धेरै शासकहरु चाहन्छन्- सामान्य जनता राजनीतिप्रति चासो नराखून् र अरु नै कुराहरुमा भुलिरहून्। विशेषगरी तानाशाही आकांक्षा भएका सत्ताहरु सकेसम्म मानिसलाई भुलाईराख्न चाहन्छन्। आफूलाई अप्ठेरो लाग्ने प्रश्नहरु नसोधिउन्, आफ्ना कृयाकलापहरुबारे निगरानी नहोस्, आफूले गरेका सबै जायज-नाजायज कामहरु सजिलोसँगै लागू गर्नु पाइयोस् र चुपचाप आफ्नो सत्ताको आयु बढाइरहन पाइयोस् भन्ने उनीहरुको चाहना हुन्छ। राजनीति र सरकारका काम कारवाहीका सुक्ष्म र विवेचनात्मक विश्लेषण हुन थाल्यो भने ती शासकहरु बेचैन हुन्छन्।
आँखाको तारो
केही समय अघि बानेश्वरको संविधान सभा गृह बाहिर समयमै संविधान चाहियो, हाम्रो समय र श्रोत खेर फाल्न पाइँदैन भनेर सडकमा केही हजार मानिसहरु आउँदा यो बेचैनी प्रष्टै देख्न पाइन्थ्यो। ती मान्छेहरु शान्तिपूर्ण र भलाद्मी तरिकाले सडकमा आएका थिए, उनीहरुको विरोध शैली पनि श्रृजनात्मक थियो र टायर जलाउने, रेलिङ्ग भाँच्ने, लाठी-मुङ्ग्राले तर्साउने बाहेकका शान्तिपूर्ण तरिकाहरु तिनले रोजेका थिए। करिब तिनै मानिसहरु बेला-बेलामा नेपाल बन्दको विरोधमा जोखिम उठाएर सडकमा आउँछन् र हाम्रो निम्ति बन्दरहीत वातावरण निर्माण गर्न दु:ख झेल्छन्। केही समय अगाडि महिलामाथिको हिंसाको विरोधमा "सिंहदरबार ओगटौँ" (अकुपाई बालुवाटार) र राजनीतिमा हिंसाको विरोधमा अभियान चलाउनेहरुमा यीमध्ये केही पनि थिए। सत्ताका समर्थक र सहभागीहरु यो देखेर नराम्ररी आत्तिएको र रिसाएको स्पष्ट देखियो। कसैले छापामा त कसैले अन्तैबाट यी मानिसहरुलाई सकेसम्म गाली, बदमान र हतोत्साहित गर्न प्रयास गरिरहे। अहिले तिनैमध्ये केही मानिसहरु संविधान सभाको चुनावको निम्ति एउटा पार्टी बनाएर लड्दै छन्।
कसैको निम्ति राम्रो त यो हुन्थ्यो होला कि यी र यस्ता मानिसहरु युटुब भिडियो हेरेर बसिरहुन्, फेसबुक चलाएर खुशी भइरहुन्, ट्विटरमा हाँसो-ठट्टा गरिरहुन् तर राजनीतिमा चासो नदिउन्। धेरै हदमा यो भइरहेकै तथ्य हो। नेपालका अलि सम्पन्न परिवारका सदस्यहरु विरलै राजनीतिबारे सचेत जानकारी राख्छन्। सहरियाहरु र विशेषगरी काठमाडौँका यस्ता मानिसहरु बरु छिटो-छिटो राम्रो विश्वविद्यालयमा पढ्न विदेश गइहाल्न र गएपछि उतैको जिन्दगी अङ्गालेर आफ्नो जीवनमा रमाउन चाहन्छन्। देशमै हुँदा पनि सम्भव भएसम्म आफूले चाहेको टिभी-फिल्ममा देखेजस्तै जीवन अनुशरण गर्न चाहन्छन् र एक हिसाबले नेपालको वास्तविकताबाट परै रहेर बस्न चाहन्छन्। वरिपरि समस्यै समस्या भएको समाजमा बसेर पनि केही नभएजस्तो गरी जीवन गुजार्न पाउनु साँच्चै सौभाग्य हो। यो बेग्लै कुरा हो कि यस्तो समस्याग्रस्त देश बन्नुमा केही जिम्मेवार उनीहरुकै वेवास्ता वा उनीहरुका परिवारहरुका हाल र विगतका गल्तीहरु पनि जिम्मेवार छन्। तैपनि यस्तै जीवन धेरैको चाहना हुन्छ। आखिर राम्रो, सुखद र सम्पन्न जीवनको आशा कसलाई हुँदैन र? वास्तवमा टिभी-फिल्ममा देखेको जस्तो गुलाबी जीवन विदेशमै पनि हुँदैन, तर तिर्खाएको मृगलाई मृगतृष्णा वास्तविक नै लाग्छ।
