एउटा व्यक्तिले गर्दा सम्पूर्ण आयोग नै बदनाम हुन्छ भने त्यसलाई जनताको प्रतिनिधिमार्फत् संसदबाट सही÷गलत छुट्टयाउने मौका दिनुपर्छ, त्यसमा व्यापक बहस हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। राजा हुँदा हुकुम प्रमांगी र संसद नहुँदा राष्ट्रपति प्रमांगीबाट आएका व्यक्ति उपर सर्वशक्तिमान संसदमा गम्भीर र परिणाममुखी बहस चलाउनुपर्छ भन्ने हाम्रो आजको माग हो।
विभिन्न विषय र क्षेत्रमा प्राप्त धेरै प्रमाणलाई बेवास्ता गरेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेपसम्बन्धी एउटा मात्र प्रश्न लिएर आज संसदको सुशासन तथा अनुगमन समिति छानबिन गर्न तयार भएको छ। हामी यस अवसरलाई कुनै पनि व्यक्ति कुर्सीको पछाडि बसेर बदमासी गर्न पाउँदैनन् भन्ने सन्देश दिन चाहन्छौं। यो लडाइँ व्यक्ति र उसको कार्यप्रति लक्षित छ, यो आन्दोलन अख्तियारविरुद्ध होइन।
त्यसैले, एउटा मात्र मुद्दा लिएर बाँकी सबै प्रमाण र जनताको आवाजलाई सरासर बेवास्ता गर्ने कोशिस जारी छ। अख्तियार प्रमुख आफैंले सम्पत्ति विवरण बुझाएका छैनन्, ठूला मान्छ समाउँछु भन्ने प्रमुख आफैं यो भ्रष्टाचारको महासागरका सार्क हुन्, त्यसैले आफ्नो आहाराका निम्ति ठूला माछा खोज्दै हिँड्छन्। आहिले उनी बडो सालिन तरिकाले आफैं एक हप्ता छुट्टिमा बसेका छन्। धेरै विवाद नगरीकन यतिबेला संसदीय छानबिन समिति गठन नगरेर कहिले गर्ने, उनी अफिसमा हाजिर भइसकेपछि? उनको यो छुट्टी ‘पर्मानेन्ट लिभ’ हुनुपर्छ। संसदले उनको परीक्षा लिनैपर्छ।
साथीहरू, जसले यो आन्दोलनलाई समर्थन र सदासय देखाउनुभएको छ, जसले निडर र निर्भीक भएर थिति बसाल्ने कार्यमा साथ दिनुभएको छ, उहाँहरूलाई एकपल्ट सँगै हिँडेर हाम्रो संसद जान म निम्त्याउन चाहन्छु।
हामी भोलि शनिबार संसदीय सुनुवाइ समितिका अध्यक्ष र सदस्यहरूलाई अख्तियार प्रमुखले गरेका कार्यको सानो फेहरिस्त लिखित र सांकेतिक रूपमा बुझाउन जाँदैछौं। संसदको गठित समितिले आफ्नो कार्यसूचीमा काठमाडौं विश्वविद्यालय मात्र होइन, अरू गम्भीर प्रकृतिका कार्यहरूबारे छलफल गरोस् भन्ने हाम्रो माग हो।
हामीले गर्न लागेको कार्यले गैरमेडिकल क्षेत्रमा पनि अख्तियारको आवरणमा प्रमुखले बदमासी गरेका छन् भने उनीमाथि महाअभियोग लगाउने संसद जिउँदो छ र यसले नै जनताको सार्वभौम सर्वोच्चता राख्छ। हामी जनताले सत्य के हो, त्यो थाहा पाउने अधिकार सदैव राख्नेछौं। माइतीघरबाट बानेश्वरतर्फ लम्कने हरेक पाइलाले हामीलाई सत्यको अन्वेषण गर्न मद्दत गर्नेछन्।
हाम्रो खाना खाएर लड्ने लडाइँ सुरु भयो, भोलि भेटौंला।