चैत-वैशाखलाई वसन्त भनिन्छ। वसन्त नवपालुवाको याम हो। बेथिती ओरालिँदै र सृजना मौलाउँदै जानु पर्ने समय होला। शास्त्रको व्याख्या आफ्नो ठाउँमा छ, वसन्तलाई आफ्नो स्थानीयतामा म त्यतिधेरै सृजनशील पाउँदिन। नेपालको पूर्वी तराईमा यिनै दुई महिनामा असाध्यै रूखो, सुख्खा हावा चल्छ। हुरीले घरका धुरी उडाउने याम पनि यही हो। बतासले खरपराल उडाउने मात्र होइन, आगोले ज्वाला दन्काउने र ताण्डव नाच्ने मुख्य महिना पनि यिनै हुन्।
२०४६ सालको आन्दोलन हुँदा १९ वर्षको म चैत्र २४ गते करिब दुई महिना जेल परेर छुटेको थिएँ। संसार नै जितेजस्तो लागेको थियो। नेपाल साँच्चै सुन्दर, शान्त, स्थिर, विकसित, सुशासित र समृद्ध मुलुक हुनेछ भन्ने लागेको थियो।
त्यो सालको चैत्र–वैशाख मेरा लागि साँच्चै वसन्त थियो। तर, मान्छेको अपेक्षा र सृष्टिको गति फरक कुरा रहेछ भन्ने यथार्थ त्यसपछिका दिनमा बुझेँ। त्यसपछि राजनीतिबाट मलाई कहिल्यै कुनै आशा र अपेक्षा भएन। तसर्थ निरासा पनि भएन। आशा गरे न निराशा हुने रहेछ। आशै नगरे, निराशा आउँदै आउँदैन। आशा र निरासाबाट बाहिर निस्किएपछि मान्छेसँग कर्तव्य मात्र बाँकी रहन्छ। संसार एउटा गतिमा छ त्यही गतिसँग आफूलाई तादाम्य राख्नु पर्ने कर्तव्य।
ओशोले यस्तो भावलाई 'साक्षीभाव' भन्दछन्। ओशो अघि मैले पढेका दर्शनहरूमा यो भाव थिएन। 'साक्षीभाव' पढेर बुझिने कुरा पनि होइन, भोगेर/ अनुभूत गरेर बुझिने कुरा थियो। नेपाल बुद्धिजन्य ज्ञानमा विश्वास गर्ने देश हो। अनुभूतिजन्य ज्ञानको अर्थ यहाँ धेरैले बुझ्दैनन्।
सर्वोत्तम क्रान्ति
जनान्दोलन–२०४६ मा जस्तो जनन्दोलन–२०६२/२०६३ प्रति ममा खासै ठूलो आशा थिएन। कर्तव्यबोध मात्र थियो। फेरि करिब ३ महिना जेल बस्नु पर्यो, २०४६ सालमा जस्तै। तर साँच्चो हृदयबाट भने राजा ज्ञानेन्द्रले 'कु' गरेको दिन नेताहरूलाई खुच्चिङ भन्दै थिएँ म। युगबोधले हामीलाई राजा ज्ञानेन्द्रको अनुयायी हुन दिँदैनथ्यो। तर, कतै नेपालका नेताहरूले सबक सिक्लान कि भन्ने झिनो आशा चाहिँ थियो।
यसलाई मान्छेहरू जनान्दोलन–२०६२/२०६३ भन्छन्। कसैले 'अप्रिल क्रान्ति' पनि भनेका छन। बेलायतमा प्रयोग भएको शब्द 'गौरवमय क्रान्ति' ले मलाई जहिल्यै आकर्षित गर्थ्यो। यही मोहले आफ्ना केही लेखहरुमा मैले जनन्दोलन–२०६२/२०६३ लाई 'सर्वोत्तम क्रान्ति' भनेर लेखेँ। मेरा लागि त्यो क्रान्ति सर्वोत्तम नै हो। बेलायतको इतिहासमा 'गौरवमय क्रान्ति' कोभन्दा नेपालको इतिहासमा यसको महत्व कम छ भन्ने कहिल्यै लाग्दैन।
गाढा अघिअघि, गोरुपछिपछि
समान्यतया गाढाको अगाडि गोरु हुन्छ, गोरुले गाढा तान्छ। तर यदाकदा उल्टो दृश्य पनि देखिँदोरहेछ। दलहरूलाई हामी वैचारिक अगुवा भन्छौं। तर जनन्दोलन–२०६२/२०६३ दलहरुको वैचारिक अगुवाईमा मात्र भएको थिएन। त्यहाँ त्यस्ता धेरै दलहरु पनि थिए, जो भातृसंगठनले गणतन्त्रको नारा लगाउँदा पार्टीका मूल नेताहरु कार्वाही गर्ने धम्की दिन्थे। संवैधानिक राजतन्त्रको सीमा नाघ्नु हुँदैन भनेर पार्टीका केन्द्रिय कमिटीमा 'नोट अफ डिसेन्ट' लेख्थे। गणतन्त्र भनेको 'बयल गाढा चडेर अमेरिका जानु जस्तो हो' भन्थे।