राजनीतिले तानेपछि
मध्यम वर्गीय परिवारका मानिसहरु अघि भनेजस्तै सम्पन्न वर्गीय जीवन त चाहन्छन्, र सिको पनि गर्छन्, तर चाहेरै पनि समस्या नभएको जस्तो गरी बस्न तिनीहरुको अवस्थाले सम्भव हुँदैन। आखिर लोडसेडिङको मार छ, युट्युबमा फिल्म हेर्न चाहिने इन्टरनेट महङ्गो र सुस्त छ, काठमाडौँको कोठा भाडा चर्को छ र यी सबै समस्याहरु बिच विदेशै गएर गुलाबी जीवन जिउन पनि प्रतिस्पर्धाको माझ त्यति सजिलो छैन। गर्ने के? अलि टाठाबाठाहरु सकेसम्म कुनै सम्बन्ध जोडिनसक्ने पहुँचवालाको नजिक परेर केही पद वा अवसर पाइहालिन्छ कि भनेर प्रयास गर्छन्। त्यति गर्न नसक्नेहरुको निम्ति बिहान २ वटा क्याम्पस पढाउनु, दिउँसो जागिर गर्नु र राति र बिदाका दिन फेरि कुनै अतिरिक्त आय जुटाउने काम गर्नु वाध्यता हो। कम्तीमा कुनै रोग वा प्रकोप आइपरेर फेरि निम्न वर्गमा झर्नु नपरोस् भन्ने यी चाहन्छन्। र, बढीमा कि विदेशी निकायमा जागिर पाएर, कि डिभी परेर, वा त्यो पनि नभए सन्तानले राम्रो पढेर गुलाबी जीवन पाइयोस् भन्ने भविष्यको आशले यी बाँच्छन्।
निम्न वर्गीय परिवारमा समस्याको चाँग नै छ, चाहेरै पनि अर्को समस्यारहित वास्तविकता निर्माण गर्न उनीहरु सक्षम छैनन्। कि देशमै दु:ख गरेर बस्नुपर्यो, केही सम्पर्क भए कुनै नेताले केही गरिदेला भन्ने आश गर्यो, नभए सहरमा, भारतमा वा अरु नै देशमा मजदुरी गर्न जानुपर्यो। "भाग्य" बाहेक अरु भरपर्न सक्ने केही छैन। माथि भनेका कुराहरु गर्न नसक्ने मध्यम वर्गीय र सबै निम्नवर्गीयहरुका अन्य दु:खको वर्णनको निम्ति यो स्थान पर्याप्त छैन। यी विषयमा कतिपय कुराहरु अन्यत्रै पनि लेखिएका छन्।
यिनीहरु धेरैले केही होला भन्ने आशमा थुप्रै फेसबुक पेजहरु लाइक गरे होलान्, धेरै ई-पेटिसन हस्ताक्षर गरे होलान्, अनि अनेकौँ ब्लग र ट्विट गरे होलान्। पाउँदा मतदान गरे होलान्, केहीले हतियार नै उठाए होलान्, युवा संघ-संस्थाहरुमा लागे होलान्, अलिअलि राजनीति पनि गरे होलान्, टिभी-रेडियोमा बोल्न गए होलान् र पत्रिकामा लेखेर केही हुन्छ कि भनेर प्रयास पनि गरे होलान्। तर स्थिति यस्तो भइसक्यो कि विदेशबाट पैसा पठाएर देशका परिवारलाई सहयोग गरौँ भन्दा पनि देशको महङ्गीले र गिर्दो अर्थतन्त्रले गर्दा कुन बेला विदेशमा र नेपालमा सामानको मूल्य एकै हुने हो भन्ने डर भैसक्यो। एक अमेरिकी डलरको नेपालमा क्रयशक्ति ९० हुँदासम्म वा एक मलेसियन रिङ्गिटको ३० हुँदासम्म त विदेश जाउँ र समस्या नरहेको स्वाङ्ग पारौँ भन्न हुन्थ्यो। जब मलेशियामा र नेपालमा कोकाकोलाको मूल्य करीब-करीब एकै हुन आउँछ, तब नेपालको वास्तविकताबाट भागेर जान सकिने ठाउँ विदेशमा पनि कमै रहनेछन्। त्यसबेला के गर्ने? एउटा भनाइ छ: तिमी राजनीतिमा पस्न चाहदैनौँ होला, तर राजनीतिले तिमीभित्र गएरै छाड्छ।
