पुरानै अनुभवको पुनर्पुष्टिः
आग्रह–पूर्वाग्रह, टुटफुट, गुट–उपगुट र अरोप–प्रत्यारोपको निक्कै लामो शृंखलापश्चात् अन्ततः माओवादी आन्दोलनका केही समूह एकताबद्ध भएका छन्। यो एकताले माओवादी आन्दोलन भित्रका नेता-कार्यकर्तालाई खुसी र उत्साही बनाउनु स्वभाविक हो। तर नेपाली राजनीतिका लागि नयाँ घटना भने होइन। एउटै राजनीति धार वा विचारभित्र धेरै पार्टी-समूहको 'पोलिटिकल मार्केटिङ' हुन नसक्ने यथार्थ यसअघि नै सिद्ध थियो।
एमाले विभाजित गरेर उस्तै विचार, सिद्धान्त र व्यवहार भएको माले गठन गरेका बामदेम गौतम यसरी नै एमाले फर्किएका थिए। नेपाली कांग्रेस विभाजित गरेर प्रजातान्त्रिक कांग्रेस गठन गरेका शेरबहादुर देउवा उसरी नै नेपाली कांग्रेसमा फर्किए। राप्रपामा बारम्बार भएको विभाजनले कहिल्यै फरक समूह र गुटको औचित्य सिद्ध भएन। टुटफुटको राजनीतिमा कम्युनिष्ट जतिकै माहिर देखिएका मधेसी दलको विभाजनले पनि कुनै सार्थक परिणम दिन सकेन।
एमाओवादी समूहबाट विभाजित भएका तर माओवादलाई नै वैचारिक मार्गदर्शन र आर्दश ठान्ने समूहको राजनीतिक औचित्य सिद्ध नहुने पहिल्यै पक्का थियो। यस अर्थमा माओवादीहरुको एकतालाई पुरानै घटनाक्रमको पुनरावृति मात्र मान्न सकिन्छ। पुरानै शिक्षा र अनुभवको पुनर्पुष्टी ठान्न सकिन्छ।
एकता–बलका सीमाः
निस्सन्देह नै एकतामा बल हुन्छ। लोकतन्त्र बलियो हुन आआफ्नो धारमा बलिया पार्टी चाहिन्छ। तसर्थ हरेक लोकतन्त्रवादीले जुनसुकै वैचारिक धारमा भएको एकतालाई सकारात्मक रुपमा लिनु पर्छ।
तर माओवादीको यो एकताबाट उत्पन्न बलले तत्कालै राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनमा कुनै परिवर्तन आउने देखिँदैन। जतिसुकै क्रान्तिकारी नारा लगाए पनि, चर्का भाषण गरेपनि प्रचण्डको नेतृत्वमा माओवादी अबैधानिक संघर्षमा जाने सम्भावना छैन। संसदीय सीमाभित्र संख्या अहिले पनि त्यही हो, जुन एकता अगाडि थियो।
संसदीय संघर्षको सीमाभित्र अहिले माओवादी आन्दोलनको जुन भूमिका र छवि छ, त्यो खासै उत्साहित बनाउने छैन। एमाओवादीबाट माओवादी केन्द्र बनेको पार्टी अहिले पनि एमाले नेता केपी शर्मा ओली नेतृत्वको सरकारको सहयोगी वा उपग्रही पार्टीजस्तो देखिन्छ।
प्रधानमन्त्री ओलीले एमाले राजनीतिको सम्भावनालाई जुन बाटोमा 'प्रोजेक्सन' गरिरहेका छन्, त्यहाँ माओवादीको सीमा त्यसै खुम्चिएको छ। अनेकन सुन्दर सपनाको बजारीकरण र राष्ट्रवादी बर्कोको आवरण, दुवै सही सिद्ध भएमा (त्यसो हुन सक्ने सम्भावना अत्यन्तै न्यून छ) त्यसको जस माओवादी केन्द्रले कमै र एमालेले बढी पाउने छ। त्यो बाटो असफल भएमा अनेकन विपक्षी दलहरु छदैछन्। दुवै स्थितिमा माओवादी केन्द्र राजनीतिक नोक्सानीमा रहनेछ।
माओवादी केन्द्रको अर्को समस्या हिजो आदीवासी, जनजाति, मधेसीलगायत सीमान्तकृत समुदायमा आफ्नै जगाएका सपनाहरुको आफैंले हत्या गर्नु (दमनको मुख्य भूमिका जो गृहमन्त्रालयले गर्छ) हो। मधेसलाई भारतसँग जोडेर 'वायस' दृष्टिकोण बनाएको जनमतले राष्ट्रवादको नायक प्रचण्डलाई भन्दा बढी ओलीलाई नै ठानिरहेको छ। त्यो जनमत माओवादी एकताकै कारणले मात्र एमालेलाई छोडेर माओवादी केन्द्रतिर आकर्षित हुँदैन।
