आदरणीय पाठकहरू,
सेतोपाटी आफ्नो स्थापनाको चौथो आर्थिक वर्षमा प्रवेश गरेको छ। नयाँ आर्थिक वर्षको सुरुआतसँगै हामी तपाईंहरूसँग केही आर्थिक कुरा गर्न चाहन्छौं।
पत्रकारिता क्षेत्रमा लामो समय काम गरेको अनुभवका आधारमा हाम्रो टिमको एउटा निचोड छ– कुनै पनि सञ्चारगृहको वार्षिक खर्चको महत्वपूर्ण अंश पाठकहरूले नबेहोरुञ्जेल त्यो सञ्चारगृहले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न सक्दैन। आम्दानीको ८०–९० प्रतिशत विज्ञापनले धान्ने सञ्चारगृह अन्ततः पाठकमा हैन, बजारमाथि निर्भर हुन पुग्छ। अर्थशास्त्रको सामान्य तर क्रूर नियम यही हो।
हामी आफ्नो निष्ठा सधैं पाठक र समाजप्रति राख्न चाहन्छौं। स्वतन्त्र सञ्चारगृह निर्माणमा पाठकको अभिरुचि र साथ अपरिहार्य हुन्छ भन्ने हामीले सुरुदेखि नै विश्वास गर्यौं। त्यही विश्वासको फेरो समातेर हामी यहाँसम्म आइपुगेका छौं। हामीले यसअघि नै भनिसकेका छौं, हामी सेतोपाटी सञ्चालनका लागि पाठकहरूबाट न्यूनतम शुल्क उठाउन चाहन्छौं। अब त्यो समय आएको छ।
न्यूनतम शुल्कको कुरा गर्नुअघि हामी सेतोपाटीमा कसको लगानी छ र यो आजसम्म कसरी चलेको छ भन्नेबारे केही बताउन चाहन्छौं। सेतोपाटीमा यहाँ काम गर्ने पत्रकारबाहेक कसैको लगानी छैन। यस अर्थमा सेतोपाटी पूर्ण रूपमा पत्रकारहरूको कम्पनी हो। सन् २०१३ अप्रिल १ तारिखमा स्थापना भएदेखि लगभग दुई वर्ष यो संस्थाको आर्थिक व्ययभार हामी आफैंले बेहोर्यौं। त्यो समय हाम्रा लागि आर्थिक हिसाबले निकै चुनौतीपूर्ण रह्यो।
सन् २०१५ जनवरीमा हंगेरीको राजधानी बुडापेस्टस्थित ओपन सोसाइटी इन्स्टिच्युटले अर्को आठ महिनाका लागि सेतोपाटीको सञ्चालन खर्चको केही हिस्सा बेहोर्ने र केही पुँजीगत सहयोग गर्ने निर्णय गर्यो। यो संस्थाले संसारभरका सयौं स्वतन्त्र र वैकल्पिक मिडियालाई सहयोग गर्ने गरेको छ। त्यो हाम्रा लागि कठिन समयमा प्राप्त महत्वपूर्ण सहयोग थियो। यसबाहेक हामीले कुनै संस्था वा व्यक्तिबाट कुनै सहयोग लिएका छैनौं। त्यसयता सेतोपाटी आफ्नै आयस्रोतबाट चल्दै आएको छ। सेतोपाटी कम्पनी रजिस्ट्रारको कार्यालय र भ्याटमा दर्ता कम्पनी हो र यसले समयमानै कर चुक्ता गर्नेगर्छ।
आदरणीय पाठकहरू, तपाईँहरूले देख्नुभएको छ, पछिल्ला केही महिनादेखि सेतोपाटीमा विज्ञापन केही मात्रामा बढेको छ। तर, कुनै संस्थाको अनुदान वा बजारको विज्ञापनमा मात्र आश्रित मिडिया पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैन भन्नेमा हामी प्रस्ट छौं। त्यसैले, सेतोपाटीको दीर्घकालीन आर्थिक स्थायित्व र सम्पादकीय स्वतन्त्रताका लागि हामीले ‘स्वेच्छिक शुल्क योजना’ चाँडै नै सुरु गर्ने तयारी गरेका छौं। यही तयारीका क्रममा हामी आफ्ना प्रबुद्ध पाठकहरूसँग केही परामर्श गर्न चाहन्छौं।
नेपाल भित्रबाट पढ्ने पाठकले महिनाको ५० रुपैयाँ र नेपाल बाहिरबाट पढ्ने पाठकले महिनाको दुई डलर सेतोपाटीलाई स्वेच्छिक शुल्क तिर्नुहुन हाम्रो प्रस्ताव छ।
नेपालभित्रका ग्राहकले एटिएम कार्ड प्रयोग गरेर र नेपाल बाहिरका ग्राहकले भिसा वा मास्टर कार्ड प्रयोग गरेर सेतोपाटीकै पेजमार्फत् शुल्क तिर्न सक्नुहुनेछ। हामी यसको अन्तिम प्राविधिक तयारीमा छौं। यो स्वेच्छिक शुल्क प्रभावकारी ढंगले कसरी सुरु गर्न सकिन्छ भन्नेबारे तपाईँहरूको महत्वपूर्ण सुझाव चाहन्छौं।
सेतोपाटी नेपालसहित संसारका दुई सय मुलुकमा बसोबास गर्ने नेपाली तथा विदेशीले पढ्नुहुन्छ। यो हाम्रा लागि गर्वको कुरा हो। पाठकको यही विश्वास नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो। यसले हामीलाई हरेक दिन जिम्मेवार, निडर र निष्पक्ष पत्रकारिता गर्न प्रेरित गर्छ।
आर्थिक आत्मनिर्भरतासँगै हामी सेतोपाटीलाई थप सबल र थप सिर्जनशील बनाउने छौं। हामी पत्रकार र पाठक मिलेर नै नेपाली समाजको सरोकार पछ्याउने एउटा सशक्त सञ्चारगृह बनाउन सक्छौं। सेतोपाटीलाई तपाईँ पाठकहरूको साथ रहनेछ भन्ने हाम्रो विश्वास छ।
धन्यवाद।