हाकिम साहेबहरु, आफ्ना म्याडमलाई सूचित गरिदिनु होला – मधेशका चौधरी र यादव भाइहरुले अबदेखि बासमती चामल र माछा नपठाउने भए। त्यसैले, काठमाडौँमै पाइने भाटभटेनीको चामल र बानेश्वरको जिउँदो माछा खाने बानी बसाल्नु होला। बानी बेलैमा सुधारेको राम्रो, नत्र पछि गाह्रो हुन्छ। अब सरुवा-बढुवाका लागि मधेसी कर्मचारीले काठमाडौलाई कुत नर्तिने भए रे!
निजामती सेवामा कार्यरत ८.४ प्रतिशत मधेसी कर्मचारीमध्ये ७.४८ प्रतिशत अर्थात् ९० प्रतिशतले आफ्नो मत मधेसी निजामती कर्मचारी संगठनलाई हालेछन्। कस्तो अभुतपूर्व एकता हो त! पूरै बथानले एकै ठाउँमा भोट हालेछ त!
संसदीय निर्वाचनमा मधेसमा एउटा मात्र पार्टी भए अन्य दलको के हविगत हुने हो सजिलै कल्पना गर्न सकिन्छ। बल्ल थाहा हुन्छ जनादेश र मतादेशबीचको भिन्नता!
अब दलाल बिचौलियाको वैशाखी टेकेर मत र कुत पाउन सकिने दिन गए। मधेसी-थारुको भावना कहाँ पुगेको छ भनेर काठमाडौँले कल्पनासमेत गर्न सक्दैन। अरबबाट मधेसी युवाले सहिद परिवारलाई रियाल पठाउन थालेका छन्। डाक्टरहरु संगठित हुने कोशिस गर्दैछन्। इन्जिनियर, वकिल, शिक्षक लगायत सबै क्षेत्रमा सशक्त र अभुतपूर्व एकता मधेशी युवामा देखिएको छ। हरेक क्षेत्रमा नयाँ नेतृत्व आइसकेको छ। गहिरो गरी हेर्ने हो भने उक्त परिवर्तन स्पष्ट देख्न सकिन्छ।
त्यसमा पनि अस्ति कलंकी ओर्लेर माइतीघर र बालुवाटारको टन्टलापुर घाममा घाँटी फुट्ने गरी चिच्याउँदा समेत काठमाडौँले चासो नदिएपछि मधेसको कम्ति चित्त दुखेको छैन। फेरि फर्केर मधेस झर्नुपर्यो भने अब उनीहरु फर्किनेवाला छैनन्, जेसुकै होस्।
हुन त यसमा कतिले जानेर, कतिले नजानेर र कतिले रिस वा इखले मौनता साँधेका होलान्। सत्ताको उन्मादले सत्ताधारीले त बेवास्ता गरे होलान्, तर कुन दुलाभित्र छन् त काठमाडौँका बौद्धिक जमात? बोली नै फुट्दैन त गाँठे! अन्याय गर्नेभन्दा रमिते बनेर अन्याय हेर्ने बढी दोषी हुन्छ भन्थे, त्यही भएको होला। भन्नलाई त नाकाबन्दी भयो र मान्छे चिढिए भनिन्छ। त्यही भएर माग सम्बोधन भएन रे! लौ, यो कुरा पनि मान्यौं। तर अब त काठमाडौँ आएका छौं त! फेरि मधेस नै फर्काउने त? हुन त फर्किनलाई नाइट बसका टिकट पनि काटिसकेका छौं, चढ्न मात्र बाँकी छ।
तपाईंलाई लाग्ला मधेस आन्दोलन गलाएरै समाप्त गर्न सकिन्छ। त्यसो हो भने किन त विश्वकै ‘उत्कृष्ट’ भनिएको संविधान कार्यान्वयन हुन नसकेको? संविधान घोषणापछि संसदले आफ्नै नियामावलीसमेत बनाउन सकेको छैन, कार्यान्वयनको कुरै छाडौं। लौ, त्यसमा पनि संविधानविद्ले यो संविधानअनुसार सरकार परिवर्तनै हुन सक्दैन भनेर ठोकुवा गरिदिए। लोकतन्त्रमा त्यस्तो पनि हुन्छ र? संसदीय व्यवस्थामा संसदले सरकार परिर्वतन गर्न नसक्ने कस्तो संविधान आएछ त!