माओवादीमा ससाना समूहहरू एकताबद्ध हुँदैमा आन्दोलनरत दलहरुप्रति समर्थन र सहानभूति राख्ने समुदाय माओवादी केन्द्रप्रति आश्वस्त भइहाल्ने अवस्था छैन। मधेस आन्दोलनको राजनीतिक निकास दिन पूर्णरुपेण अनिच्छुक देखिएका एमाले र ओलीको सत्ता अंशियारका रुपमा त्यसको अपजस माओवादी केन्द्र र प्रचण्डले पनि बोक्नै पर्छ।
जबसम्म कुनै दल वा नेताको छवीमा सार्वजनिक सुधार आउँदैन, जनसमुदायमा सकारात्मक मनोभाव पैदा हुँदैन, लोकतन्त्रमा त्यो जुटे पनि, फुटे पनि सङ्कटमा नै हुन्छ। पहिलो संविधानसभाको तुलनामा दोस्रो संविधानसभाको चुनावमा माओवादी पार्टीप्रतिको जनमत जसरी घट्यो, त्यो विभाजनका कारणले मात्र थियो वा त्यसका अरु पनि कारण थिए भन्नेतिर माओवादी केन्द्रका नेता कार्यकर्ताले खासै ध्यान दिएको देखिँदैन।
माओवादीप्रतिको जनविकर्षण यदि विभाजनका कारण मात्र हुन्थ्यो भने त्यस बीचमा जति धेरै मान्छेहरु एमाओवादी प्रवेश गरेका थिए, कार्यकर्ताको अभावलाई त नवप्रवेशीले 'मेकअप' गरिसकेको हुनुपर्थ्यो। तर त्यसो भएन।
यसको अर्थ माओवादी धारको राजनीतिमा संकट पैदा हुनुको कारण केवल पार्टी विभाजन र कार्यकर्ताको अभाव होइन, कतिपय नीतिगत र कार्यशैलीगत प्रश्न नै हुन, जो मतदातालाई मन परेन। आज पनि यो पक्षमा कसैले सोचिरहेको छैन। तसर्थ यो एकताले कुनै वैचारिक, नीति तथा कार्यशैलीगत भिन्नता ल्याउने छैन। फलतः प्राविधिक र संगठनात्मक एकतामा सीमित हुनेछ, जसको व्यवहारिक परिणाम भनेको संगठनमा केही हजार पार्टी सदस्य थपिनुसम्म हो।
एकताको सुन्दरता:
नेपाली राजनीतिमा निक्कै लामो समयदेखि मुख्य तीन वैचारिक धार थिए। पहिलो, राजाको नायकत्व, निर्देशित लोकतन्त्र र पूर्वीया दर्शनमा आधारित रुढीवादमा विश्वास गर्ने पञ्च वा राजावादी धार। दोस्रो, राजाको बैधानिक नायकत्व, उदार लोकतन्त्र (संसदवाद) र खुल्लाबजार अर्थतन्त्रमा विश्वास गर्ने उदार लोकतान्त्रिक (प्रजातान्त्रिक समाजवादी भनिए पनि) विशेषतः कांग्रेसले नेतृत्व गरेको धार। तेस्रो–मार्क्स, लेनिन, माओजस्ता कम्युनिष्ट चिन्तकहरुको लिगेसीमा विश्वास गर्ने, नयाँ जनवादी क्रान्ति र सर्वहारा अधिनायकत्वमा विश्वास गर्ने धार।
नेपालमा यी तीनै धार वैचारिक संकटमा थिए र छन्। त्यही संकटको कारण राजावादी धार कुनामा धकेलिएको छ। कांग्रेस गणतन्त्रसम्म आउनु परेको छ। एमालेले जबज भन्ने सिद्धान्त बनाउन परेको छ। माओवादीले पनि नयाँ जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्ष निकाल्दै एकदलीय कम्युनिष्ट चिन्तनमा विश्वास नगर्ने लाइन समाउनु परेको छ।
तर, एमाओवादीबाट मोहन बैद्य र नेत्रविक्रम चन्द 'विप्लव'हरु पुरानो कम्युनिष्ट लिगेसीलाई आधार बनाएर फुटेका थिए। उनीहरु अझै पनि नयाँ जनवादी क्रान्ति, जनयुद्धको जगमा जनविद्रोह, सर्वहारा अधिनायकत्व र एकदलीय कम्युनिष्ट अधिनायकत्वको सपना देखिरहेका थिए। यो एकताले त्यो अतिवादी धारलाई भने थला पर्ने गरी कमजोर बनाएको छ। यो नै यो एकताको सबैभन्दा सुन्दर पक्ष हो।
