मैले अम्बर गुरुङलाई पहिलोपटक भेटेको ०४४ सालताका हो। म रामेस दाइसँग ज्ञानेश्वरस्थित उहाँको घर पुगेको थिएँ। त्योभन्दा अगाडिदेखि नै संगीत अभ्यासमा लागिसकेको भए पनि यसको व्यवस्थित ज्ञान लिने चाहना मभित्र थियो। फरक–फरक मानिससँग कहिले तबला सिक्न त कहिले अरू विद्या जान्न म पुगिरहेकै थिएँ। यसरी हिँड्दा–हिँड्दैको क्रममा म अम्बर गुरुङकहाँ पुगेको थिएँ।
रामेस दाइ म संगीतमा लाग्दाको प्रारम्भिक चरणका महत्वपूर्ण गुरु नै हुनुहुन्छ। उहाँकै साथ लागेर म सबैतिर जान्थेँ। धेरै कुरा मलाई रामेस दाइले नै डोर्याउनुभएको हो।
पहिलो भेट यसरी रामेस दाइले गराइदिए पनि त्यसकै आधारमा कुरा अघि बढेन। अम्बर सरसँग पछिसम्म भेट्दा पनि प्रत्येक भेटमा आधारहरू फेरिन थाल्यो। उहाँले पहिले नै संगीत सिकाउने तत्परता देखाउनुभएन। त्यतिबेला उहाँ एकेडेमी (तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान) मै काम गर्नुहुन्थ्यो। उतै बोलाउनुभयो। म त्यहाँ पनि पुगेर भेटेँ। त्योबेला भेट्न जाँदा भने मैले उहाँलाई देखाउनकै निम्ति एउटा गीत तयार पारेको थिएँ। त्यो लगेर दिएँ। त्यो गीतमा उहाँले संगीत गर्नुहोला भनेर होइन कि म गीत पनि लेख्छु भन्ने उहाँको मनमा पार्न त्यसरी लेखेर लगेको थिएँ।
त्यसले सकारात्मक प्रभाव पर्यो। उहाँलाई त्यसपछि भने मैले कहिल्यै आफ्नो परिचय दोहोर्याएर दिनुपरेन। त्यसै दिन उहाँले ‘ल अब तपाईं मसँग सिक्ने हो भने घरमा आउनुस् भाइ’ भनेर बोलाउनुभयो।
रामेस दाइले भेटाउनुभएको समय र उहाँबाट गुरु बन्ने स्वीकृति पाउनुका बीच झन्डै तीन वर्ष बितिसकेको थियो। मैले त्यति कोशिस गर्नुपरेको थियो। रामेस दाइको संगतबाट आफ्नै हिसाबले गाउने र कम्पोज गर्ने त पहिलेदेखि गर्दै आएकै थिएँ। वामपन्थी सांगीतिक अभियानमा मेरो एक किसिमले अलिअलि उपस्थिति भइसकेको थियो।
अम्बर सरको घरमा पुगेपछि मैले सुरुमा आफैंले गरेका केही गीत गाएर सुनाएँ। उहाँले गीतहरू सुनिसकेपछि ‘रेडियोमा गाउन जाने हो ?’ भनेर सोध्नुभयो। मैले आफूलाई रेडियोमा गाउनेभन्दा संगीत सिक्ने चाहना रहेको बताएँ। एउटा गुरुपूर्णिमाको दिन उहाँले मलाई बोलाउनुभयो। त्यस दिनभन्दा अगाडि हरेक भेटमा उहाँले मलाई ‘तपाईं’ भनेर सम्बोधन गर्नुहुन्थ्यो। त्यस दिन भने उहाँले ‘तिमी आजदेखि मेरो विद्यार्थी भयौ’ भनेर टीका लगाइदिनुभयो।
उहाँले केहि सिफ्टमा पढाउनुहुन्थ्यो। मेरो सिफ्टमा मभन्दा अलिक अगाडिदेखिका राजकुमार श्रेष्ठ पनि थिए। उनी यतिबेला नारायण गोपाल संगीत कोषका गुरु छन्। नारायण गोपालको महाराजगन्जस्थित घरमै बसेर आजसम्म त्यहाँ संगीतका धुन गुञ्जाइरहेकै छन्।