आज तिनैमध्येका कोही गणतन्त्र नेपालको ठूल्ठूला पदमा छन्। बेकारमा हामी कमल थापालाई टोकस्छौं। उनी त बरु आफ्नो नियत कहिल्यै नलुकाएका मान्छे हुन्। नियत लुकाएका हरेउहरुको शासन यतिधेरै भोग्न बाध्य छौं हामी। मलाई त लाग्छ, कमल थापाहरूको बारेमा एक शब्द बोल्नु हामीले आफूले आफैंलाई धिक्र्कानु हो। उनको बारेमा एक शब्द बोल्न मन लाग्दैन। जब कि जो बयलगाढाका अगाडि छौं भन्छन्, तिनैलाई पछाडिबाट ठेल्दाठेल्दै हामी हैरान भइसकेका छौं।
फेरि एक दशक बितेछ। दुई वर्षमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान आउला, ५ वर्षभित्र स्थानीय, प्रादेशिक र संघीय सबैस्तरका चुनाव होलान्, त्यसपछि देशपछि फटाफट विकास, सुशासन र संमृद्धितिर लाग्ला भनेर सोच्नु सायद त्यो आशा थिएन, एउटा नागरिकले कतृव्यमुखी भएर सोच्नु पर्ने पनि त्यही थियो। तर एक दशक बितिसक्दा पनि लाग्छ, यी कल्पनाहरु अझै धेरै टाढा छन्। अझै पनि गोरु पछाडि नै छन्। हामी गोरू र गाढा धकेल्दै हैरान छौं। कहिलेसम्म भइरहन्छौं, पत्तो छैन।
नरम नेपाली हिटलरको खोजि
फ्रस्टेसनले मान्छेलाई कहाँकहाँ सम्म पुर्याउँदो रहेछ। प्रत्यक्ष निर्वाचनमा पित्को भोट नचुहाउने काठमाडौंवासीले समानुपातिक भोट राप्रपा नेपाललाई दिए। त्यति ठूलो क्रान्तिकारी गर्जन एकै चुनावमा स्वाहा भयो। र, अहिले मान्छेहरु 'नरम हिटलर' को सामना गर्दैछन्।
हिटलरको आत्मकथा 'माइ क्याम्फ' मलाई असाध्यै मन पर्ने किताबमध्ये एक हो। यो भ्रम कसैलाई नपरोस् कि हिटलरको किताब मन पर्नु हिटलर मन पर्नु हो। उसको सम्पूर्ण राजनीति,'जर्मन राष्ट्रवाद' को व्याख्या कुनै समुदाय, यहुदीहरुप्रतिको घृणमा आधारित थियो। यहुदीहरुलाई लक्षित गरेर के मात्र शब्द प्रयोग गरेको छैनन् उनले। हिटलरमा निहित यहुदीहरुप्रतिको घृणा नै अन्ततः दोस्रो विश्वयुद्धको कारण बन्यो। नेपालमा आज कुनै एउटा खास समुदायका अपेक्षालाई वाइकट गरेर 'जर्मन राष्ट्रवाद' को ब्याख्या गरिँदैछ, यसले 'नरम नेपाली हिटलर' जन्माउने बाटो रोजेको छ।
यति कुरा बुझ्छु कि 'एन्टी करेन्ट' लेखन सजिलो छैन। तर त्यसको पुष्टि एकदुई वर्षमा हुँदैन। वर्षौंपछि त्यसको समीक्षा अवश्य हुनेछ। चाहे त्यही बीचमा समयले हामीलाई सुली चडाइसकेको किन नहोस्।
अन्यथा मधेस आन्दोलनको राजनीतिक निकास हामीले जुनकुनै मूल्यमा दिनुपर्छ। माओवादी जनयुद्धजस्तो भयानक विद्रोहले राजनीतिक निकास पाएको यो बुद्धभूमिमा मधेस आन्दोलनको कुनै राजनीतिक निकास हुन सक्दैन भन्नु बयलगाढा पछाडि नारिएका गोरुलाई मात्र सुहाउने कुरा हो।
सर्वोत्तम क्रान्तिपछिको 'फ्लप' दशक