खैर, सरकार परिवर्तन गर्ने र मन्त्री पठाउने मधेसको एजेन्डा नै होइन। हाम्रा लागि जुन जोगी आए पनि कानै चिरेको। यसमा हामीलाई तनिक पनि भम्र छैन। अहिले कांग्रेसजनलाई हाम्रो माया लाग्न थालेको छ। संविधान बन्ने बेला कता हराएको थियो त्यो माया, हजुर? अब हाम्रो एजेन्डा भनेको त हामीलाई किन छाती र टाउकोमा लाग्ने गरी हत्या गरेको हो त्यसको हिसाबकिताब देऊ भन्ने हो। हत्या जुन पक्षले गरेको भए पनि तत्काल छानबिन गर र दोषीलाई कटघरामा ल्याऊ भन्ने हो। हाम्रो एजेन्डा त नेपाली राष्ट्रियताको परिभाषा फेर अनि धोती र टोपी दुवै अट्ने राष्ट्र बनाऊ भन्ने हो। नत्र अब सहेर बसिन्न। दोश्रो दर्जाको नागरिक कुनै हालतमा म मेरी छोरी आर्यलाई पुस्तान्तरण गर्न सक्दिन।
आफैंले बनाएको संविधान कार्यान्वयनमा किन बेइमानी? हामीले रगत बगाएर संशोधनबाट पाएको समानुपातिक समावेशीको उपहास किन? राजदूत नियुक्तिमा दलित ५ प्रतिशत, जनजाति १०, खसआर्य ७६, मधेसी ५ र मुस्लिम ५ प्रतिशत किन? यही हो त संविधान कार्यान्वयनको तरिका? तपाईंहरु आफैंले गरेको संविधान संशोधन आफैंले उल्लंघन गर्ने? अब हामी जाने कहाँ, संविधानको व्याख्या र उल्लंघन निकाय रोक्ने सर्वोच्च अदालतका प्रधानन्यायधीशलाई कन्फर्म हुनबाट रोकेर राख्ने!
न्याय परिषदबाट सिफारिस भएका ११ जना न्यायाधीश पनि पेण्डुलममा छन्। सर्वोच्चका वकिल बेन्चभन्दा क्यान्टिनतिर भेटिन्छन्। के गरुन् विचराहरु, मुद्धाको पालै नै आउँदैन! २५ हजार मुद्दा फर्छ्यौट हुन बाँकी छन्। न्यायाधीश नियुक्तिमा समानुपातिक त के समावेशीसमेत भएन। जाने कता, जताततै हरिबिजोग छ।
मानवअधिकार आयोगजस्तो संवैधानिक निकायका एकमात्र महिला, मधेसी, मुस्लिम सदस्यलाई प्रधानमन्त्रीज्यूले आफ्नो कार्यालयमै बोलाएर थर्काउनुहुन्छ। बिचरा बबुरो रोबट पेनरलाई २४ घन्टे जंगे आदेशबाट डाँटा कटाँउदा वाक स्वतन्त्रतावालाको वाक्य निस्केन। २० वर्षे ठिटो इशान अधिकारीले सिंहदरबारको भितामा रंग पोतेर प्रहरी चौकीमा आमरण अनसन बस्दा हामी आहतसमेत हुन सकेनौं। अब बाँकी लज्जा के नै रह्यो र, हजुर? तै पनि हामी मौन छौँ। ठीक छ दस-पन्द्र वर्षपछाडि यो रहस्मय मौनताको पनि हिसाब होला!
मधेसतिर भनाइ छ 'भैया स न जिते त भउजी खोछा फारे' अर्थात दाइसँग नसक्नेले भाउजू चुट्छ। मोदीजीसँग रिस उठेको छ भने त्यो रिस उतै गएर पोखे हुने नि! अर्काको रिस हामी माथि किन? कमसेकम आभाष लाभको गीत त सम्झे हुन्छ नि! 'इन्डीयनसँग अनुहार मिल्दैमा धोती र मर्स्या भन्न कहाँ पाइयो।'
यो देश यस्तै द्वन्द्व र गरिबीमा रहोस् भन्ने तपाईंको चाहना हो भने मलाई भन्नु केही छैन। हैन, देश बनाउने हो भने तपाईं र म मिल्नुको विकल्प छैन। अनुहार मन परे पनि नपरे पनि एकअर्काको अस्तित्व स्वीकार्नुको विकल्प छैन। भूगोल र इतिहासले फरक राष्ट्रियता भएकाहरुलाई एकैठाउँ जोडेपछि सम्मिश्रित नयाँ राष्ट्रियता निर्माणको विकल्प छैन।
(अधिवत्ता झा सर्वोच्च अदालतमा अभ्यासरत छन्)