अम्बर सरकहाँ विद्यार्थीहरू आउने, सिक्ने, बीचैमा छाडेर जाने क्रम चलिरहने गरेकाले यति जना विद्यार्थी भन्ने टुंगो कहिल्यै हुँदैन थियो। कतिपय मानिस लहडकै भरमा सिक्न पुग्थे र उनीहरूले सोचेजस्तो संगीत सिक्नु सजिलो रहेनछ भन्ने थाहा पाएपछि बेपत्ता हुन्थे।
उहाँले सिकाउने विधि त ‘भातखण्डे’ नै थियो। त्यसैको किताब हेर्नुहुन्थ्यो। सरगम सिकाउनु हुन्थ्यो। बढीजसो सरगमकै अभ्यास हुन्थ्यो। उहाँ आफैंले पनि कुनै घरानाबाट सिकेर त्यसको विरासत बोकेर आउनुभएको थिएन। पूर्वीय संगीतमा उहाँ त्यस्तो दिग्गज होइन, आफ्नै प्रयत्नले सिकेको गुरु हुनुहुन्थ्यो। त्यसैले उहाँ किताबकै सहारा लिँदै सामान्य अभ्यास गराउनु हुन्थ्यो। पूर्वीय संगीतलाई कसरी लिपिबद्ध गर्ने भन्ने ज्ञान पनि उहाँबाट सिकेको थिएँ। गीतहरू गाएर त्यसका ताल, बन्देज सिकाउनुहुन्थ्यो।
गुरु र शिष्यको सम्बन्ध अघि बढ्दै जाँदा हामीबीच व्यक्तिगत सम्पर्क पनि गहिरो बन्दै गयो। उहाँको सामिप्यमा हामी केही मानिस यस्ता थियौं, जसको साथ र संगतलाई उहाँले अरूबेला पनि रुचाउन थाल्नुभएको थियो। एउटा गुरुभन्दा साथीका रूपमा पो यो सम्पर्क पछि पछि विकास हुँदै गयो। त्यसैको परिणाममा बेलाबेला मनमुटाव र टकराव पनि उतिबेलैदेखि हुन थाले।
यसरी संगत बढ्दै गएपछि उहाँले आफ्ना भित्री कुरा पनि हामीलाई सुनाउँदै जान थाल्नुभयो। यस्तोबेला उहाँले भूपि शेरचन, शंकर लामिछानेका संगत, राजा महेन्द्रले नेपाल ल्याउँदाको संगतदेखि लिएर उता अगमसिंह गिरीसँगका संगतसम्मका कुराको रोचक पाटा सुनाउनु हुन्थ्यो। भूपिको ब्युत्पन्न मति, लामिछानेको बौद्धिक सोच र गिरीको उच्च राजनीतिक चेतनाबारे उहाँ जहिल्यै वर्णन गर्नुहुन्थ्यो। संगीतलाई त्यति गहिराइमा पुगेर आनन्द लिने श्रोताहरू मैले पछिल्लो समय भेटिनँ भन्नुहुन्थ्यो। अहिलेको पुस्तासँग गुनासो त थिएन, तर उहाँले आफ्नो बेलाको परिवेश वर्णन गरेकै भरमा त्यो समयको साधना, तृष्णा र सन्तुष्टिको स्तर कति उच्च थियो भनेर अनुमान लगाउन सकिन्थ्यो।
उहाँ नोस्टाल्जियामा डुबेको बेला जहिले पनि निकै भावुक बन्न पुग्नुहुन्थ्यो र त्यो क्षणले एउटा गजबको उचाइँ समात्न पुग्थ्यो। एक किसिमले त्यो बेलाको साँगीतिक र साहित्यिक वातावरण एकापसको नजदिकीमै समानान्तर रूपमा अघि बढेको थियो। त्यसको चरमोत्कर्षका शीर्षपुरुष हुनुहुन्थ्यो उहाँहरू। त्यही संगतले नेपाली संगीतलाई पछिसम्म डोर्याइरहेको हो। त्यस्ता संगतकै प्रतिफलमा अम्बर सरको लेखनमा पनि उत्तिकै बलियो पकड देखियो।