सत्ताधारीहरुको गुम्दो वैधानिकता
तर हालको सत्ता र यसका मतियारहरु चाहन्छन् कि हामी सबै युट्युब हेरेर र फेसबुकमा लाइक गरेरै बसिरहौँ। निम्न वर्गीयको प्रतिनिधि भनेर यिनले आफ्नो सत्ताको वैधानिकता पुष्टि गर्न खोज्छन् र त्यसकै आधारमा मध्यम वर्गीयहरु चुपचाप बस्नुपर्ने तर्क गर्छन्। जनआन्दोलनले स्थापना गरेको सत्ता भएको हुँदा कसैले आफ्नो वैधानिकतामा प्रश्न उठाउन नपाउने तर्क उनीहरु गर्छन्, तर जनआन्दोलनले माग गरेका विषयहरुबाट पूरै अलग र विपरीत आफ्ना निहित स्वार्थहरुमा मात्र केन्द्रित हुँदा र जनजीवन झन् कष्टकर बन्दै जाँदा पनि सबैले बेरोकटोक छोडिदिनुपर्ने आशा गर्छन्। के आज निम्न वर्गको समस्या कम हुँदै गएको छ कि बढ्दै गएको छ? नेपालबाट मानिसहरु श्रमको निम्ति भारत बाहेकका मुलुकहरुमा यो रुपमा जान थालेका ५० को दशक पछि नै हो। त्यो भन्दा अघि स्थिति औधी राम्रो पक्कै थिएन, तर सुधारोन्मुख हुनु र अधोगतिउन्मुख हुनुमा फरक छ। अहिलेको स्थिति केही कागजी उपलब्धि र केहि सामाजिक उपलब्धि बाहेक अरु कुनै पनि मापदण्डमा सुधारोन्मुख भन्न सकिने स्थिति छैन। उसैपनि जेनतेन गरेर नेपालमा मध्यमवर्गको संख्या जनसंख्याको एक-तिहाई पुग्न लागेको छ र कृषिमा आश्रित जनसंख्याको हिस्सा पनि घटिरहेको छ। यस्तोमा कहिलेसम्म सबैलाई चुप लगाउन सकिन्छ होला?
राजनीति थाहा नभएका, सहरिया, कच्चा वा जे भनेर होच्याए पनि तिनलाई भुलाएर राख्न र विदेश जान दिएर चुप बनाउन समेत अहिलेको सत्ता संरचना विफल भइसकेको छ। त्यस्तै १६ देखि ६० वर्षबीचको उमेर समूहको संख्या अत्यधिक छ र औसत आयु बढिरहेको तथा जन्मदर घटिरहेको छ। यिनलाई सुहाँउदो आर्थिक, सामाजिक र राजनीतिक संरचना देशमा नबन्ने हो भने यो समूह बुढो भएपछि देशमा कुन भयाभह स्थिति आउने हो? देशमा कमाउन सक्नेहरुले विदेश गएर केही पठाउन सकुन्जेल त बाटोघाटो र अस्पताल राम्रो नभए पनि चलिरहला, तर त्यो जनसंख्या बुढो भएर अरुमा आश्रित रहने दिन आएपछि त्यतिबेलाको युवापुस्ताले के गर्ने होलान्, कुनै धारणा र योजना कतै सुन्न पाइएको छैन। यो दिन धेरै टाढा छैन, हाम्रै पुस्ताको जीवनकालमा देख्न पाइनेछ।
छटपटीबाट उर्जा