बैद्य र विप्लव लाइन बलियो हुँदा भए लोकतन्त्र जुनकुनै वेला कम्युनिष्ट अतिवादको शिकार हुन सक्थ्यो। उनीहरुले यस एकतालाई 'नव संशोधनवादीको हावा बग्यो' भन्नु स्वभाविक हो। तर, प्रचण्ड पनि दार्शनिक तथा वैचारिक रुपले त्यति भरपर्दो नेता होइनन्। एकताले सिर्जना गर्ने अहंकार र दम्भले उनकै समूहमा पनि अतिवाद जन्मिन सक्छ भन्नेमा सबै होसियार हुन आवश्यक छ।
कागलाई बेल:
केही विश्लेषक, संचारजगत र स्वयं एकता प्रक्रियाको पहलकदमी लिनेले यो एकताको प्रभाव नयाँ शक्ति अभियानमा पनि पर्ने अनुमान काटेका छन्। मात्रात्मक रुपमा यो यथार्थलाई अस्वीकार गर्न सकिन्न। माओवादी आन्दोलन कमजोर हुँदै जाँदा त्यहाँ आफ्नो राजनीति भविष्य नदेखेर नयाँ शक्तितिर आकर्षित पंक्तिको मनोविज्ञानलाई निसन्देह यो एकताले केही समय हुँडल्ने छ। तर, जो वास्तविक रुपमा नै देशमा वैकल्पिक विचार र शक्तिलाई स्थापित गर्न चाहन्छन्। उनीहरुका लागि भने यो एकता कागलाई बेल पाक्यो हर्ष न विस्मतजस्तै हो।
यो एकताको अर्को सम्भावित पक्ष पनि छ। यदाकदा नेतृत्वले लिएका निर्णयहरु जनस्तरमा काम गर्नेका लागि रुचिकर हुँदैनन्। उनीहरुले फरक बाटो पनि रोज्न सक्छन्। माले–एमाले एकता हुँदा माले नेताहरु एमालेमा फर्किए तर माले कार्यकर्ता माओवादी आन्दोलनतिर आकर्षित भए। अन्ततः त्यही जनशक्ति नै माओवादी आन्दोलन फैलिनुको मुख्य आत्मगत शक्ति बन्यो। माओवादी एकताबाट नयाँ शक्तिलाई त्यही प्रकारको फाइदा हुन सक्ने सम्भावना पनि उत्तिकै छ।
अन्त्यमा,
जुनसुकै कोणबाट हेर्दा पनि नेपालमा नयाँ राजनीतिक ध्रुविकरणको आवश्यकता छ। मूलत: नेपालमा अहिले ५ वटा राजनीतिक प्रवृतिहरु छन्।
पहिलो–पुरानो शासनसत्ताको आडमा जन्मिएको र त्यसैलाई आदर्श मान्ने कन्जर्भेटिभ धार अर्थात् राप्रपा धार।
दोस्रो–संसदवाद र बजार अर्थतन्त्रलाई आर्दश मान्ने उदारवाद लोकतान्त्रिक अर्थात् कांग्रेस धार ।
तेस्रो–मार्क्सवाद, लेनिनवाद, माओवादजस्ता सिद्धान्तलाई आदर्श मान्ने तर व्यवहारमा बहुदलीय व्यवस्थालाई स्वीकार गर्ने अर्थात कम्युनिष्ट धार।
चौथो–सीमान्तकरण, पहिचान, समावेशिता र क्षेत्रीयतालाई मुख्य मुद्धा मान्ने मधेसी तथा जनजातिवादी धार अर्थात् समाजवादी फोरम र मधेसवादी दलहरुको धार।
पाँचौं– उत्तरमार्क्सवादी र उत्तरपुँजीवादी युगमा विगत सिद्धान्त र अभ्यासको पुनरावलोकन गर्दै नयाँ सिद्धान्त र अभ्यासहरु विकास गर्न चाहने, स्वाधिनता, सम्मृद्धि र सुशासनलाई मुख्य मुद्धा बनाएको वैकल्पिक धार।
यी ५ धारहरु एक/एक पार्टीमा एकीकृत हुन सके देशमा ५ वटा पार्टी पर्याप्त हुन्छ। कांग्रेसधारमा अहिले पनि प्रष्ट देखिएको एउटा मात्र पार्टी छ, त्यो सुखद पक्ष हो।
वैकल्पिक धारका रुपमा अगाडि आएको नयाँ शक्तिले आफ्नो अस्तित्व र सान्दर्भिकतालाई पुष्टि गर्न बाँकी छ।
बाँकी ३ वटा धारमा धेरै पार्टी भएरै यो देशमा पार्टीको संख्या धेरै भएको हो। लोकतन्त्रमा दलीय स्वतन्त्रता हुन्छ। तर अनावश्यक रुपमा धेरै दलहरु हुनु पनि राम्रो होइन। माओवादी एकताले कालान्तरमा कम्युनिष्ट एकतालाई मद्धत गर्न सक्यो भने त्यसलाई सकारात्मक रुपमा नै लिनु पर्छ।
(लेखक नयाँ शक्ति नेपालका सचिवालय सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख हुन्।)