ती सबै अनुभवका कुरा उहाँ हामीलाई सेयर गर्नुहुन्थ्यो। पछि पछि त साथीजस्तै भएर हामीबीच हरेक कुरा चल्ने हुन थाल्यो। साथमा बसेर मदिरापानदेखि लिएर गोप्य कुरासम्म साझेदारी हुनथाले। यो सबले संगीतको शास्त्रले दिने ज्ञान मात्र होइन, एउटा संगीतकारको विकासका निम्ति आवश्यक अरू पनि थुप्रै कुरा सिक्ने मौका हामीले पायौं।
अम्बर गुरुङको साँगीतिक यात्राको सुरुवात दार्जिलिङबाट भएको हो। त्योबेला बेलायतीहरूको प्रभावका कारण दार्जिलिङमा पाश्चात्य संगीतको स्तरीय अभ्यास सुरु भइसकेको थियो। चर्चहरूको संगतबाट पनि उहाँहरूले संगीतको विभिन्न आयाम अनुभव गर्नुभयो। यस्तो अवस्थामा दार्जिलिङका संगीतप्रेमी जागरुक युवाहरु मिलेर खोलेको कला मन्दिरबाट उहाँहरूको उदय भयो। नेपाली चेतमा नेपाली गीतहरू बन्नुपर्छ भन्ने सामूहिक उद्देश्य त्यो जमातले बोकेको थियो। त्यसबाहेक उहाँ स्कुलहरूमा संगीत सिकाउने गुरु पनि हुनुहुन्थ्यो।
त्यसै क्रममा ‘नौलाख तारा उदाए’ गीत अगमसिंह गिरीले उहाँलाई दिनुभएको थियो। गिरी त्यसबखतको दार्जिलिङमा उच्च राजनीतिक चेत राख्नुहुन्थ्यो। विशेषगरी नेपाली जातिको कुरा उठाउने अत्यन्त सम्मानित बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो। नेपालीपनका संगीत विकास गर्नुपर्छ भन्ने सोचाइ राखेकै कारण गुरुङ र गिरीको भावना मिल्न पुगेको थियो। यसरी उतिबेला त्यो गीत तयार भयो। यसको रेकर्ड कलकत्तामा भएको थियो।
‘नौलाख तारा उदाए’ गीतको शब्दलाई हटाउने हो भने यसको संगीत त्यति खासै होइन। अम्बर सर स्वयं पनि अचम्म मान्दै ‘अहिलेसम्म मानिसले यो गीतलाई किन यति मनपराइरहेको हो ?’ भन्नुहुन्थ्यो। संगीतमा त्यसको अन्तरै छैन। सललल एउटै शैलीमा बगेको छ। माइनर स्केलमा रचिएको यसको धुन पनि औसतै छ।
‘नौलाख तारा’ गीत असाध्यै लोकप्रिय भएपछि त्यसले समाजमा एकखाले प्रभाव पार्दै ल्यायो। त्यतिबेला सुगौली सन्धिकै कारण भारतीय बन्न पुगेका नौ लाख नेपालीको भावना त्यसमा थियो। पछि त्यसै गीतलाई निरन्तरता दिँदै अगमसिंह गिरीको शब्दमै ‘सुगौली सन्धि हामीले बिर्सेका छैनौं भनिदेउ’ आयो। यो गीत पनि उत्तिकै लोकप्रिय बन्यो।
