नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय प्रतिबन्ध व्यहोर्यो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को यो निर्णयबाट नेपाली क्रिकेटलाई माया गर्नेहरू दुःखी हुनु स्वभाविकै हो। अझ नेपाली क्रिकेटमा हालीमुहाली गरेर बसेकाहरुलाई त यो प्रतिबन्ध ७.९ रेक्टरस्केलको भन्दा ठूलो झट्का बनेको छ।
नेपाली क्रिकेटलाई केही मात्रामा भएपनि नजिकबाट चिन्ने र केही अर्थमा माया पनि गर्नेहरुका लागि भने आइसीसीको यो प्रतिबन्ध खुसीको विषय त हो नै, भोलि सबल र सक्षम नेपाली क्रिकेटको आगमनको संकेत पनि हो। किनकी क्रिकेटका लागि अहिले क्यान मात्र प्रतिबन्धित भएको हो, सारा नेपाल होइन।
क्रिकेटमा मात्र होइन, नेपाली खेलकुदका अन्य विधामा समेत विगतमा नै भइसक्नु पर्ने यस्ता कार्य क्रिकेटबाट सुरु हुनु भनेको नेपाली क्रिकेट अब उज्वल भविष्यका साथ उज्यालो तिर अग्रसर हुन्छ भनेर ठोकुवा गर्न कन्जुसाइँ गर्नु हुँदैन। होला, यस कार्यले मुलुकको केही इज्जत गुम्यो होला तर पदको अहंकारमा डुब्नेहरुले समयमा नै चेत नपुर्याउँदा यस्तो दिन देख्नै पर्छ।
जबकी आइसीसीले बारम्बार प्रतिबन्ध लगाउने चेतावनी त दिएकै थियो। अन्तर्राष्ट्रिय खेल निकायको चेतावनीलाई वेवास्ता गर्नेहरुलाई बरु राज्यद्रोहको अभियोग लगाउनु समय समन्दर्भिक हुनसक्ला। जसले गर्दा भोलि नेपालको खेल र खेलाडीको भविष्यमाथि खेलावाड गर्नेहरुलाई केही नसिहत पनि हुने थियो।
कसो त केशव विष्टजी? कसो त चतुरबहादुर चन्द जी? यहाँहरु सदस्य सचिव र प्रतिबन्धित क्यानका अध्यक्षबाटै यो कार्यको थालनी गर्दा उचित होला। अनि विष्टजीका मतियार बनेर समानान्तर क्यान चलाएकाहरुलाई उन्मुक्ति दिन त नमिल्ला। यहाँहरु कै कारण नेपालीको स्वाभिमान अहिले केही डगमगाएको छ। शिर केही निहुरिएको छ। हुँकारमा माहिर प्रधानमन्त्रीज्यूले पनि यस बारेमा केही सोच्नु त हुन्छ नै होला।
तरपनि, आइसीसीले भनेकै छ, ‘यो प्रतिबन्धले खेलाडीको खेल्ने अधिकारबाट बञ्चित हुनुपर्ने छैन।’ यसले केही मात्रामा खुसीको पारा बढाएकै छ। यसको सोझो अर्थ नेपाली क्रिकेट आजसम्म जसरी चलेको थियो, त्यसमा कुनै ब्रेक लाग्ने छैन। ब्रेक त क्रिकेटका नाममा मोजमस्ती गर्नेहरुको गतिमा लाग्नेछ, यही हो यथार्थ।
हिजोसम्म नेपालमा दुईटा क्यान अस्तित्वमा थियो। पहिलो बाहुबली ढंगबाट चुनाव गरेर आफूलाई क्रिकेटको मसिहा सावित गराउन खोज्ने, एउटा क्यान। जसका प्रायः जसो सबै पदाधिकारीहरु क्रिकेटलाई कसरी चुस्ने भन्ने कलामा माहिर थिए, फूललाई चुस्ने माहुरी झैं। अर्को क्यान, सत्ता र शक्तिको दम्भमा बनाइएको, जसका पदाधिकारीहरु क्रिकेटभन्दा आफ्नो व्यापार व्यवसायलाई बढी माया गर्छन् अनि क्रिकेट उनीहरुको सोसल स्टाटस बढाउने माध्यम मात्र बनेको थियो।
फेरि नेपाल क्रिकेटलाई पर्दा पछाडिबाट चलायमान बनाउन खोज्नेहरको जमात त अर्कोतिर छदैंछ।
भोलिका लागि सबल क्रिकेटको कल्पना र योजना तयार पार्ने हो भने नेपाली क्रिकेटलाई डसेर बसेकाहरुलाई क्यानबाट टाढा राखेर निष्पक्ष ढंगबाट अगाडि बढ्ने हो भने यो प्रतिबन्ध धेरै अगाडि जान सक्दैन र आइसीसी पनि यसलाई लामो समयसम्म तन्काउन चाहँदैन।
वास्तवमा नेपाल क्रिकेट हिजोसम्म जसरी चल्यो, त्यसरी अब कदापि चल्न हुँदैन थियो र अब चल्न पनि दिनु हुँदैन। क्रिकेटमा आउने आर्थिक सहयोगलाई भन्दा वास्तविक अर्थमा क्रिकेटलाई माया गर्नेहरु क्यानमा अटाउने हो भने क्रिकेटले नेपालीलाई गर्विलो आकाश दिनेछ।
नेपाली क्रिकेटको व्यवस्थापन पक्ष सधैं कमजोर रह्यो र यही पारामा अगाडि बढ्ने हो भने कमजोर नै रहिरहने छ। नेपाल सरकार सधैं नै नेपाली क्रिकेटको व्यवस्थापकीय शैली र स्तरबारे अनभिज्ञ रहेको छ। जसले जे सल्लाह दियो, त्यो नै सही मान्ने अनि खेलको माध्यमबाट सस्तो लोकप्रियता कमाउने हल्का काम मात्रै गर्दै आएको छ, सरकारले।
नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा इज्जत दिलाउन सक्ने ससक्त माध्यम बनिसकेको क्रिकेटको विकासमा सरकार नै हलुको भइदिएको छ। गफमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालासम्म बनाउँछु भन्ने सरकारले त्यसतर्फ कुनै कार्य गरेकै छैन। गोकर्णमा बन्न लागेको मैदानलाई अन्तर्राष्ट्रियस्तरको भन्ने हो भने यो भन्दा हावादारी कुरो अर्को हुनै सक्दैन। अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला कस्तो हुन्छ भनेर बुझ्न एक पटक त्यस्ता मैदान आफ्नै आँखाले हेर्ने कष्ट पनि गर्न सक्नुपर्छ, सत्तासीन र विपक्षीहरुले पनि।
त्यस्तो मैदान हेर्न धेरै टाढा जानु पनि पर्दैन। रूघाखोकी लाग्यो कि उपचारको बहानामा दिल्ली धाउँदा त्यहीको रंगशालामा हेरे पुग्छ। अनि त्यसको ५० प्रतिशत मात्र हैसियत बोक्ने रंगशाला बनाए पनि नेपाली क्रिकेटका लागि सुखद दिनको सुरुवात हुन्छ।
फेरि कुरो बटारौं, आइसीसीको प्रतिबन्ध तिरै। अहिले नेपाली क्रिकेटको व्यवस्थापन सम्हाल्नेहरूले नेपाली क्रिकेट सम्हालेकै दशकौं भइसक्यो। यो अवधिमा नेपाली क्रिकेटले के कति फड्को मार्यो भन्ने लेखाजोखाको विषय हुन सक्ला तर कसरी मार्यो भन्ने कुरोको कुनै लेखाजोखा राख्नु पर्ने आवश्यकता छैन, पदाधिकारीको शून्य मेहनतमा नै खेलाडीको परिश्रमले आजको अवस्थामा आइपुगेको हो, हाम्रो क्रिकेट। तर, जति फड्को मार्नु पर्थ्यो, त्यति मार्न सकेन, यो भने यर्थार्थ हो। फेरि पनि भन्नै पर्छ खेलाडीहरुको खेलप्रति लगाव र ‘पागलपन’ ले मात्र नेपाली क्रिकेट आजको गर्विलो अवस्थामा आएको हो। आजसम्म नेपाली क्रिकेट चलाएकाहरुको हर्कतले मात्र हुँदो हो त नेपाली क्रिकेट अहिलेभन्दा निकै तल्लो अवस्थामा हुन्थ्यो। अनि हामी यो भन्दा ठूलो बेइज्जतको खाडमा पुरिसकेकमा हुने थियौं।
क्यानमा बस्नेहरुलाई घरेलु क्रिकेटको वैज्ञानिक ढंगको विकासभन्दा विदेशी अनुदानको दुरुपयोग कसरी गर्ने भन्ने चिन्ताले सधैं सताउँछ। खेलाडीलाई खेलमा कसरी व्यस्त बनाउनेभन्दा पनि आफू विदेश सयरमा कसरी व्यस्त बन्ने भन्ने चिन्ताले खाइरहन्छ। क्यानका बैठकहरु खेलाडीको भविष्यभन्दा पदाधिकारीको स्वार्थका विषयमा तात्ने गर्थे।
वास्तवमा नेपालमा यस्तो क्यान र त्यस्ता पदाधिकारीहरु हुनुभन्दा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्नु क्रिकेट कै लागि हितकारी छ, यस्तो विचार राख्नु क्रिकेटप्रति अपराध होइन, क्रिकेटप्रतिको अपार माया हो। नेपाली क्रिकेट चलाउने बाहुबलीहरुसँग कमै मात्रामा खेलाडी र प्रशिक्षकहरु खुशी बन्न सके होलान्। क्यानलाई बाउको बिर्ता र खेलाडीलाई कमारो सोच्ने प्रवृतिको अन्त क्यानमा कहिल्यै हुन सकेन, त्यसको स्थापनाकालदेखि अहिलेसम्म।
हामी नेपालमा समान्तवाद र सर्वसत्तावाद अन्त्य भएको डिङ हाँक्छौ तर, नेपाली खेलकुदले त्यस्तो दिन कहिल्यै भोग्न पाएको छैन। परिषद्मा सदस्य सचिव भएर आउने जो कोहीले आफूलाई नव महाराज ठान्छन् अनि संघमा आउनले खेल र खेलाडीको मसिहा। जबकी उनीहरुले आफू स्वयंसेवक भएर खेलको विकास गर्न आएका हौं भन्ने भावना जहिलेसम्म पाल्न सक्दैनन्, यस्ता प्रतिबन्धका समाचारहरु केही समयपछि नयाँ लाग्न पनि छाड्छन्।
क्रिकेटको भविष्यको नयाँ बाटो निर्माण गर्ने अभियानमा सम्बन्धित निकाय र आफूलाई खेलको मसिहा मान्नेहरुले हठ र दम्भ र त्याग्न सके मात्रै नेपाली क्रिकेटको भविष्य सुन्दर छ, यो पनि बिर्सन मिल्दैन। फेरि पनि ‘मेरो गोरुको बाह्रै टक्का’ गर्ने अनि क्यानमा लुट्ने खानेहरु कै भीड जम्मान गर्ने हो भने क्रिकेटले नयाँ आकाश छोएको हेर्ने हामी नेपालीको रहर, रहर मै सिमित हुनेछ।