सर्वोत्तम क्रान्तिपछिको दश वर्षको प्रदर्शन किन यति 'फ्लप' भयो भन्ने प्रश्नको उत्तर कुनै 'बक्स अफिस'को आँकडाले दिने छैन। हाम्रा पात्र र प्रवृतिहरु नै त्यसका लागि काफी छन्। सबैभन्दा ठूलो समस्या त कल्पनाशीलता मर्नु हो। देशप्रतिको संवेदनशीलता मर्नु हो। करिब एकशताब्दि लामो इतिहासमा कांग्रेसमा अर्को बीपी कोइराला किन जन्मेन भन्ने प्रश्न सोध्न हामी कहाँ जाने? बीपी नहुन सही, कहिँ न कहिँ जिपीले देशलाई समेट्दै आएका थिए। २०४६ पछि जिपीको पूर्वाद्ध जति नै तीतो भएपनि, परिवर्तनको पहलकदमी नलिए पनि परिर्वतनका फ्याक्टरहरुलाई समायोजन गरेर पक्कै उनले देशलाई निकास दिएका थिए।
आज कांग्रेस त्यो दायित्वबाट चुकेको छ। हेरौं देउवाले के गर्लान, तर उनलाई समयले धेरै पर्खने छैन। २०७३ भित्र देशलाई सबैस्तरका नयाँ निर्वाचनमा लागे वातावरण निर्माण गर्न नसके, उनलाई न्याय गर्न फेरि कुनै गोर्खाली राजा आउने छैन।
कम्युनिष्ट 'हाइपोक्रेसी'
यदाकदा नेपालका कम्युनिष्ट पार्टीहरुभित्र चर्चा हुन्छ–कतै हामी गोजीमा स्वर्ग (साम्यवाद) जाने ठेगाना बोकेर नर्क (पतन) को बाटोतिर त हिडिरहेका छैनौं? परम्परागत कम्युनिष्ट भाष्यमा आज देश कम्युनिष्टहरुले 'कब्जा' गरिसकेका छन्। राष्ट्रपति, उपराष्ट्रपति–कम्युनिष्ट। सभामुख–कम्युनिष्ट। प्रधमानमन्त्री, चार वटा उपप्रधानमन्त्री–कम्युनिष्ट। गृह, रक्षा, अर्थजस्ता मुख्यमन्त्री–कम्युनिष्ट। अनि देश चाहिँ डनगिरी, माफियातन्त्र, कालाबजारीको गिरोहतन्त्रद्धारा शाशीत। जताततै अभाव र बेथिति। जताततै कुशासन र पीडा। आर्थिक बृद्धिदरमा कहिल्यै नभएको गिरावट, दुई प्रतिशतभन्दा कम।
यदाकदा लाग्छ, कम्युनिष्ट शब्दको अर्थ नै यही हो भने यो हाइपोक्रेसी पूर्वी युरोप वा सोभियत संघमा कसरी त्यति लामो टिकेछ। कम्तीमा ज्योति बसूले पंश्चिम बंगालमा ३२ वर्ष शासन गर्ने आधार बनाएका थिए। यति धेरै बेथितिबीच कम्तीमा आफूलाई 'कम्युनिष्ट' नभन्नु धेरै राम्रो हो, कम्तीमा शब्दको बेइज्जत त हुँदैन।
हामी सबै छेपारा
कुनै पनि देश कस्तो हुन्छ? अस्तित्ववादी दर्शनमा एउटा भनाइ छ- 'एक्जिस्टेन्स कम्स विफोर इसेन्स।' यो दार्शनिक भनाईको सरल राजनीति अर्थ हुन्छ, त्यो देशका जनता आफ्नो देशजस्तो होस भन्ने चाहन्छन्, त्यस्तै हुन्छ। देशबारे उनीहरुको दिमागमा जस्तो चित्र हुन्छ, त्यस्तै हुन्छ। नेपाल किन गरिब, तन्नम, कंगाल वा अभावग्रस्त हुन्छ?
सायद हामी यस्तै देश चाहन्छौं। हाम्रो सामुहिक कल्पनाशक्ति नै यहाँभन्दा माथि उठेको छैन। हामी सबै छेपारा हौं। मुखले देशको माया गरेजस्तो गर्छौ, जब देशका लागि केही गर्नु पर्ने हुन्छ, यात मुखमा ताला ठोक्छौं, यात पाखुरीमा दही जमाउँछौं, या त आफ्नै खुटटामा मानसिक परिवन्दको आफैं ठिंगुरा हाल्छौं।
फेसबुकका वाल र मोवाइलको म्यासेज बक्समा नयाँ वर्ष–२०७३ का शुभकामनाहरु ओइरिइरहेका छन। माफ गर्नु होला, यो झूर दशक बिते वापत तिनीहरुलाई 'रेस्पोन्स' गर्ने मलाई कुनै इच्छा छैन। अर्को दशक यति झूर नहोस्, बरु त्यसको शुभकामना।