जति जे गरे पनि दार्जिलिङ सानो ठाउँ थियो। त्यहाँ प्रतिभा भएपछि कि बम्बई जाने कि नेपाल आउने क्रम सुरु भइसकेको थियो। ‘नौलाख तारा’ को लोकप्रियता सँगसँगै अलइन्डिया रेडियोले त्यस गीतलाई प्रतिबन्ध पनि लगाइदियो। त्यसै क्रममा ०२१ सालताका उहाँ नेपाल आउनुभयो। त्यतिबेलै उहाँको संगत शंकर लामिछाने, उत्तम कुँवर, बालमुकुन्ददेव पाण्डेहरूसँग भयो। उहाँको सम्पर्क तत्कालीन राजा महेन्द्रसँग पनि हुनपुग्यो। दरबार पुगेको बेला महेन्द्रले ‘नौलाख तारा’ सुनौं भनेर इच्छा राखेपछि गाएर सुनाउनुभएको थियो।
त्यतिबेलै राजाले आफूलाई यहीँ बस्न अनुरोध गरेको उहाँले हामीलाई धेरैपटक सुनाउनुभएको थियो। त्यो अनुरोध स्वीकारेरै उहाँले त्यसपछि आफूलाई नेपालमै समर्पित गर्नुभएको हो। त्यसो त दार्जिलिङमै पनि उहाँले ‘नौलाख तारा’ स्टेजमा गाउँदा राजा महेन्द्र उपस्थित भएको भन्ने पनि मैले सुनेको छु। तर, मलाई त्यसबारे त्यति जानकारी छैन।
नेपाल आएपछि अम्बर गुरुङको मुख्य चाहना ‘अर्केस्ट्रा’को विकास नै थियो। अर्केस्ट्रा भनेपछि यहाँ धेरैले पश्चिमा संगीत भनेर एकोहोरो बुझ्ने गरेका छन्। त्यो होइन। उहाँले गर्न खोजेको त हाम्रो अर्केस्ट्रा थियो। नेपाली संगीतको मर्म समेटेको अर्केस्ट्रा थियो। अर्केस्ट्रा भनेको समूह वाद्यवादन हो। जुनसुकै संगीत होस्, फिल्मी, नाट्य वा चलिरहेको ट्रेन्डको संगीत सबैलाई उठाएर माथि पुर्याउने काम अर्केस्ट्राले गर्छ। त्यो गर्न पाए हुन्थ्यो भन्ने सोच उहाँको थियो। यस्तै सोच नारायण गोपालले पनि राख्नुभएको थियो।
तर, मिलेन। राजा महेन्द्रकै बेलामा यो कुरालाई उठाएर अघि बढेको भए सायद मिल्थ्यो कि! तर, पछिल्लो चरण राजनीतिक पार्टीका धेरै खालका विचार र बुझाइहरु जसरी आए त्यसपछि साँगीतिक सोच भएको राजनीतिक नेतृत्व कुनै पनि पार्टीमा देखिएन। संगीत भनेको अनुत्पादक काम हो भन्ने मान्यताले नै सबैलाई डोर्याउने काम गरिदियो। यो न खेती हो न त उद्योग हो।
यस्तो अवस्थामा एउटा व्यक्तिले चाहना राख्दैमा यो पूरा हुने सपना थिएन।
उहाँलाई पछिल्लो समय संगीत नाट्य एकेडेमीको कुलपति पनि बनाइयो। त्यो बेलामै एक–डेढ वर्ष दुर्घटनावश वा सुघटनावश म पनि उहाँसँग सदस्य–सचिवका रूपमा साथमै काम गर्न पुगेँ। त्यहाँ त बडो विचित्रको अवस्था थियो। एक त साधन र श्रोतको अभाव त्यसमाथि त्यो एकेडेमी नै ‘नौरंगी डाँफे’ भनेजस्तो थियो।
अर्केस्ट्राजस्तो कुराका निम्ति राज्यकै दृष्टिकोण चाहिन्छ। एक–दुई जनाले चाहेर हुँदैन। त्यसैअनुसारको सम्पूर्ण टिम हुनुपर्छ। यो सुन्दा एकदम साधारण कुरा हो, तर ठूलो कुरा हो। धेरै म्युजिसियनलाई लामो समय लगाएर पाल्ने र हुर्काउने कुरा आउँछ यसमा।
मुख्य कुरा नै मुलुकमा साँगीतिक सोच भएको नेतृत्व नभएसम्म यस्तो कुरामा कसले हात हाल्ने ? कसले पैसा लगाउने ?