यस्तै सोच र प्रश्नहरुले घोचेर, दुखेर र छटपटी भएर माथि भनेको समूहका केही मानिसहरु राजनीतिमा आफैँले हस्तक्षेप गर्न भनेर काठमाडौँका केही क्षेत्रहरुबाट यो पटकको चुनावमा उम्मेद्वारी दिएका छन्। पार्टीको नाम को "विवेकशील नेपाली" र उमेद्वारहरु काठमाडौँ क्षेत्र १, ४, ५, र ८ बाट प्रतिस्पर्धामा उत्रेका छन्। उनीहरुका केही राजनीतिक अडान वा अराजनीतिक चरित्रसँग म पनि सहमत छैन, तर म उनीहरुले यो जोखिम र कदम उठाएकोमा उनीहरुको समर्थन गर्न चाहन्छु। सत्ताका सहभागीहरुले फेरि पनि यिनलाई हलुका टिप्पणी गरेर होच्याउने र दुरुत्साहित गर्ने संभावना छ, तर धेरै घोचिएर काँडा उखेल्न र निदान खोज्न आफैँ तम्सिएकाहरुलाई त्यसले झन् उर्जा दिनेछ। घरमै चुप लागेर युट्युब हेरेर बस वा विदेश गएर त्यहिँ फेसबुकमा रमाइलो गर अनि हामीलाई युट्युब हेर्न र सत्ता चलाउन पैसा पठाऊ भन्नुमै सत्ताका सहभागीहरुको जीविका निर्भर रहेको हुँदा यसलाई अन्यथा लिनु आवश्यक पनि छैन।
यो चुनावमा हार-जीत जे भएपनि आत्तिनुपर्ने छैन। यी उम्मेदवारहरुले सिकेका अनुभवहरुले भविष्यमा एउटा सशक्त राजनीतिक शक्ति निर्माण गर्न सहयोग पुर्याउन सक्छ। म आशा गर्छु कि हालको अराजनीतिक देखिन चाहने उनीहरुको मोह पनि भङ्ग भएर यस राजनीतिक अनुभवले उनीहरुलाई झन् निखार्ने छ र आफ्ना कमजोरीहरु सुधार्न मद्दत पुर्याउने छ। जित हासिल भएमा सानो संख्याको कारणले संविधान सभामा धेरै भूमिका खेल्न नसक्ने आउन सक्ने आलोचना र "केही गर्न सकेनन्" भन्ने आरोपको निम्ति तयार हुनुपर्नेछ। हार हासिल भएमा सत्ताका सहभागीहरुले आफ्नो जीत भएको जिकिर गर्ने र जनसमुदायमा पनि आशा घट्ने संभावना छ। तर आफ्नो र आफ्ना पुस्ता र सारा नेपालीको उद्देश्यको निम्ति गरिने यात्रालाई त्यतिसम्म मात्र देख्नु गल्ती हुनेछ।
विवेकशील मित्रहरुलाई मेरो सुझाव छ कि यो चुनावलाई एउटा सिक्ने अवसरको रुपमा लिनुहोस् र भविष्यका झन् अप्ठेरा संघर्षहरुको निम्ति तयार रहनुहोस्। अन्य जनसमुदायसँग मेरो अपिल कि अहिलेका राजनीतिक शक्तिहरुलाई सुधार्न प्रयास गर्नुहोस् कि भविष्यको राजनीतिक शक्ति निर्माण गर्न सहयोग गर्नुहोस् भन्ने छ। यो नयाँ राजनीतिक शक्तिका सदस्यहरुलाई आर्थिकदेखि नैतिक समर्थन, सहयोग र आलोचनाको पनि खाँचो छ। यिनीहरु मन परेनन् भने पनि मेरो एउटा सुझाव छ। तपाईँहरुलाई केही थाहा नभएका र केही गर्न नसक्ने युट्युबे मूर्खहरु बनाइरहन चाहनेहरुलाई देश सुम्पिने हो कि राजनीतिक रुपमा सचेत भएर सम्पन्न, मध्यम र निम्न वर्गीय लगायत सबै जातजाति, समुदाय, भुगोल र आस्थाका मानिसहरुको निम्ति बस्नयोग्य र सुखी नेपाल बनाउने कार्यमा आवश्यक कदम र राजनीति गर्ने हो भनेर सोच्न शुरु गर्नुहोला। कसैले आएर नेपाल बनाइदिदैँन। हालका सत्ताधारीहरुले यो आवाज बुझेर नेपाल बनाएछन् भने राम्रै हो, हामीले आफ्ना श्रोतहरु अन्यत्रै खर्च गर्न पाउँछौँ। नभए ढिलो हुनु अगावै सोचौँ र गरौँ।