हामीलाई यस्तो एकेडेमी परेको थियो जसको निजी वास पनि थिएन। सरकारबाट आएको बजेटजति घरभाडा र प्रशासनिक खर्चमै जान्थ्यो। ऐनमा कमलादीस्थित नेपाल एकेडेमीको सम्पत्ति तीनवटै एकेडेमीको भाग लाग्ने भनिए पनि व्यवहारमा केही भएन। त्यो कमलादीमै तीनवटै एकेडेमी बसेको भए पनि हुन्थ्यो नि। अम्बर सर र मैले त्यही कुरा उठाएँ। तर, कतैबाट कुनै सुनुवाइ भएन। अढाइ करोड बजेटमा पौने दुई करोड घरभाडा, तलब र प्रशासनको सामान्य काममै खर्च हुन्थ्यो। त्यसबाहेक पाँच विकास क्षेत्रमा कार्यक्रम लैजानुपर्ने। यस्तो अवस्थामा अर्केस्ट्राको कल्पना मात्र पनि सम्भव थिएन।
त्यसबाहेक नौरंगी डाँफेको कुरा भनिहालेँ। त्यहाँ पनि फेरि कर्मचारीदेखि सबैतिर सबैले आ–आफ्ना मानिस छिराएका छन्। सुरुमै जुन किसिमको संरचना बनाइयो त्यसैमा समस्या भइदियो। जगै अर्कै किसिमको घरको हालिसकेपछि त्यसमा बेग्लै खालको घर कसरी उभ्याउन सकिन्छ?
यस्तो अवस्थामा आफूले चाहेको जस्तो संगीतमा काम पनि गर्न नसकिने, चारैतिरबाट असहयोग पनि झेल्नुपर्ने र हुँदाहुँदा एकेडेमीभित्रै सानातिना लोभलालचमा अल्झिएर बस्नुपर्ने अवस्था आयो। आफूभित्रको सिर्जनशिलता पनि मर्ने त्यस्तो ठाउँमा टाँसिएर बसिरहनुभन्दा राजीनामा दिनु बेस भनेर मैले संगीत नाट्य एकेडेमी छाडेको कुरा जगजाहेरै छ।
जहाँसम्म अम्बर गुरुङको कुरा छ, प्रशासनमा उहाँको कुनै दखलै थिएन। त्यसैले, उहाँबाट त्यसको आश गर्नु नै बेकार थियो। अम्बर सरमा जुन अपार सम्भावना थियो, राज्यले त्यसैबाट फाइदा लिन खोजेको भए यसको संरचना नै बेग्लै हुनुपथ्र्यो। उहाँकै हातमा सबैथोक सुम्पनुपथ्र्यो। त्यो नभएको अवस्थामा न हाँसको चाल न कुखुराको चाल भइदियो। एक त जग नै अर्कै परिदियो, त्यसमाथि कोही ‘म मधेसी हुँ मेरो अधिकार ख्वै ?’ भन्छन् त कोही ‘म जनजाति हुँ मेरो अधिकार ख्वै ?’ भन्छन्। त्यतिले मात्रै नपुगेर ‘अख्तियार लागे पनि लागोस् अहिले चाहिँ भागबन्डा लगाइहालौं’ भन्ने माग पनि उठ्न थाले।
यस्तो दुर्गती देखेपछि म अडिएर बस्न सकिनँ। मलाई जागिरकै निम्ति कतै अड्किएर बस्नु थिएन। छाडेँ। मैले एकेडेमी नछाडुँ भन्ने अम्बर सरको चाहना थियो। म कामगराइको क्रममा एकेडेमीको सदस्य–सचिव र उहाँको शिष्य हुनुलाई एकै ठाउँमा मिसाउन चाहँदिन थिएँ। यसो गर्नु पनि हुँदैन थियो। म उहाँलाई जे उद्देश्यको निम्ति सहयोग गर्न गएको थिएँ त्यो उद्देश्य नै ओझेलमा परिसकेपछि अब अरु कुरामा उहाँको चाहनाका सारथी बनिरहन सकिँन। उहाँले जे गर्नुभयो त्यसलाई उहाँको ठाउँमा बसेर हेर्दा गलत भन्न मिल्दैन। तर, मसँग त अझै उमेर बाँकी थियो। अझै धेरै गर्छु भन्ने जोश बाँकी थियो। त्यसैले कुरा मिलेन। त्यो कुरालाई लिएर हामीबीच एक किसिमको मनमुटाव पनि भयो। संगीत नाट्य एकेडेमीबाट राजीनामा गरेयता उहाँसँग मेरो सम्बन्ध पूर्ववत् हार्दिक हुन सकेन। यो विषयलाई म यतिबेला धेरै कोट्याउन चाहन्न।
जहाँसम्म अम्बर गुरुङ र म्युजिकको कुरा आउँछ, उहाँ नेपालकै एक मात्र युनिक म्युजिसियन हो। पूर्वी र पश्चिमेली सबै कुराको ज्ञान राख्दै नेपालीपनमा आफ्नो युनिक शैली बनाएर अगाडि बढाउनुभएको छ। जसले संगीत बुझेको हुन्छ, उसले मात्र अम्बर गुरुङको संगीतभित्र अटाउने गरेको काव्यात्मकता देखेको हुन्छ।
उहाँका पुराना गीतहरू विशेषगरी शान्ति ठटालले गाएका ‘सम्हालेर राख’ होस् वा ‘मेरो दुःखी मन’ मलाई असाध्यै मनपर्छन्। ‘म अम्बर हुँ’ पनि गजब छ। नेपाल आइसकेपछि रेडियोमा गरेका काम, अझ विशेषगरी नारायण गोपालसँगका संगीत उम्दा छन्। त्यसपछि उहाँको अल्बमै ‘कहिले लहर कहिले तरंग’ आयो। अम्बर गुरुङलाई बुझ्न त्यसका कम्पोजिसन मात्र हेरे पनि पुग्छ। त्यसैगरी गीतिनाटक ‘मालती–मंगले’मा गरेका कामले अर्को उचाइँ देखाउँछ। त्यसलाई त लोक रंगमा उहाँको मास्टरपिस भने पनि हुन्छ। राष्ट्रकवि माधव घिमिरेको काव्यचेत र उहाँको साँगीतिक चेतको त्यसमा गजब समागम भएको छ। त्यसैले उहाँको मूल्यांकन कुनै कालखण्ड वा रचनाविशेषले भन्दा समग्र उहाँले गरेका सिर्जनाहरूको आधारमा हुन्छ।
मलाई दुःख लागेको एउटा कुरा चाहिँ उहाँले पछिल्लो चरणमा गरेका असाध्यै राम्रा कामहरू बाहिर आउनै सकेनन्। विद्यार्थीहरूसँगै मिलेर उहाँले झन्डै २०–२५ वटा गीत तयार पार्नुभएको थियो। ती सामूहिक गीत थिए। त्यसको रेकर्ड नै हुन पाएन। परिवारसँग पक्कै त्यसको आर्काइभ होला भन्ने मलाई लाग्छ।
समग्रमा भन्नुपर्दा उहाँ बजाउने, गाउने र कम्पोज गर्ने गरेर तीनवटै कुरामा बेजोड पकड भएको उच्चस्तरको प्रतिभा हुनुहुन्थ्यो। उहाँमा जुन सम्भावना थियो, त्यसलाई हामीले पुरापुर लिनै सकेनौं। एउटा नोक्सानी नै भयो। यति हुँदाहुँदै जे जति दिएर जानुभएको छ, त्यसले आउने पुस्तालाई पर्याप्त मार्गनिर्देशन गर्छ भन्ने मलाई लाग्छ। नेपाली संगीतले एउटा कालखण्डकै महत्वपूर्ण अगुवा गुमाएको छ।
(कुराकानीमा आधारित)